राष्ट्र बैंकबाट विदा भए कार्यकारी निर्देशक सिग्देल, स्वतः बढुवाको लाइनमा न्यौपाने
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रोशन कुमार सिग्देल अनिवार्य अवकाशमा गएका छन् । उमेरहदका कारण उनी चैत १८ गते सेवा निवृत्त भएका हुन् । सिग्देलका अनुसार, उनको वास्तविक उमेर अझै करिब दुई वर्ष बाँकी भए पनि विद्यालय तहमा (एसएलसी) उमेर बढाएर राखिएको कारण चाँडै अवकाशमा जानुपरेको हो । अवकाशको समयसम्म उनी नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा कार्यरत थिए । झापाका स्थायी बासिन्दा सिग्देल वि.सं. २०५४ मंसिर २२ गते राष्ट्र बैंकमा प्रवेश गरेका थिए । उनले आफ्नो करिअरका क्रममा करिब १५ वर्ष अनुसन्धान विभागमा, ५ वर्ष बैंक सुपरभिजन विभागमा तथा बाँकी समय विभिन्न विभागहरूमा रही काम गरेका थिए । सिग्देलको अवकाशसँगै हाल निर्देशक रहेका हेम प्रसाद न्यौपाने स्वतः कार्यकारी निर्देशक पदमा बढुवा हुने भएका छन् । न्यौपाने वि.सं. २०५९ साउन २७ गते सहायक निर्देशक पदबाट राष्ट्र बैंकमा प्रवेश गरेका थिए । न्यौपानेसँग अनुसन्धान विभाग, बैंक सुपरभिजन विभाग, कर्पोरेट प्लानिङका साथै प्रादेशिक कार्यालय जनकपुर र फाइनान्सियल इन्क्लुजन एण्ड कन्जुमर प्रोटेक्सन डिभिजन लगायत विभिन्न विभागमा काम गरेको अनुभव छ । हाल उनी बैंकिङ विभागको कामु कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् ।
नेपाल प्रहरीले ४७८ प्राविधिक पदमा भर्ना खुलायो
काठमाडौं । नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४७८ संख्यामा भर्ना खुलाएको छ। प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक तथा प्रहरी जवान पदका लागि आवेदन माग गरिएको हो । प्रहरीका अनुसार इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक्चर तथा अटोमोबाइल क्षेत्रमा भर्ना खुलाइएको छ। त्यसैगरी, विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमए लगायतका पदमा समेत आवेदन आह्वान गरिएको छ। कुल मागमध्ये प्रहरी जवान पदमा २८० जना र अन्य प्राविधिक पदमा १२९ जना आवश्यक रहेको जनाइएको छ। दरखास्त बुझाउने म्याद प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म तोकिएको छ। त्यसैगरी, प्राविधिक प्रहरी जवान पदका लागि चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ।
समस्याग्रस्त नेपाल शेयर मार्केट्सका लागि नयाँ संयोजकको खोजी सुरु
काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका लागि दरखास्त आह्वान गरिएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले कम्पनीको व्यवस्थापन तथा सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले संयोजक पदका लागि आह्वान गरेको हो । व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूहमा इच्छुक योग्य नेपाली नागरिकले वैशाख ९ गतेभित्र आवेदन दिनुपर्नेछ । व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर गरेको, बैंकिङ सम्बन्धी क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् । एक वर्ष सेवा अवधि रहेको उक्त पदका लागि १ लाख २६ हजार ३ सय रुपैयाँ पारिश्रमिक तोकिएको छ । यसमा दशैं खर्च बराबरको अतिरिक्त भत्ता र वार्षिक १२ दिन विदा प्रदान गरिने व्यवस्था छ ।