बालेनको नेतृत्वमा नयाँ सरकार

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाई नजिकको मत पाउने निश्चित भएको छ । निर्वाचन आयोगले शनिबार साँझसम्म सार्वजनिक गरेको मतपरिणाम अनुसार  राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ ७१ प्रतिशत सिट जित्ने भएको छ । प्रत्यक्षतर्फ १६५ सांसद पदका लागि भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १२१ पदमा निर्वाचन क्षेत्रमा जित हासिल गर्ने देखिएको छ ।  पूराना र ठूला पार्टीहरु मध्ये नेपाली कांग्रेसले करिव २१ निर्वाचन क्षेत्रमा, नेकपा एमाले ११ निर्वाचन क्षेत्रमा, नेपाली कम्युनिष्ट पार्टीले ७ निर्वाचन क्षेत्रमा जित्ने सम्भावना छ । त्यस्तै पूर्व मेयर हर्क साङपाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीले ३ निर्वाचन क्षेत्रमा जित्ने सम्भावना देखिन्छ । राष्ट्रिय प्रजातन्त्र पाटीका ज्ञानेन्द्रबहादुर शाही र स्वतन्त्र उम्मेदवार एव पूर्व मन्त्री महाविर पुनले १÷१ क्षेत्रमा जीत हासिल गरेका छन् । समानुपातिक तर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डौ ५५ प्रतिशत मत पाउने देखिएको छ । प्रत्यक्ष र समानुपातिक गरी यस पार्टीले १७० भन्दा बढी सीटमा विजय हासिल गर्ने देखिएको छ । यो मत भनेको स्पष्ट बहुमतका लागि आवश्यक १३८ भन्दा धेरै बढी र दुई तिहाइ अर्थात १८४ भन्दा केही कम सिट हुनेछ । निर्वाचनपछि प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख सबै पदमा राष्ट्रिय स्वातन्त्र पार्टीको प्रतिनिधि हुने निश्चित रहेको छ । तर, राष्ट्रिय सभामा यस पार्टीको उपस्थिति शून्य भएका विधयक पारित गराउने सवालमा पुराना प्रमुख तीन दलसँगको साझेदारी अनिवार्य देखिएको छ ।  बालेन क्रान्ति नेपाली राजनीतिमा नयाँ तरिकाले उदाएका बालेन्द्र शाह (बालेन)ले अत्यधिक जनविश्वास पाएका छन् । निर्वाचनको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीले बालेनलाई तत्काल वरिष्ठ नेता स्वीकार गर्ने र उनलाई भावी प्रधानमन्त्री सम्झौता गरेको थियो । बालेनलाई भावी प्रधानमन्त्री बनाउने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी र यसको निर्वाचन चिन्ह घण्टीको समर्थनमा ब्यापक जनसमर्थन देखिएको थियो । ‘अबकी बार, बालेन सरकार’को नारा देशभर गुञ्जिएको थियो ।  राजनीतिक र सामाजिक विषयमा र्याप गीतका माध्यमबाट मनोरञ्जन र व्याङ्य गर्दै अगाडि बढेको बालेनले २०७० देखि २०७९ सम्म इन्जिनियरिङ पेशा अपनाएका थिए । २०७९ सालमा भएको स्थानीयत तहको निर्वाचनमा स्वतन्त्र रुपमा काठमाडौं महानगरपालिकाका मेयरमा निर्वाचित भएपछि उनको चर्चा देशविदेशमा हुन थालेको थियो ।  मेयरको रुपमा ४ वर्ष काम गर्दै गर्दा समग्रमा बजेट कार्यान्वनमा कमजोर देखिए पनि बालेनले महानगरको सरसफाइ, फुटपाथ व्यवस्थापन, सार्वजनिक स्कूलहरुमा सुधार, स्वास्थ्य क्षेत्रमा गरेका सुधारको धेरै प्रशंशा भएको थियो । उनको नेतृत्वमा अनधिकृत रुपमा मिचिएका हजारौं रोपनी सार्वजनिक जग्गा महानगर पालिकाको स्वामित्वमा ल्याउने, पार्किङ व्यवास्थपन गर्ने, सार्वजनिक शौचालयको व्यवस्थापन गर्ने कार्यको पनि धेरैले तारिफ गरेको थिए ।  सबैभन्दा महत्वपूर्ण विषय बालेनले भ्रष्टाचार गर्दैनन् भन्ने सन्देश उनी मेयर भएको समयमा नेपालीमाझ सञ्चार भएको छ । थोरै बोल्ने, संस्थागत विकासमा जोड दिने, आलोचनाभन्दा काम गरेर देखाउने मेयरको रुपमा पनि उनले अलगै पहिचाहन बनाएको थिए ।  भाषण धेरै गर्ने राजनीतिक संस्कारबाट वाक्क भएको नेपाली समाझमा उनी कम बोल्ने नेताका रुपमा स्थापित भएका छन् । चुनावी अभियानका क्रममा बालेन देशका झण्डै ५० जिल्ला भ्रमण गरे पनि उनले ६ स्थानमा मात्र भाषण गरे । भाषणमा उनले राष्ट्रिय अन्तराष्ट्रिय मुद्दा उठाएनन, मात्र स्थानीय मुद्दामा उनी बोलेका थिए । विपक्षी दल र तिनका नेतालाई गाली गर्ने राजनीतिक संस्कारलाई उनले तिलाञ्जली नै दिएका छन् ।  मेयर भएदेखि नै सञ्चार माध्यममा अन्तर्वार्ता नदिएका बालेनले निर्वाचनको समयमा समेत सञ्चार माध्यमहरुमा अन्तरवार्ता समेत दिएनन् । तर, बालेन क्रेज यति धेरै रह्यो कि निर्वाचनभर नेपाली र विदेशी सञ्चार माध्यमहरुले सबैभन्दा बढी स्थान उनै बालेनलाई दिएका थिए । विश्व प्रशिद्ध समाचार एजेन्सी रोयटर्स, न्यूयोक टाइम्स जस्ता सञ्चार माध्यममा बालेनको स्टोरीहरु प्रटक पटक प्रकाशित भए । सामाजिक सञ्जालमा बालेन सबैभन्दा लोकप्रिय नेताको रुपमा स्थापित छन् ।  प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारले असहयोग गरेपछि तत्कालिन मेयर बालेनले तत्कालीन प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जालबाट पटक–पटक चुनौति दिँदै आएका थिए । अन्ततः बालेन झापाको ५ नम्बर निर्वाचन क्षेत्रमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता केपी ओलीसँग निर्वाचनमा भिड्न नै पुगे । र, ओलीको भन्दा झण्डै चार गुणा बढी मत ल्याएर विजय हासिल गरे । बालेनले कुल ६८ हजार ३४८ मत पाउँदा ओलीले १८ हजार ७३४ मत मात्रै पाए ।  निर्वाचनअघि नै बालेनको राजनीतिक दबाब यति बलियो थियो कि त्यसको सामना गर्न केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्रमा मात्र सीमित भएका थिए । घण्टीको दबाबले प्रमुख दलका नेताहरु सबै आफूलाई कसरी सुरक्षित गर्ने भनेर पुरै निर्वाचन क्षेत्रमा सीमित भएका थिए ।  बालेनकै क्रेजले रास्वपाले देशभर लहर ल्यायो । अब रास्वपाले नयाँ सरकार गठन गर्नेछ । जसको प्रधानमन्त्री बन्नेछन् बालेन । अब बन्ने सरकारको बालेनले कसरी गर्नेछन् त्यो भने हेर्न बाँकी छ । 

राष्ट्र बैंक भित्रका ‘मर्जर किङ’, डेपुटी गभर्नरका दाबेदार

काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयभित्र नीतिका कागजहरू मात्रै लेखिँदैनन्, त्यहाँ केही जीवनका त्याग, केही परिवारका मौन सम्झौता र केही व्यक्तित्वका अविस्मरणीय यात्राहरू पनि लेखिन्छन् । गुरुप्रसाद पौडेल त्यस्तै एक पात्र हुन्, जसको करिअरको उकालो चढाइ व्यक्तिगत संघर्षको यात्रामात्रै रहेन, संस्थागत रूपान्तरणको इतिहास पनि बन्यो । बैंकिङ क्षेत्रको संरचना पुनर्गठन गर्ने मर्जर नीतिको व्यवहारिक कार्यान्वयनदेखि डिजिटल भुक्तानीको आधारशिला तयार पार्ने यात्रामा गुरुप्रसाद पौडेल राष्ट्र बैंकभित्रका एक पर्याय बने ।  परिणामस्वरूप उनले आफूलाई एक कुशल नियामक तथा प्रशासक र अनुसन्धानकर्ताका रूपमा पनि आफूलाई बलियो रूपमा चिनाए, देखाए र बुझाए पनि । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (ईडी)का रूपमा कार्यरत पौडेल राष्ट्र बैंकभित्र एक इमानदार, मिहिनेती र क्षमतावान ईडीका रूपमा परिचित छन् ।  स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ स्थित एक मध्यम वर्गीय परिवारमा विसं २०२९ सालमा जन्मिएका गुरुप्रसाद पौडेलले स्याङ्जाका पहाड चहार्दै बाल्यकाल बिताए । घरको काम गर्दै गाउँकै विद्यालयमा पढे । गाउँमै उकाली ओराली गर्दै गाउँकै हाइस्कुलबाट एसएलसी (हालको एसईई) पास गरे । विद्यालय पुग्न झण्डै दुई घण्टा हिँड्नुपर्ने दिनचर्या उनका लागि सामान्य थियो । ‘झण्डै दुई घण्टा हिँडेर विद्यालय जान्थ्यौं । एकदमै ट्यालेन्टेड विद्यार्थी पनि थिइनँ । कक्षामा दोस्रो/तेस्रो हुन्थें । कुनै कक्षामा प्रथम पनि भएका थिएँ । तर, तेस्रोभन्दा तल भने कहिल्यै भइनँ,’ उनले विद्यार्थी जीवन स्मरण गर्दै भने ।  एउटा सानो निर्णयले उनको जीवनको दिशा नै बदलिदियो । विज्ञान पढ्ने इच्छा हुँदाहुँदै पनि उनले अर्थशास्त्र रोजे । किनकि साथीहरूले पनि त्यही विषय पढिरहेका थिए । ‘मेरो ग्रुपमा अप्सनल म्याथ पढ्ने कोही भएनन् । म एक्लै पढें भने पिरियड फरक पर्छ र एक्लै घर फर्किनुपर्ने भयो । त्यसैले अरू साथीहरूले जे पढे मैले पनि त्यही विषय पढें । जसकारण म राष्ट्र बैंकमा छु,’ उनी भन्छन् ।  विसं २०४५ सालमा एसएलसी पास गरेका उनले आइकम र बिकम पोखराको पीएन क्याम्पसबाट पूरा गरे ।  सरकारी जागिर त्यागेर राष्ट्र बैंकमा  बिकम पास गरेलगत्तै गुरुप्रसाद पौडेल सरकारी जागिरे बने । शिक्षा मन्त्रालयअन्तर्गत क्षेत्रीय निर्देशनालय पोखरामै उनको पोस्टिङ भयो । पोखरामै पोस्टिङ भएपछि उनले डिग्री अध्ययन गर्ने सोचसहित पीएन क्याम्पसमा भर्ना भए । केही समयपछि उनको सरुवा शिक्षा मन्त्रालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरमा भयो । स्नातकोत्तर सकिने बित्तिकै विसं २०५८ सालमा राष्ट्र बैंकले आवेदन आह्वान गरेको देखेपछि उनले पनि दरखास्त दिए । ‘राष्ट्र बैंकको अधिकृत हुनका लागि स्नातकोत्तर चाहिन्थ्यो । मैले पनि सो तह पास गरिसकेको थिएँ । वि.सं २०५८ मा परीक्षा दिएको थिएँ, वि. सं २०५९ साउन २७ गते राष्ट्र बैंकको सहायक निर्देशकको रूपमा पास गरेर राष्ट्र बैंकमा सेवा सुरु गरें,’ उनले भने ।  त्यतिबेला उनको उमेर २८/२९ वर्ष थियो । उनको राष्ट्र बैंकमा प्रवेश गर्दाको क्षण रोचक छ । राष्ट्र बैंकमा प्रवेश गरेपछि उनको पोस्टिङ टक्सार महाशाखामा भयो । त्यतिबेला टक्सार महाशाखा सुन्धारामा थियो भने महाशाखाले सिक्का छाप्ने काम गर्थ्याे ।  ‘त्यतिबेला हामी सिक्का नै छाप्थ्यौं । असर्फी, मेडलियन लगायत सिक्का छापिन्थ्यो । आफै पगालेर पाता बनाएर छाप्ने कामबाट हामी विस्तारै सिक्कालाई प्रिन्टिङ गर्नेसम्म पुग्यौं । अहिले रेडिमेट सिक्का टेण्डर आह्वान गरेर बाहिरिबाट किनेर ल्याउँछौं,’ उनले भने ।  राष्ट्र बैंकमा एउटा राम्रो पक्ष भनेको प्रत्येक तहमा एक पटक जिल्ला बसेर सेवा गर्नैपर्छ ।  राष्ट्र बैंकको सरुवा नीति अत्यन्तै न्यायिक लाग्छ उनलाई । अन्य सरकारी कार्यालयमा एकचोटि सरुवा भएर जिल्ला पठाएपछि लामो समयसम्म केन्द्रमा नल्याउने प्रवृत्ति छ । तर, राष्ट्र बैंकमा त्यो हुँदैन । प्रत्येक तहमा नियमानुसार क्रमिक रूपमा सरुवा हुने गरेको उनले सुनाए । ‘साढे एक वर्ष टक्सारमा काम गरेपछि मेरो सरुवा गैर बैंकिङ सुपरीवेक्षण विभागमा भयो । केही समयपछि फेरि भैरहवा कार्यालयमा भयो । ‘राष्ट्र बैंकको सरुवा नीति बमोजिम करिब २ वर्ष भैरहवामा बसें । फेरि मेरो सरुवा बैंक सुपरीवेक्षण विभाग केन्द्रीय कार्यालयमा भयो,’ उनले सुनाए ।  बैंक सुपरीवेक्षण विभागमा आएपछि पौडेल दर्शनाचार्य (एमफील) पढ्न बिदामा बसे । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा एमफिल गरेका उनले ‘मर्जर एक्विजिशन इन नेपलिज बैंकिङ सिस्टम’मा शोधपत्र (थेसिस) गरे । बिदा सकिएपछि उनी नियमन विभागमा मर्जर एक्विजिशन सेक्सन कै हेड बने । त्यहाँ रहँदा उनले धेरै बैंक तथा वित्तीय संस्थाको मर्जरमा सहयोगी भूमिका निर्वाह गरे । आफ्नो पढाइ पनि मिलेकोले उनलाई बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिमा उल्लेखनीय सहयोग मिलेको उनले बताए ।  त्यसपछि पौडेलको सरुवा सामान्य सेवा विभाग (हाल सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग)मा भयो । सम्पत्ति तथा सेवा व्यवस्थापनमा काम गर्दै थिए, ठूलो प्राकृतिक विपत्ति आइपर्याे । २०७२ सालमा महाभूकम्प गयो । भूकम्पका कारण राष्ट्र बैंकको भवनहरू क्षतिग्रस्त बने ।  ‘एकदमै क्रिटिकल समयमा म सामान्य सेवा विभागमा थिएँ । भूकम्पपछि लगत्तै भवन बनायौं– गेटबाट छिर्ने बित्तिकै दाहिने साइटको लामो भवन म सोही विभागमा हुँदा बनाएको हो । जहाँ भुक्तानी प्रणाली, विदेशी विनिमय विभाग, आईटी, विभाग थियो । त्यो भवन छोटो समयमा निर्माण गरिएको हो, जतिबेला म सामान्य सेवा विभागमा थिए,’ उनले भने, ‘हामी त्रिपालमुनि बसिरहेका थियौं । एकदमै फास्ट ट्रयाकमा त्यो भवन बनाउन भूमिका निर्वाह गरेको छु ।’  त्यसपछि उनको सरुवा नेपालगञ्ज कार्यालय भयो । नेपालगञ्जमा उनले १६/१७ महिना काम गरे । नेपालगञ्ज अन्य कार्यालय भन्दा ठूलो थियो, किनकि त्यतिबेला १६ वटा जिल्ला नेपालगञ्ज कार्यालयले हेर्नुपर्थ्याे । सुदूरपश्चिमका लागि राष्ट्र बैंकको धनगढी कार्यालय छ । तर, धनगढीको फण्ड ट्रान्सफर लगायतको काम नेपालगञ्जले गर्थ्यो । त्यतिबेला सुर्खेत कार्यालय थिएन । जुम्ला, हुम्ला, कालिकोट, मुगु, प्युठान, दाङ लगायत मध्यपश्चिम र सुदूरपश्चिमको भूगोल र त्यहाँको आर्थिक गतिविधि अध्ययन गर्ने अवसर मिलेको उनले सुनाए ।  ‘कतिपय ठाउँमा बैंकको शाखा खोल्न सहजीकरण गरे । नरैनापूर गाउँपालिकास्थित साबिक सनराइज बैंकको शाखा खोेलेकोको याद आउँछ पौडेललाई । ‘बैंकका साथीहरूलाई अनुरोध गरेर साबिक सनराइज बैंकको शाखा खोलेको थिएँ ।  केही महिना अगाडि त्यो शाखा हेर्न पनि पुगेको थिएँ । त्यहाँ १८ हजारभन्दा बढी बैंक खाता खोलिएका रहेछन्,’ खुसी हुँदै उनले भने ।  त्यसपछि उनको सरुवा जनशक्ति विभागमा भयो । जनशक्ति विभागमा रहँदा २ जना कार्यकारी निर्देशकसँग काम गर्ने अवसर पाएको उनी बताउँछन् ।  ‘हामीले राष्ट्र बैंकको इतिहासमै पहिलो पटक एचआर प्लान बनाउँदै थियौं, त्यहीबेला मेरो सरुवा विदेशी विनियम विभागमा भयो,’पौडेलले सुनाए ।  २ वर्ष जनशक्ति विभागमा काम गरेपछि उनको सरुवा विदेशी विनिमय विभागमा भयो । जतिबेला कोरोना महामारीले विश्वभर त्रासमय वातावरण थियो । एकदमै क्रिटिकल समय भएकाले विदेशी मुद्रा र रेमिट्यान्स स्वाट्टै घट्ने चिन्ता पनि उत्तिकै थियो । तर, जनतालाई सहज रूपमा वित्तीय सेवा दिन सफल भएको उनले सुनाए ।  ‘कोरोना महामारीको समयमा हामीले वित्तीय प्रणालीलाई औपचारिक रुपमा सहजीकरण गर्याैं । पहिलोपटक मोबाइल वा वालेटबाटै रेमिट्यान्स भित्र्याउन सकिने व्यवस्था गर्याैं, ग्रुपमा रेमिट्यान्स भित्र्याउन सकिने व्यवस्था गर्याैं । पहिला पीटुपी मार्फत रेमिट्यान्स पठाउनुपर्ने व्यवस्था थियो । एउटा कम्पनीमा ५ हजार नेपाली काम गर्ने छन् भने ती ५ हजारले पठाएको रेमिट्यान्स नेपालीहरूले प्राप्त गर्न सकिने व्यवस्थाको सुरुवात गरियो । जसले गर्दा रेमिट्यान्स घट्न पाएन,’ उनले कोरोनाकाल सम्झिँदै भने ।  साथै विदेशी विनिमय विभागमा रहँदा ५ सयसम्मको डलर कार्ड लञ्च गरियो । नेपालमा बसेर विदेशबाट आवश्यकता अनुसार सामान ल्याउन, गुगल र्याम थप्न, केही वस्तु आयात गर्न डलर कार्डको प्रयोग गरेर विदेशी मुद्रामा भुक्तानी गर्न सकिने व्यवस्था भयो ।  कार्यकारी निर्देशकमा बढुवाको समय नजिकिँदै थियो । उनको भुक्तानी प्रणाली विभागमा सरुवा भयो । उनी भुक्तानी प्रणाली विभागमै रहँदा कार्यकारी निर्देशकमा बढुवा भए । भुक्तानी प्रणाली विभागमा उनले २ वर्षको हाराहारीमा काम गरे । जतिबेला कोरोना महामारीको त्रास कायमै थियो ।  ‘कोरोना महामारीको अवधिलाई डिजिटल भुक्तानीको स्वर्णकालका रूपमा लिने गरिन्छ । किनकि क्यूआर एडप्सन, मोबाइल वालेट लगायत थुप्रै काम डिजिटलाइज्ड भए । साथै नीतिगत व्यवस्था पनि गरिए । लाइसेन्स पनि दिइयो । नियमन गर्ने काम पनि गरियो,’ उनले भने । यसको नेतृत्व नै पौडेलले गरेका थिए । नेपालमा डिजिटल पेमेन्टको आधारशिला खडा गरेपछि पौडेलको सरुवा नियमन विभागमा भयो । नियमन विभागमा रहँदा कर्जाको माग घटिरहेको थियो, बैंकिङ क्षेत्र असहज वा अप्ठेरो स्थितिमा चलिरहेको थियो । तर, असहज अवस्थामा सहजीकरण गर्ने, सुविधा दिने व्यवस्थाको काम गरेको उनले सुनाए । २३ महिना नियमन विभागमा काम गरेपछि उनी हाल जनशक्ति व्यवस्थापन विभागमा कार्यरत छन् । राष्ट्र बैंकभित्रका ‘मर्जर किङ’ कार्यकारी निर्देशक पौडेलले दर्शनाचार्य पास गर्दा शोधपत्र पनि बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्तिमै गरे । जतिबेला नेपालमा बैंक तथा वित्तीय संस्थाको मर्जरको नीति आयो, सोही समयमा उनले थेसिस लेखे । त्यो थेसिस उनको जीवनकै महत्त्वपूर्ण डकुमेन्ट बन्यो । अर्थात् आफूले पढेको, लेखेको र बुझेको विषय उनले व्यवहारमा उतार्नुपर्ने समय आएको थियो ।  ‘मैले जे पढेको थिएँ, त्यो कार्यान्वयन गर्न पाएँ । अधिकांशले पढ्छन् मात्रै, कार्यान्वयन खासै गरिँदैन । तर, मैले जुन पढें र पढेको कुरालाई कार्यान्वयन गरें । र, नेपालको वित्तीय स्थायित्वलाई योगदान हुने काम गर्न पाएँ,’ खुसी हुँदै उनले भने ।  कुनै समय ३२ वटा वाणिज्य बैंक, ९० वटा विकास बैंक, ८६ वटा वित्त कम्पनी र १०२ वटा लघुवित्त संस्था थिए । यदि मर्जरको नीति सफल नभएको, मर्जर बिग्रेको र मर्जर नहुने अवस्था हुन्थ्यो भने अहिले धेरै वटा विकास बैंक र वित्त कम्पनी समस्यामा परेको हुन्थे ।  ‘समस्यामा परेका कर्णाली विकास बैंक, सुपर लघुवित्त लगायत २/३ वटा संस्थालाई व्यवस्थापन गर्न कति गाह्रो हुँदो रहेछ भनेर हामीले भोगिरहेका छौं । यदि मर्जर नभएर अहिले त्यस्ता १५/२० वटा संस्थालाई समस्या परेको भए हाम्रो मुख्य काम नै तीनै संस्थाको व्यवस्थापनमा हुन्थ्यो । ठूलो जनशक्ति त्यतातिर खर्च गर्नुपर्थ्यो,’ उनले भने, ‘मेरै कारण भनेर दाबी गर्दिनँ । तर, मैले गरेको योगदानका कारण वित्तीय स्थायित्व र संस्थाको संख्या घटाउन सहयोग गरेको हुँदा म आफूलाई गौरवान्वित हुन्छ र सन्तुष्ट  पनि छु ।’ पौडेलले विसं २०६९ मा थेसिस लेखेर एमफिल पास गरेका थिए । जतिबेला नेपालमा मर्जरको थालनीसमेत भएको थिएन । मर्जर सम्बन्धी नीतिगत व्यवस्थाका लागि कामहरू हुँदै थिए भने साबिक लक्ष्मी बैंक र एचआईएईएफ फाइनान्स मर्जर प्रक्रियामा थिए । जुन नेपालको कर्पोरेट इतिहासमा सफलतापूर्वक गाभिइने पहिलो संस्था बन्यो । केही विकास बैंक र फाइनान्स कम्पनीले पनि मर्जर गर्न खोजेका थिए । तर, सम्भव भएको थिएन । ‘विभिन्न पत्रपत्रिकामा १८/२० वटा मर्जरसम्बन्धी आर्टिकल नै लेखेको थिएँ । मर्जर एक्विजिशनको प्रभाव, टूबी टू फेल, मर्जरका सम्भावित समस्या, मर्जरका प्रक्रिया, मर्जरका अन्तर्राष्ट्रिय अभ्यास र अनुभव, अर्गानिक ग्रोथ अथवा नेचुरल ग्रोथ, के फाइदा हुन्छ, मर्जर गर्दा खेरी ड्यू डेलिजेन्स, मर्जर गर्दा कर्मचारीलाई पर्ने पीर मर्का लगायत १८/२० वटा आर्टिकल विभिन्न पत्रपत्रिकामा लेखेको थिएँ,’ त्यो पनि एउटा सन्दर्भ सामग्री बन्यो,’ उनले भने।  ‘म जुन विषय पढिरहेको छु, त्यही काम गर भनियो, त्यो पनि डेस्क हेड भएँ । मैले सतप्रतिशत दिनुपर्ने समय थियो, साढे २ वर्ष जति त्यहाँ बसेर मर्जर गर्ने काममा सहयोग गर्दा धेरै बैंकहरू मर्जर भए,’ उनले सुनाए । माछापुच्छ्रे बैंक र स्ट्याण्डर्ड फाइनान्सको मर्जर, ग्लोबल आइएमई बैंक र अन्य बैंक तथा वित्तीय संस्थाको मर्जर, किस्ट फाइनान्स मर्ज भएर बनेको किस्ट बैंक, किस्ट बैंक र ग्राण्ड बैंक मर्जर, कमर्स एण्ड ट्रस्ट, बैंक अफ एशिया र एनआईसी बैंक लगायत मर्जर तत्कालीन समयका उल्लेखनीय मर्जर थिए । मर्जर गर्दा सम्पत्तिको मूल्यांकन, कर्मचारी व्यवस्थापन, प्रणाली एकीकरणमा ख्याल गर्नुपर्छ । के गर्दा सफल र के भयो भने असफल मर्जर हुन्छ भनेर अध्ययन गरेर नेपाली बैंकिङ क्षेत्रमा मर्जर थालनी गरिएको उनले सुनाए । उनका अनुसार प्रिमर्जर, ड्यूरिङ द मर्जर र पोस्ट मर्जर गरेर मर्जरका तीन चरण हुन्छन् ।  ‘प्रि मर्जर एकदमै सजिलो हुन्छ । कफी खाएर तिमी र मबीच मर्जर गर्नुपर्छ भन्ने निर्णय गरिन्छ । ड्यूरिङ द मर्जर पनि नियामक लगायतले सहजीकरण गर्ने भएकाले सजिलो हुन्छ । तर, पोस्ट मर्जर पेनिक हुन्छ । एउटा फरक सँस्कारमा चलेको संस्थालाई अर्काे फरक सँस्कारको संस्थामा एकीकरण गरेर एउटै प्रणालीमा चल्नुपर्छ,’ उनले भने, ‘सिस्टम एकीकरण, कर्मचारीहरुबीच भावनात्मक एकता कायम गर्ने लगायत हुन्छन् । त्यसकारण पोस्ट मर्जर कम्प्लेक्स हुन्छ । तर, हामीले पहिला नै सबै काम गर्न लगाएर पोस्ट मर्जर पनि सहज भयो ।’  मर्जर एक्विजिशन सम्बन्धी छट्टै नीतिगत व्यवस्था भयो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–२०६३ मा मर्जर सम्बन्धी २ वटा मात्रै दफा थिए । पछि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–२०७३ मा धेरै वटा दफा राखेर मर्जरलाई ऐनभित्र राखेर व्यवस्थित गर्ने काम गरेको उनले बताए ।  पौडेलका अनुसार सफल मर्जरमा उल्लेख गर्नै पर्ने एउटा मर्जर हो– ५ वटा ग्रामीण विकास बैंक । पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंक थिए । यी ग्रामीण विकास बैंकमा राजनीतिकरण हावी थियो, कर्मचारी संगठनहरूको हावी थियो । पश्चिमाञ्चल बाहेकका ४ वटा ग्रामीण विकास बैंक पूरै घाटामा चलिरहेका थिए । राष्ट्र बैंकले आफ्नै खर्चमा डीडीए गरेर कर्मचारी व्यवस्थापन गराएर एउटा ग्रामीण विकास बैंक बनायो । जुन आजका दिनमा राम्रो लघुवित्त संस्थाको रूपमा सञ्चालित छ ।  श्रीमती बनिन् सफलताको सारथी गुरुप्रसाद पौडेल पोखराको पृथ्विनारायण क्याम्पस (पीएन) मा पढ्दै थिए । पोखराबाटै विवाह गरे । मागी विवाह गरेका उनी नेपाल राष्ट्र बैंकमा प्रवेश गर्दा एउटा बच्चा (छोरा)को बुवा भइसकेको थिए । पौडेलकी श्रीमती स्थायी शिक्षिका थिइन् । राष्ट्र बैंकको जागिरे भइसकेपछि घर जोड्दै आफ्नो करिअर क्रमिक रूपमा अगाडि बढाउँदै थिए । तर, राष्ट्र बैंक प्रवेश गरेको केही समयमै उनको सरुवा भैरहवा कार्यालयमा भयो ।  घरमा श्रीमती र सानो छोरा, आफू भैरहवा । त्यहीमाथि श्रीमतीको पनि जागिर । कसरी व्यवस्थापन गर्ने भन्ने ठूलो समस्या आइपर्याे । दुई जनामध्ये एक जनाले हुँदा खाँदाको जागिर छोड्नुपर्ने बाध्यता आइलाग्यो । अन्ततः उनकी श्रीमतीले स्थायी शिक्षिकाको जागिर त्याग्ने निर्णय गरिन् । मिहिनेत र परिश्रम गरेर प्राप्त गरेको सरकारी जागिर छोड्दाको पल उनका लागि अहिले पनि नमीठो लाग्छ ।  ‘श्रीमतीले पनि जागिरलाई निरन्तरता दिन सकेको भए राम्रो हुन्थ्यो भन्ने लाग्छ । कहिलेकाहीँ घरमा प्रसंग पनि चल्छ । तर, श्रीमतीले बच्चाको राम्रोसँग स्याहारसुसार गरिन् । जसकारण अहिले छोराहरू योग्य छन् । एउटा छोरा स्कलरसिपमा अस्ट्रेलियामा पीएचडी र अर्काे छोराले स्कलरसिपमा अमेरिकामा पढिरहेको छ,’ उनले गर्वका साथ भने ।  यदि आफ्नो श्रीमतीले त्यो बेलामा स्थायी जागिर नछाडेको भए आफू यो तहमा नपुग्ने उनी सुनाउँछन् । श्रीमतीको सहयोगका कारण नै आफू राष्ट्र बैंकको उच्च तहमा पुग्न सफल भएको उनी बताउँछन् ।  डेपुटी गभर्नरका दाबेदार कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई अपडेट भइरहन मन लाग्छ । बैंकिङको ट्रेण्ड क्लिक बैंकिङमा रुपान्तरण भइरहेको छ । पहिला शाखा खोलेर गरिने बैंकिङ अब क्लिक बैंकिङमा रुपान्तरण भइरहेको छ । डिजिटल एडप्सन बढिरहेको छ । उनी समयसँगै आफूलाई त्यसमा अभ्यस्त बनाउन रुचाउँछन् ।  उनका अनुसार राष्ट्र बैंक रूपमा एउटा कार्यालय हो । तर, सारमा १८ वटा फरक-फरक विभागले बनेको छ । अनुसन्धान विभाग, नियमन विभाग, सुपरीवेक्षण विभाग, मानव संशाधन विभाग, विदेशी विनिमय विभाग, भुक्तानी प्रणाली विभाग लगायत अधिकांश विभागमा काम गर्न पाएको अवसरले उनलाई थप परिपक्व र अनुभवी बनाएको छ ।  ‘राष्ट्र बैंकको ‘कोर काम’ कसरी हुन्छ, कसरी सम्पादन गरिन्छ भन्ने विषयमा उनी जानकार र अभ्यस्त पनि भइसकेका छन् । एमफील गरेको हुँदा ‘लिट्रेचर रिभ्यू’ र अनुसन्धानमा बढी विश्वास गर्छन् उनी । तथ्याङ्कमा आधारित नीति र कुनै पनि निर्णय गर्दा त्यो विषय यस्तो भइदिए के हुन्थ्यो भन्ने सोचेर निर्णय गर्नुपर्छ भन्ने जानकारी राख्छन् उनी । पब्लिकलाई न्याय हुने, धेरै मान्छेले रुचाउने काम गर्न मन लाग्छ,’ उनले भने, ‘म आफ्नो कामप्रति सन्तुष्ट छु । केही काम गर्न अझै हुटहुटी  छ ।’  शैक्षिक योग्यता, विभिन्न विभागमा रहेर गरेको अब्बल कामको अनुभव, टिममा बसेर काम गर्न सक्ने, डेलिभर गर्न सक्ने भएकाले राष्ट्र बैंकको डेपुटी गभर्नरका लागि आफू योग्य दाबेदार रहेको उनी सुनाउँछन् ।  राष्ट्र बैंकबाट बाहिरिएपछि उनलाई विद्यावारिधि गर्ने योजना छ । तर, पढेर भन्दा पनि गरेर सिकिन्छ भन्नेमा विश्वास गर्छन् उनी । ‘माथिल्लो उपलब्धि प्राप्त गर्न सकें भने थप काम गर्छु,’ उनले भने, ‘यदि त्यो प्राप्त हुन सकेन भने पनि थप पढ्ने योजना छ, उमेर पनि धेरै भइसकेको छैन ।’

काठमाडौं-१ मा १२५ मत हारको बदला लिने रणनीतिमा रविन्द्र, अनिर्णित मतले बदल्न सक्छ समीकरण

काठमाडौं । ट्वाक-ट्वाक, ट्वाक-ट्वाक सुकुम्बासी बस्तीभित्रबाट आइरहेको यो आवाज बागमती पारिको बाटोसम्म सुनिन्थ्यो । स्थानीय दुर्गाबहादुर राईले काठको बाकसमा काँटी ठोक्दै गर्दा आएको ध्वनि थियो यो । हामीले त्यही आवाजलाई पछ्यायौं र पुग्यौं बागमती किनारमै रहेको सुकुम्वासी बस्तीमा ।  काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत रहेको काठमाडौं महानगरपालिका ३१ को बागमती नदी किनाराको सुकुम्बासी बस्तीमा विगत २५ वर्षदेखि बस्दै आएका ६७ वर्षीय दुर्गाबहादुर राईले नयाँ आउने हरेकसँग भन्ने गरेका छन्, ‘सरकारले स्थायी बसोबास कहिले बनाइदेला ?’ उनले हामीसँग पनि त्यही गुनासो राखे । हामीले उनलाई निर्वाचनबारे सोध्यौं । उनको मतदानको मनसाय बुझ्यौं । जवाफमा उनले भने, ‘उम्मेदवारहरू घरदैलो गर्दै र गाडीमा झण्डा हल्लाउँदै मत माग्न आइरहेका छन् । स्थायी बसोबासको प्रबन्ध गर्ने दल र उम्मेदवारले हाम्रो मत पाउनेछ ।’ दुर्गाबहादुर राई । धेरै उम्मेदवारले बस्तीको समाधान गर्ने भने पनि कसैले केही नगरेको गुनासो राईको छ । ‘हामी मत दिन्छौं । मत पाएकाहरू डोजर लिएर हाम्रो बस्ती भत्काउन आउँछन्,’ उनले गुनासो गर्दै भने ।  राईका अनुसार उनले अघिल्लो निर्वाचनमा रुख चिन्हमा मत दिएका थिए । तर, उनले यस पटक मत परिवर्तन गर्ने सोच राखेका छन् । ‘मत परिवर्तन गरेर जसले हाम्रो जीवन सुधार्नेछ, त्यसलाई हाम्रो मत सुम्पनेछौं,’ उनले भने । उनले यस पटक सूर्यमा मतदान गर्ने योजना रहेको सुनाए ।  सुकुम्बासी बस्तीमै बसिरहेकी तीन महिलासँग हामीले कुराकानी गर्यौं । उनीहरू  चुनावी माहोलसँग परिचित देखिए । २५ वर्षीया रोजिता सुब्बा व्यवस्थित बसोबास र शिक्षा–स्वास्थ्य सुविधा दिने दललाई मत दिने बताउँछिन् । उनले गत स्थानीय निर्वाचनमा लौरो चिन्ह लिएर उम्मेदवार बनेका र हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता रहेका बालेन्द्र शाहलाई मत दिएको सुनाइन् ।  रोजिताले भनिन्, ‘मत बदलिए पनि दुःख नबदलिएकोले यस पटक नयाँ दललाई भोट दिनेछौं ।’ उनले यसपटक माटो चिन्हका नेताहरू बस्तीमा घुमिरहेकोले आफ्नो मत माटोमा हुने दिने बताइन् । पूर्वी धरानका निवर्तमान मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको प्रभाव बागमतीको सुकुम्वासी बस्तीमा पनि परेको देखियो ।  रोजिताको एउटै आग्रह छ- ‘यो थात र बास नगुमोस् । अनि कामका लागि विदेश जानुपर्ने बाध्यता हटोस् ।’ अनिता भण्डारी (४० वर्ष) पनि विगत २० वर्षदेखि यही सुकुम्वासी बस्तीमा बस्दै आएकी छन् । उनी भन्छिन्, ‘यो बस्ती जसले उठाउँदैन, त्यही उम्मेदवारलाई मत दिने हो ।’ उनले जिताएर पठाएपछि नेताहरू डोजर लिएर बस्तीमा आएको तीतो अनुभव पोखिन् ।  बागमती किनारको सुकुम्वासी बस्ती ।  ‘गत स्थानीय निर्वाचनमा नयाँ भनेर बालेनलाई जिताइयो । जितेको अर्को दिन उनै बालेन डोजर लिएर बस्ती भत्काउन आइपुगे,’ निराश हुँदै उनले भनिन्, ‘गरिबलाई हेर्ने नेता जो छ, उसैलाई मत दिने हो ।’ उनले भने कसलाई मत दिने भन्ने कुरामा निर्णय गरिसकेकी छैनन् ।  सुकुम्वासी बस्तीकै टीका विश्वकर्माको गुनासो पनि त्यही छ । उनी भन्छिन्, ‘दुई छाक खान विदेश जानुपर्ने बाध्यता हटोस्, स्वास्थ्य र शिक्षा निःशुल्क भए देश छोड्न बाध्य हुनेहरू कम हुने थिए । चुनावमा भोट दिइयो । तर, विजयी भएपछि कोही फर्केर आएनन् । सबै नेता आफूलाई मात्र महत्त्व दिन्छन् ।’ पूर्णबहादुर मगर (६६ वर्ष) जसले सानो घुम्ती पसल चलाउँछन् । उनले पनि यस पटक मत परिवर्तन गर्ने योजना बनाएका छन् । उनले भने, ‘देश र जनतालाई माया गर्ने नेता कोही भएनन् । भ्रष्टाचारमा लिप्त नेता मात्र छन् । हामीले विचार गरेर मत हाल्ने हो ।’  ६४ वर्षीय डम्बर बहादुर मगरले यसअघि पुराना दललाई मत दिएको भए पनि यस पटक नयाँ दललाई दिने प्रतिवद्धता व्यक्त गरे । उनको योजना रास्वपालाई मत हाल्ने छ ।  अर्का स्थानीय जंगबहादुर लिम्बुले जवान हुँदा राज्यसँग आशा नगरे पनि उमेर ढल्कदै जाँदा राज्यसँग आशा लागेको दाबी गरे । उनले वृद्धभत्ता दिने पार्टीका रुपमा एमालेलाई बुझेका छन् । त्यसैले आफूले एमालेलाई मतदान गर्ने उनले सुनाए ।  क्रमशः डम्बरबहादुर मगर र जंगबहादुर लिम्बु ।  ५४ वर्षीय धनेश्वर लिम्बुले माओवादीलाई स्थायी बसोबासको श्रेय दिन्छन् । उनले भने, ‘माओवादीले विपन्न र अल्पसंख्यकको मुद्दा स्थापित गरेको छ । अन्य दलले खासै केही गर्न सकेका छैनन्, त्यसैले म तारामा मतदान गर्छु।’ ४८ वर्षीय दीपक भुजेलले भने, ‘सुकुम्बासी बस्तीका मुद्दा उठाउने काम एमालेले गरेको छ । यहाँको कुल १५ सय मतमध्ये एक हजार मत एमालेलाई जाने निश्चित छ ।’   हामी सुकुम्वासी बस्तीपछि यस क्षेत्रकै पुरानो बस्ती घट्टेकुलोतर्फ लाग्यौं । दिपेन श्रेष्ठ (४४ वर्ष) घट्टेकुलोमा किराना पसल चलाउँछन् । उनले अझैसम्म निर्वाचनको माहोल नबनेको बताए । श्रेष्ठले सोचेर मतदान गर्ने बताए ।  पिपलबोट नजिकै कपडा पसल सञ्चालन गर्दै आएका रामकृष्ण गैरेले पुराना र प्रगतिशील दलमा मत जाने संकेत गरे ।  घट्टेकुलोका प्रमोदराज काफ्लेले (४९ वर्ष) भने यसपटक खुलेर हलोमा मतदान गर्ने बताए । उनको जस्तै मत छ गिरीलाल श्रेष्ठ (५१ वर्ष) को पनि । श्रेष्ठ राजसंस्थाले स्पेस पाउने र सबै अटाउने व्यवस्थाका लागि आफूले हलोमा मत दिने बताए ।  नयाँ बानेश्वरका बाबुराम आचार्यले हरेक निर्वाचनमा नेपाली कांग्रेसमा मत दिइरहेकोले यस पटक पनि सोही पार्टीलाई मत दिने धारणा राखे ।  शंखमूलका ५४ वर्षीय प्रभात श्रेष्ठले पुराना दलमा विश्वास कमजोर बन्दै गर्दा आफू पनि सच्चिएको र देशलाई सही ट्र्याकमा लैजान सक्ने पार्टी कांग्रेसलाई मत दिने बताए ।   अर्का स्थानीय मुकुन्द श्रेष्ठ (६३ वर्ष) ले पनि मत सोचेर मात्र दिने बताए । उनले भने, ‘हामीले आफ्नै सम्झेर दल र नेतालाई मत दिन्छौं । तर विजयी भएपछि नेता यहाँ फर्किँदैनन्, अब त केही सोच्नुपर्छ ।’ मतदाताको प्राथमिकता सुकुम्वासी बस्तीका मतदाताको प्रथमिकतामा स्थायी बसोबास, रोजगारी, शिक्षा र स्वास्थ्य रहेका छन् । उनीहरू भन्छन्, ‘पार्टी र उम्मेदवारहरूले चुनावको बेला जे–जे प्रतिबद्धता जनाउँछन् त्यो गरून् । अनावश्यक आशा देखाएर निराश नपारून् ।’ यस क्षेत्रमा रहेका १० नम्बर वडा शंखमूल र ३१ नम्बर वडाको सिनामंगल क्षेत्रमा ठुलो संख्यामा सुकुम्वासीहरू बस्छन् । यी बस्तीमा २ हजार ५ सय जति मतदाता रहेको सुकुम्वासी नेताहरू बताउँछन् । मध्य बानेश्वर, नयाँ बानेश्वर, घट्टेकुलो र बुद्धनगर आसपासका मतदाता भने भ्रष्टाचार नहोस्, सरकारी कार्यालयमा सहजरूपमा काम होस् भन्ने चाहन्छन् ।  शंखमूलका बाबुराम पाण्डे (५९ वर्ष) अपर्याप्त कानुनहरू बनाउने र बनेका कानुनहरू सशक्तरूपमा कार्यान्वयन गर्न सरकारलाई खबरदारी गर्न सक्ने उम्मेदवारलाई मत दिने बताउँछन् ।  बुद्धनगरका नारायण रेग्मी (५० वर्ष) पनि प्रतिनिधि सभा सदस्यले वडाध्यक्षले जस्तो विकास निर्माणका मुद्दा लिएर मतदातामा जान नहुने दाबी गर्छन् । उनी भन्छन् ‘सरकारको विकेन्द्रीकरण र संघीयता अनुरूप अरू सरकार विकास निर्माणमा लाग्ने र संघीय संसद कानुन बनाउन र संघीय सरकार कानुन कार्यान्वयनमा लाग्नुपर्छ।’ मतदातासँग कुराकानी गर्दै विकासन्युजकर्मी पुष्पलाल पाण्डे ।  शंखमूलका मुकुन्द श्रेष्ठ (६३ वर्ष) पनि आफूलाई केही नचाहिने सरकारले पारदर्शिता कायम गर्दै आफूहरूजस्ता व्यवसायीलाई कर तिर्न उत्साहित गर्नुपर्ने बताउँछन् । पाण्डे, रेग्मी र श्रेष्ठ तीनै जनाले पुराना दललाई नै मतदान गर्ने बताए पनि कुन दललाई भन्ने खुलाएनन् । पुराना दलको आलोचना गर्ने नयाँ मतदाताले भने नयाँ दलमा विश्वास राखेका छन् । उनीहरूको एउटै विकल्पका रूपमा रास्वपा देखिएको छ भने कतिपयले हर्क साम्पाङको श्रम संस्कृतिको नाम पनि लिएका छन् ।  कतिपय मतदाताले पुराना दलको संगठन र इतिहासलाई आधार मानेर मतदान गर्ने योजना बनाएका छन् । हामीले भेटेका मतदाताले आफ्नो जीवन सुधार्ने आशाले मात्र मतदान गर्ने तयारी गरेको बताएका छन् । चार दलको तीव्र प्रतिस्पर्धा, मिश्र अगाडि  काठमाडौं-१ नेपाली कांग्रेसका तत्कालीन सभापति तथा अन्तरिम प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई र एमालेका तत्कालीन महासचिव स्व.मदन भण्डारीले प्रतिस्पर्धा गरेको निर्वाचन क्षेत्र हो । २०४८ को आम चुनावमा तत्कालीन प्रधानमन्त्री तथा २०१५ सालको प्रतिनिधि सभाका सभामुख भट्टराईलाई पराजित गर्दै एमालेका भण्डारीले प्रतिनिधि सभामा डेब्यू गरेका थिए । २०५१ को मध्यावधिमा पनि एमालेले नै जित्यो । यसै निर्वाचन क्षेत्रबाट विजयी बनेका एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बनेका थिए । २०५६ मा पनि एमालेले यस क्षेत्रमा जित निकालेको थियो ।  एमालेका प्रदीप नेपालले जितेको यस क्षेत्रमा ०६४ मा भने कांग्रेसले बाजी मार्‍यो । यो क्षेत्रबाट ०६४ देखि ०७०, ०७४ र ०७९ मा कांग्रेसका प्रकाशमान सिंहले जित हासिल गरेका थिए । २०७९ को चुनावमा यो क्षेत्रमा राप्रपाका उम्मेदवार रविन्द्र मिश्र झिनो मतले पराजित भएका थिए । यो क्षेत्रबाट अहिले मिश्रबाहेक अरू सबै उम्मेदवार नयाँ छन् । यस पटकको निर्वाचनमा यो क्षेत्रमा ४ दलको तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । यसअघि चार पटकको विजेता नेपाली कांग्रेसले जितलाई नै निरन्तरता दिने गरी अगाडि बढिरहेको देखिन्छ । कांग्रेस उम्मेदवार प्रवल थापाले स्थायित्व र विकासका लागि आफूले जित्ने बताउँछन् । एमाले पनि १८ वर्षदेखि गुमेको विरासत फर्काउने रणनीतिमा छ । यसअघिका निर्वाचनमा रणनैतिक कमजोरीका कारण पराजय भोगेको दाबी एमाले उम्मेदवार मोहनराज रेग्मीको छ ।  राप्रपाका उम्मेदवार रविन्द्र मिश्र कांग्रेस र एमालेबाट जनता आजित भएको र केही नयाँ भनिनेहरूप्रति विश्वास नरहेकोले यस पटकको जनअनुमोदन आफ्नो पक्षमा हुने दाबी गर्छन् । रास्वपाकी रञ्जु दर्शना देशैभरको माहोल र काठमाडौंका चेतनशील मतदाताको मत आफ्नो पक्षमा हुने ठोकुवा गर्छिन् ।  यस क्षेत्रका मतदाता रहेका रामकृष्ण गैरेले एमालेमा संगठनको बल रहेको, कांग्रेसमा पुराना मतदाताको रुझान रहेको, रास्वपाप्रति युवाहरूको आकर्षण देखिएको र राप्रपासँग स्थानीय बौद्धिक समुदायको समर्थन भएकोले यसैले जित्ला भन्न नसकिने बताउँछन् । हामीले भेटेका मतदाताको मत सर्वेक्षण र गरेको कुराकानीको विश्लेषणले पनि ठ्याक्कै एउटै उम्मेदवारको पक्षमा जनमत गएको देखाएन । एमाले, कांग्रेस र रास्वपाका उम्मेदवारभन्दा झिनो मतले राप्रपाका मिश्र अगाडि देखिए पनि उनले लिएको अग्रता जितका लागि पर्याप्त देखिँदैन । हामीले भेटेकामध्ये २३ प्रतिशत मतदाताले राप्रपा रोज्ने बताएका छन् । राप्रपा रोज्ने मतदाता ५० वर्ष आसपास या त्योभन्दा माथिको उमेर समूहका देखिएका छन् ।  रुख र घण्टीमा मतदान गर्ने मतदाता समान २१/२१ प्रतिशत देखिएका छन् । यो समूहमा सबै जसो उमेर समुहका मतदाता भेटिएका छन् । सूर्यमा मतदान गर्ने मतदाता २० प्रतिशत रहेका छन् । यस समूहमा मतदान गर्नेमा सुकुम्वासी बस्तीका मतदाता धेरै देखिन्छन् । ३१ नम्बर २९ नम्बर वडामा भने सूर्यमा मतदान गर्ने मतदाता धेरै भेटिए ।  काठमाडौंमा अन्यत्र नदेखिएको दृश्य यस क्षेत्रमा देखिएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारले प्राप्त गर्ने मत श्रम संस्कृति पार्टीलाई मतदान गर्ने मतदाता बराबर देखिए । समान ४/४ प्रतिशत मतदाताले यी दुई पार्टीलाई रोजेका छन् । हामीसँग संवाद गरेका ५ प्रतिशत मतदाताले कसलाई मत दिने भनेर निर्णय नगरेको बताएका छन् भने २ प्रतिशत मतदाताले अन्य दल र स्वतन्त्र उम्मेदवारलाई मत दिने बताएका छन् । अन्तिम समयसम्म अनिर्णित रहेको ५ प्रतिशत मत जहाँ जान्छ त्यही उम्मेदवारले जित्ने सम्भावना बढी छ । यदि त्यो म विभाजित भएर गएको खण्डमा राप्रपाका उम्मेदवार मिश्र अगाडि बढ्ने देखिन्छ । यी हुन् अन्य उम्मेदवार यस निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी नेपालले प्रकाश नायजु, नेपाल मजदुर किसान पार्टीले रमिला ज्याख्व, प्रजातन्त्रिक लोकतान्त्रिक पार्टीले सविन सिग्देल र श्रम संस्कृति पार्टीले समीर लामा तामाङलाई उम्मेदवार बनाएका छन् ।   मितेरी पार्टी नेपालले राज कुमार लिम्बु र  धनराज शाही नेपाल कम्युनिष्ट पार्टी माओवादीवाट उम्मेदवार बनेका छन् । मंगल लाल श्रेष्ठ उज्यालो नेपाल पार्टी, इन्द्र प्रसाद श्रेष्ठ राष्ट्रिय मुक्ति पार्टी नेपाल, अर्जुनबहादुर शाही नेपाल जनसेवा पार्टी सुरेन्द्र पाण्डे समावेशी समाजवादी पार्टी र कमल सुवेदी जनादेश पार्टी नेपालवाट उम्मेदवार बनेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवारहरूमा असिममान सिंह बस्न्यात,  कमल कोइराला,  किरण शाह, कुमार शाही,  कुशल खत्री, रमेश प्रसाद जोशी र  राज कुमार बजगाई रहेका छन् । यस्तै, राजु भुजेल, शम्भु पोख्रेल, शान्ति श्रेष्ठ, सागर जोशी, सुरेन्द्र प्रसाद ढकाल र संगीता बम पनि स्वतन्त्र उम्मेदवार बनेका छन् ।  काठमाडौं-१ मा काठमाडौं महानगरपालिकाको वडा नम्बर १०, ११, २९ र ३१ रहेका छन् । निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा कुल ४८ हजार ४८९ मतदाता रहेका छन् । जसमध्ये पुरुष २३ हजार २३७ र महिला २५ हजार २५२ जना छन् । मतदान स्थल २२ र मतदान केन्द्र ५७ वटा रहेका छन् ।