‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।      प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।      प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिए ।        उनले गुणस्तरीय, प्रभावकारी तथा नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाइ, सेवा प्रवाहमा सुधार, ‘डिजिटल’ प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गराए ।       प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरङ्ग (ओपिडी) सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए ।      एउटा स्वास्थ्य संस्थाले विकास गरेका उत्कृष्ट र असल अभ्यासलाई अन्य संस्थाले पनि साझेदारी र सिकाइका माध्यम बनाउन सुझाव दिँदै उनले प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणको विषय सम्बन्धित निकायसँग समन्वय गरी कानुनबमोजिम समाधानका लागि पहल गरिने बताए ।       छलफलका क्रममा उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवा प्रवाहमा सुधार, अस्पतालको सरसफाइ, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष स्वास्थ्य जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवद्र्धन र पूर्वाधार विकाससम्बन्धी सुझाव प्रस्तुत गरे ।      उनीहरुले  स्वास्थ्य सेवामा ‘डिजिटल’ रूपान्तरण, अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा केही प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको प्रभावबारे प्रधानमन्त्रीसमक्ष जानकारी गराए ।       त्यस अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नवीसमान सिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नारायणसिंह गुरुङ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा स्मृति काफ्ले तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति विवेक आचार्य सहभागी रहेका थिए ।    

अस्पतालदेखि विद्यालयसम्म मुक्तिनाथ विकास बैंकको सामाजिक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक कल्याणमा टेवा पुर्‍याउने उद्देश्यले विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा स्थानीय तहलाई स्वास्थ्य तथा खानेपानीसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । बैंकले सामाजिक तथा सरकारी अस्पताल, स्वास्थ्य चौकी र स्थानीय तहमार्फत २६ वटा व्हीलचेयर वितरण गरेको जनाएको छ । यसअन्तर्गत सल्यान जिल्ला अस्पताललाई १० वटा, सल्यानकै त्रिवेणी गाउँपालिकास्थित त्रिवेणी स्वास्थ्य चौकीलाई ३ वटा, मोरङको रंगेली अस्पताललाई १० वटा तथा रुपन्देहीको ओमसतिया गाउँपालिका–१ वडा कार्यालयमार्फत शारीरिक रूपमा फरक क्षमता भएका तथा आवश्यकतामा रहेका व्यक्तिका लागि ३ वटा व्हीलचेयर उपलब्ध गराइएको छ । त्यसैगरी, बैंकले मोरङको पथरी नगर अस्पताललाई चार थान तीन–सिटे कुर्सी, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई तीन वटा विद्युतीय पानी डिस्पेन्सर र सल्यानस्थित श्री जनकल्याण आधारभूत विद्यालयलाई चार वटा वाटर प्युरिफायर हस्तान्तरण गरेको छ । बैंकले स्वास्थ्य सेवा, शिक्षा र सामाजिक समावेशितालाई प्राथमिकतामा राख्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ । आगामी दिनमा पनि समुदायको दिगो विकास र जनकल्याणमा योगदान पुर्‍याउने यस्ता कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइने बैंकको भनाइ छ ।

सिटी एक्सप्रेसको २०औँ वार्षिकोत्सव, रक्तदानसँगै उत्कृष्ट कर्मचारी सम्मानित

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले स्थापना भएको २० वर्ष पूरा गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले २०औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय परिसरमा ‘रक्तदान जीवनदान, हामी सबैको योगदान’ भन्ने मूल नारासहित संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खुला रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ । उक्त कार्यक्रममा कम्पनीका कर्मचारीसहित विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो । वार्षिकोत्सवकै अवसरमा कम्पनीले उत्कृष्ट कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत पनि गरेको छ । कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर तथा चर्चित हास्यकलाकार जितु नेपालको पनि उपस्थिति रहेको थियो । कम्पनीले विगत १९ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै विश्वका विभिन्न मुलुकबाट नेपालमा सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध गराइरहेको जनाएको छ । साथै, कम्पनीले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा सञ्चालन गर्नुका साथै सोही प्लेटफर्मबाट रेमिट्यान्स भुक्तानी सेवा पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।