देउरानीको कलेजोको टुक्राले जोगियो जेठानीको जीवन
‘हामी जेठानी–देउरानी सधैं सुख बाँड्दै आएका थियौं, आज दुःख पनि बाँडेका छौं । सुखमात्र होइन, दुःख पनि बाँड्न सकिँदो रहेछ,’ पोखरा–हेम्जाकी सुनिता खड्काले भनिन् । सुनिता जसले आफ्नो कलेजोको एक टुक्रा दान गरेर आफ्नी जेठानी गंगाकुमारी थापा कुँवरको जीवन जोगाइन् । आफ्नो कारण जेठानी, जेठाजुलगायत परिवारमा सबैको मुहारमा हाँसो देख्न पाउँदा आफै भाग्यमानी भएको अनुभूति गर्छिन् सुनिता । माघ ४ गते नेपाल मेडिसिटी अस्पतालमा गंगाको सफल कलेजो प्रत्यारोपण भयो । हाल दुवैको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आएको अस्पतालले जनाएको छ । बिहीबार सुनिता जेठानीको फलोअपसँगै आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि नेपाल मेडिसिटी अस्पताल पुगेकी थिइन् । अस्पतालको करिडोरमा हिँड्दा उनको अनुहारमा थकानभन्दा बढी सन्तोष झल्किन्थ्यो । ‘अहिले म शारीरिक रूपमा एकदमै ठीक छु,’ विकासन्युजसँग कुरा गर्दै उनी भन्छिन्, ‘तर डाक्टरले केही समय पूर्ण आराम गर्नुपर्ने भनेका छन् । त्यसैले दिदीसँगै काठमाडौंमा बसेकी छु । बेलाबेलामा अस्पताल आएर जाँच गराउनुपर्छ ।’ यस घटनाले देउरानी–जेठानीको सम्बन्ध केवल परम्परागत धारणा मात्र नभई माया, विश्वास र त्यागले भरिएको गहिरो बन्धन पनि रहेको देखिन्छ । नेपाली समाजमा देउरानी–जेठानीको सम्बन्ध निकै कम मात्रामा प्रगाढ भएको देखिन्छ । दुईबीच आपसी मनमुटाव, दूरी र असमझदारीको उदाहरण धेरै सुनिन्छ । तर सबै सम्बन्ध एउटै हुँदैनन् भन्ने कुरा गंगा र सुनिताको सम्बन्धले प्रमाणित गरेको छ । गंगाको स्वास्थ्यमा समस्या देखिँदा परिवारका अन्य सदस्यले पनि सहयोगी भावना नदेखाएका होइनन् । बुहारी, दिदी सबैजनाको जाँच गर्दा बिरामीसँग मेल खाएन तर सुनितासँग मेल खायो । सुनिता भन्छिन्, ‘भाग्यले नै होला, सबैको जाँच गर्दा दिदीसँग केही मिलेन, मेरो रगतदेखि सबैकुरा मेल खान गयो । घर परिवारबाट साथ पाएपछि ममा पनि आँट पलायो ।’ पोखराको हेम्जाकी ४८ वर्षीया गंगाकुमारी कुँवर लामो समयदेखि जन्डिसबाट पीडित थिइन् । विभिन्न अस्पतालमा उपचार गर्दा पनि रोग निको भएन । पोखरा, काठमाडौंका अस्पताल चहार्दौ गर्दा निको नभएपछि उनलाई ललितपुरको भैंसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालमा पुर्याइयो । अस्पताल पुग्दा उनमा जन्डिसको मात्रा २५ पुगेको थियो भने पेट फुल्ने, पेटमा पानी जम्ने, हातखुट्टा सुन्निने समस्या देखा परिसकेको थियो । उनलाई खाना मन नलाग्ने र हिँड्न गाह्रो हुने जस्ता गम्भीर लक्षण देखिएका थिए । चिकित्सकीय परीक्षणपछि उनलाई अटो इम्युन हेपाटाइटिस भएको पत्ता लाग्यो, जसका कारण लिभर सिरोसिस भई कलेजो बिग्रिसकेको थियो । कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.रामबाबु शाहका अनुसार बिरामीमा अत्यधिक जन्डिस, लिभर फङ्सन टेस्ट असन्तुलित र पेटमा पानी जमेको थियो । यस्तो अवस्थापछि अस्पतालले तत्काल लिभर प्रत्यारोपण आवश्यक रहेको निष्कर्ष निकाल्यो। गंगाका परिवारलाई कलेजो दिने व्यक्तिको व्यवस्था गर्न भनियो । सुरुमा गंगाका दिदी, श्रीमान् र बुहारीको परीक्षण गरिएको भए पनि मेल नखाएपछि देउरानी सुनीताको परीक्षण गर्दा उनको रगतदेखि सबै कुरा मिल्न गयो । कलेजो दान गर्न मन भए पनि सुरुमा सुनितालाई निकै डर लागेको थियो । आफ्नो छाला चिरेर कलेजो निकाल्दा मलाई पो केही हुने हो कि भन्ने उनको मनमा थियो । तर उनको श्रीमान, छोरा माइतीपट्टीका आमाबुवा सबैले पूण्यको काम भनेपछि सुनिता पनि तयार भइन् । ‘सुरुमा त मलाई पनि डर लाग्यो नि, के हुन्छ कसो हुन्छ भन्ने भयो तर सबैले हौसला दिएपछि डर हरायो । त्यसपछि जे-जे अस्पतालले भन्यो, त्यो सबै गरियो, अहिले म पनि ठीक छु, दिदी पनि ठीक हुनुहुन्छ,’ सुनिताले भनिन् । प्रत्यारोपणपछि दाता सुनिता ८ दिनमा र जेठानी गंगा १५ दिनमा डिस्चार्ज भए । हाल दुवै फलोअपमा छन् । नेपाल मिडिसिटी अस्पतालको कलेजो प्रत्यारोपण क्षेत्रमा कार्यरत शल्यचिकित्सक डा.रामबाबु शाह यो पारिवारिक बन्धन र चिकित्सा विज्ञानको उल्लेखनीय उदाहरण रहेको बताउँछन् । उनी यो घटनाले देउरानी–जेठानीबीच पनि गहिरो माया, त्याग र विश्वास हुन सक्छ भन्ने सन्देश समाजमा प्रवाह गरेको बताउँछन् । नेपार र भातका विभिन्न अस्पतालमा काम गरेका उनले दिदीले भाइ–बहिनी, छोराले आमा, आमाले छोराछोरीलाई अंगदान गरेर ज्यान जोगाएको देखे पनि देउरानीले जेठानीलाई अंग दान गरेको पहिलो पटक देखेको बताउँछन् । शाह भन्छन्, ‘मैले भक्तपुरमा रहेको शहिद धर्मभक्त अस्पतालमा २० वटा कलेजो प्रत्यारोपण गरेको थिएँ, त्यो बेला ज्वाइँले सासूलाई कलेजो दिएको देखेको थिएँ । भारतको अपोलोमा पनि चार वर्ष काम गरेँ तर त्यहाँ देउरानीले जेठानीलाई अंग दिएकोे देख्न पाइएन । यस्तो केस पहिलो पटक देखेको हुँ ।’ शाह देउरानीले जेठानीलाई पुनर्जन्म नै दिएको उल्लेख गर्दै यस घटनाले समाजलाई नयाँ सन्देश दिएको बताउँछन् । ‘हाम्रो समाजमा देउरानी–जेठानीको सम्बन्धलाई राम्रो नजरले हेरिँदैन । यो घटनाले सकारात्मक सन्देश दिने उनको भनाइ छ । नेपाल मेडिसिटीको हेपाटो–प्यान्क्रियाटो–बिलियरी तथा लिभर ट्रान्सप्लान्ट युनिटका प्रमुख डा.उमिदकुमार श्रेष्ठले कलेजो बिग्रिनुको कारण केवल मदिरा सेवन मात्र नभई जन्डिस तथा पहिचान नभएका रोगहरूले पनि गम्भीर क्षति पुर्याउने बताए । फ्याटी लिभरले पनि समयमै उपचार नपाएमा कलेजो बिगार्न सक्ने भएकाले प्रारम्भिक पहिचानले गम्भीर क्षतिबाट जोगाउन सक्ने उनको भनाइ छ ।
बीमाको दायित्व बजेटभन्दा दोब्बर बढी, स्रोत सुनिश्चित नगरी खर्च नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमतिबिना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको बताएकी छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गौतमले स्वास्थ्य बीमाका लागि चालु आर्थिक वर्षमा विनियोजित १० अर्ब रुपैयाँ खर्च भइसकेको जानकारी दिइन् । उनले बीमा बोर्डले स्रोतको सुनिश्चितता नगरी कार्यक्रम सञ्चालन गर्दा हाल वार्षिक २४ अर्ब रुपैयाँ बराबरको दायित्व सिर्जना भएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । सरकारले रुखबाट पैसा नल्याउने र नागरिकले दुःखले कमाएर तिरेको करबाटै स्वास्थ्य सेवाको भुक्तानी हुने भएकाले बजेटको परिधिभित्र रहेर खर्च गर्नुपर्नेमा उनले जोड दिइन् । स्रोत सुनिश्चित नगरी जति मन लाग्यो त्यति सेवा दिँदै जाँदा प्रणालीमा समस्या आएको उनको भनाइ छ । उनले भनिन्, 'बीमाको पैसा मन्त्रालयले दिएको छैन भनेर समस्या देखाउनु भयो । अब मैले नेपाल सरकारले बीमाका लागि यो आर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्याएको रहेछ । वार्षिक बजेटको परिधिभित्र रहेर हामीले कार्यक्रम सञ्चालन गर्नुपर्छ । त्यसभन्दा बाहिर जान पाइँदैन । त्यसभन्दा बाहिर जानुपर्‍यो भने अर्थ मन्त्रालयसँग सहमति लिनुपर्छ । अब हाम्रो बीमा बोर्डले स्रोतको सहमति पनि नलिने, स्रोत सुनिश्चित पनि नगर्ने र रकम खर्च गर्दै जाँदा दायित्व यति बढेको छ कि वार्षिक २४ अर्ब रुपैयाँ बराबरको दायित्व सिर्जना भएको छ ।' मन्त्री गौतमले संविधानले निःशुल्क स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकारका रूपमा व्याख्या गरेको र यसको कार्यान्वयनको मुख्य जिम्मेवारी स्थानीय सरकारको भएको उल्लेख गरिन् । स्थानीय तहले स्वास्थ्य सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउनुपर्ने धारणा राखिन् । स्वास्थ्य क्षेत्रको दिगो व्यवस्थापनका लागि वित्तीय अनुशासन र स्रोतको उचित बाँडफाँड आवश्यक रहेको उल्लेख गर्दै मन्त्री गौतमले बीमा बोर्डलाई जिम्मेवार बन्न आग्रह गरिन् ।
स्वास्थ्य बीमाको भुक्तानीमा समस्या देखिए महानगरले व्यहोर्ने मेयर महर्जनको घोषणा
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिकाले आफैं सो रकम तिर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बीमाबापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै मेयर महर्जनले सरकारको ध्यानाकर्षण गराए । कुनै कारणवश भुक्तानी नभएर सेवा बन्द गर्नुपर्ने अवस्था आएमा त्यसको प्रत्यक्ष जिम्मेवारी र आलोचना आफूले व्यहोर्नुपर्ने उल्लेख गरे । महानगर प्रमुख महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा महानगरलाई भुक्तानीको जिम्मेवारी सुम्पेमा महानगरपालिकाले नै उक्त दायित्व पूरा गर्ने स्पष्ट पारे । मेयर महर्जनले पाटन अस्पतालकै प्राविधिक सल्लाह र सुझावअनुसार नयाँ स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको र सो केन्द्र निकट भविष्यमै सञ्चालनमा आउने जानकारी दिए । उनका अनुसार यो केन्द्र सञ्चालनमा आएपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानमार्फत नगरवासीले गुणस्तरीय सेवा प्राप्त गर्नेछन् र ललितपुर महानगर तथा पाटन अस्पतालबीचको यो सहकार्य मुलुकका अन्य ७५३ स्थानीय तहका लागि उदाहरणीय अभ्यास हुनेछ । उनले भने, 'पाटन अस्पतालकै सुझाव र सल्लाहबमोजिम आवश्यक सुविधाहरू जडान गरिएको अर्को स्वास्थ्य केन्द्र निर्माण गरिरहेका छौं । निकट भविष्यमै सञ्चालनमा ल्याउने तयारी छ । त्यो केन्द्र खुलेपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानअन्तर्गत हामीले अझ राम्रो सेवा प्रवाह गर्न सक्छौं । मुलुकका ७५३ स्थानीय पालिकामध्ये ललितपुर महानगरपालिकाले पाटन अस्पतालसँग सहकार्य गरेर अघि बढाएको यो काम सम्पूर्ण पालिकाका लागि असल अभ्यास बनेको छ ।' मेयर महर्जनले ७५३ पालिकामध्ये ललितपुर महानगर उदाहरणीय पालिका बन्न सफल भएको पनि बताए ।