छिमेक लघुवित्तले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको बुधबार बसेको सञ्चालक समितिको ३४५औँ बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांशमध्ये ११.९६३१ प्रतिशत बोनस सेयर र १३.०३६९ प्रतिशत नगद लाभांश रहेको छ ।

संस्थाको हाल कायम चुक्ता पुँजी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १०१ रुपैयाँ ५० पैसा छ । यसका आधारमा ४३ करोड २७ लाख ३५ हजार ८९८ रुपैयाँ ५० पैसाको बोनस सेयर वितरण हुनेछ ।

त्यस्तै, ४७ करोड १५ लाख ८० हजार १२६ रुपैयाँ ८८ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । उक्त नगद लाभांशमा बोनस तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश छ ।

संस्थाले प्रस्तावित लाभांश र गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै प्रस्तावित लाभांश सेयरधनीले प्राप्त गर्नेछन् । 

Share News