विपद् प्रतिकार्यमा सरकारलाई सहयोग गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकमा आएको प्राकृतिक विपद्पछिको खोज, उद्धार र राहत वितरणमा सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको छ । पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले उद्धार र राहतका साथै दीर्घकालीन पुनःस्थापनाका कार्यमा सरकारको हात बलियो बनाउने गरी पार्टी अघि बढ्ने बताए । बैठकमा भएको छलफलबारे जानकारी दिँदै प्रमुख सचेतक बुर्लाकोटीले राहत वितरणलाई प्रभावकारी र द्रुत बनाउन ७२ घण्टाको समयसीमाभित्र काम सक्नुपर्नेमा जोड दिए । उनका अनुसार संकलन भएका राहत सामग्रीहरू ढिला नगरी कम्तीमा ७२ घण्टाभित्र पीडितसमक्ष पुर्‍याउनुपर्ने पार्टीको निष्कर्ष रहेको छ । हाल राहत वितरणमा सरकारले ‘एकद्वार प्रणाली’ अनिवार्य नगरेको सन्दर्भमा बोल्दै बुर्लाकोटीले भने, ‘सरकारी क्षमताले मात्र सबै ठाउँमा पुग्न कठिन हुनसक्ने भएकाले धेरै संघसंस्थाहरूले सिधै राहत वितरण गरिरहनुभएको छ । वितरणको क्षमता नभएका संघसंस्थाहरूले भने सरकारी संकलन केन्द्रमा सामग्री हस्तान्तरण गर्नुपर्छ र सरकारले त्यसको समुचित वितरण गर्नेछ ।’ सरकार र पार्टीबीचको समन्वयका बारेमा स्पष्ट पार्दै उनले प्रधानमन्त्रीको सल्लाहकार समेत पार्टीको सचिवालयमा रहेकाले राहत र पुनस्र्थापनाको सन्दर्भमा आवश्यक तयारी र समन्वय भइरहेको जानकारी दिए ।  रास्वपाले विपद्को यस घडीमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर मानवीय सहायतामा केन्द्रित हुन सबै पक्षलाई आह्वान समेत गरेको छ ।–न्युज एजेन्सी नेपाल

पुनले गरे प्रधानमन्त्री शाहसँग भेट

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार (आज) भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि जारी खोज तथा उद्धार, घाइतेको उपचार र राहत वितरणलगायत विषयमा छलफल भएको छ । भेटमा बाढीबाट क्षतिग्रस्त पूर्वाधारलाई शीघ्र पुनः सञ्चालनमा ल्याउने तथा प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ । यसअघि प्रधानमन्त्री शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गरेका थिए ।  उक्त भेटमा पनि भोटेकोशी बाढीबाट भएको क्षति, उद्धार तथा राहतलगायत समसामयिक विषयमा छलफल भएको थियो ।

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार पार्टीको केन्द्रीय कार्यालय घण्टीघर, बनस्थलीमा बिहान १० बजे सचिवालय बैठक बोलाइएको हो । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा रसुवा बाढी, पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक विषय तथा पार्टीका आगामी गतिविधिका विषयमा छलफल हुने बताइएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, त्यसले पार्टीमाथि पारेको प्रभाव तथा रास्वपाले आगामी दिनमा लिनुपर्ने राजनीतिक रणनीतिका विषयमा समेत छलफल हुन सक्ने जनाइएको छ । त्यस्तै, पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक मुद्दामा पार्टीको धारणा र आगामी कार्यक्रमका विषयमा पनि सचिवालय सदस्यबीच छलफल हुने बताइएको छ ।