ग्रामीण केन्द्रित चिकित्सा शिक्षाका अभियन्ता

अमेरिकामा उज्ज्वल करिअर, एमडीको पढाइ सकेर उच्च आम्दानी र सुरक्षित जीवनको बाटो खुलिसकेको थियो । तर प्राध्यापक डा. अर्जुन कार्कीले त्यो बाटो रोजेनन् । अमेरिकामा बसेर नेपाल र अमेरिकाको स्वास्थ्य सेवाको तुलना गरे । र, मनमनै भने, ‘मजस्ता चिकित्सक आफ्नै देश फर्किएनन् भने नेपालको हालत त्यस्तै रहन्छ । मैले स्वदेश फर्किएर आफूले सकेसम्मको सेवा गर्नुपर्छ ।’ अमेरिकाको स्टेट युनिभर्सिटी अफ न्यूयोर्कबाट तीन वर्ष ‘इन्टरनल मेडिसिन’ र ब्राउन युनिभर्सिटीबाट थप तीन वर्ष फोक्सो रोग र क्रिटिकल केयर सम्बन्धी विशेषज्ञ कोर्स पूरा गरेपछि सन् १९९९ मा डा. कार्की नेपाल फर्किए । उनको त्यो निर्णयलाई उनका साथीभाइले ‘पागलनपन’को संज्ञा दिए । किनकि चिकित्सा शिक्षामा अमेरिकामा एमडी पास गरेका उनलाई अमेरिकी बजार स्वागत गर्न तयार थियो । उनले भने अनुसारको तलबसुविधा पनि पाउन सक्थे । तर, उनको अगाडि त्यो सुविधाले नेपालको दयनीय स्वास्थ्य प्रणाली, दुर्गम वस्तीका नागरिकले भोगिरहेको सास्ती र असमान स्वास्थ्य सेवाले जिस्क्याइरह्यो । र, उनी नेपाल फर्किए ।  परिवर्तन सजिलो हुँदैन । तर, एक व्यक्तिले पनि सही उद्देश्य लिएर काम गर्‍यो भने नयाँपुस्तालाई मार्गदर्शन गर्ने संस्था निर्माण गर्न सकिन्छ । मैले ५० वर्षको अवधिमा हजारौंलाई उपचार गरें होला, कुनै सुधारको काम गरियो भने त्यसको प्रभाव पछिसम्म रहन्छ, त्यसको लाभ आउने पुस्ताले पनि लिन्छ । विदेशमा पढ्न जानुअघि डा. कार्की त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा फ्याकल्टीका रूपमा कार्यरत थिए । चिकित्सा शिक्षामा अब्बल र अनुभवीको योग्यता पाएर नेपाल फर्किएका उनलाई शिक्षण अस्पतालमा काम गर्ने वातावरण सिर्जना भएन । र, उनको माग काठमाडौं विश्वविद्यालयमा भयो । ‘अमेरिकाबाट फर्केपछि सन् २००० मा काठमाडौं विश्वविद्यालयमा जोडिएँ, त्यतिबेला ‘केयू स्कूल अफ मेडिकल साइन्सेज’बाट पाँचवटा मेडिकल कलेजले सम्बन्धन लिइसकेका थिए । तर, सो विश्वविद्यालयले आफ्नै आंगिक मेडिकल क्याम्पस सञ्चालन गर्न सकेको थिएन, मेरो नेतृत्वमा आफ्नै मेडिकल शिक्षा सुरु भयो,’ उनले भने । प्रा. डा. अर्जुन कार्की ।  गुणस्तरीय मेडिकल शिक्षाको अवधारणापत्र उनै डा. कार्कीले तयार गरे । विश्वविद्यालयले डाक्टर उत्पादन गरेर मात्र हुँदैन, उनीहरूलाई दूरदराज र आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट विमुख रहेका समुदायसम्म पुगेर सेवा दिनसक्ने पनि बनाउनुपर्छ भनेर उनले अवधारणा पत्र तयार गरे । उनमा ग्रामीण भेगका गरिबका छोराले पनि मेडिकल शिक्षा पढ्न पाउनुपर्छ भन्ने थियो । किनकि त्यसअघि सहर र गाउँका नागरिकले पाउने स्वास्थ्य सेवासँगै स्वास्थ्य शिक्षामा पनि ठूलो असमानता थियो । उनी त्यो असमानता र विभेद चिर्न चाहन्थे । त्यसैका लागि उनी अमेरिकाबाट स्वदेश फर्किएका थिए ।  ‘त्यही असमानता चिर्न मेरै नेतृत्वमा समस्यामा आधारित सिकाइ (पीबीएल)’ भनिने नवीनतम शिक्षण विधिबाट सन् २००१ मा केयूमा एमबीबीएस कार्यक्रमको पढाइ सुरु भयो, पाठ्यक्रम पनि सोही ढंगले तयार ग¥यौं । पछि धेरै गरिब विद्यार्थी र ग्रामीण क्षेत्रका विद्यार्थीले पनि चिकित्सा शिक्षा पढ्न पाए,’ उनी भन्छन्, ‘नेपालको चिकित्सा क्षेत्रमा थोरै भएपनि केही सुधार गरेको महसुस हुन्छ ।’ तीन वर्षसम्म काठमाडौं विश्वविद्यालयको चिकित्सा शिक्षामा डा. कार्कीको नेतृत्वमा परिणाम दिने काम भयो । दर्जनौं ग्रामीण क्षेत्रका विद्यार्थीले एमबीबीएस शिक्षा पढ्न पाए । उनीहरूले आफ्नै ठाउँमा चिकित्सक बनेर सेवा गर्ने अवसर पाए । आफूले बसालेको जगकै कारण दर्जनौं चिकित्सकले आफ्नै गाउँमा फर्केर गरेको सेवाप्रति उनी गर्व गर्छन् ।  केयूमा उनले समस्यामा आधारित सिकाइ,  समुदायमा आधारित चिकित्साशास्त्र क्लिनिकल प्रस्तुति मोडेल विधिमा विद्यार्थीलाई किताबका सैद्धान्तिक विषयभन्दा पनि बिरामीको वास्तविक समस्या बुझेर सिकाउने प्रयास गरे । त्यसमा आफू सफल पनि भएको उनी दाबी गर्छन् । ग्रामीण वस्तीका स्वास्थ्य समस्या, सामाजिक संरचना, रोगका व्यवहारिक र आर्थिक कारण पहिचान गरेर विद्यार्थीलाई त्यहीअनुसार सिकाउन सकिएको उनी बताउँछन्।  काठमाडौं विश्वविद्यालयको नेतृत्व आफ्नो मुख्य एजेण्डामाथि विमुख भएको महसुस डा. कार्कीले गरे । तीन वर्ष काम गरेपछि उनले त्यहाँबाट पनि राजीनामा दिए । अब आफूले बसालेको जग र आफ्नो अवधारणामा थप प्रवाभकारी भएर काम गर्न उनी योजना बनाउँदै थिए । त्यही सिलसिलामा उनी पाटन अस्पतालसँग जोडिए । डा. कार्कीले काठमाडौं विश्वविद्यालयमा मेडिकल शिक्षाको सुरुवात गरेर चिकित्सा शिक्षामा रचनात्मक र नवप्रवर्तनको बीउ रोपे । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेर ग्रामीण केन्द्रित चिकित्सा शिक्षाको अभियान र त्यसलाई कार्यान्वयन गरे भने अहिले नेपाल नेपाल विश्वविद्यालयमार्फत उच्च शिक्षा प्रणालीलाई सुधारको एजेण्डा बनाएर अगाडि बढिरहेका छन् ।  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका जन्मदाता काठमाडौं विश्वविद्यालयबाट अलग भएपछि उनले पाटन अस्पतालमै मेडिकल कलेज खोल्ने योजना अघि सारे । प्रधानमन्त्री र मन्त्रीहरूसँग बारम्बार भेटे, छलफल गरे । देशमा छुट्टै किसिमको मेडिकल कलेजको स्थापनाको आवश्यकता बारेमा ब्रिफ्रिङ गरे । त्यतिखरे प्रधानमन्त्री थिए गिरिजाप्रसाद कोइराला । ‘संयोगवश त्यतिबेला म तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य उपचार टीममा पनि संलग्न थिएँ । मैले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रस्ताव उहाँलाई सुनाएँ, उहाँले तुरुन्तै स्वीकार पनि गर्नुभयो,’ स्थापनाका दिन स्मरण गर्दै डा. कार्कीले भने ।  अन्ततः सन् २००७ सालमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भयो । त्यसको संस्थापक उपकुलपति उनै डा. कार्की बने । त्यही वर्षबाट पाटनमा एमबीबीएसको पठनपाठन सुरु भयो । उनले एमबीबीएसका विद्यार्थीको प्रवेश परीक्षा अन्य मेडिकल कलेजको भन्दा रचनात्मक र पृथक बनाए । उनको चाहना थियो, ग्रामीण भेग र गरिबका जनता छोराछोरीले पनि चिकित्सा शिक्षा पढ्न पाउन् ।  ‘हामीले परीक्षामा विद्यार्थीले प्राप्त गर्ने अंकलाई मात्र भर्ना छनोटको आधार बनाएनौं, त्यो विद्यार्थी असल चिकित्सक बन्न योग्य छ कि छैन भनेर उसको ‘एप्टिच्युड’ जाँच गर्ने काम पनि ग¥यौं । सोही किसिमले प्रश्नपत्र बनायौं, ग्रामीण भेगमा पढेको विद्यार्थी र सहरमा पढेको विद्यार्थीलाई एउटै किसिमले मूल्यांकन गरेनौं, पाठ्यक्रम र शिक्षण विधि पनि रचनात्मक बनायौं,’ उनले आफूले गरेको काम सुनाउँदै भने, ‘परिणामस्वरूप सबै क्षेत्रका विद्यार्थीले पाटनमा पढ्ने अवसर पाए ।’ डा. कार्कीले आफूले बसालेको जगकै कारण आज पाटन अस्पतालबाट उत्पादन भएका ५० प्रतिशत बढी चिकित्सक सरकारी अस्पतालमा कार्यरत रहेको सुनाए । उनले यो विषयलाई गर्वका रूपमा हेरेका छन् । ‘सहरमा पढेहुर्केको विद्यार्थीको अंग्रेजी राम्रो हुन्छ, गणित राम्रो हुन्छ, उसले सहजै एमबीबीएसको प्रवेश परीक्षा पास गर्न सक्छ । तर, ग्रामीण भेगमा पढेको विद्याथीसँग त्यो क्षमता हुँदैन, हामीले गाउँमा पढेको विद्यार्थीले पनि चिकित्सक बन्न सक्ने ढोका खोल्यौं, त्यो असमानता हटाउने प्रश्नपत्र निर्माण गर्‍यौं,’ उनले भने, ‘त्यो अवधारणाले राम्रो प्रतिफल प्राप्त गर्‍यौं, गरिबका छोराछोरी पनि चिकित्सक बन्ने बाटो खुल्यो ।’ डा. कार्कीले नेपालको चिकित्सा शिक्षामा मौलिक रूपान्तरणको बीउ रोपे । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटा शैक्षिक सेवाको स्थापित संस्था बनाउन उनी सफल भए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना हुनु नेपाली चिकित्सा क्षेत्रमा एउटा ऐतिहासिक क्रान्तिको जग बस्यो । विगतका अंकको भरमा चिकित्सक बन्न सक्ने बार उनै डा. कार्कीले तोडे । उनकै योजना र अवधारणाअनुसार पछि त्यस संस्थाबाट उत्पादित चिकित्सकहरू खुसी हुँदै विकट र ग्रामीण क्षेत्रमा पनि सेवा दिन तयार बने ।  विगतमा कुनै विकट जिल्लाहरूमा सेवा गर्नको लागि जान तयार नहुने नेपाली चिकित्सकहरू डा. कार्कीको योजनाले जुनसुकै जिल्ला र क्षेत्रमा पनि जान तयार भए । उनको नेतृत्वमा नै कमजोर पृष्ठभूमिका विद्यार्थीलाई सक्षम बनाउन ६ महिनाको फाउण्डेसन कोर्स पनि सुरु गरिएको थियो । जुन नेपालकै चिकित्सा शिक्षामा पहिलो कार्यक्रम हो । सो कार्यक्रमअन्तर्गत विद्यार्थीलाई गाउँगाउँमा पठाइन्थ्यो । स्थानीय स्वास्थ्य संस्था, वडा कार्यालय, घर–घरमा पुगेर जनस्वास्थ्यका वास्तविक चुनौती बुझाइन्थ्यो ।  डा. कार्कीका अनुसार पहिलो पटक विद्यार्थी गाउँ पुग्दा डराउँथे, असजिलो मान्थे । तर पटक–पटक जान थालेपछि गाउँ नै आफ्नो कार्यक्षेत्र बन्न सक्छ भन्ने आत्मविश्वास उनीहरूमा विकास भयो । चिकित्सक बनिसकेपछि उनीहरू निर्धक्क भएर कार्यक्षेत्रमा सेवा गर्न जाने वातावरण निर्माण भयो ।  ‘केही हदसम्म भए पनि मैले नेपालको चिकित्सा क्षेत्रलाई रिफर्म गरेको महसुस हुन्छ, हाम्रो देशलाई काम गर्ने डाक्टर काम लाग्छ भनेर, विद्यार्थीको मनसाय बुझेर हामीले काम गर्‍यौं । अन्तर्राष्ट्रिय स्तरका तथा धेरै उच्चस्तरीय विशेषज्ञ पाठ्यक्रम विकास, संकाय तालिम, तथा प्रवेश प्रणाली सुधारमा ठूलो टेवा पुर्‍याएँ,’ उनी भन्छन्, ‘अहिले पाटन अस्पतालको जुन विश्वसनीयता छ, त्यसको जग बनेकोमा मलाई गर्व छ ।’ चिकित्सा शिक्षा आयोग बनेपछि भने देशभरिको एमबीबीएसको परीक्षा लिने प्रणाली समान छ । यो प्रणालीले फेरि पनि टाठाबाठाहरूले नै पढ्न पाउने वातावरण निर्माण भएकोमा उनी बेखुसी छन् । नेपाल विश्वविद्यालयका संस्थापक चिकित्सा शिक्षामा संरचनागत सुधार गर्दै जाँदा डा. कार्कीले नेपालको उच्च शिक्षामा त्यहाँभन्दा ठूलो समस्या देखे । विद्यार्थीहरूलाई सानै उमेरदेखि विभिन्न विषय यति सकस, यति गाह्रो भनेर भनेर भारी बोकाएको आभास उनलाई भयो । उनले त्यो समस्याको समाधान पहिल्याए ।  ‘कक्षा १० पास हुनेबित्तिकै हामीले विद्यार्थीको दिमागमा ‘साइन्स, म्यानेजमेन्ट, ‘आर्टस्’ वा अन्य विषय भनेर तिनको भारी पनि बोकायौं, एउटा पढेको विद्यार्थीले अर्को विषयको ज्ञान नै नराख्ने अभ्यास देखियो,’ उनी भन्छन्, ‘यो हाम्रो शैक्षिक प्रणालीको दोष हो, यो प्रणालीको सुधार नहुँदासम्म शैक्षिक सुधार हुँदैन भन्ने महसुस भयो ।’ एउटा विद्यार्थीलाई मानव समाज, संस्कार र संस्कृति, भाषा र नवीनतम् सूचना प्रविधिको पनि ज्ञान हुन आवश्यक रहेको निचोड डा. कार्कीले निकाले । एउटा व्यवहारिक र सिर्जनशील विद्यार्थी उत्पादनका लागि सुरुमा प्रणालीको सुधार गर्नुपर्ने आवश्यकता उनले देखे । त्यसपछि उनी त्यो प्रणाली सुधारका लागि नयाँ विश्वविद्यालय नै खोल्नुपर्ने अभियानमा लागे ।  ‘हामीले व्यक्तिलाई न नैतिकवान बन्न सिकायौं, न त समाज बुझने जिम्मेवार नागरिक । सबैको मुखमा देश बनेन भन्ने कुरामात्रै सुनियो । यसको महत्त्वपूर्ण बिन्दु शिक्षा नै हो,’ उनी भन्छन्, ‘समाजको विभिन्न पक्ष बुझ्ने, समाजप्रति जिम्मेवार र व्यवहारिक नागरिक उत्पादन गर्न आवश्यक भएको महसुस गर्दै हामीले नेपाल विश्वविद्यालय स्थापना गर्ने अभियान अगाडि बढायौं ।’ विगत ७ वर्षदेखि थालेको अभियानले अहिले सार्थकता पाएको छ । नेपाल विश्वविद्यालय स्थापना भइसकेको छ । विश्वविद्यालयले अहिले पाठ्यक्रम निर्माण, शिक्षण विधि, शिक्षक व्यवस्थापन लगायतका विषयमा काम गरिरहेको छ । डा. कार्की त्यही विश्वविद्यालयको उपकुलपतिका रूपमा कार्यरत छन् ।  अन्य विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने व्यवस्था भए पनि यो विश्वविद्यालय भने स्वायत्त सार्वजनिक र गरनाफामूलक संस्थाको रूपमा काम गर्नेछ । विश्वविद्यालयको संरक्षक परिषद् छ । सोही परिषदले उपकुलपतिलाई नियुक्त गर्छ ।   अहिले विश्वविद्यालयको संरक्षक परिषदमा डा. बिन्दु लोहनी, बिमला राई पौड्याल, प्राध्यापक बिपिन अधिकारी, चाँदनी जोशी, जगदीश सी पोखरेल, लालकृष्ण केसी, लक्ष्मीदेवी पाण्डे, माधव पौडेल, रामेश्वर खनाल, प्राध्यापक डा. राम श्रेष्ठ र डा. सिबा थापा सदस्य रहेका छन् । विश्वविद्यालयको रजिष्ट्रार डा. सूर्यराज आचार्य रहेका छन् ।  डा. कार्कीका अनुसार अहिले विश्वविद्यालय स्थापनाका लागि जग्गा खोज्ने काम भइरहेको छ । उनका अनुसार अहिले विश्वविद्यालयले ‘मास्टर इन पब्लिक पोलिसी’मा भर्ना पनि खुलाएको छ ।  विद्यार्थी पासमात्रै भन्दा पनि उनीहरू सोच्न, प्रश्न गर्न, विश्लेषण गर्न र समालोचना गर्र्न किसिमको निर्माण गर्न खोजेको उनी बताउँछन् ।  डा. कार्की चिकित्सकको भूमिकामा मात्रै नभई समाज सुधारकको रूपमा पनि काम गरिरहेका छन् । शिक्षामा रूपान्तरण ल्याउने अभियानमा उनी लागिरहेका छन् । उनले काठमाडौं विश्वविद्यालयमा मेडिकल शिक्षाको सुरुवात गरेर चिकित्सा शिक्षामा रचनात्मक र नवप्रवर्तनको बीउ रोपे । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेर ग्रामीण केन्द्रित चिकित्सा शिक्षाको अभियान र त्यसलाई कार्यान्वयन गरे भने अहिले नेपाल नेपाल विश्वविद्यालयमार्फत उच्च शिक्षा प्रणालीलाई सुधारको एजेण्डा बनाएर अगाडि बढिरहेका छन् ।  ‘परिवर्तन सजिलो हुँदैन । तर, एक व्यक्तिले पनि सही उद्देश्य लिएर काम गर्‍यो भने नयाँ पुस्तालाई मार्गदर्शन गर्ने संस्था निर्माण गर्न सकिन्छ,’ डा. कार्की भन्छन्, ‘मैले ५० वर्षको अवधिमा हजारौंलाई उपचार गरें होला, कुनै सुधारको काम गरियो भने त्यसको प्रभाव पछिसम्म रहन्छ, त्यसको लाभ आउने पुस्ताले पनि लिन्छ ।’ डा. कार्की सामूहिक प्रयत्नले नै नतिजा दिन सकिने धारणा राख्छन् । ‘विश्वविद्यालयमा विद्यार्थीले पढ्ने र शिक्षकले पढाउने मात्रै हुनु हुँदैन । विचार, विश्लेषण र सोच्न सक्ने जनशक्ति हामी उत्पादन गर्छौं, विश्वका कुनै पनि देशभन्दा हाम्रो शिक्षा कम हुँदैन भन्ने किसिमले हामी गरिरहेका छौं,’ उनी भन्छन्, ‘मैले थालेको काम गज्जवले सम्पन्न गर्छु र यसले मुलुकको वृहत्तर हितको लागि काम गर्छ भन्ने विश्वास पनि छ ।’ यसरी बने विशेषज्ञ सिन्धुपाल्चोकको पेट्कु (हाल लिसंखु–पाखर गाउँपालिका) मा घर भएका डा. कार्की  सन् १९५५ मा काठमाडौंको एक डेराको घरमा जन्मिए । बुवा नेपाली सेना र पछि नेपाल प्रहरीमा भएकोले उनको बाल्यकाल विभिन्न ठाउँमा गएर बित्यो । बिरामी हुँदा अस्पताल पुगेका उनले डाक्टर देखेपछि म पनि डाक्टर बन्छु भन्ने सपना उनमा पलायो।   एसएलसीको नतिजा कमजोर हुँदाहुँदै पनि हेल्थ असिस्टेन्ट (एचए) पढ्ने अभिलाषा उनमा जाग्यो । पहिलो र दोस्रो प्रयास असफल भए पनि स्वीस सहयोगमा सञ्चालन भएको ग्रामीण विकास परियोजनामा क्लिनिक सहायक बनेर पाएको अनुभवले तेस्रो प्रयासमा सफलता दिलायो । उनी विगत सम्झिँदै भन्छन्, ‘सन् १९७५ मा एचएमा  नाम निकालें । तीन वर्षमा उत्कृष्ट नम्बर ल्याएर पास पनि भएँ ।’ एचए पास गरेपछि उनले नुवाकोट र दोलखाका स्वास्थ्य चौकीमा एक वर्ष सेवा गरे । चिकित्साशास्त्र अध्ययन संस्थानले महाराजगञ्ज क्याम्पसमा एमबीबीएस कार्यक्रम सुरु गर्‍यो । आवश्यक योग्यता पूरा भएकाले सन् १९७९ मा उनी पनि भर्ना भए । उनले सन् १९८५ मा एमबीबीएस उत्तीर्ण गरे ।  डा. कार्की एमबीबीएसपछि छिटोभन्दा छिटो विशेषज्ञ बन्ने चाहन्थे । तर, त्यतिबेला नेपालमा स्नातकोत्तर (मास्टर्स) कार्यक्रम उपलब्ध थिएन । सन् १९९१ मा स्वीडेनको लुन्ड विश्वविद्यालयमा मेडिकल एक वर्षको अनुसन्धान सकाएर उनी सन् १९९३ मा अमेरिका गए । उनले अमेरिकामा क्रिटिकल केयरमा विशेषज्ञता हासिल गरेपछि स्वदेश फर्किए ।  उनी सामाजिक काममा पनि सक्रिय भए । चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न सरकारले गठन गरेको डा. केदारभक्त माथेमा आयोगका सदस्य पनि बने । उनले प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका संस्थापक कार्यकारी निर्देशक तथा अमेरिका नेपाल मेडिकल फाउन्डेसनका संस्थापक अध्यक्ष भएर पनि काम गरिसकेका छन् ।  कार्कीकै शब्दहरू : बिरामीका समस्या सुन्नु, बुझ्नु र निदान गर्नु चिकित्सकको दायित्व हो । तर, स्वास्थ्य क्षेत्रमा काम गर्दा मैले सदैव महसुस गरें कि रोगको उपचार मात्र पर्याप्त हुँदैन । रोग जन्माउने संरचनात्मक असमानता हटाउन नसकिएसम्म समाजमा दिगो शान्ति र स्थायित्व आउँदैन । गाउँ–सहरबीच स्वास्थ्य पहुँचबीचको अमानताता र खाडल, शिशु र मातृ मृत्युदरले मलाई झकझक्याइरह्यो । सोही कारण म अमेरिकाबाट नेपाल फर्किएँ ।  नेपालमा तालिमप्राप्त चिकित्सक दुर्गममा जान चाहँदैनन् भन्ने आरोप धेरै लाग्थ्यो । अहिले पनि त्यो अवस्था छ । तर, अध्ययन गर्दै जाँदा मैले के बुझें भने समस्या चिकित्सकमा मात्र होइन, हाम्रो सम्पूर्ण चिकित्सा प्रणालीमै छ । ग्रामीण प्राथमिकताको अभाव, अवसरको असमानता र प्रणालीगत कमजोरीले गर्दा धेरै चिकित्सक विदेशतिरै जाने प्रवृत्ति बढेको रहेछ । यही समस्यालाई उल्ट्याउने संकल्प लिएर म चिकित्सक उत्पादन र चिकित्सा शिक्षा सुधारतर्फ सक्रिय भएँ । त्यही सिलसिलामा काठमाडौं विश्वविद्यालयसँग जोडिएँ । काठमाडौं विश्वविद्यालयमा मेडिकल शिक्षा सञ्चालन गर्नका लागि ठूलो भूमिका खेलें । देश–विदेशका प्राध्यापक ल्याएर तीन वर्षसम्म चिकित्सा शिक्षालाई आधुनिक र व्यवहारिक बनाउने प्रयास गरें । केही हदसम्म म सफल पनि भएँ । तर, पछि त्यहाँको नेतृत्वसँग मैले चाहेको ‘ग्रामीण–उन्मुख’ दृष्टिकोण मेल खाएन । उनीहरू प्राविधिक शिक्षा मात्र दिनुपर्छ, त्यसपछि चिकित्सक कहाँ जान्छन् भन्ने मतलब राख्नुपर्दैन भन्ने मान्यता राख्थे । तर, म चाहन्थें—चिकित्सा शिक्षा समाजको आवश्यकता र ग्रामीण जनताको समस्यासँग जोडिनुपर्छ । कुरा नमिलेपछि त्यहाँबाट बाहिरिएँ । मेरो चाहना र सपना थियो कि ग्रामीण भेगमा जन्मेहुर्केका विद्यार्थीलाई चिकित्सक बन्न प्रेरित गर्ने । किनकि गाउँमै जन्मेहुर्केका विद्यार्थी आफ्नै गाउँमा सेवा गर्न बढी इच्छुक हुन्छन् , सहरमा हुर्केकालाई गाउँ पठाउन कठिन थियो ।  त्यही सिलसिलामा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न सफल भइयो । त्यसको मैले नेतृत्व गरें । हामीले एमबीबीएसको प्रवेश परीक्षाको संरचना नै परिवर्तन गरेपछि गाउँका विद्यार्थी पनि एमबीबीएस पढ्ने बाटो खुल्यो । प्रतिष्ठानले यसले ग्रामीण पृष्ठभूमिका धेरै विद्यार्थीलाई चिकित्सक बन्न उत्प्रेरित ग¥यो । पाटनले उत्पादन गरेका ५० प्रतिशत चिकित्सक अहिले सरकारी अस्पतालमा कार्यरत छन् । यसमा मलाई ठूलो गर्व छ ।  मैले जीवनमा पैसालाई होइन, सेवालाई प्राथमिकता दिएँ । यदि पैसा नै अन्तिम लक्ष्य भएको भए म अमेरिकाबाट कहिल्यै फर्किँदैन थिएँ । यो अवधिमा कति बिरामीको उपचार गरें, म आफैंलाई समेत हिसाब छैन । तर, समाजले मप्रति देखाएको विश्वास नै मेरो सबैभन्दा ठूलो पुँजी हो । चिकित्सा शिक्षामा लाग्दै गर्दा नेपालको उच्च शिक्षामा पनि ठूलो समस्या रहेछ भन्ने पहिचान भयो । विद्यार्थी पासका लागि मात्रै पढ्ने प्रवृत्ति तोड्न हामीले नेपाल विश्वविद्यालय खोल्ने योजना अगाडि बढायौं । हामी अब समालोचना गर्न सक्ने, विश्लेषण गर्ने र सिर्जनात्मक सोच भएका जनशक्ति उत्पादन गर्ने गरी काम गरिरहेका छौं । त्यसमा सफल पनि हुन्छौं भन्ने विश्वास छ । 

हरित ऊर्जा उद्यमी, ऊर्जाशील अभिभावक

जति उद्योग डुबे । जति नोक्सानी भयो, त्यसमा निराश भएको भए, हरेश खाएको भए सायद आज नेपाली उद्योगीमाझ सफल र प्रेरक उद्यमीका रूपमा परिचित हुन्थेनन् कृष्णप्रसाद आचार्य । उनी ४३ कम्पनीका मालिक बने । तीमध्ये कति नोक्सानी बेहोरेर बन्द भए । कतिपयबाट लगानी झिके त कतिपयलाई सुस्त सञ्चालन गरे । तर, अहिले पनि ३० वटा कम्पनीको दैनिक रिपोर्टिङ लिन्छन् आरएम ग्रुपका अध्यक्ष कृष्णप्रसाद आचार्य । अफिसकै कुर्सीमा बसेर ।  साढे सात दशकको उमेर । मुहारमा आत्मविश्वास । काममा लगनशील । नम्र स्वभाव । जलविद्युत उद्यमी कृष्णप्रसाद आचार्यलाई चिन्ने जो कोहीले पनि झ्वाट्ट देख्दा र बुझ्दा यसरी नै लिन्छन् । पंक्तिकारले उनै आचार्यलाई जिज्ञासा राखे, ‘अब व्यवसायबाट विश्राम लिऔं, आराम गरौं भन्ने लाग्दैन ?’ जवाफमा उनले भने, ‘म रिटायर्ड हुँदिनँ, थप रिचार्ज हुन्छु । तपाईं आफ्नो काममा सन्तुष्ट र खुसी हुनुहुन्छ भन्ने अन्तिम साससम्म काम गरिराख्ने हो । शारीरिक र मानसिक रूपमा काम गर्न सकिन्छ भने लागिरहनुपर्छ । त्यसमै आनन्द छ ।’ विसं २००९ जेठमा कास्कीको निर्मलपोखरीमा जन्मिएका आचार्य किसान परिवारको पृष्ठभूमिमै हुर्किए । परिवार किसान भए पनि आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने ढाडस उनलाई बुवाले दिइरहन्थे । त्यही उत्प्रेरणाले उनी व्यवसाय गर्ने तरखरमा लागे । तर, अभाव थियो पुँजीको । उनले पुख्र्यौली जमीन बिक्री गरे । जमीन बिक्री गरेर बस किने । त्यतिखेर यातायात क्षेत्रमा उनले राम्रै सम्भावना देखे । बस सेवा सञ्चालन गरेर राम्रै अनुभव लिए । उनले पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्षका रूपमा पनि काम गरे ।  यातायातपछि आचार्यले पर्यटन क्षेत्रमा सम्भावना देखे । पोखरामा पहिलो पटक पर्यटकस्तरीय होटल खोले । पोखराको महेन्द्रपुलमा पहिलो पटक वि.सं. २०३० सालमा होटल खोलेर पर्यटन क्षेत्रमा सम्भावनाको सञ्चार उनैले गरे । जतिबेला पोखरामा बस्नयोग्य पर्यटकस्तरीय होटलहरू थिएनन् ।  ‘होटल व्यवसाय गर्दा नेपाल औद्योगिक विकास निगमबाट ऋण लिएँ, त्यतिबेला निजी क्षेत्रका बैंक थिएनन् । सरकारी बैंकले होटलमा लगानी गर्थेनन्,’ आचार्यले भने । उनी पर्यटन क्षेत्रमा अहिले पनि पर्याप्त सम्भावना र अवसरहरू रहेको सुनाउँछन् ।  दक्षिण एसियाकै पहिलो चाउचाउ उद्योग उद्योगी आचार्य जहाँ सम्भावना देख्छन्, त्यहाँ सिफ्ट भइहाल्छन् । त्यो उनको पहिचान बनिसकेको छ । समय र परिस्थितिसँगै आफूलाई रूपान्तरण गरेर सोही किसिमले काम गर्नु एउटा सफल व्यवसायीको विशेषता हो । उद्यमी आचार्यको जीवनमा यस  विशेषता ठ्याक्कै लागू भएको देखिन्छ ।  विसं २०३० को दशकमा चाउचाउ भन्ने शब्द नेपाली शब्दकोषमा थिएन । जब उनले रारा चाउचाउ उत्पादन गरेर बजारमा ल्याए, सबैको मुखमा झुण्डियो ‘रारा’ । नेपालमा चाउचाउ उद्योग खोल्दाका सुरुवाती दिनहरू भने निकै सकस थिए । सरकारी कर्मचारीले उद्योग खोल्न नदिएको सकस उनलाई अहिले पनि स्मरण छ । तर, कृष्ण आचार्य र उनको टिमले त्यसलाई सार्थक तुल्यायो । र, २०३९ माघ २३ मा रारा चाउचाउको उत्पादन सुरु भयो ।  ‘दक्षिण एसियामै पहिलो रारा तयारी चाउचाउ उद्योग सुरु ग¥यौं । चाउचाउ भन्ने शब्द नै नेपाली शब्दकोषमा थिएन । हामीले सुरु गरेपछि शब्द पनि स्थापित भयो र उद्योग पनि,’ खुसी हुँदै उनी भन्छन् ।  रारा चाउचाउ उत्पादनका मुख्य पायोनियर कृष्ण आचार्य, सूर्यबहादुर केसी र फणिन्द्रमान श्रेष्ठ थिए । लगानीकर्ता भने १०६ जना थिए । केसी र श्रेष्ठको निधन भइसकेको छ । आचार्यले त्यो उद्योगको नेतृत्व २० वर्ष गरे । अहिले केसीका छोरा प्रकाश केसीले रारा चाउचाउ उत्पादन गरिरहेका छन् ।   ‘मलाई उद्योग क्षेत्रमा चिनाउने रारा चाउचाउ नै हो । म २७ वर्षको थिएँ । त्यसबेलाका बिजनेस टाइकनले मलाई खोज्थे, ठूल्ठूला राजनीतिज्ञले खोज्थे । राजा वीरेन्द्रले एक दिन बोलाएर उद्योग कसरी सुरु गर्याै ? प्रविधि कहाँबाट ल्यायौ, को–को संलग्न छौ भनेर सोध्नु भएको थियो,’ उद्योग सञ्चालन गर्दाका दिन स्मरण गर्दै आचार्यले भने । नयाँ उद्योगसँग उनको परिचय नै बदलियो ।  आरएम ग्रुपले अन्तर्राष्ट्रिय व्यापार, पशु औषधि आपूर्ति, सफ्टवेयर तथा काउन्सेलिङ सेवा, डीटीएच स्याटेलाइट टेलिभिजन नेटवर्क, बैंकिङ तथा बीमा, र ऊर्जा क्षेत्रमा लगानी विस्तार गरेको छ । ३० कम्पनी बढीमा लगानी गरेका आचार्यले ५ सय बढीलाई रोजगारी दिएका छन् । उनी अझै पनि ऊर्जा क्षेत्रमै लागेर आफ्नो जीवनकालमा एक हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यमा छन् । त्यसपछि ऊर्जामा प्रवेश चाउचाउ उत्पादन गरेर राष्ट्रिय व्यवसायीमाझ चिनिएका आचार्य सम्भावनाको खोजीमा लागिरहे । पछि अरू धेरै चाउचाउ उद्योग आए । प्रतिस्पर्धा बढ्यो । उनले भने क्षेत्र सिफ्ट गर्ने सोंच बनाए । ठूलो प्रतिस्पर्धा नभएको क्षेत्र खोजे । सम्भावना र अवसरको पहिचान गरे । र, दुई दशकअघि ऊर्जा क्षेत्रमा प्रवेश गर्ने निर्णय गरे ।  उनको बुझाइमा जलविद्युत क्षेत्रमा प्रतिस्पर्धा छैन । जति जलविद्युत उत्पादन गरे पनि सम्भावना प्रचुर छ । यसले व्यवसाय सफलतासँगै राष्ट्रिय अर्थतन्त्रमा पनि ठूलो योगदान दिन्छ । आचार्य अहिले ऊर्जा क्षेत्रका पायोनियर उद्यमीका रूपमा परिचित छन् ।  उसो त आचार्यको पढाइ पोलिटिकल साइन्स हो । तर, उनलाई व्यवसाय नै मन पर्छ । उनी व्यवसायमै रमाएका छन् । ‘गर्दै, सिक्दै, नोक्सान बेहोर्दै फेरि उठ्दै’ व्यवसाय सुरु गरेको हुँ, व्यवसायमा पारदर्शीता र लगनशीलता भयो भने लामो यात्रा तय गर्न सकिन्छ,’ उनले अनुभव सुनाउँदै भने ।  उनका अनुसार जलविद्युत क्षेत्रमा लाग्नु भनेको पैसा कमाउनु मात्रै होइन, राष्ट्रिय अर्थतन्त्र पनि बढाउनु हो । ‘प्रकृतिले पानी दिएको छ, त्यो पानीको उपयोग गर्नुपर्छ भनेर जलविद्युत क्षेत्रमा लागें । जहाँ आयोजना सुरु हुन्छ, त्यहाँ विकास हुन्छ, बाटो र बिजुली जान्छ, त्यसपछि विद्यालय र स्वास्थ्य संस्था खुल्छ । यसले रोजगारी सिर्जना हुन्छ, विविध अवसरहरू सिर्जना गर्छ, लगानीको उपयुक्त क्षेत्र सोंचेर नै म यो क्षेत्रमा प्रवेश गरेको हुँ,’ उनले भने ।  आचार्यले वातावरणका लागि पनि राम्रो र प्रतिस्पर्धा पनि नभएको क्षेत्र भएकोले हाइड्रो क्षेत्र रोजेको सुनाए । उनकै नेतृत्वमा ४७५ मेगावाट विद्युत उत्पादनको चरणमा छ । उनका अनुसार २ आयोजनाको बक्ती बलिसकेको छ । दुई आयोजना निर्माणको अन्तिम चरणमा छन् भने एउटाको काम सुरु भइसकेको छ र दुइटा आयोजना अध्ययनको चरणमा छन् । आचार्यको नेतृत्वमा विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ८.८ मेगावाटको रुडी ‘ए’ र ६.६ मेगावाटको रुडी ‘बी’, मल्टी एनर्जी डेभलपमेन्ट प्रालिले २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजना, ७.५ को मेगावाट गुप्चे खोला जलविद्युत् आयोजना, ४८.८ मेगावाटको खिम्ती-२ जलविद्युत आयोजना, ८.८ मेगावाटको रुदीखोला, १ सय ५५ मेगावाटको घुन्सा खोला आयोजना र ४० मेगावाटको बलेफी खोला जलविद्युत आयोजना अगाडि बढाइरहेका छन् । कतिपयको निर्माण सम्पन्न भएर बक्ती पनि बलिसकेका छन् भने कतिपय निर्माणको अन्तिम चरणमा र कतिपय अध्ययनको चरणमा छन् ।  आचार्य ऊर्जाले नै सबैलाई धनी बनाउन सक्ने बताउँछन् । ‘जलविद्युतमा अथाह सम्भावना छ, कुनै बेला ८२ हजार मेगावाटको क्षमता भनिए पनि वास्तममै डेढ लाख मेगावाटको सम्भावना छ । तर, अहिले २० हजार मेगावाट उत्पादन प्रयासको चरणमा मात्रै छ । व्यापार र उद्योगभन्दा पनि जलविद्युत राम्रो सम्भावनाको क्षेत्र हो,’ उनले भने ।  आचार्य जलविद्युत समूहमा लगानी हुने भएकोले ‘गोइङ टुगेदर र ग्रो टुगेदर’को मान्यतालाई विश्वास गर्छन् । उनले लगानी गरेर अगाडि बढाएका आयोजनामा पनि चार हजार बढी संस्थापक सेयरधनी छन् । उनले आफूले नेतृत्व गरेर बिजुली बलेका कम्पनीले प्रतिफल पनि राम्रै दिइरहेको सुनाए । उनको नेतृत्वमा विन्ध्यवासिनी हाइड्रो सुरुवात भएको थियो । ‘हामीले निर्माण गरेका जलविद्युत आयोजना बन्दा बाटो लियौं, बिजुली लियौं । त्यहाँको युवा क्लब, आमा समूहमा सामाजिक काम ग¥यौं, जलविद्युतले गाउँगाउँमा विकासको अनुभूति गराएको छ,’ उनले भने ।  ‘बिन्ध्यवासिनी हाइड्रोपावरले काम गर्दा आयोजना स्थलबाट पोखरामासम्म आउन बीचमै बास बस्नुपर्ने अवस्था थियो । तर, अहिले डेढ घण्टामै पुगिन्छ । बिरामी बीचमै मृत्यु हुने समस्या थियो । अहिले त्यहाँको जनजीवनमा ठूलो परिवर्तन आएको छ,’ उनले भने ।  उर्जा उद्यमीका अभिभावक उर्जा उद्यमी कृष्णप्रसाद आचार्यको पृथक पहिचान छ । अधिकांश जलविद्युत प्रवद्र्धकले उनलाई अग्रज उद्यमीका रूपमा सम्मान गर्ने गरेका छन् । उनी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का निवर्तमान अध्यक्ष तथा सल्लाहकार हुन् । उनलाई ऊर्जा उद्यमीहरूले निर्विरोध रूपमा इप्पानको अध्यक्षमा चयन गरेका थिए ।   एक इमानदार र लगनशील ऊर्जा उद्यमीको रूपमा पहिचान बनाएका आचार्यले इप्पानमा रहँदा पनि महत्वपूर्ण काम गरेको दाबी गर्छन् । ‘मैले आफैले पनि सकेजतिको जलविद्युत उत्पादन गरें । धेरै साथीहरूलाई जुटाएँ, ऊर्जामा लगानी गर्न उत्प्रेरित गरें, अझै गरिरहेको छु,’ उनी भन्छन्, ‘मैले इप्पानको नेतृत्व गरेपछि जलविद्युतमा सकारात्मक मुभमेन्ट सुरु भयो ।’ विगतमा जलविद्युत प्रवद्र्धकमाथि ‘झोलामा खोला लिएर हिँड्छन्’ भन्ने गलत भाष्य बनाइएको थियो । आफू इप्पानको नेतृत्वमा आएपछि त्यो भाष्य चिर्न सफल भएको उनी सुनाउँछन् । ‘जलविद्युत उद्यमी राष्ट्र निर्माता हुन् भन्ने कुरा स्थापित ग¥यौं, प्रवद्र्धकको  पहिचान बनाएँ । विद्युत खरिद बिक्री (पीपीए) रोकिएको थियो, ट्रासमिसन लाइनको समस्या थियो, नेपाल विद्युत प्राधिकरणले उत्पादन रोक, यति प्रतिशत मात्रै गर भनेर निर्देशन दिन्थ्यो । त्यसलाई हटाउन मेरो नेतृत्वको टिम सफल भयो,’ उनले आफू इप्पानको नेतृत्वमा भएका काम सुनाउँदै भने ।  विगतमा जलविद्युत प्रवद्र्धकमाथि ‘झोलामा खोला लिएर हिँड्छन्’ भन्ने गलत भाष्य थियो । म इप्पानको नेतृत्वमा आएपछि त्यो भाष्य चिर्न सफल भएँ, जलविद्युत उद्यमी राष्ट्र निर्माता हुन् भन्ने कुरा स्थापित भयो ।  आचार्य इप्पानमा जानुअघि प्रवद्र्धकले कबुल गरेजति विद्युत उत्पादन गरेन भने प्राधिकरणले जरिवाना गथ्र्यो । आफूले त्यो जरिवाना गर्ने अभ्यास हटाउन सफल भएको उनले दाबी गरे । उनका अनुसार उनको नेतृत्वमा इप्पानमा भएको महत्वपूर्ण काम संगठन विस्तार हो ।  १४/१५ जनामात्रै प्रवद्र्धक जोडिएका इप्पानमा उनकै कारण ५०० जना संगठित भए । अहिले जलविद्युतसँग सम्बन्धित सरकारका समिति तथा निकायमा जलविद्युत उद्यमी नै आवद्ध हुने विषय स्थापित भएको उनले सुनाए ।  सरकारले ऊर्जा उद्यमीका लागि नीतिगत सहजताका साथै दुःख नदिने प्रवृत्तिमात्रै ग¥यो भने पनि धेरै काम गर्न सकिने आचार्य बताउँछन् । ‘अहिले उत्पादकहरू धेरै छन्, खरिदकर्ता र बिक्रेता एउटा मात्रै छ ।  २०६८ सालमा तोकेको दरमा प्राधिकरणले अहिलेसम्म खरिद गर्छ । बिक्री दर भने तीन पटक बढाइसक्यो । मुद्रास्फीतिअनुसार दर पुनरावलोकन गरेको छैन । ७ वटा मन्त्रालय, २२ वटा विभाग र २०० वटा टेबलमा जलविद्युत उद्यमी पुग्नुपर्छ । ३६ वटा कानुनको अधिनमा रहेर काम गर्नुपर्छ, यो किसिमले जलविद्युत क्षेत्रको विकास हुन सक्दैन,’ उनले भने । उनले सरकारले भाषणमा एकद्वार प्रणाली भने पनि व्यवहारमा लागू नभएको गुनासो गरे । ‘मैले काममा एकद्वार प्रणाली तत्कालीन राजा वीरेन्द्रबाट सुनेको हुँ, अहिलेसम्म सुनिन्छ, तर कार्यान्वयन भएको छैन । अधिकांशको नियत दुःख दिने छ । पदमा बस्नेसम्म दुःख दिने तर बाहिर आएपछि यो काम भएन भन्छन्,’ उनले भने, ‘यस्तो प्रवृत्ति रोकियो भने जलविद्युत प्रवर्द्धकले ५० हजार मेगावाट विद्युत उत्पादन गर्ने क्षमता राख्छन् ।’ निजी क्षेत्रकै कारण अहिले देशमा लोडसेडिङ अन्त्य भएको तर यसका श्रेय एक जनालाई मात्र दिने काम भएको आचार्यको भनाइ छ । लोडसेडिङ अन्त्यको श्रेय निजी क्षेत्रलाई दिनुपर्ने उनको धारणा छ ।  चुनौती र समस्या धेरै भएपनि आफू चुनौतीभित्र नै सम्भावना खोज्ने गरेको आचार्य बताउँछन् । ‘जलविद्युत क्षेत्रमा चुनौती अथाह छन् । तर, म कहिल्यै पनि निराश भइनँ । भारतले नाकाबन्दी गरेको बेला मैले दुई नयाँ उद्योग ल्याएँ । त्यतिबेला धेरै मान्छेहरूले यो लगानी गर्ने समय होइन भनेका थिए । भूकम्पको समयमा बर्बाद भयो भन्थे तर मैले काम रोकिनँ । अप्ठ्यारो परेको बेला काम गर्ने मान्छेको पहिचान हुन्छ,’ उनले भने ।  मध्यरातमा फोन गरेर भोलि तपाईंको साइटमा रगतको खोला बग्छ भन्ने मान्छेसँग पनि आचार्य जुधे । मन्त्रालयमा वर्षौंदिनसम्म गएर फाइल अगाडि नबढेको अनुभव पनि लिए । तर, उनी निराश भएनन् । उनी भन्छन्, ‘चुनौती र समस्याबाट भागेको भए आज तपाईंसँग कुरा गर्ने सक्ने अवस्थामा कहाँ पुग्थें र !’ छोराहरू नै सफलताका सारथी उद्यमी कृष्ण आर्चाका दुई छोरा छन् । जेठो सुदीप र कान्छो सन्दिप । दुवै छोराले उनलाई व्यवसायमा साथ दिइरहेका छन् । दुइटै छोरालाई उनले अमेरिकामा पढाए । तर, उनलाई खुसी यसमा मिलेको छ कि दुवै छोरा नेपाल फर्किएर व्यवसायमा साथ दिइरहेका छन् । ‘धेरैले छोराछोरी विदेश पठाउने विषयलाई गौरवका रुपमा लिन्छन् । तर, मैले नेपाल फर्काएकोमा गौरव महसुस गर्छु । हामी अहिले संयुक्त परिवारमा छौं । छोरा बुहारीले व्यवसायमा राम्रो साथ दिइरहेका छन्, म एकदमै खुसी छु,’ उत्साहित हुँदै उनले भने ।  छोराहरु सन्दीप र सुदीपसँग कृष्णप्रसाद आचार्य ।  सुदीप कामना सेवा विकास बैंकका अध्यक्ष, डिस होमका प्रबन्ध निर्देशक, डीएचआईको अध्यक्ष, मल्टिपल इनिर्जी प्रालिको सञ्चालक रहेर काम गरिरहेका छन् । उनले बुवालाई जलविद्युतमा पनि साथ दिइरहेका छन् । सन्दिपले आईटी कम्पनीको नेतृत्व गरिरहेका छन् । उनले नेपालमा आईटी प्रडक्ट उत्पादन गरेर अमेरिकामा निर्यात गर्दै आएका छन् ।  आचार्य साथीभाइहरू जुटाएर काम गर्दा सफल भइने तर पारदर्शिताको भने आवश्यकता हुने बताए । ‘नेपालमा पारदर्शिताको कमी छ, व्यावसायिक साझेदारहरूसँग पारदर्शी कायम गर्न सकियो भने सफलताको सबैभन्दा ठूलो सफलता हुन्छ । इमान्दारिता र लगनशीलता आवश्यक पर्छ,’ उनले भने । म रिटायर्ड हुदिनँ, थप रिचार्ज हुन्छु । तपाईं आफ्नो काममा सन्तुष्ट र खुसी हुनुहुन्छ भन्ने अन्तिम स्वाससम्म काम गरिराख्ने हो । शारीरिक र मानसिक रूपमा काम गर्न सकिन्छ भने लागिरहनुपर्छ । त्यसमै आनन्द छ । आरएम ग्रुपले अन्तर्राष्ट्रिय व्यापार, पशु औषधि आपूर्ति, सफ्टवेयर तथा काउन्सेलिङ सेवा, डीटीएच स्याटेलाइट टेलिभिजन नेटवर्क, बैंकिङ तथा बीमा र ऊर्जा क्षेत्रमा लगानी विस्तार गरेको छ । ३० भन्दा बढी कम्पनीमा लगानी गरेका आचार्यले ५ सय बढीलाई रोजगारी दिएका छन् । उनी अझै पनि ऊर्जा क्षेत्रमै लागेर आफ्नो जीवनकालमा एक हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यमा छन् । नेपालको अन्तरिम व्यवस्थापिका संसद २०६३–२०६४ को सांसद समेत रहेर काम गरेका आचार्य व्यवसायसँगै सामाजिक काममा पनि सक्रिय छन् । उनी गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका रूपमा पनि कार्यरत छन् ।  ‘कहिले कता त कहिले कता लाग्नु हुँदैन, त्यसले क्षणिक रूपमा पैसा कमाए पनि सफलता भने मिल्दैन, समाज र राष्ट्रले केही पाउँदैन । समाजलाई के दिनु भयो भन्ने कुराले ठूलो अर्थ राख्छ,’ उनी भन्छन्, ‘अहिले म ७५ वर्षको भएँ, मेरो अन्त्य पनि कुनै परियोजना निर्माण गर्दागर्दै होस् भन्ने चाहना छ ।’ इप्पानका अध्यक्ष गणेश कार्की पनि ऊर्जा क्षेत्रको विकासमा आचार्यको भूमिका र योगदान महत्वपूर्ण रहेको बताउँछन् । ‘उहाँले इप्पानको नेृतृत्व गर्दा पनि परिणामुखी काम भए । उहाँ पहिले पनि माननीय भइसकेको हुनाले इप्पानलाई संस्थागत बनाउन र सरकारसँग नीतिगत समन्वय गर्न उहाँको कार्यकाल उदाहरणीय बन्यो,’ उनी भन्छन्, ‘उहाँको व्यक्तिगत सम्बन्ध राम्रो भएकोले पनि काम गर्न सहज भयो ।’ जलविद्युत क्षेत्रमा सामूहिक लगानीको मोडललाई अगाडि बढाउन पनि उनले ठूलो भूमिका खेलेको कार्कीको भनाइ छ ।  कृष्णकै शब्दहरू:  जागिरले आफूलाई मात्र चलाउँछ, व्यवसायले धेरैलाई जोड्छ भन्ने बुवाको प्रेरणाले म व्यवसायमा लागें । सुरु यातायातबाट गरें । पछि पोखरामा पर्यटकस्तरको पहिलो होटल खोलें । यातायात र होटल सञ्चालन गरेपछि दक्षिण एसियाकै पहिलो तयारी चाउचाउ उद्योग सुरु गरें, ‘रारा चाउचाउ’ । त्यतिबेला चाउचाउ भन्ने शब्द पनि नेपाली शब्दकोषमा थिएन, हामीले सुरु गरेपछि शब्द पनि चलनमा आयो, उद्योग पनि स्थापित भयो । राजा वीरेन्द्रले समेत बोलाएर सोध्नुभयो कि उद्योग कसरी सुरु गर्यौ भनेर ।  पैसा कमाउने मात्र काम होइन, राष्ट्र निर्माणको सोंचसहित म जलविद्युत उत्पादनको क्षेत्रमा आएँ । अहिले ४०० मेगावाटभन्दा बढी बिजुली उत्पादनमा संलग्न छु । केही आयोजनामा बत्ती बालिसक्यो, केही अन्तिम चरणमा छन् । जलविद्युतमा आएपछि बुझें– जहाँ आयोजना जान्छ, त्यहाँ विकास पुग्छ ।  बाटो जान्छ, बिजुली जान्छ, विद्यालय–स्वास्थ्य संस्था आउँछन् । रोजगारी सिर्जना हुन्छ । स्थानीय मानिसको जीवनस्तर माथि उकास्सिन्छ ।  ‘गो टुगेदर, ग्रो टुगेदर’ भन्ने मान्यतामा काम गरिरहेको छु, मैले चार हजारभन्दा बढी प्रमोटरलाई जोडेको छु । नेपालको व्यवसायमा सबैभन्दा ठूलो समस्या पारदर्शिता नहुनु हो । साझेदारसँग पारदर्शिता राखियो भने सफल भइन्छ । अमेरिकाबाट फर्किएर छोराहरूले पनि मलाई व्यवसायमा साथ दिइरहेका छन् । मलाई त्यसमा ठूलो गौरव छ ।  सरकारले नीतिगत सहजता गरिदियो भने जलविद्युत उद्यमीहरूले ५० हजार मेगावाट उत्पादन गर्न सक्छन् । म इप्पानको नेतृत्व गर्दा ‘झोलामा खोला बोक्ने’ भनेर आरोप लगाइन्थ्यो । म त्यो भाष्यलाई बदल्न सफल भएँ । जलविद्युत उद्यमी राष्ट्र निर्माता हुन् भनेर स्थापित गरें । पीपीए रोकिएको थियो, कबोल गरेको विद्युत उत्पादन नगर्नेलाई जरिवाना लगाइन्थ्यो । ट्रान्समिसन लाइनका अवरोध थिए । सबै हटाउन लडें । संगठन १२/१५ सदस्यबाट ५०० पु¥यायौं ।  निजी क्षेत्र नआएको भए लोडसेडिङ हट्दैनथ्यो । त्यो श्रेय लिइरहेकै आधारमा कतिपयले पार्टी खोले । म कठिन समयमा नै काम गर्छु । नाकाबन्दीमा दुई उद्योग ल्याएँ, भूकम्पमा पनि रोकिनँ । धम्की दिने, रोक्ने, काम नगरिदिने लगायत धेरै चुनौतीहरू भोगें । तर, कहिल्यै निराश भइनँ । म व्यापारमा होइन, उत्पादनमा लागें । पारदर्शी र इमानदार भएर काम गर्छु । अहिले तीन दर्जनभन्दा बढी कम्पनीमा लगानी छ, ५०० भन्दा बढीले रोजगार पाएका छन् । मेरै जीवनकालमा एक हजार विद्युत उत्पादन गर्ने लक्ष्य छ । मेरो कामको मूल्यांकन गर्दै विकास मिडियाले मलाई विकास नायकको रूपमा सम्मान गर्न लागेको खबर सुनेपछि राम्रो काम गर्नेको कहीँ नै कही मूल्याङकन भइरहेको हुन्छ भन्ने लाग्यो । यो कार्यलाई निरन्तरता पनि दियोस् भन्ने शुभकामना पनि दिन चाहन्छु । 

पात्रमा प्राण भर्ने कलाकार

मानिसको जीवन, मनोविज्ञान र भावनाका कथाहरूमा डुब्ने नायिका । सिनेमाको पात्रमा प्राण भर्ने अभिनेत्री । सिनेमा हेर्ने र कलाप्रेमीहरूले चिन्ने, बुझ्ने र ग्रहण गर्ने यसरी नै हुन् अभिनेत्री सुरक्षा पन्तलाई । सिर्जनशीलता, रचनात्मकता र समाजलाई केही पाठ र सन्देश दिन खोज्ने कथामा डुबेर अभिनयमा अब्बलता देखाउनु उनको विशेषता हो ।  कथामा नयाँपन खोजिरहने सुरक्षा सधैं सुरक्षित बाटोभन्दा फरक, नयाँ र चुनौतीपूर्ण कथाहरूको माग गर्छिन् । किनकि उनका लागि कला प्रख्याति मात्र नभई समाजमा प्रभाव छोड्ने जिम्मेवारपूर्ण पनि हुनुपर्छ । ‘हामीले जे काम गरिरहेका हुन्छौं, त्यो कामले अन्य व्यक्तिको जीवनमा कति प्रभाव पारिरहेको रहेछ भनेर हामीले भेट्ने मान्छेहरूबाट थाहा पाउँछौं, यसले ठूलो आत्मसन्तुष्टि दिन्छ,’ सुरक्षाले भनिन् ।  इन्जिनियरिङ पृष्ठभूमिबाट आएर नेपाली सिनेमा क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल सुरक्षा आज दर्शकले ‘राम्रो कलाकार’ भनेर सिफारिस गर्ने नाममध्येमा पर्छिन् । आफू सफल भए पनि असफल भए पनि कलालाई माया गर्ने कलाकारलाई यस क्षेत्रले अन्ततः अँगाल्छ भन्ने उनको विश्वास छ । ‘कला क्षेत्रलाई विशुद्ध माया गरेर काम गर्ने कलाकारहरूलाई सिनेमा क्षेत्रले पनि अँगाल्दो रहेछ, माया गर्दाे रहेछ, ठाउँ दिँदोरहेछ । त्यसमा ढिलो चाँडो होला । तर, खुला रुपमा स्वागत गर्दो रहेछ,’ उनले अनुभव सुनाउँदै भनिन् ।  सरलदेखि जटिल मनोविज्ञान बोकेका महिला पात्रहरूमा उनले दिएको जीवन्त प्रस्तुति दर्शकमाझ चर्चित बन्दै गएको छ । कला प्रख्याति मात्र नभई, समाजमा प्रभाव छोड्ने जिम्मेवारपूर्ण हुनुपर्छ भन्ने बुझाइ सुरक्षाको छ ।  सुरक्षाले सन् २०१५ मा चलचित्र ‘अझै पनि’ मार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गरिन् । उक्त चलचित्रबाट सहायक भूमिकामा डेब्यू गर्दा उनले साइँलीको चरित्र निभाइन् ।  चरित्र लेखनदेखि कथावस्तु र फिल्म सबैतिर समस्या भएकैले यो फिल्म चलेन । तर, दर्शक र चलचित्र निर्माताको नजरमा भने उनी परिसकेकी थिइन् । उनी एउटा राम्रो समूहको फिल्ममा पुगिन्, ‘धनपति’। एक ड्राइभर धनपतिले परिवार पाल्न गरेको संघर्षमा आधारित यो फिल्म अन्य मसालेदार फिल्मभन्दा धेरै फरक छ । चरित्र निर्माणमा सुरक्षाले गरेको मिहिनेत धनपतिमा देखियो । धनपति पनि खासै पैसा कमाउने फिल्म बन्न नसकेपनि दर्शक र समीक्षकहरूले सुरक्षाको अभिनयलाई खुलेरै प्रशंसा गरे । धनपति पछि उनले लगातार ‘भैरे’, ‘रोमियो एण्ड मुन्ना’ र ‘चङ्गा चेट’ मा काम गरिन् ।  त्यसपछि उनले फिल्म ‘गोपी’मा अभिनय गरिन् । सुरक्षाको अभिनय र चरित्रले गोपी फिल्ममा राम्रै प्रशंसा बटुल्यो । त्यसपछि उनी चरित्रमा झनै घुस्न थालिन् ।  ‘आमा’ फिल्ममा चरित्रका लागि भन्दै सुरक्षाले कपालसमेत काटिन् । उनले कपाल काटेकै भरमा समेत फिल्मको प्रचारप्रसार चुलीमा पुग्यो । फिल्मले राम्रै प्रशंसा पायो । चरित्रमा डुब्नका लागि कपाल काटेको विषयले निकै चर्चा पायो । सिनेमा र चरित्रप्रतिको सुरक्षाको इमानदारिता, लगनशीलता र त्यागको निकै तारिफ भयो । आमापछि उनले धेरै फिल्ममा काम गरिन् । ‘घर’ नामको हरर फिल्मदेखि ‘के घर के डेरा’सम्ममा उनले अभिनय गरिन् । यसैबीच उनले इटालियन चलचित्र ‘द एट माउन्टेन’मा पनि अभिनय गरिन् । जसले उनलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनायो । मेरो सफलताको सारथि मेरो इच्छाशक्ति नै हो । नयाँ र फरक विषयवस्तु दर्शकमाझ पुर्‍याउने काममा प्रयासरत रहनेछु । अब अभिनयसँगै निर्देशन र सिनेमा निर्माणमा पनि काम गर्ने योजना छ ।  ‘बहाव‘देखि ‘बुलाकी’सम्ममा सुरक्षाले फरक चरित्रमा काम गरिन् । बुलाकी फिल्ममा सुदूरपश्चिमको भाषामा बोल्ने मात्रै होइन, उनले आफ्नै आवाजमा सुदूरपश्चिमकै भाषामा गीतसमेत गाइन् । यसले उनको कला र क्षमताको थप पुष्टि गर्‍यो । ‘बहाव’देखि ‘बुलाकी’सम्म फरक–फरक चरित्रमा देखिँदै आएकी उनी हिटको पछि होइन, चरित्रको पछि दौडिरहेकी कलाकार हुन् भन्ने प्रमाणित गर्‍यो । छोटा फिल्महरूदेखि म्युजिक भिडियोसम्म सबैमा काम गरेको अनुभव उनीसँग छ ।   सुरक्षाका लागि सफलताको सारथि नै इच्छाशक्ति हो । कला क्षेत्रमा नयाँ र फरक विषयवस्तु दर्शकमाझ पु¥याउने उद्देश्यसहित निरन्तर प्रयास उनको छ । उनका अनुसार फिल्म पढेर आएका नयाँ पुस्ताका फिल्ममेकरहरूलाई मूलधारको सिनेमामा ल्याउन सामूहिक प्रयास आवश्यक छ ।  आफूले अभिनयमार्फत नयाँ कथालाई समर्थन गर्ने कोसिस गरिरहेको बताउँदै सुरक्षाले यसलाई आफ्नो उद्देश्यकै रूपमा अघि बढाइरहेको बताइन् । ‘अलिकति नयाँ, फरक किसिमका विषयवस्तुलाई अझै दर्शकमाझ पुर्‍याउन खोजिरहेकी छु, हजारौंको संख्यामा नयाँ फिल्म मेकरहरू पढे–लेखेर बाहिर निस्कनु हुन्छ । कहिलेकाहीँ ममार्फत पनि उहाँहरूलाई मेनस्ट्रीम फिल्म मेकिङमा ल्याउन सकुँ भन्ने लाग्छ,’ सुरक्षाले आफ्नो उदारता पोखिन्।  अभिनयसँगै निर्मातातर्फको बाटो   अब अभिनयमात्रै होइन, निर्देशन र निर्माताको बाटो समाउने योजना सुरक्षाको छ । कथा लेखन, निर्माण वा निर्देशनतर्फ पनि लाग्ने योजना सुनाइन् उनले । ‘भविष्यमा अझै विभिन्न पात्रहरूमा उभिन पाऊँ भन्ने छ । आफ्नो इच्छाशक्ति रहेसम्म अभिनयबाहेक पनि कथा भन्नेतिर आउने योजना छ,’ उनले भनिन्, ‘विस्तारै कथा लेखन, निर्देशक र निर्माता भएर काम गर्न मन छ, कला क्षेत्रमा अझै धेरै काम  गर्ने योजना छ ।’ कला क्षेत्र धमिलो नहोस् भन्ने चाहनासहित राम्रो कथा, बलियो पटकथा, उत्कृष्ट अभिनय र निर्देशनमार्फत सक्षम टिमवर्क निर्माण गर्नु नै आफ्नो मूल लक्ष्य रहेको सुरक्षाले सुनाइन् । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाको प्रतिनिधित्व गर्ने अनुहार बनेकी उनले अभिनय, रंगमञ्च, टेलिभिजन र अन्तर्राष्ट्रिय चलचित्रसम्मको यात्रा तय गर्दै आफूलाई स्थापित कलाकारका रूपमा दर्ज गराएकी छन् ।  नेपाली चलचित्र उद्योगमा अभिनयको गहिराइ, चरित्रप्रतिको इमानदार समर्पण र फरक धारका भूमिकामार्फत चिनिएकी सुरक्षा पुरस्कार र सम्मानको हिसाबले पनि उत्तिकै स्थापित छिन् । आफ्ना लागि दर्शकको माया नै सबैभन्दा ठूलो सफलता भएको उनी बताउँछिन् । ‘कला क्षेत्रमा काम गर्ने कलाकारहरूको सफलताको मुख्य मापन भनेको दर्शकहरूको माया हो,’ उनी भन्छिन्, ‘जहाँ जाँदा पनि राम्रो कलाकार हो भनेर चिनिनु गर्वको विषय हो, जुन मैले दर्शकबाट पाइरहेकी छु ।’ व्यावसायिक स्टारडमभन्दा बाहिर रहेर अभिनयलाई प्राथमिकता दिएकी सुरक्षाले पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चबाट महत्त्वपूर्ण सम्मान र उचाइ प्राप्त गरेकी छन् । उनले सन् २०१९ मा चलचित्र ‘गोपी’बाट नेफ्टा फिल्म अवार्ड प्राप्त गरेकी गरिन् । यस फिल्ममा उनले मुख्य पात्रसँग जोडिएको संवेदनशील महिला चरित्र निभाएकी थिइन् । भूमिका आकारमा ठूलो नभए पनि कथामा यसको प्रभाव निर्णायक थियो । नेफ्टा अवार्डले उनलाई सह–भूमिकामा समेत प्रभाव छोड्न सक्ने अभिनेत्रीका रूपमा चिनायो । यस्तै, सन् २०२० मा  फिल्म ‘आमा’ राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म घोषित भएसँगै उक्त फिल्मबाट सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री बनिन् । फिल्म ‘बुलाकी’बाट उनले नेपाल–अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)बाट पनि उत्कृष्ट अभिनेत्रीको सम्मान प्राप्त गरिन् ।  ‘बुलाकी’ फिल्ममा सुरक्षाले सुदूरपश्चिमेली महिलाको जीवन, पीडा र सामाजिक यथार्थलाई प्रस्तुत गरेकी थिइन् । अन्तर्राष्ट्रिय स्तरको महोत्सवबाट सम्मानित हुनु सुरक्षाको अभिनय यात्रामा महत्वपूर्ण उपलब्धिका हो । सुरक्षाले कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्री बनेर प्राप्त गरेको मान्यता पनि उनको सम्मान सूचीमै जोडिने विषय हो ।  इटालियन फिल्म ‘द एट माउन्टेन’को टिमसँग कान्स पुगेकी सुरक्षाको उपस्थितिलाई नेपाली फिल्म क्षेत्रका लागि अन्तर्राष्ट्रिय मान्यता र गौरवको रूपमा लिइएको थियो । यस उपलब्धिले उनलाई केवल पुरस्कार प्राप्त अभिनेत्री मात्र होइन, अन्तर्राष्ट्रिय पहिचान बनाउने कलाकारको रूपमा पनि स्थापित गरेको छ । चिकित्सक बन्ने सपना, इन्जिनियरिङ पढाइ बुटवलमा जन्मिएकी सुरक्षा सानैदेखि पढाइमा अब्बल थिइन् । चार दिदी बहिनी र एक भाइसहित बाबुआमाको संरक्षणमा हुर्किएकी उनी घरपरिवारमै सीमित जीवनबाट बाहिर निस्केर केही फरक गर्ने चाहना बोकेर बसेकी थिइन् । तर, एसएलसीअघि उनले घर छाडेकी थिइनन् । उनको सपनाको सहर भने सधैं काठमाडौं नै थियो । तर, त्यो सपना घरमा राख्नु र व्यक्त गर्नु सजिलो थिएन । पढाइप्रतिको लगाव र निरन्तर मिहिनेतले अन्ततः उनलाई काठमाडौं आउने अवसर दिलायो । छात्रवृत्तिमा नाम निकालेर डाक्टर बन्ने परिवारको सल्लाहले उनी सपनाको सहर काठमाडौं आइन्  । आफू काठमाडौं आउँदा कुखुरा बोक्ने गाडीमा आएको अनुभव सुनाइन् । काठमाडौंमा सुरक्षाले आफूलाई प्रमाणित गर्दै अघि बढ्ने बाटो रोजिन् । डाक्टर बन्ने सपना बोकेर काठमाडौं आइपुगेकी उनको जीवनले यहाँ आएपछि नयाँ मोड लियो । चिकित्साशास्त्र पढ्ने लक्ष्यसहित राजधानी प्रवेश त गरिन् तर अपेक्षित छात्रवृत्तिमा नाम निस्केन ।  परिस्थितिले उनलाई विकल्प खोज्न बाध्य बनायो र अन्ततः उनले इन्जिनियरिङ पढ्ने निर्णय गरिन् । पढाइप्रतिको लगाव र इमानदारिताका कारण उनी इन्जिनियरिङमा पनि सफल भइन् र यही विषयमा उच्च अध्ययनतर्फ अघि बढिन् । इन्जिनियरिङमा मास्टर्स अध्ययन सुरु गर्नुअघि नै सुरक्षाको जीवनमा अर्को अप्रत्याशित अवसर आयो फिल्म अभिनय । त्यसपछि उनले नेपाली कला क्षेत्रको यात्रा तय भयो ।  २०७९ फागुनमा प्रेमी मानव सुवेदीसँग लगनगाँठो कसेकी सुरक्षाले आफ्नो अभिनय करिअरलाई निरन्तरता दिइरहेकी छन् । व्यक्तिगत जीवनमा महिला अधिकार, समानता र सामाजिक न्यायका विषयमा सचेत देखिने उनी अभिनय गरेका चलचित्रहरूमा महिला पात्रलाई कमजोर वा सजावटी रूपमा नभई सोच्ने, निर्णय गर्ने र प्रश्न उठाउने पात्रका रूपमा आफूलाई प्रस्तुत गरिरहेकी छन् ।  नेपाली कला क्षेत्रमा जीवनको कुनै सुनिश्चितता नभएको सुरक्षाको गुनासो छ । उनका अनुसार यो क्षेत्रलाई अझै चलायमान बनाउन नसकेको र नीतिगत तहसम्म पनि यसले प्राथमिकता पाएको छैन । ‘अझै धेरै कथाहरू छन्, जुन हामीले भन्न सकेका छैनौं, यो क्षेत्रलाई चलायमान बनाउन प्रयास गर्नुपर्छ,’ उनले भनिन्, लगानीकर्ताको ध्यान फिल्म उद्योगमा पनि जानुपर्छ ।’ सुरक्षाकै शब्दहरू :  कलाकारले गर्ने हरेक कामले कसैको जीवनमा प्रभाव पारिरहेको हुन्छ । कतिपय मानिसहरू आएर ‘मेरो जस्तै कथा रहेछ, राम्रो लाग्यो’ भन्नुहुन्छ । उहाँहरूले आफैलाई कथामा भेटे झैं महसुस गर्न पाउनुहुन्छ र कलाकारले आत्मसन्तुष्टि अनुभव गर्छन् । त्यो अनुभव गर्न पाउँदा धेरै खुसी लाग्छ । मानिसभित्रको सहानुभूति र संवेदनशीलता जगाउनु नै कलाको मूल प्रभाव हो । कलालाई माया गर्ने कलाकारलाई सिनेमा क्षेत्रले पनि अँगाल्दो रहेछ । म फरक पृष्ठभूमिबाट आएको हुनाले मेरो फिल्म क्षेत्रमा प्रवेश केही नौलो रह्यो । यसले कला क्षेत्रमा फरक विधाबाट आएका, पढेलेखेका मानिसले पनि राम्रो गर्न सक्छन् भन्ने सन्देश पनि प्रवाह भएको छ ।  म नयाँनयाँ कथामा काम गर्न रुचाउँछु, किनकि नयाँपन नै कला क्षेत्र विकासको आधार हो । कलाकारका लागि सफलताको सबैभन्दा ठूलो मापन भनेको दर्शकको माया हो, राम्रो कलाकार भनेर चिनिनु, फिल्म नचले पनि हौसला दिनु आफ्नो सफलता हो जस्तो लाग्छ । यस यात्रामा सबैभन्दा ठूलो सारथि मेरो आफ्नै इच्छाशक्ति हो । इच्छाशक्ति बिना कलाकार दिगो रूपमा टिक्न सक्दैन । यसको पछि दर्शकको माया, परिवार, साथीभाइ र सकारात्मक सोचले बल दिन्छ । समाज, देश र अझ ठूलो अर्थमा संसारका लागि के गर्न सक्छु भन्ने दृष्टिकोणले पनि निरन्तर अघि बढ्न प्रेरित गर्छ ।  नयाँ र फरक कथावस्तु दर्शकमाझ पुर्‍याउने मेरो निरन्तर प्रयास रहनेछ । कहिलेकाहीँ चुनौती आउँछन्, नयाँ फिल्म–मेकिङ सिकेर आएका युवालाई मेनस्ट्रीममा ल्याउने चाहना पनि हुन्छ । सबै कुरा एक्लैले सम्भव हुँदैन, सामूहिक प्रयास आवश्यक हुन्छ र यही कुरा नै मेरा उद्देश्यहरूसँग जोडिएको छ । म फिल्म करिअरलाई अझ विविध बनाउन चाहन्छु । नयाँ पात्र, नयाँ अभिनय, र भविष्यमा कथावाचन, लेखन, निर्माण वा निर्देशनतर्फ पनि अघि बढ्ने योजना  छ । विकास मिडियाले गरेको ‘विकास नायक’ सम्मानलाई म विभिन्न क्षेत्रका व्यक्तिलाई एकै मञ्चमा ल्याउने राम्रो प्लेटफर्मका रूपमा हेरेकी छु । यस्तो प्लेटफर्मले फरक क्षेत्रका प्रभावशाली व्यक्तिसँग कलाकारलाई जोडिदिन्छ, सहकार्य र नेटवर्किङको नयाँ ढोका खोलिदिन्छ ।