जाडोमा छाला फुट्ने समस्या र उपचारको विधि

हरेक व्यक्तिको शरीरमा मौसम अनुसार परिवर्तन आउने गर्दछ । गर्मी महिनामा मानिसको शरीरमा धेरै पसिना तथा तरल पदार्थ आउने गर्दछ, जसको कारण छाला चिल्लो हुने र चिपचिप हुने गर्दछ । जाडो महिनामा मानिसको शरीरमा कम मात्रामा पसिना आउँछ । गर्मी समयको भन्दा जाडोमा हाम्रो शरीरमा आउने चिल्लो पदार्थ कम आउने हुन्छ । जाडोको समयमा बढी सुख्खा हावा चल्ने भएकाले हाम्रो शरीरभित्र भएको आर्द्रता वा पानीको मात्रा सोसिने हुनाले छाला बढी सुख्खा हुने गर्दछ । जाडोमा बढी एसी तथा हिटर ताप्ने हुनाले पनि छाला बढी सुख्खा हुने गर्दछ । जसका कारण ओठ, गाला तथा हात–खुट्टा फुट्ने समस्या बढी हुन्छ । जाडो मौसममा छालाको प्राकृतिक तेल उत्पादन पनि घट्छ, जसले गर्दा छालाको सुरक्षात्मक तह कमजोर हुन जान्छ । विशेषगरी हात, खुट्टा र ओठ जस्ता भागहरू सबैभन्दा पहिले प्रभावित हुन्छन्, किनकि यी भागहरू लगातार चिसो हावाको सम्पर्कमा रहन्छन् । छाला फुट्न नदिन के गर्ने ? थोरै सावधानी र सही स्किन–केयर रुटिन अपनाएमा यो समस्याबाट सजिलै जोगिन सकिन्छ । मनतातो पानीले नुहाउने, मोइस्चराइजर लगाउने, पर्याप्त मात्रामा हाइड्रेटेड रहने र पौष्टिक भोजन गर्ने बानीले छालालाई चिसो हावाको असरबाट बचाउन सकिन्छ र यसलाई नरम तथा स्वस्थ बनाइराख्न सकिन्छ । शरीरको छाला फुट्न नदिन धेरै तातो पानी भएको ठाउँमा बस्न वा नुहाउन हुँदैन । शरीर नुहाइसकेपछि छालामा नरिवलको तेल लगाउनुपर्छ । यस्तै, लोशन र क्रिम लगाउन राम्रो मानिन्छ । शरीरमा क्रिम, तेल, पञ्जा, टोपी, मास्कलगायत लगाएर ढाक्दा फुट्ने सम्भावना कम हुन्छ । दैनिक नुहाउने व्यक्तिले हप्ताको दुई वा तीन दिन मात्र साबुन तथा सेम्पुको प्रयोग गर्नुपर्छ । दैनिक साबुन तथा सेम्पु प्रयोग गर्दा छाला बढी मात्रामा फुट्न सक्छ । यस्तै, नुहाइसकेपछि सिधै ऊनी कपडा लगाउन हुँदैन । शरीरमा पहिले सुतीको कपडा लगाएर मात्र ऊनी कपडा लगाउनु राम्रो हुन्छ । जाडो याममा पानी प्रशस्त मात्रामा पिउनुपर्छ । (छालारोग विशेषज्ञ डा. अनु सुवेदी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छिन्)

निजीलाई भन्दा विद्यार्थी कोटा सरकारीलाई बढी दिने

काठमाडौं । चिकित्सा शिक्षा आयोगको बैठकले सरकारी र निजी क्याम्पसका लागि पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थीको कोटा निर्धारण गरेको छ । आइतबार सिंहदरबारमा बसेको आयोगको बैठकले पिजी अध्ययनका लागि विद्यार्थीको कोटा निर्धारण गरेको हो ।  बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बैठकमा पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थी कुन कलेजलाई कति सिट दिने भन्नेबारे छलफल भएको बताए । सरकारी क्याम्पसलाई एक हजार भन्दा बढी र निजीलाई एक हजार भन्दा केही कम दिनेगरी विभाजन गरिएको उनको भनाइ छ । सरकारको यस निर्णयबारे सबै खुशी रहेको बताए ।  उनले भने, ‘चिकित्सा शिक्षा आयोगको बैठकमा पोस्ट ग्रेजुएट पढ्ने विद्यार्थीहरुको कुन कलेजलाई कति सिट दिने भन्नेकुरामा छलफल भयो । करिव सरकारी कलेजलाई हजार भन्दा अलि बढी र निजीलाई हजार भन्दा अलिकति कम सिट विभाजन गरिएको छ ।’ आइतबार आयोगका अध्यक्ष समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शिक्षा आयोगको बैठक बसेको हो ।

औषधि व्यवसायी चिन्तित, ऐनको स्वतः रद्द प्रावधानले जोखिम सिर्जना

काठमाडौं । नेपाल औषधि व्यवसायी सङ्घ, काठमाडौंले संशोधित औषधि ऐन सच्याउनुपर्ने माग गरेको छ । सङ्घले शनिबार विज्ञप्ति जारी गरी सङ्घीय संसद्बाट पारित भएसँगै गत साउन १४ गतेदेखि लागू भएको ऐनको दफा ११ का केही व्यवस्थाले औषधि व्यवसायीहरूलाई चिन्तित बनाएको जनाएको छ ।   सङ्घले ‘सरकारद्वारा संशोधित औषधि ऐन, २०३५ को दफा ११ का उपदफा (३) र (५) सच्याउनुपर्ने माग गरेको हो । संशोधित दफा ११ अनुसार तोकिएको मितिभित्र उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्र नवीकरण नगरेमा ३० दिनभित्र दोब्बर दस्तुर तिरी नवीकरण गर्न सकिने, तर उक्त अवधि पनि कटेमा प्रमाणपत्र स्वतः रद्द हुने व्यवस्था गरिएको छ ।      सङ्घको भनाइअनुसार त्यस्तो कठोर प्रावधानले एक दिनको ढिलाइमै पनि दशकौँदेखि सञ्चालनमा रहेका व्यवसाय बन्द हुने खतरा रहेको छ ।  सङ्घले आफ्ना माग पूरा नभएको भन्दै आइतबारदेखि विरोधका कार्यक्रम अगाडि बढाउनेसमेत जनाएको छ ।      सङ्घ काठमाडौंका महासचिव शुभमान श्रेष्ठले उक्त व्यवस्थाले हजारौँ व्यवसायीहरू विस्थापित हुने अवस्था आउने भन्दै सच्याउन आग्रह गरेका छन् । उनले भने, '२०५७ सालमा भएको दोस्रो संशोधनमा पनि यस्तै ‘स्वतः रद्द’ हुने व्यवस्था राखिएको थियो । तीव्र विरोधपछि विभागले औषधि दर्ता नियमावली २०३८ मा ‘द्रष्टव्य’ राखेर प्रावधान सच्याएको थियो । २०७२ मा सो द्रष्टव्य हटाइएपछि अब पुनः कठोर प्रावधान लागू भएको छ । यो व्यवसायीको हित विपरीत छ ।'