लाभांश सिजन सुरु, ८ दिनमै सिद्धार्थ व्यवस्थित लगानी योजनाको घोषणा
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै पुँजी बजारमा लाभांश सिजन पनि सुरु भएको छ । आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण बन्द भएसँगै सूचीकृत कम्पनी तथा म्युचुअल फण्डहरूले लाभांश तथा प्रतिफल घोषणा गर्न थालेका छन् । यससँगै लगानीकर्ताको चासो अब कुन कम्पनी वा योजनाले कति प्रतिफल वितरण गर्छ भन्नेमा केन्द्रित हुन थालेको छ । यसैक्रममा, आर्थिक वर्ष समाप्त भएको आठ दिनमै सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुलामुखी योजना सिद्धार्थ व्यवस्थित लगानी योजनाले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाईधनीलाई करसहित ३ प्रतिशत नगद प्रतिफल (लाभांश) वितरण गर्ने घोषणा गरेको छ । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सञ्चालक समितिको साउन ८ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रतिफल वितरण प्रयोजनका लागि साउन ८ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका लगानीकर्तामात्र प्रतिफल प्राप्त गर्न योग्य हुने कम्पनीले जनाएको छ । सिद्धार्थ व्यवस्थित लगानी योजना खुलामुखी योजना भएकाले लाभांश पुनःलगानी योजनामा सहभागी भएका इकाईधनीको हकमा कर तथा निर्धारित डिपी शुल्क कटाएर बाँकी रकम बराबरको नयाँ इकाई समायोजित खुद सम्पत्ति मूल्यका आधारमा खरिद गरी सम्बन्धित हितग्राही खातामा जम्मा गरिनेछ । यस्तै, पुनःलगानी योजनामा सहभागी नभएका इकाईधनीको हकमा प्रतिफल रकम हितग्राही खातामा उल्लेख भएको बैंक खातामै सिधै जम्मा गरिने सिद्धार्थ क्यापिटलले जनाएको छ ।
नेप्से बढ्दा १५२ कम्पनीका लगानीकर्ताले कमाए
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.९० अंकले बढेर २,७३४.६३ बिन्दुमा पुगेको छ । यस दिन ६ अर्ब २६ करोड ७२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबारमा ३५३ कम्पनीका १ करोड ३७ लाख ६९ हजार कित्ता सेयर ७० हजार १५८ पटक खरिदबिक्री भएका छन् । तीमध्ये १५२ कम्पनीको सेयर मूल्य बढ्दा १०९ कम्पनीको घटेको छ । एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको सेयर मूल्य ८४ रुपैयाँ ९० पैसा बढेर ६५१ रुपैयाँ १० पैसामा पुगेको छ । त्यसैगरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १४ प्रतिशतभन्दा बढी र सगरमाथा जलविद्युत कम्पनीको सेयर करिब ७ प्रतिशतले बढेको छ । यता, १० प्रतिशत सानिमा बैंक डिबेञ्चरको मूल्य सबैभन्दा धेरै ८.९२ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रह्यो । कम्पनीको ३० करोड ९३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको करिब २७ करोड ५० लाख रुपैयाँ तथा कुमारी बैंकको २५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढ्दा ६ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ उपसमूह सबैभन्दा धेरै १.१७ प्रतिशतले बढेको छ । विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूह पनि हरियालीमा रहे । यद्यपि, म्युचुअल फन्ड उपसमूहको परिसूचक सबैभन्दा धेरै २.०८ प्रतिशतले घटेको छ।
मितेरी डेभलपमेन्ट बैंकको नाफा १४ करोड नाघ्यो, लाभांश क्षमता १२.७३ प्रतिशत
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा खुद नाफा ८.९८ प्रतिशत घटेर १४ करोड १२ लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १२ करोड ९५ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ५०.२६ प्रतिशत बढेर ३० करोड ७४ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा बैंकले २० करोड ४५ लाख ९४ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ करोड ७२ लाख ३६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ३५ करोड ९ लाख ४७ हजार रुपैयाँ र सञ्चालन नाफा २० करोड १७ लाख ४१ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ करोड ३२ लाख ११ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ३१ करोड १ लाख ६८ हजार रुपैयाँ र सञ्चालन नाफा १८ करोड ५७ लाख ८ हजार रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा १५ करोड ४८ लाख ८६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १२.७३ प्रतिशत रहेको छ । १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३७ करोड ८ लाख ४१ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १०.६५ रुपैयाँबाट बढेर ११.६० रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात ५०.१६ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४३.२ रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप ३६ प्रतिशत बढेर ८ अर्ब ८५ करोड ३७ लाख ७२ हजार रुपैयाँ र कर्जा २९.२५ प्रतिशत बढेर ६ अर्ब ६९ करोड २६ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षसम्म बैंकले ६ अर्ब ५० करोड ६७ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १७ करोड ८१ लाख २२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । अघिल्लो वर्ष ०.२८ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ०.२६ प्रतिशतमा झारेको छ ।