इरानले खाडीमा नयाँ प्रतिबन्धित क्षेत्र घोषणा गर्ने
काठमाडौं । इरानले आगामी दिनमा खाडीमा नयाँ प्रतिबन्धित क्षेत्र घोषणा गर्ने भएको छ । साथै हर्मुज जलडमरूमध्य हुँदै जाने नयाँ सामुद्रिक मार्गको नक्सासमेत सार्वजनिक गरिने भएको छ । जहाजमाथि भएको आक्रमणको सप्ताहान्त आदानप्रदानपछि तेलको मूल्य सोमबार बढेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाइले आइतबार सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा नयाँ प्रतिबन्धित क्षेत्र अमेरिकी नाकाबन्दी सुरु हुने स्थानबाट सुरु भएर खाडीका विभिन्न क्षेत्रमा फैलिने बताएका हुन् । योजनाबारे विस्तृत जानकारी नदिइए पनि रेजाइले नयाँ प्रतिबन्धित क्षेत्रमा प्रवेश गर्ने कुनै पनि जहाजलाई प्रतिबन्ध सूचीमा राखिने बताए । त्यसैगरी, विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण तर हाल ट्यांकर आवागमनका लागि ठूलो मात्रामा बन्द रहेको हर्मुज जलडमरूमध्य हुँदै जाने मार्गको नक्सासमेत छिट्टै स्वीकृत गरिने उनले बताए । उनले भने, ‘इरान र ओमानको जलक्षेत्र हुँदै जाने र जसको व्यवस्थापन इरानले गर्ने नयाँ अन्तर्राष्ट्रिय मार्गको नक्सामा सहमति भएको छ । आगामी दिनमा त्यसमा हस्ताक्षर गरिनेछ ।’ ‘अमेरिकीहरूले इरानविरुद्धको तोडफोड, धम्की र आक्रमण बन्द नगरेसम्म हामी होर्मुज जलडमरूमध्य खुला राख्ने प्रतिबद्धता जनाउने छैनौं,’ उनले थपे । युद्धमा गतिरोध, पुनः बढ्यो आक्रमण इरानमाथि अमेरिका–इजरायलले गरेको आक्रमणबाट युद्ध सुरु भएको करिब छ महिना बितिसकेको छ । अहिले युद्ध गतिरोधको अवस्थामा पुगेको देखिन्छ । जुनमा भएको प्रारम्भिक युद्धविराम सम्झौता विफल भइसकेको छ भने शान्ति प्रक्रिया पुनः अघि बढाउने कूटनीतिक प्रयासमा पनि खासै प्रगति भएको छैन । अगस्टको अधिकांश समय सैन्य गतिविधिमा रोकावट आए पनि पछिल्लो समय दुवै पक्षबाट एकअर्कामाथि आक्रमण पुनः सुरु भएको छ । अमेरिकी सेनाले शनिबार तीनवटा इरानी तेल ट्यांकरमाथि आक्रमण गरेको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ । तीमध्ये एउटा इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग द्वीप नजिकै थियो । त्यसअघि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले क्षेत्रमा रहेका अमेरिकी युद्धपोतलाई निशाना बनाएको थियो । तेहरानसँग छिमेकी मुलुकमा रहेका अमेरिकी स्वार्थमाथि आक्रमण गर्ने तथा हर्मुज जलडमरूमध्य हुँदै हुने तेल आपूर्ति रोक्ने क्षमता अझै रहेको देखिएको छ । युद्धअघि विश्वको कुल तेल आपूर्तिको करिब पाँच भागको एक भाग यही जलडमरूमध्यबाट आवतजावत हुने गरेको थियो । यातायातसम्बन्धी तथ्यांकअनुसार पछिल्लो १० दिनमा औसतमा दैनिक १० वटा व्यापारिक जहाज मात्रै हर्मुज जलडमरूमध्यबाट गुज्रिएका छन् । यो संख्या मेयताकै सबैभन्दा कम हो । यसको प्रभाव तेलको मूल्यमा समेत परेको छ । गत साताको ठूलो वृद्धिलाई निरन्तरता दिँदै ब्रेन्ट कच्चा तेलको मूल्य ०.८ प्रतिशतले बढेर प्रतिब्यारेल ९७ डलरभन्दा माथि पुगेको छ । प्रतिबन्ध र तेल नाकाबन्दीले अर्थतन्त्रमा दबाब इरानले आफ्नो अर्थतन्त्रलाई गम्भीर रूपमा प्रभावित पारिरहेका अमेरिकी प्रतिबन्धबाट उत्पन्न समस्या समाधान गर्न थप प्रयास गर्ने बताएको छ । तर, इरानी तेल निर्यातमा नाकाबन्दी लगाउने र प्रतिबन्ध छल्ने प्रयास रोक्ने अमेरिकी अभियान झन् कडा बन्दै गएपछि त्यसको सामना गर्न कठिन भइरहेको तीन जना वरिष्ठ इरानी अधिकारीले बताएका छन् । इरानको संसद्का सभामुख मोहम्मद बाकेर कालीबाफले आइतबार अमेरिकाले ‘धेरै ढिला हुनुअघि खेलका नियमहरू परिवर्तन भइसकेको बुझ्नुपर्ने’ बताएका छन् । टेलिग्राम च्यानलमा प्रकाशित भाषणमा उनले भने, ‘अबदेखि इरानको हित र सुरक्षाविरुद्ध हुने कुनै पनि आक्रमणको जवाफ अझ छिटो, अझ कडा र अझ पीडादायी हुनेछ ।’ कालीबाफका अनुसार सैन्य मोर्चासँगै अहिले इरानको मुख्य लडाइँ उत्पादन र जनताको जीविकोपार्जनसँग सम्बन्धित छ । उनले मुद्राको तीव्र उतारचढाव, मुद्रास्फीति, बेरोजगारी र बजार व्यवस्थापनलाई प्रमुख चुनौतीका रूपमा औ‌ंल्याए । इरानी जनताले कठिनाइ सहन सक्ने तर कुप्रबन्धन र निष्क्रियता सहन नसक्ने भन्दै उनले सरकारले तत्काल कदम चाल्नुपर्ने बताए । इरानका अर्थमन्त्री अली मदानीजादेहले अमेरिकी आर्थिक दबाबको जवाफ सुधारमार्फत दिने सरकारको योजना रहेको बताएका छन् । उनले प्रतिबन्धका कारण इरान आफ्नो नीतिबाट पछि हट्ने धारणा अस्वीकार गरेका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार उनले भने, ‘उनीहरू आर्थिक दबाब र एक्लोपनाको कुरा गर्छन् । आर्थिक सम्बन्ध तोडेर देशको अर्थतन्त्रमा दबाब दिएपछि त्यहाँका जनताको निर्णय परिवर्तन गर्न सकिन्छ भन्ने उनीहरूको सोच छ ।’ ‘एउटा कुरा स्पष्ट पार्नुपर्छ, इरानको अर्थतन्त्र सुधार गर्ने जिम्मेवारी उसको सरकार र जनताको हो, अमेरिकी अर्थ मन्त्रालयको होइन,’ उनले थपे । प्रतिबन्धले थलिएको अर्थतन्त्र सुधार्ने इरानको प्रयास, अमेरिकालाई कडा चेतावनी
१.५२ अर्बमा नयाँ कारखाना खोल्दै चण्डिका डिस्टिलरी, आम्दानी साढे ३८ करोड रुपैयाँ
काठमाडौं । चण्डिका डिस्टिलरी प्रालिले गत आर्थिक वर्ष २०८२/८३ मा ३८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६३.४० प्रतिशत अर्थात् १४ करोड ९० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । यसअघि आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको आम्दानी २९ करोड २० लाख रुपैयाँ, आव २०७९/८० मा २० करोड ९० लाख रुपैयाँ, आव २०७८/७९ मा १८ करोड १० लाख रुपैयाँ र आव २०७७/७८ मा ३३ करोड रुपैयाँ रहेको थियो । सन् १९९९ को डिसेम्बरमा स्थापना भएको चण्डिका डिस्टिलरी विभिन्न क्षमताका मदिरा उत्पादन तथा बिक्री वितरण गर्दै आएको कम्पनी हो । कम्पनीले ४० युपी, ५० युपी र ७० युपी क्षमताका मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीका प्रमुख उत्पादनमा पासपोर्ट ह्विस्की, ब्ल्याक ज्याक ह्विस्की, पास पास भोड्का तथा पास पासअन्तर्गतका विभिन्न ब्रान्ड रहेका छन् । कम्पनीको संयुक्त बोतल भर्ने वार्षिक क्षमता करिब १ करोड ८४ लाख लिटर रहेको छ । यद्यपि, निर्माणाधीन नयाँ कारखाना सञ्चालनमा आएपछि कम्पनीको वार्षिक उत्पादन क्षमता बढेर २ करोड ७४ लाख लिटर पुग्ने अपेक्षा गरिएको छ । २०२६ को जुलाई मध्यसम्म चण्डिका डिस्टिलरीको स्वामित्व चार जनामा बाँडिएको छ । रवि केसीको करिब ४० प्रतिशत, अभिषेक श्रेष्ठको करिब २५ प्रतिशत, श्रद्धा केसीको करिब १९ प्रतिशत र अवन्तिका केसीको करिब १६ प्रतिशत हिस्सा रहेको छ । कम्पनीको अध्यक्षमा रवि केसी रहेका छन् । चण्डिका डिस्टिलरीका मुख्य प्रवर्द्धकहरू यती डिस्टिलरी प्रालि र याक ब्रुइङ कम्पनी प्रालिमा समेत संलग्न छन् । यती डिस्टिलरीसँगको सञ्चालनगत तथा रणनीतिक सम्बन्धले पनि चण्डिका डिस्टिलरीलाई सहयोग पुग्ने कम्पनीले जनाएको छ । पछिल्लो पाँच वर्षमा यती डिस्टिलरीबाट प्रवर्द्धकहरूले औसत वार्षिक करिब ६८ करोड ८० लाख रुपैयाँ लाभांश लिएका छन् । उक्त लाभांशलाई चण्डिका डिस्टिलरीको नयाँ परियोजना सञ्चालनमा आएपछिको प्रारम्भिक चरणमा तरलता व्यवस्थापनका लागि सम्भावित स्रोतका रूपमा समेत हेरिएको कम्पनीले जनाएको छ । ६ वर्षका लागि सम्झौता चण्डिका डिस्टिलरीले यती डिस्टिलरीलाई अतिरिक्त तटस्थ मदिरा आपूर्ति गर्ने गरी हालै ६ वर्षको सम्झौता गरेको छ । सम्झौताअनुसार निश्चित परिमाणमा अतिरिक्त तटस्थ मदिरा आपूर्ति गरिने भएकाले निर्माणाधीन नयाँ परियोजनाबाट हुने आम्दानीको सुनिश्चितता बढ्ने अपेक्षा कम्पनीको छ । कम्पनीका प्रवर्द्धकहरूले ब्याजरहित प्रवर्द्धक ऋणमार्फत समेत रकम उपलब्ध गराएका छन् । यसमध्ये सेयरका लागि अग्रिमस्वरूप करिब २६ करोड रुपैयाँ उपलब्ध गराइएको छ । चण्डिका डिस्टिलरीको सेयर स्वामित्वलाई यती डिस्टिलरीको स्वामित्व संरचनासँग पूर्ण रूपमा मिलाउने प्रस्तावसमेत रहेको जनाएको छ । चण्डिका डिस्टिलरीको उत्पादनमा तुलनात्मक रूपमा कम मूल्यका ७० युपी ब्ल्याक ज्याक तथा अन्नमा आधारित मदिराको हिस्सा बढी रहेको छ । यी दुई समूहका उत्पादनले कम्पनीको कुल आम्दानीमा करिब ५७ प्रतिशत योगदान गरेका छन् । कम मूल्यका उत्पादनमा बढी निर्भरता रहेकाले कम्पनीको सञ्चालन नाफामा दबाब परेको जनाएको छ । नयाँ कारखानामा १.५२ अर्ब लगानी चण्डिका डिस्टिलरीले करिब १ अर्ब ५२ करोड ५० लाख रुपैयाँ लागतमा नयाँ कारखाना निर्माण गरिरहेको जनाएको छ । नयाँ कारखाना सञ्चालनमा आएपछि कम्पनीको वार्षिक उत्पादन क्षमता करिब ४९ प्रतिशतले बढेर २ करोड ७४ लाख लिटर पुग्नेछ । उक्त क्षमता वर्षमा ३०० दिन कारखाना सञ्चालन हुने आधारमा गणना गरिएको हो । २०२६ को जुलाईसम्म परियोजनाको वित्तीय प्रगति करिब ७५ प्रतिशत पुगेको छ । तर, परियोजना प्रारम्भिक रूपमा तोकिएको २०२६ को जनवरी मध्यसम्ममा सम्पन्न हुन सकेन । अहिले यसको संशोधित सम्पन्न गर्ने लक्ष्य २०२७ को जनवरीसम्म राखिएको जनाएको छ । परियोजनाको कुल लागतको करिब ७० प्रतिशत हिस्सा ऋणबाट व्यवस्थापन गरिने भएकाले नयाँ कारखाना सञ्चालनमा आएपछि प्रारम्भिक चरणमा उत्पादन स्थिरीकरणसम्बन्धी जोखिम रहने जनाएको छ । नयाँ उत्पादन क्षमता पूर्ण रूपमा उपयोग गर्न समय लाग्न सक्ने भएकाले सुरुवाती अवधिमा नाफा तथा ऋण तिर्ने क्षमतामा दबाब पर्न सक्ने कम्पनीको भनाइ छ । चण्डिका डिस्टिलरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल २ अर्ब १ करोड रुपैयाँ ऋण लिएको छ । यसमध्ये १ अर्ब रुपैयाँ दीर्घकालीन र १ अर्ब १ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । नेपालमा मदिरा उद्योग उच्च कर लाग्ने तथा कडा नियमनमा रहेको क्षेत्र हो । मदिरामा लाग्ने कर तथा भन्सार महसुल वृद्धि भएमा उत्पादन लागत बढ्न सक्ने जनाएको छ । तर, बढेको लागत उपभोक्तासम्म मूल्य वृद्धिमार्फत सार्न कम्पनी कति सक्षम हुन्छ भन्ने निश्चित छैन । त्यस्तै, कुनै निश्चित क्षेत्र वा स्थानमा मदिरा बिक्रीमा थप प्रतिबन्ध लगाइएमा कम्पनीका उत्पादनको मागमा समेत असर पर्न सक्छ । कर, भन्सार, बिक्रीसम्बन्धी प्रतिबन्ध तथा अन्य नियामकीय व्यवस्थामा हुने प्रतिकूल परिवर्तनले कम्पनीको बिक्री तथा नाफामा दबाब पार्न सक्ने जनाएको छ । विदेशबाट आयात हुने तयारी मदिरामा उच्च भन्सार महसुल लाग्ने भएकाले स्वदेशी उत्पादकले आयातित उत्पादनको तुलनामा केही हदसम्म संरक्षण पाउँदै आएका छन् । चण्डिका डिस्टिलरीको प्रमुख आम्दानी क्षेत्रमध्ये रहेको ७० युपी तयारी मदिराको आयातमा प्रतिलिटर करिब २ हजार रुपैयाँ भन्सार महसुल लाग्ने व्यवस्था छ । त्यस्तै, मदिरा मिश्रणमा प्रयोग हुने विदेशबाट आयातित मदिरामा प्रतिलिटर करिब १ हजार ५ सय रुपैयाँ भन्सार महसुल लाग्छ । यसले स्वदेशी मदिरा उत्पादकलाई आयातित तयारी मदिरा तथा कच्चा पदार्थसँग प्रतिस्पर्धा गर्न केही हदसम्म सहज बनाएको कम्पनीले जनाएको छ । कम्पनीले युरोप तथा अन्य विदेशी आपूर्तिकर्ताबाट उपकरण र कच्चा पदार्थ आयात गर्दै आएको छ । यस्ता कारोबारको भुक्तानी मुख्यतः युरो र अमेरिकी डलरमा हुने गरेको छ । गत वर्ष कम्पनीले विदेशी विनिमय दरमा भएको परिवर्तनबाट करिब ८ प्रतिशत विदेशी विनिमय घाटा बेहोरेको दाबी गरेको छ ।
प्रतिबन्धले थलिएको अर्थतन्त्र सुधार्ने इरानको प्रयास, अमेरिकालाई कडा चेतावनी
काठमाडौं । इरानले अमेरिकी प्रतिबन्धका कारण अर्थतन्त्रमा सिर्जना भएका समस्यासँग जुध्न थप प्रयास गर्ने जनाएको छ । साथै एक वरिष्ठ इरानी अधिकारीले इरानमाथि थप हमला भए त्यसको ‘पीडादायी जवाफ’ दिने चेतावनी दिएका छन् । इरानमाथि अमेरिका र इजरायलले हमला गरेको ६ महिना बितिसकेको छ । अहिले युद्ध गतिरोधको अवस्थामा पुगेको देखिन्छ । जुन महिनामा भएको प्रारम्भिक युद्धविराम सम्झौता भत्किइसकेको छ भने शान्ति प्रक्रिया पुनः अघि बढाउन कूटनीतिक प्रयासमा पनि खासै प्रगति हुन सकेको छैन । अगस्ट महिनाको अधिकांश समय सैन्य गतिविधिमा रोकावट आए पनि पछिल्लो समय दुवै पक्षबाट एकअर्कामाथि आक्रमण पुनः सुरु भएको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबार इरानका तीनवटा तेल ट्यांकरमाथि हमला गरेको जनाएको छ । इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कोप्र्स (आईआरजीसी) ले अमेरिकी नौसेनाका दुई पानीजहाजलाई लक्षित गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि त्यसको जवाफमा उक्त कारबाही गरिएको अमेरिकी पक्षको भनाइ छ । आक्रमणपछि इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले आइतबार अमेरिकाले ‘धेरै ढिला हुनुअघि’ इरानविरुद्धको युद्धमा खेलका नियमहरू परिवर्तन भइसकेको बुझ्नुपर्ने बताए । टेलिग्राम च्यानलमा प्रकाशित भाषणमा उनले भने, ‘अबदेखि इरानको हित र सुरक्षाविरुद्ध हुने कुनै पनि आक्रमणको जवाफ अझ छिटो, अझ कडा र अझ पीडादायी हुनेछ ।’ इरानले छिमेकी मुलुकमा रहेका अमेरिकी स्वार्थमाथि आक्रमण गर्ने क्षमता अझै कायम राखेको देखाएको छ । साथै विश्वको कुल तेल आपूर्तिको करिब पाँच भागमध्ये एक भाग द्वन्द्वअघि बग्ने गरेको होर्मुज जलडमरूमध्यबाट हुने तेल आपूर्ति रोक्न सक्ने क्षमता पनि इरानसँग छ । प्रतिबन्ध र तेल नाकाबन्दीले अर्थतन्त्रमा दबाब तर, इरानको तेल निर्यातमा नाकाबन्दी लगाउँदै र प्रतिबन्ध छल्ने प्रयास रोक्दै उसको अर्थतन्त्रलाई कमजोर बनाउने अमेरिकी अभियान थेग्न इरानलाई झन् कठिन हुँदै गएको तीन वरिष्ठ इरानी स्रोतले बताएका छन् । गालिबाफले आइतबारको भाषणमा सैन्य मोर्चासँगै इरानको मुख्य लडाइँ अब उत्पादन र जनताको जीविकोपार्जनसँग सम्बन्धित रहेको बताए । उनले मुद्रा विनिमय दरमा तीव्र उतारचढाव, मुद्रास्फीति, बेरोजगारी र बजार व्यवस्थापनलाई प्रमुख चुनौतीका रूपमा औँल्याए । इरानी नागरिकले कठिनाइ सहन सक्ने भए पनि अव्यवस्थापन र निष्क्रियता भने स्वीकार गर्न नसक्ने भन्दै उनले सरकारले तत्काल कदम चाल्नुपर्ने बताए । इरानका अर्थमन्त्री अली मदानिजादेहले अमेरिकी आर्थिक दबाबको जवाफ सुधारमार्फत दिने तेहरानको योजना रहेको बताएका छन् । राज्य सञ्चारमाध्यमका अनुसार उनले प्रतिबन्धका कारण इरानले आफ्नो नीति परिवर्तन गर्ने धारणा अस्वीकार गरेका छन् । मदानिजादेहले भने, ‘उनीहरू आर्थिक दबाब र एक्ल्याउने, वित्तीय सम्बन्ध तोड्ने कुरा गर्छन् । उनीहरूलाई लाग्छ, कुनै देशको अर्थतन्त्रमाथि दबाब दिएर त्यहाँका जनताको निर्णय परिवर्तन गर्न सकिन्छ ।’ उनले थपे, ‘एउटा कुरा स्पष्ट गर्नुपर्छ, इरानको अर्थतन्त्र सुधार गर्ने जिम्मेवारी अमेरिकी अर्थ मन्त्रालयको होइन, इरान सरकार र जनताको हो ।’ यसैबीच अर्थ मन्त्रालयका उपमन्त्री मोर्तेजा जमानियनले युद्धका कारण उत्पन्न समस्याको समाधान गर्न मन्त्रालयको ‘आर्थिक युद्ध मुख्यालय’ले आफ्नो कामलाई थप तीव्र बनाएको बताएका छन् । अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार उनले यस्तो बताएका हुन् । पछिल्ला महिनामा खार्ग द्वीपमा ५५० पटक हमला भएको इरानको दाबी इरान पेट्रोलियम निर्यातक राष्ट्रहरूको संगठन (ओपेक) को तेस्रो ठूलो तेल उत्पादक हो । युद्धअघि उसले आफ्नो कच्चा तेलको करिब ९० प्रतिशत खार्ग द्वीपस्थित निर्यात केन्द्रमार्फत निर्यात गर्दै आएको थियो । अमेरिकी नाकाबन्दीका कारण अप्रिलको मध्यदेखि इरानको तेल आपूर्ति प्रभावित हुँदै आएको छ । अगस्ट ३१ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एक लाइनको पोस्ट गर्दै खार्ग द्वीपलाई ‘पूर्ण रूपमा ध्वस्त पारिएको’ देखाउने एआईबाट निर्मित भिडियोसमेत सार्वजनिक गरेका थिए । खार्गमाथि हमला भए कडा जवाफ दिने इरानी अधिकारीहरूले चेतावनी दिँदै आएका छन् । इरानका तेलमन्त्री मोहसेन पाकनेजादले आइतबार सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा पछिल्ला महिनाहरूमा खार्ग द्वीपमा करिब ५५० पटक हमला भएको तर त्यसका बाबजुद पनि द्वीपले आफ्नो गतिविधि जारी राखेको बताए । इरानले हर्मुज जलडमरूमध्यमा समेत नाकाबन्दी लगाएको छ । यसका कारण विश्व बजारमा इन्धनको मूल्य बढेको छ, जसले नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि राष्ट्रपति ट्रम्पका लागि चुनौती थपेको छ । शनिबार अमेरिकी सेन्ट्रल कमान्डले खार्ग द्वीपको तट नजिक रहेको एउटा पानीजहाजसहित इरानका तीनवटा पानीजहाजमाथि हमला गरेको जनाएको थियो । इरानको आईआरजीसीले अमेरिकी नौसेनाका दुई पानीजहाजमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि ती हमला गरिएको अमेरिकी पक्षको भनाइ छ । मध्यपूर्वमा अमेरिकी सैन्य गतिविधिको नेतृत्व गर्ने अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरले भने, ‘आईआरजीसीलाई सन्देश स्पष्ट हुनुपर्छ, यदि तपाईंहरूले हाम्रा दुई पानीजहाजमाथि गोली चलाउनुहुन्छ भने हामी तपाईंहरूका तीनवटा पानीजहाज नष्ट गरेर अझ ठूलो आर्थिक मूल्य चुकाउने बनाउँछौं ।’ यसको जवाफमा आईआरजीसीले क्षेत्रमा रहेका अमेरिकी सैन्य पानीजहाजमाथि थप तीव्र आक्रमण गर्ने चेतावनी दिएको छ । साथै अन्य क्षेत्रमा रहेका तीन अमेरिकी सम्बन्धित पानीजहाजसहित ती तीनवटा ट्यांकरलाई पनि लक्षित गरेको जनाएको छ । इरानी सरकारी टेलिभिजनमार्फत जारी विज्ञप्तिमा आईआरजीसी नौसेनाले भनेको छ, ‘अमेरिकी ‘आतंकवादी’ सेनाको सन्देशबाट भ्रमित नहुनुहोस् र अनुमति नदिइएका जलमार्गबाट पार गर्ने उद्देश्यले कुनै शंकास्पद गतिविधि नगर्नूहोस् । अन्यथा तपाईंहरूलाई निशाना बनाइनेछ ।’ अर्धसरकारी इरानी समाचार संस्था तस्निमका अनुसार खार्गको बन्दरगाह क्षेत्रमा रहेको एउटा तेल ट्यांकरमा चारवटा अमेरिकी क्षेप्यास्त्र प्रहार भएका थिए । स्थानीय स्रोतलाई उद्धृत गर्दै तस्निमले घटनामा कुनै मानवीय क्षति नभएको र ट्यांकरका चालक दलका सदस्यहरूलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्डले आफ्ना कुनै पनि कर्मचारी घाइते नभएको जनाएको छ । आइतबार तस्निमले उत्तरी इराकको एर्बिलमाथि आईआरजीसीले अमेरिकी निगरानी बेलुन खसालेको दाबी गरेको छ । इरानले यसलाई क्षेत्रमा अमेरिकी हवाई निगरानी तथा प्रारम्भिक चेतावनी प्रणाली हटाउने व्यापक अभियानको हिस्सा भएको जनाएको छ ।