पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो नयाँ नेतृत्व, पाँच पदमा नियुक्ति

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त भएका छन् ।  प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.बाबुराजा महर्जन, रजिस्ट्रारमा डा.अरुण शाही,स्कुल अफ मेडिसिनको डीनमा डा.आशिष श्रेष्ठ, स्कुल अफ नर्सिङ एन्ड मिडवाइफरीको डीनमा शोभालक्ष्मी बज्राचार्य र अस्पताल निर्देशकमा डा.सन्तवीर महर्जन नियुक्त भएका छन् । नवनियुक्त पदाधिकारीहरूले आज मन्त्रालयमा मन्त्री मेहतासमक्ष नियुक्तिपत्र लिएका हुन् । प्रतिष्ठानको उपकुलपतिमा डा.नवीसमान सिंह प्रधान यसअघि नै नियुक्त भइसकेका छन् ।

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं । एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच एनसेलका ग्राहकलाई सहज र किफायती स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले साझेदारी भएको छ । साझेदारीअन्तर्गत योग्य एनसेल ग्राहकले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श लिन सक्नेछन् । सम्झौताअनुसार २९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकले बहिरङ्ग सेवामा चिकित्सकसँग निःशुल्क परामर्श लिन पाउनेछन् । त्यस्तै, ९९ रुपैयाँदेखि २९९ रुपैयाँसम्मको प्याक वा रेन्टल सेवा लिने ग्राहकले चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन् । यससम्बन्धी सम्झौतामा मंगलबार आयोजित कार्यक्रममा एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले हस्ताक्षर गरेका छन् । एनसेलका दत्ताले मोबाइल सेवासँगै ग्राहकलाई स्वास्थ्य सेवामा समेत थप लाभ प्रदान गर्ने उद्देश्यले साझेदारी गरिएको बताए । उनका अनुसार ग्राहकले निःशुल्क चिकित्सक परामर्शदेखि परामर्श शुल्कमा छुटसम्मको सुविधा पाउनेछन् ।   यो सुविधा लिन योग्य एनसेल ग्राहकले एनसेल एपमा लगइन गरी ‘पार्टनर्ड सर्भिसेज’ खण्डमा गएर नेपाल मेडिसिटी अस्पताल छनोट गर्नुपर्नेछ । एपमा ग्राहकले पाउने सुविधाको विवरण स्वतः देखिनेछ । योग्य नदेखिएका ग्राहकले आवश्यक प्याक वा रेन्टल सेवा लिएपछि यो सुविधाको लाभ लिन सक्नेछन् । नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. तोमरले साझेदारीले स्वास्थ्य सेवामा पहुँच मात्रै नभई गुणस्तरीय स्वास्थ्य सेवालाई थप पहुँचयोग्य, समावेशी र किफायती बनाउन सहयोग पुग्ने बताए । एनसेलले विश्वसनीय ब्रान्ड तथा अत्यावश्यक सेवा प्रदायकसँगको सहकार्यबाट ग्राहकलाई दैनिक जीवनमा उपयोगी र अर्थपूर्ण सुविधा उपलब्ध गराउने निरन्तर प्रयासको हिस्सा भएको जनाएको छ ।

आलु होइन, खाने तरिका गलत हुँदा बढ्छ स्वास्थ्य जोखिम

काठमाडौं । आलु धेरैको दैनिक खानाको महत्त्वपूर्ण हिस्सा हो । तर आलु खाँदा स्वास्थ्यमा असर गर्छ भन्ने धारणा पनि व्यापक छ । विज्ञ तथा विभिन्न अध्ययनले भने आलु आफैमा समस्या नभई यसलाई पकाउने र खाने तरिकाले स्वास्थ्यमा फरक पार्ने देखाएका छन् । हार्वर्ड हेल्थमा प्रकाशित एक रिपोर्टअनुसार आलुलाई सन्तुलित मात्रामा, सही तरिकाले पकाएर खाँदा स्वास्थ्यका लागि फाइदा पुग्न सक्छ । विशेषगरी जैतुन, सूर्यमुखी र भटमासबाट बनेका असन्तृप्त वनस्पति तेलमा पकाइएको आलु तथा बोक्रासहित पकाइएको वा उसिनेको आलु तुलनात्मक रूपमा स्वस्थकर मानिन्छ ।  आलुमा पोटासियम र फाइबरजस्ता पोषक तत्त्व पाइन्छन् । त्यसैले सन्तुलित आहारको हिस्सा बनाएर आलुको सेवन गर्न सकिन्छ ।   अमेरिकी कृषि विभागका अनुसार नुन नहाली बोक्रासहित उसिनेको १०० ग्राम आलुमा करिब ८७ क्यालोरी, ७७ प्रतिशत पानी, १.९ ग्राम प्रोटिन, २०.१ ग्राम कार्बोहाइड्रेट, ०.९ ग्राम चिनी, १.८ ग्राम फाइबर र ०.१ ग्राम बोसो हुन्छ ।   ‘द जर्नल अफ न्युट्रिसन’मा प्रकाशित अध्ययनमा ७७ हजार २९७ वयस्कको खानपान र स्वास्थ्य अवस्थालाई औसत ३३.५ वर्षसम्म अध्ययन गरिएको थियो । अध्ययनले सन्तुलित मात्रामा विशेषगरी बोक्रासहित र नतारेको आलु सेवन गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने देखाएको छ । दैनिक १०० ग्राम वा सोभन्दा कम आलु सेवन गर्ने व्यक्तिमा मुटुसम्बन्धी समस्या, मधुमेह तथा मोटोपनाको जोखिम केही कम देखिएको अध्ययनमा उल्लेख छ । तर आलुलाई ‘सुपरफुड’ भने मान्न नसकिने अध्ययनले स्पष्ट पारेको छ । आलुबाट स्वास्थ्यमा समस्या हुनेभन्दा पनि धेरै तेलमा तारेको फ्राइज, चिप्स तथा डिप फ्राइड आलुको नियमित सेवन स्वास्थ्यका लागि बढी जोखिमपूर्ण हुन सक्छ ।  कसरी खाने आलु ? स्वास्थ्यलाई ध्यानमा राख्दै आलुलाई उसिनेर, बेक गरेर वा कम तेलमा पकाएर खान सकिन्छ । बोक्रासहित पकाउँदा फाइबरलगायत केही पोषक तत्त्व प्राप्त गर्न सकिन्छ । उसिनेको आलुलाई सलाद, सादा दही तथा अन्य तरकारीसँग मिसाएर खान सकिन्छ । त्यसैगरी, बेक गरिएको आलुलाई सिमी, एभोकाडो तथा अन्य पौष्टिक खाद्य पदार्थसँग मिलाएर पनि खान सकिन्छ । आलु पोषक तत्वयुक्त खाद्य पदार्थ भए पनि यसको सेवन सन्तुलित मात्रामा गर्न आवश्यक हुन्छ । विशेषगरी मधुमेह वा अन्य स्वास्थ्य समस्या भएका व्यक्तिले आफ्नो खानपानबारे चिकित्सक वा पोषणविद्सँग परामर्श गर्नु उपयुक्त हुन्छ ।