बीमा प्राधिकरण कोशीको वार्षिक प्रगति प्रतिवेदन प्रदेश सरकारसमक्ष पेश
काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ को बार्षिक प्रगती प्रतिवेदन आर्थिक मामिला तथा योजनामा पेश गरिएको छ । प्रदेश कार्यालयले गरेका प्रमुख कार्यक्रम, गतिविधि तथा उपलब्धिहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन कोशी प्रदेश सरकारका माननीय आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेप समक्ष पेश गरेको छ । बीमा प्रधिकरण कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुख राजेन्द्र महर्जनले बीमा प्राधिकरणले गरेको प्रगती विवरणको अवस्था समेटिएको बार्षिक विवरण माननीय मन्त्रीसमक्ष पेश गरेका हुन् । प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ मा कार्यालयबाट सञ्चालन गरिएका बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम, विभिन्न सरोकारवालासँगको अन्तरक्रिया, बीमाको पहुँच विस्तार तथा बीमा क्षेत्रको विकासका लागि गरिएका विभिन्न पहललगायतका प्रमुख गतिविधिहरू समेटिएका छन् । प्रतिवेदन पेश गर्ने क्रममा कोशी प्रदेशमा बीमा क्षेत्रको वर्तमान अवस्था, बीमाको पहुँच विस्तार तथा आम नागरिकमा बीमाको महत्व र आवश्यकताबारे थप सचेतना अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । आगामी दिनमा प्रदेश सरकार र नेपाल बीमा प्राधिकरणबीच समन्वय तथा सहकार्य गरी आम नागरिकलाई लक्षित बीमा सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने विषयमा समेत छलफल भएको थियो । प्रदेशका ग्रामीण तथा बीमाको पहुँच न्यून रहेका क्षेत्रसम्म बीमा सम्बन्धी सूचना तथा सेवाको पहुँच विस्तार गर्ने, नागरिकलाई बीमाप्रति थप जागरूक बनाउने तथा बीमा सम्बन्धी समस्या र गुनासोको प्रभावकारी सम्बोधनका लागि सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्ने विषयमा समेत जोड दिइएको थियो । सो भेटघाटले कोशी प्रदेशमा बीमाको पहुँच तथा प्रभावकारिता अभिवृद्धि गर्दै आम नागरिकलाई बीमाको दायरामा ल्याउन प्रदेश सरकार र नेपाल बीमा प्राधिकरणबीच आगामी दिनमा थप सहकार्य र समन्वय गर्ने आधार तयार हुने अपेक्षा गरिएको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बाढीपीडितलाई दियो ६२ लाख
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले भोटेकोसी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ६२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ । त्यस्तै, कम्पनीमा कार्यरत कर्मचारीहरूले पनि आफ्नो एक दिनको तलब बराबरको ११ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सामूहिक रूपमा योगदान गर्ने निर्णय गरेका छन् । यससँगै कम्पनी र कर्मचारीबाट बाढीपीडितका लागि कुल ६२ लाख रुपैयाँ सहयोग हुने भएको छ । भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको कम्पनीले जनाएको छ । कम्पनीले विपद्को यस कठिन समयमा प्रभावित परिवारलाई साथ र सहानुभूति स्वरूप सहयोग गरिएको जनाएको छ । कम्पनीले स्थापनाकालदेखि नै प्राकृतिक विपद्, महामारी तथा अन्य संकटका समयमा सहयोग गर्दै आएको दाबी गरेको छ । बाढी प्रभावित नागरिकको सुरक्षित उद्धार र घरबारविहीन परिवारको पुनःस्थापना यथाशीघ्र गर्नुपर्नेमा कम्पनीले जोड दिएको छ । कम्पनीले बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
सूर्यज्योति लाइफले प्रधानमन्त्री उद्धार कोषमा दियो १ करोड
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई, सञ्चालक हेमन्त नाहटा र प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले संयुक्त रूपमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार, सुरक्षा निकाय र विभिन्न संघसंस्थाले गरिरहेको प्रयासमा ऐक्यबद्धता जनाउँदै कम्पनीले सहयोग गरेको जनाएको छ । कम्पनीका अनुसार उक्त सहयोगले बाढी प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न तथा उद्धार, राहत र पुनःस्थापनाका काममा सहयोग पुग्ने विश्वास लिएको छ । सूर्यज्योति लाइफले विगतमा पनि राष्ट्रिय आवश्यकता परेका विभिन्न विपद् तथा कठिन परिस्थितिमा आर्थिक तथा अन्य सहयोग गर्दै आएको जनाएको छ । विपद्को कठिन समयमा प्रभावित परिवारको राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको कम्पनीले जनाएको छ । आगामी दिनमा पनि राष्ट्रलाई आवश्यकता परेको अवस्थामा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग र सहकार्यलाई निरन्तरता दिने कम्पनीको प्रतिबद्धता छ । कम्पनीले बाढी तथा पहिरोबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । त्यस्तै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र सम्बन्धित निकायप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।