बाढीपीडितका लागि प्रभु महालक्ष्मी लाइफले ५१ लाख दिने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले सर्कुलरमार्फत उक्त सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति कम्पनीले दुःख व्यक्त गरेको छ । भीषण बाढी र डुबानका कारण दर्जनौँ नागरिकले ज्यान गुमाएका छन् भने कैयौँ बेपत्ता भएका छन् । बस्ती तथा पूर्वाधारमा क्षति पुगेपछि सयौँ परिवार विस्थापित भएका छन् । विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि भइरहेको सरकारी तथा स्थानीय प्रयासमा ऐक्यबद्धता जनाउँदै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो । कम्पनीले उक्त सहयोगबाट बाढी प्रभावितको खोज तथा उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार र पुनःस्थापनाका कार्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । प्रभु महालक्ष्मी लाइफले स्थापनाकालदेखि नै विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीका समयमा सहयोग गर्दै आएको जनाएको छ । कम्पनीले ‘ढुकढुक होइन, ढुक्क होऔँ’ भन्ने मूल भावनाअनुरूप सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताएको छ । कम्पनीले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, बेपत्ताको शीघ्र खोजी तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति कम्पनीले सम्मान तथा आभारसमेत व्यक्त गरेको छ ।

वार्षिकोत्सवमा नेपाल लाइफले गर्‍यो ६३७ उत्कृष्ट अभिकर्ता र एजेन्सी म्यानेजरलाई सम्मान

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्तीको अवसरमा आयोजना गरेको ‘लिडरसिप एक्सिलेन्स अवार्ड्स २०२६’ कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ । कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने देशभरका ६३७ अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।  भदौ ३ गतेदेखि दरबारमार्गस्थित होटल याक एण्ड यतीमा ‘एभरेस्ट इयर– क्लाउड्स एन्ड बियोन्ड’ मूल नारासहित आयोजना गरिएको कार्यक्रममा कम्पनीका सञ्चालकहरू कमलेशकुमार अग्रवाल, विमलप्रसाद ढकाल, प्रवीणप्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।  कार्यक्रममा सञ्चालक कमलेशकुमार अग्रवालले नेपाल लाइफले २५ वर्षको यात्रामा नेपाली जीवन बीमा उद्योगमा विश्वास, स्थायित्व र नेतृत्वको इतिहास निर्माण गरेको बताए । उनले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको जानकारी दिए ।  सञ्चालक विमलप्रसाद ढकालले व्यवसाय विस्तारसँगै व्यावसायिक अनुशासन, सुशासन, नियामकीय व्यवस्था तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रावधानको पूर्ण पालना गर्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिए । कम्पनीको दीर्घकालीन सफलताको आधार विश्वास, पारदर्शिता र व्यावसायिक नैतिकता रहेको उनको भनाइ थियो ।  प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आर्थिक वर्ष २०८२/८३ लाई कम्पनीका लागि ऐतिहासिक वर्ष भएको उल्लेख गर्दै आगामी दिनमा डिजिटल रूपान्तरणलाई तीव्र बनाउने घोषणा गरे । ग्राहकमैत्री डिजिटल सेवा, तथ्यांकमा आधारित निर्णय प्रणाली र व्यावसायिक प्रक्रिया स्वचालनमार्फत ग्राहक अनुभव अझ प्रभावकारी बनाइने उनले बताए ।  कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई पदक, सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । साथै नेपालभर उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई विशेष सम्मानसमेत गरिएको कम्पनीले जनाएको छ ।  नेपाल लाइफले २५ वर्षको अवधिमा जीवन बीमा कोष २८५ अर्ब रुपैयाँ पुर्‍याएको, मृत्युदाबी भुक्तानी दर ९९.१३ प्रतिशत कायम गरेको र हालसम्म ५५.७९ लाखभन्दा बढी बीमा पोलिसी जारी गरेको जनाएको छ । कम्पनीले हालसम्म ३६२ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेको तथा नेपाल सरकारलाई १७.७१ अर्ब रुपैयाँ कर तिरेको उल्लेख गरेको छ ।   

बाढी प्रभावितका लागि आइएमई लाइफको १ करोड सहयोग

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । बाढी र डुबानका कारण सयौं नागरिकको ज्यान गएको, कैयौं बेपत्ता भएको तथा बस्ती र पूर्वाधारमा ठूलो क्षति पुग्दा सयौं परिवार विस्थापित हुनुपरेको उल्लेख गर्दै कम्पनीले प्रभावित नागरिकप्रति हार्दिक सहानुभूति व्यक्त गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराइने १ करोड रुपैयाँ नेपाल सरकारमार्फत उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनाका कार्यमा परिचालन गरिने कम्पनीले जनाएको छ । कम्पनीले स्थापनाकालदेखि नै प्राकृतिक विपद्, महामारी र राष्ट्रिय संकटका बेला सहयोग गर्दै आएको उल्लेख गर्दै यसपटकको सहयोगले प्रभावित क्षेत्रको खोज तथा उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार र पुनर्स्थापनामा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । आइएमई लाइफले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै बेपत्ता नागरिकको शीघ्र खोजी, घाइतेहरूको स्वास्थ्यलाभ र उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ ।