गोप्य रूपमा सुन थुपार्दै चीन, सरकारी तथ्यांकभन्दा धेरै सुन भएको दावी

काठमाडौं । पछिल्लो समय चीनले चुपचाप ठूलो मात्रामा सुन सञ्चय गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । चीनले अन्तर्राष्ट्रिय बजारबाट खरिद गर्ने सबै सुनको विवरण सार्वजनिक गर्दैन । गोल्डम्यान स्याक्सको अनुमानअनुसार चीनले मे महिनामा लन्डनको ओटीसी (ओभर-द-काउन्टर) बजारमार्फत ४८ टनभन्दा बढी सुन खरिद गरेको थियो । यो एक वर्षभन्दा बढी अवधिमा कुनै एक महिनामा गरिएको सबैभन्दा ठूलो खरिद हो ।  यो परिमाण चीनको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकभन्दा ४.८ गुणा बढी हो । चीनको केन्द्रीय बैंकले मे महिनामा १० टन सुन खरिद गरेको आधिकारिक घोषणा गरेको थियो । त्यसपछि जुन महिनामा उसले १५ टन सुन खरिद गरेको जनाएको छ, जुन कम्तीमा साढे दुई वर्षयताकै सबैभन्दा ठूलो मासिक खरिद हो ।  यससँगै चीनको केन्द्रीय बैंकले लगातार २०औं महिनासम्म आफ्नो सुन सञ्चिति बढाएको छ । यस वर्ष हालसम्म चीनले आधिकारिक रूपमा ४० टन सुन खरिद गरिसकेको छ । विश्लेषकहरूका अनुसार चीनले खरिद गरेको वास्तविक सुनको परिमाण आधिकारिक तथ्यांकभन्दा निकै बढी छ । उनीहरूको अनुमानमा चीनले यस वर्ष हालसम्म करिब ८० टन सुन सञ्चय गरिसकेको छ । सन् २००९ मा चीन गोल्ड एसोसिएसनका तत्कालीन उपमहासचिव होउ हुइमिनले चीनसँग कम्तीमा ५ हजार टन सुनको सञ्चिति हुनुपर्ने बताएका थिए । तर अमेरिकाको स्तरमा पुग्न चीनले अझै लामो दूरी तय गर्न बाँकी छ । हाल अमेरिकासँग ८ हजार १३३.५ टन सुन सञ्चिति छ, जुन विश्वमै सबैभन्दा ठूलो हो । त्यसपछि जर्मनी (३ हजार ३५०.३ टन), इटाली (२ हजार ४५१.८ टन), फ्रान्स (२ हजार ४३७ टन) र रूस (२ हजार ३३० टन) रहेका छन् । चीन २ हजार ३१३ टन सुन सञ्चितिसहित यो सूचीको सातौं स्थानमा छ । त्यसपछि क्रमशः स्विट्जरल्यान्ड (१ हजार ४० टन), भारत (८८१ टन), जापान (८४६ टन) र नेदरल्यान्ड्स (६१२ टन) रहेका छन् । चीनले किन थुपार्दैछ सुन ? चीनले आफ्नो सुन सञ्चिति बढाइरहनुका पछाडि धेरै रणनीतिक र आर्थिक कारण रहेको विश्लेषकहरूको भनाइ छ । यद्यपि चीनले भने यी कारणहरूलाई आधिकारिक रूपमा पुष्टि गरेको छैन । विश्लेषकहरूका अनुसार चीनले अमेरिकी डलरमाथिको निर्भरता क्रमशः घटाउँदै विदेशी मुद्रा सञ्चितिलाई थप विविधीकरण गर्ने रणनीति अपनाइरहेको छ ।  अमेरिका–चीनबीच बढ्दो व्यापारिक तथा भू-राजनीतिक तनाव र सम्भावित वित्तीय प्रतिबन्धको जोखिमलाई ध्यानमा राख्दै चीनले सुनको हिस्सा बढाएको हुन सक्ने उनीहरूको आँकलन छ । सुनलाई विश्वव्यापी रूपमा सुरक्षित (सेफ हेभेन) सम्पत्ति मानिन्छ । युद्ध, आर्थिक मन्दी वा वित्तीय संकटका बेला सुनको मूल्य तुलनात्मक रूपमा स्थिर रहने भएकाले धेरै केन्द्रीय बैंकले जोखिम व्यवस्थापनका लागि सुन सञ्चिति बढाउने गर्छन् । चीनको कदमलाई पनि यही रणनीतिसँग जोडेर हेरिएको छ । यस्तै, चीनले आफ्नो मुद्रा युआनको अन्तर्राष्ट्रिय प्रयोग विस्तार गर्ने दीर्घकालीन लक्ष्य लिएको छ । ठूलो सुन सञ्चितिले केन्द्रीय बैंकको वित्तीय विश्वसनीयता बढाउन सहयोग पुग्ने भएकाले यसलाई पनि एक कारणका रूपमा हेरिएको छ । हाल अमेरिकासँग करिब ८,१३३.५ टन सुन सञ्चिति छ, जुन विश्वमै सबैभन्दा ठूलो हो । चीनसँग भने आधिकारिक रूपमा २,३१३ टन सुन सञ्चिति छ । त्यसैले चीनले निरन्तर सुन खरिद गरिरहे पनि निकट भविष्यमा अमेरिकालाई उछिन्ने सम्भावना कम देखिन्छ ।  यद्यपि केही विश्लेषकहरूले चीनको वास्तविक सुन सञ्चिति आधिकारिक तथ्यांकभन्दा बढी हुन सक्ने अनुमान गरेका छन् ।

असारमा ब्रोकरको कमिसन साढे ३८ करोड, मनी वर्ल्डको १ हजार मात्र

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले असारमा साढे ३८ करोड रुपैयाँ कमिसन आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार असारमा ९२ वटा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले कुल ३८ करोड ५१ लाख ३० हजार रुपैयाँ कमिसन आर्जन गरेका हुन् । यो कमिसन जेठ महिनाको तुलनामा ५.१६ प्रतिशत अर्थात् १ करोड ८९ लाख रुपैयाँ बढी हो । जेठ महिनामा ब्रोकर कम्पनीहरूले कुल ३६ करोड ६२ लाख २९ हजार रुपैयाँ कमिसन आर्जन गरेका थिए । नेप्सेले सार्वजनिक गरेको तथ्याङ्कअनुसार असारमा सबैभन्दा बढी कमिसन नासा सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ५८) ले आर्जन गरेको छ । उक्त कम्पनीले असारमा २ करोड ४९ लाख ८८ हजार रुपैयाँ कमिसन कमाएको हो । यस्तै, नासा सेक्युरिटिज (ब्रोकर नं. ५८)ले २ करोड ४९ लाख ८८ हजार रुपैयाँ, अनलाइन सेक्युरिटिज (ब्रोकर नं.४९)ले १ करोड ४३ लाख ९९ हजार रुपैयाँ, सानी सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४२)ले १ करोड २७ लाख २६ हजार रुपैयाँ, भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४)ले १ करोड २६ लाख १९ हजार रुपैयाँ, इम्पेरियल सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४५)ले १ करोड ९ लाख ६४ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।  नबिल स्टक डिलर (ब्रोकर नं. ७७)ले १ करोड ६ लाख ३० हजार रुपैयाँ, ओपल सेक्युरिटिज इन्भेस्टमेन्ट(ब्रोकर नं. ४)ले १ करोड ६ लाख २ हजार रुपैयाँ, त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं. ४८)ले १ करोड १ लाख ५९ हजार रुपैयाँ, डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज (ब्रोकर नं. ४४)ले ९८ लाख २ हजार रुपैयाँ, लिन्च स्टक मार्केट (ब्रोकर नं. ४१)ले ८४ लाख ७७ हजार रुपैयाँ कमिसन आर्जन गरेको नेप्सेले जनाएको छ ।  यस्तै, सबैभन्दा कम कमिसन भने मनी वल्र्ड (ब्रोकर नं. ७३)दे सेयर एक्सचेन्जले गरेको छ । असारमा मनि वल्र्डले १ हजार १ रुपैयाँ मात्रै कमिसन आर्जन गरेको नेप्सेले जनाएको छ ।  नेप्सेको तथ्याङ्क अनुसार पाहि इन्भेस्टमेन्ट (ब्रोकर नं. ७९)ले ७७ हजार ६५० रुपैयाँ, बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३)ले १ लाख ४२ हजार रुपैयाँ, ट्रेडमो सेक्युरिटिज (ब्रोकर नं. ९८)ले ४ लाख ७ हजार रुपैयाँ, गरिमा सेक्युरिटिज (ब्रोकर नं. ७८)ले ५ लाख ७२ हजार रुपैयाँ, सजिलो ब्रोकर (ब्रोकर नं. ९०)ले ६ लाख ९२ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् । माछापुच्छ्रे सेक्युरिटिज (ब्रोकर नं. ७६)ले ८ लाख ३९ हजार रुपैयाँ, सगरमाथा सेक्युरिटिज (ब्रोकर नं.१८)ले ८ लाख ४९ हजार रुपैयाँ, एलिट स्टक हाउस (ब्रोकर नं. ६८)ले ९ लाख ३२ हजार रुपैयाँ र भोले गणेश सेक्युरिटिज (ब्रोकर नं. ६१)ले ९ लाख ३७ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।

बुद्ध एयरको आम्दानी १०.३१ अर्ब, लाभांश १ प्रतिशत

काठमाडौं । निजी क्षेत्रको वायु सेवा कम्पनी बुद्ध एयर प्रालिले गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा १० अर्ब ३१ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६७ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो, जुन आर्थिक वर्ष २०८०/८१ को १३ अर्ब २२ करोड ६० लाख रुपैयाँको तुलनामा ३.३८ प्रतिशत अर्थात् ४४ करोड ८० लाख रुपैयाँले बढी हो । यसअघि कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ, आव २०७८/७९ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँ, आव २०७७/७८ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ, आव २०७६/७७ मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँ, आव २०७५/७६ मा ६ अर्ब ८० करोड ८० लाख रुपैयाँ र आव २०७४/७५ मा ६ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको थियो ।  सन् १९९६ मा स्थापना भएको बुद्ध एयर नेपालका निजी क्षेत्रका सबैभन्दा ठूलो तथा सबैभन्दा लामो समयदेखि सञ्चालनमा रहेको वायुसेवा कम्पनी हो । कम्पनीले मुख्य रूपमा नेपालको प्रमुख आन्तरिक हवाई मार्गमा सेवा दिँदै आएको छ भने काठमाडौंबाट भारतको वाराणसी र कोलकातामा समेत अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको छ । हाल कम्पनीसँग एक एटीआर-४२ र १४ एटीआर-७२ गरी १५ वटा विमान छन् भने कम्पनीका अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत हुन् । तीन वटा विमान बिक्री तथा सेवामुक्त गरेपश्चात् १५ वटा विमानमा सीमित भएको हो । आन्तरिक हवाई यात्रु संख्याका आधारमा कम्पनीले करिब ५७ प्रतिशत बजार हिस्सा कायम राखेको जनाएको छ । अघिल्लो वर्ष यो हिस्सा करिब ६० प्रतिशत रहेको थियो । अघिल्लो वर्षको तुलनामा हिस्सा घटेपनि बजार नेतृत्व भने कायम रहेको जनाएको छ ।  कम्पनीले नाफाको अधिकांश हिस्सा सञ्चित गर्दै आएको छ । आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा खुद नाफाको करिब १ प्रतिशत मात्र लाभांश वितरण गरी बाँकी रकम कम्पनीमै राखिएको जनाएको छ । अतिरिक्त नगद प्रवाहबाट दीर्घकालीन ऋणको नियमित भुक्तानी गर्नुका साथै अल्पकालीन ऋणसमेत घटाउँदै आएको कम्पनीको दाबी छ । भद्रपुरमा भएको विमान दुर्घटनापछि प्राप्त बीमा दाबी रकमबाट केही अल्पकालीन ऋण समयअघि नै चुक्ता गरिएको पनि कम्पनीले जनाएको छ । अप्रिल २०२६ को अन्त्यसम्म सञ्चालन आम्दानीको तुलनामा खुद कार्यशील पुँजीको अनुपात करिब ९ प्रतिशत रहेको छ । कम्पनीसँग ७१ प्रतिशत अप्रयुक्त ऋण उपयोग क्षमता (ड्रइङ पावर) रहेको छ, जसमा धितोका रूपमा रहेका ऋणमुक्त विमानहरूको मूल्य पनि समावेश छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा सञ्चालन नाफा मार्जिन ८.२ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यो १० प्रतिशत तथा त्यसअघिको वर्ष १९.४ प्रतिशत रहेको थियो । इन्जिन मर्मत तथा ओभरहोल खर्च बढ्नु र पश्चिम एसियाको भू-राजनीतिक तनावका कारण हवाई इन्धन (एटीएफ) महँगिनुले नाफामा दबाब परेको कम्पनीले जनाएको छ । प्रति उपलब्ध सिट-किलोमिटर आम्दानी (आरएएसके) अप्रिल २०२६ सम्म महामारीअघिकै स्तरमा पुगेर करिब २१.२ रुपैयाँ पुगे पनि कर्मचारी तथा मर्मत-सम्भार खर्च बढ्दा प्रति उपलब्ध सिट-किलोमिटर लागत (सीएएसके) पनि बढेको छ । यसका कारण आम्दानी र लागतबीचको अन्तर २.८ रुपैयाँमा सीमित भएको छ, जुन पछिल्लो पाँच-छ वर्षयताकै न्यून स्तर हो । सन् २०१९ मा यो अन्तर ८.९ रुपैयाँ थियो । गत आर्थिक वर्षको साढे ९ महिनामा यात्रु संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशतले घटेको छ । यात्रु भराइ दर (प्यासेन्जर लोड फ्याक्टर) पनि सन् २०२२ को करिब ९२ प्रतिशतबाट पछिल्ला वर्षमा ८३-८५ प्रतिशतमा झरेको कम्पनीले जनाएको छ। हाल कम्पनीसँग ३ अर्ब १२ करोड ६ लाख रुपैयाँ तथा १३.७५ मिलियन अमेरिकी डलर बराबर ऋण रहेको छ । यसमध्ये १ अर्ब १३ करोड ६ लाख रुपैयाँ र १३.७५ मिलियन अमेरिकी डलर दीर्घकालीन ऋण रहेको छ । त्यस्तै, कम्पनीले ८७ करोड रुपैयाँ अल्पकालीन ऋण, ८७ करोड रुपैयाँ ओभरड्राफ्ट सुविधा तथा २५ करोड रुपैयाँ बैंक ग्यारेन्टी उपयोग गरेको छ । कुल बैंक ऋणमध्ये करिब ६३ प्रतिशत अमेरिकी डलरमा रहेको तथा विमान मर्मत-सम्भार र स्पेयर पाट्र्ससम्बन्धी अधिकांश खर्च पनि डलरमै हुने भएकाले विनिमय दरको उतारचढाव कम्पनीका लागि प्रमुख वित्तीय जोखिमका रूपमा रहेको कम्पनीले जनाएको छ ।