राहत वितरण गर्दा बाढीपीडितको अनुमति बिना फोटो–भिडियो नखिच्‍नू

काठमाडौं । समाज कल्याण परिषद्ले बाढी पीडितको अनुमति बिना फोटो, भिडियो तथा श्रव्य-दृश्य सामग्री सार्वजनिक नगर्न आग्रह गरेको छ ।  पीडितहरूको फोटो खिचेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालका प्लेटफर्ममार्फत सार्वजनिक गर्ने क्रम बढेको भन्दै परिषद्ले आपत्ति जनाएको छ । परिषद्ले विज्ञप्ति जारी गर्दै राहत तथा मानवीय सामग्री वितरण गर्दा राहत सामग्री वितरणसम्बन्धी आचारसंहिता पूर्ण रूपमा पालना गर्न तथा पीडितको पीडा थपिने गरी उनीहरूको अनुमति बिना फोटो, भिडियो नखिच्न आग्रह गरेको छ । त्यसैगरी, राहत वितरणका क्रममा धार्मिक वा व्यावसायिक प्रकृतिका फोटो, लोगो, अन्य संकेत तथा प्रचारात्मक सामग्री नराख्न, प्रकाशन तथा प्रसारण नगर्न–नगराउन सामाजिक संघसंस्था,स्वयंसेवी संस्था, व्यक्ति तथा सम्बन्धित सबैलाई परिषद्ले अनुरोध गरेको छ । परिषद्ले प्रचारात्मक सामग्री राख्ने तथा पीडितको फोटो–भिडियो खिच्ने कार्य अझै जारी रहेको पाइएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न विज्ञप्ति जारी गरेर आग्रह गरेको छ । परिषद्ले विपद्को समयमा पीडित नागरिकलाई राहत र मानवीय सहयोग उपलब्ध गराउनुका साथै उनीहरूको सम्मान, गोपनीयता र मानवीय संवेदनशीलताको समेत संरक्षण गर्न जोड दिएको छ । भदौँ १० गते रसुवामा आएको बाढील रसुवा, नुवाकोट र धादिङमा जनधनको क्षति गरेको छ।  बाढी प्रभावित क्षेत्रका स्थानीयलाई विभिन्न व्यक्ति तथा संघ-संस्थाले सहयोग गरिरहेका छन् ।

संकटा फुटबल क्लबले साढे २ करोडमा भाडामा लियो वायुसेवा निगमको भवन

काठमाडौं । संकटा फुटबल क्लबले नेपाल वायुसेवा निगमको कान्तिपथस्थित प्रधान कार्यालय भवनका पसल कवल दुई वर्षका लागि भाडामा लिएको छ । निगमको प्रधान कार्यालय भवनको दक्षिणतर्फ टेबहाल सडकतर्फ रहेका ई र एफ खण्डका कुल ३ हजार ४ सय ९६ वर्गफिट क्षेत्रफलका पसल कवल भाडामा लगाउन निगमले सिलबन्दी बोलपत्र आह्वान गरेको थियो । प्राप्त बोलपत्रमध्ये संकटा फुटबल क्लब छनोट भएको निगमले जनाएको छ । निगमका अनुसार क्लबले बहाल करसहित प्रतिवर्गफिट प्रतिमहिना ३ सय ७ रुपैयाँ भाडा कबोल गरेको छ । दुई वर्षका लागि क्लबले कबोल गरेको कुल बहाल रकम २ करोड ५७ लाख ५८ हजार रुपैयाँ रहेको छ । निगमले गत साउन २० गते गोरखापत्रमा सूचना प्रकाशित गरी आफ्नो नाममा दर्ता रहेको कान्तिपथस्थित प्रधान कार्यालय भवनको दक्षिणतर्फ टेबहाल सडकतर्फ रहेका पसल कवल दुई वर्षका लागि भाडामा लगाउन इच्छुक व्यक्ति तथा संघसंस्थाबाट सिलबन्दी बोलपत्र आह्वान गरेको थियो । प्राप्त सिलबन्दी बोलपत्रमध्ये सारभूत रूपमा प्रभावग्राही रहेको संकटा फुटबल क्लबको बोलपत्र छनोट गर्ने निर्णय भएको निगमले जनाएको छ ।

आज श्रीकृष्ण जन्माष्टमी, देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरिँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् । द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ । यस अवसरमा देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तनलगायत कार्यक्रम आयोजना गरिन्छ। भक्तजनले व्रत बसी रातभर जाग्राम बस्ने परम्परा पनि छ । धार्मिक मान्यताअनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव समुदायको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको हो । श्रीकृष्णले जीवनभर सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको धार्मिक ग्रन्थमा उल्लेख छ । कुरुक्षेत्रको युद्धमा कौरवविरुद्ध लडिरहेका पाण्डवमध्येका अर्जुनलाई श्रीकृष्णले दिएको उपदेशलाई श्रीमद्भगवद्गीता भनिन्छ । हिन्दु धर्मावलम्बीका लागि पवित्र ग्रन्थ मानिने गीतालाई छोटकरीमा गीता पनि भनिन्छ। यो विश्वका धेरै भाषामा अनुवाद भएको धार्मिक ग्रन्थका रूपमा परिचित छ । पौराणिक ग्रन्थमा श्रीकृष्णले बाल्यकालदेखि नै विभिन्न लीला देखाएको र पुतना, कंस, जरासन्ध तथा शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको उल्लेख छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । त्यस्तै, काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा पर्ने कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाममा पनि भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ठूला तथा साना कृष्ण मन्दिरमा समेत भक्तजनको भीड लाग्ने गरेको छ । पर्वका अवसरमा विभिन्न धार्मिक संघसंस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रासमेत निकाल्ने गरेका छन् । श्रीकृष्ण जन्माष्टमीका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।