एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख सहयोग

काठमाडौं । एफवानसफ्ट ग्रुपले बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १ करोड ३५ लाख सहयोग प्रदान गरेको छ ।  ग्रुप अन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, ईसेवा मनि ट्रान्स्फर र कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा उक्त रकम कोषमा जम्मा गरिएको हो । संकटको यस कठिन घडीमा बाढीप्रभावितहरूसँगै उभिने र राहत कार्यमा थप मद्दत पुर्‍याउने उद्देश्यले यो योगदान गरिएको कम्पनीले जनाएको छ । यसका साथै, एफवानसफ्ट ग्रुपले आफ्ना डिजिटल प्लेटफर्महरू फोनपे र इसेवामार्फत व्यक्तिगत रूपमा राहत कोषमा योगदान पुर्‍याउने सम्पूर्ण प्रयोगकर्ताहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ । हालसम्म इसेवाका १ लाख २९ हजार १३ जना प्रयोगकर्ताले ९ करोड ७० लाख र फोनपेका ८ लाख ६२ हजार ४४५ जना प्रयोगकर्ताले २ अर्ब १९ करोड रुपैयाँ सहयोग गरिसकेका छन् ।  फोनपेमार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदानसमेत समावेश छ । जसअन्तर्गत भारतबाट एनपीसीआई–इन्टिग्रेटेड पेमेन्टमार्फत १९ हजार ८५८ प्रयोगकर्ताले ४ करोड २२ लाख र चीन तथा दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत २ हजार ९६५ प्रयोगकर्ताले १ करोड ६३ लाख रकम सहयोग गरेका हुन् । संस्थाले बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै यस कठिन समयबाट अघि बढ्न सबैमा साहस, धैर्य र हौसला मिलोस् भन्ने कामना गरेको छ । साथै, प्रभावित क्षेत्रहरूमा निरन्तर खटिएर उद्धार, राहत तथा सहयोगमा जुटिरहेका सरकारी निकाय, स्वयंसेवक, विभिन्न संघसंस्था तथा व्यक्तिहरूप्रति एफवानसफ्ट ग्रुपले उच्च सम्मानका साथ आभार प्रकट गरेको छ ।

बाढीपीडितलाई मारुती सिमेन्टको १ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं । मारुती सिमेन्ट्स लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।  उक्त सहयोग रकमको चेक मारुती सिमेन्ट्स लिमिटेडका सञ्चालकहरू नन्दकिशोर राठी, मनोज कुमार गोयल, शरद गोयल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिओइ) आनन्द नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।  कम्पनीले विपद् तथा कठिन परिस्थितिमा प्रभावित नागरिकहरूलाई राहत र सहयोग पुर्‍याउने उद्देश्यका साथ उक्त रकम प्रदान गरिएको जनाएको छ ।  कम्पनीले आगामी दिनमा पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत देश तथा समाजको हितमा आवश्यक सहयोग र योगदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।  ‘विपद्को समयमा पीडित तथा प्रभावित नागरिकहरूसँग हातेमालो गर्नु हाम्रो सामाजिक दायित्व हो,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  साथै, मारुती सिमेन्ट्स लिमिटेडले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो संवेदना प्रकट गरेको छ ।  यसका साथै यो संवेदनशील समयमा उद्धार, राहत तथा पुनर्नस्थापना कार्यमा अहोरात्र खटिनुभएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति कम्पनीले हार्दिक कृतज्ञता व्यक्त गरेको छ । 

‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सले १० करोडसम्म लगानी गर्ने

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सले १० करोड रुपैयाँसम्म लगानी गर्ने भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको एनआइबिएल इक्विटी पार्टनर्सले चलचित्र निर्माण कम्पनी इन्सेसन्ट रेन स्टुडियोजसँग लगानी सम्झौता गरेको हो । सम्झौताअनुसार चलचित्रको निर्माण र यससँग सम्बन्धित गतिविधिमा १० करोड रुपैयाँसम्म लगानी गरिने कम्पनीले जनाएको छ । एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सिवान्त बहादुर पाण्डेले यो साझेदारीले नेपालको एनिमेसन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाली मौलिक कथा र सिर्जनालाई विश्व बजारसम्म पुर्‍याउने उद्देश्यले यो लगानी गरिएको बताए । ‘लस्ट इन मण्डला’ एनिमेटेड फेन्टासी र एड्भेन्चर शैलीको चलचित्र हो । यसको सिर्जना तथा निर्देशन किरण भक्त जोशीले गरेका हुन् भने निर्माता दीपा चिपालु जोशी हुन् । चलचित्र हिमालय क्षेत्रका आध्यात्मिक परम्परा, पौराणिक कथा र प्राकृतिक सौन्दर्यबाट प्रेरित छ । यसले मित्रता, करुणा, अपनत्व र आत्म–अन्वेषणको कथा विश्वस्तरीय एनिमेसनमार्फत प्रस्तुत गर्ने लक्ष्य राखेको निर्माण पक्षले जनाएको छ । एनआइएमबि एस क्यापिटलले यसअघि पनि ‘लस्ट इन मण्डला’ परियोजनाका लागि कोष संकलन र लगानीकर्ता परिचय कार्यक्रममा सहयोग गर्दै आएको जनाएको छ ।