'स्वास्थ्य बीमा प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनुपर्‍यो, नागरिक बिचल्लीमा परिसके'

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह क्षेत्रको पछाडि निर्माण गर्न लागिएको फोहोर प्रशोधन केन्द्रको विरोध गरेकी छन् । उनले संवेदनशील स्वास्थ्य संस्था नजिक फोहोर प्रशोधन केन्द्र निर्माण गर्दा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद न्यौपानेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रसूति गृहको पछाडि बाटोसमेत ढाकेर फोहोर प्रशोधन केन्द्र निर्माण गर्न लागिएको भन्दै आपत्ति जनाइन् । उचित सूचना र पारदर्शी प्रक्रिया बिना निर्माण कार्य अघि बढाइएको उल्लेख गर्दै उनले आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले उक्त क्षेत्रमा फोहोर प्रशोधन केन्द्र निर्माण नगर्न माग गरिन् । स्थानीय बासिन्दाले समेत निर्माणको विरोध गरिरहेको उनले बताइन् । सांसद न्यौपानेले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सर्वसाधारण मर्कामा परेको विषयसमेत सदनमा उठाइन् । स्वास्थ्य बीमाको सुविधा सहज रूपमा नपाउँदा नागरिक बिचल्लीमा परेको भन्दै उनले कार्यक्रमलाई तत्काल प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘मेरो क्षेत्र काठमाडौं–१ को थापाथली प्रसूति गृह पछाडि फोहोर प्रशोधन केन्द्र बनाउन लागिएको छ । कुनै सूचना वा जानकारी नदिई बाटोसमेत ढाकेर निर्माण गर्न लागिएकोप्रति स्थानीयवासीको विरोध छ । आमा र बच्चाको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनमा ल्याई नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग आग्रह गर्दछु ।’ सम्बोधनका क्रममा उनले नेपाल राष्ट्र बैंकमा सुन धितो राखेर ऋण लिएका नागरिकको समस्यासमेत उठाइन् । गत भदौ २४ गते राष्ट्र बैंकबाट लुटिएको भनिएको सुनका सम्बन्धमा पीडितले हालसम्म न सुन फिर्ता पाएको न त बजार मूल्यअनुसार क्षतिपूर्ति नै पाएको उनले बताइन् । पीडितहरूको समस्या तत्काल समाधान गर्न र उनीहरूको सम्पत्तिको संरक्षण गर्न सरकारसँग उनले माग गरिन् ।

मुख सुक्ने समस्या छ ? थाइराइडसँग हुनसक्छ यस्तो सम्बन्ध

काठमाडौं । मुख सुक्ने समस्यालाई धेरैले सामान्य रूपमा लिने गर्छन् । तर, पटक–पटक मुख सुक्ने र र्‍याल कम बन्ने समस्या छ भने त्यसलाई बेवास्ता गर्नु हुँदैन । यस्तो समस्या थाइराइडसँग पनि सम्बन्धित हुनसक्ने विभिन्न अध्ययनले देखाएका छन् । थाइराइड हर्मोनको स्तर कम वा बढी हुँदा मुखमा ‍र्‍याल उत्पादन कम हुन सक्ने बताइएको छ । यसका कारण मुखमा सुख्खापन महसुस हुने अवस्थालाई चिकित्सकीय भाषामा जेरोस्टोमिया (ड्राई माउथ) भनिन्छ । र्‍यालले मुखलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । यसले खाना चपाउन र निल्न सहज बनाउनुका साथै खानामा रहेको स्टार्च पचाउन पनि सहयोग गर्छ । ‍र्‍यालमा पाइने क्याल्सियम र फस्फेटले दाँतलाई बलियो बनाउन तथा दाँतसम्बन्धी समस्याबाट जोगाउन सहयोग गर्ने जनाइन्छ । थाइराइड ग्रन्थीले शरीरको मेटाबोलिजम नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छ ।  थाइराइडबाट उत्पादन हुने टी–३ र टी–४ हर्मोनले र्‍यालग्रन्थीको कार्यमा पनि प्रभाव पार्न सक्छ । त्यसैले थाइराइड हर्मोनको स्तरमा असन्तुलन हुँदा ‍र्यालको उत्पादन प्रभावित हुन सक्ने बताइएको छ ।  थाइराइड ग्रन्थीले शरीरलाई आवश्यक मात्रामा हर्मोन उत्पादन गर्न नसक्ने अवस्थालाई हाइपोथाइरायडिज्म भनिन्छ ।  यस्तो अवस्थामा शरीरका कोषिकामा ऊर्जा उत्पादन कम हुने र त्यसको प्रभाव र्‍यालग्रन्थीमा पनि पर्न सक्ने बताइएको छ । यसले ‍र्‍याल​​​​​​​को मात्रा घटाएर मुख सुक्ने समस्या निम्त्याउन सक्छ ।  हाइपोथाइरायडिज्मको सामान्य कारणमध्ये हाशिमोटो थाइरायडाइटिस पनि एक हो । यो एक प्रकारको अटोइम्युन अवस्था हो, जसमा शरीरको प्रतिरक्षा प्रणालीले थाइराइड ग्रन्थिमाथि नै असर गर्छ । यस्तो अवस्थामा पनि मुख सुक्ने समस्या देखिन सक्ने बताइएको छ ।  थाइराइड अत्यधिक सक्रिय हुँदा अर्थात् हाइपरथाइरायडिज्मको अवस्थामा पनि र्‍यालको उत्पादन घट्न सक्छ । मेटाबोलिक दर बढ्दा शरीरमा तरल पदार्थ छिटो कम हुन सक्ने भएकाले मुख सुक्ने समस्या देखिन सक्छ । यसका साथै हाइपरथाइरायडिज्ममा हुने तनाव र चिन्ताले सिम्प्याथेटिक नर्भस सिस्टम सक्रिय गराउन सक्छ । यसले पनि ‍र्‍याल उत्पादनमा कमी ल्याउन सक्ने बताइएको छ । थाइराइड क्यान्सरको उपचारमा रेडियोएक्टिभ आयोडिन प्रयोग गरिने अवस्थामा ‍र्‍यालग्रन्थीमा असर पर्न सक्छ । यसका कारण मुख सुक्ने तथा खानाको स्वादमा परिवर्तन हुने समस्या देखिन सक्ने बताइएको छ ।  थाइराइडसँग सम्बन्धित ड्राई माउथको समस्या कम गर्न केही उपाय अपनाउन सकिन्छ । धेरै नुनिलो खाना तथा ड्राइ मिटबाट बच्ने । तम्बाकु, मदिरा, क्याफिन तथा कार्बोनेटेड पेय पदार्थ कम गर्ने । पालुंगो, हरियो सागसब्जी, माछालगायत पोषक तथा आइरनयुक्त खानेकुरा समावेश गर्ने । नियमित रूपमा पानी पिउने । मुख तथा दाँतको नियमित सरसफाइ गर्ने । र्‍याल उत्पादन बढाउन सुगर–फ्री क्यान्डी प्रयोग गर्न सकिने । राति सुत्दा कोठामा ह्युमिडिफायर प्रयोग गर्न सकिने ।   ड्राई माउथको कारण थाइराइडसँग सम्बन्धित भएमा चिकित्सकको सल्लाहअनुसार थाइराइडको औषधि नियमित सेवन गर्नु महत्त्वपूर्ण हुन्छ । आवश्यकताअनुसार चिकित्सकले ‍र्‍याल उत्पादन बढाउने औषधि वा सुगर–फ्री क्यान्डी प्रयोग गर्न सुझाव दिन सक्छन् ।  केही अवस्थामा र्‍याल उत्पादन बढाउन विद्युतीय स्टिमुलेसन वा अन्य उपचार विधि प्रयोग गर्न सकिने स्रोतमा उल्लेख छ । साथै दाँत तथा मुखको स्वास्थ्यमा समस्या आउन नदिन समय–समयमा दन्त परीक्षण गराउनु आवश्यक हुन्छ । मुख लामो समयसम्म सुकिरहने, ‍र्‍याल निकै कम बन्ने वा समस्या निरन्तर बढ्दै गएमा आफै उपचार नगरी चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ ।

ललितपुरमा आजदेखि चिकित्सकसहितको एम्बुलेन्स सेवा

काठमाडौं । ललितपुर महानगरपालिकाले चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । आकस्मिक अवस्थाका बिरामीलाई घटनास्थलबाट अस्पतालसम्म पुर्‍याउँदा आवश्यक प्रारम्भिक उपचारसमेत उपलब्ध गराउने उद्देश्यले महानगरले सेवा सुरु गरेको हो । सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवाको शुभारम्भ गरिन् । मन्त्री मेहताले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालन गरेर ललितपुर महानगरपालिकाले उदाहरणीय कामको सुरुवात गरेको बताइन् । आकस्मिक उपचारमा ‘गोल्डेन टाइम’ महत्वपूर्ण हुने उल्लेख गर्दै उनले घटनास्थलबाट अस्पतालसम्म पुग्ने समय घटाउन सके गम्भीर क्षति रोक्न सकिने बताइन् । ट्राफिक जाम तथा अन्य अवरोधका कारण अस्पताल पुग्न ढिलाइ हुँदा बिरामीको अवस्था जटिल बन्न सक्ने भन्दै उनले महानगरपालिकाको स्वास्थ्यसम्बन्धी पहलमा मन्त्रालयले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता जनाइन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविशमानसिंह प्रधानले चिकित्सकसहितको एम्बुलेन्स सेवा बिरामीको प्रि–हस्पिटल केयर सुधार गर्ने महत्वपूर्ण पहल भएको बताए । यस्तो सेवा विश्वका सीमित स्थानमा मात्रै सञ्चालनमा रहेको उल्लेख गर्दै उनले यसबाट अस्पताल पुग्नुअघि नै बिरामीलाई आवश्यक उपचार उपलब्ध गराउन सहज हुने बताए । उनका अनुसार साउन महिनामा मात्रै महानगरसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य केन्द्रबाट १० हजार ४१ जनाले सेवा लिएका छन् । त्यसमध्ये करिब ३ हजार जनाले अल्ट्रासाउन्ड सेवा लिएको उनले जानकारी दिए । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फिलिपिन्सको माकाती सहरमा चिकित्सकसहितको एम्बुलेन्स सेवा देखेपछि ललितपुरमा पनि यस्तो सेवा सञ्चालन गर्ने अवधारणा अघि बढाइएको बताए । महानगरपालिकाको नवौँ नगरसभाबाट प्रस्ताव पारित भएपछि आवश्यक बजेट व्यवस्थापन गरेर सेवा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स सेवा विशेषगरी आपत्कालीन अवस्थाका बिरामीमा केन्द्रित हुनेछ । चिकित्सकको उपस्थितिमा घटनास्थलमै प्रारम्भिक उपचार उपलब्ध गराउने र त्यसपछि बिरामीलाई उपयुक्त अस्पतालमा पुर्‍याउने व्यवस्था गरिएको छ । एम्बुलेन्सले फोन आएको १५ मिनेटभित्र घटनास्थल पुग्ने लक्ष्य राखेको महानगरपालिकाले जनाएको छ । महानगर प्रमुख महर्जनले सेवा सञ्चालनका क्रममा देखिने समस्या र कमजोरीलाई क्रमशः सुधार गर्दै लैजाने बताए । उनले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालन आफैँमा चुनौतीपूर्ण भए पनि काम गर्दै सिक्दै सेवा प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । एम्बुलेन्स सञ्चालनका लागि ललितपुर महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य भएको छ । सम्झौताअनुसार एम्बुलेन्स सेवाका लागि चिकित्सक उपलब्ध गराउने तथा चिकित्सकको सेवा–सुविधासम्बन्धी खर्च महानगरपालिकाले व्यहोर्नेछ । बिरामीको इच्छाअनुसार उनीहरूले रोजेको अस्पतालसम्म पुर्‍याउने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको नगरप्रमुख महर्जनले बताए ।