३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रमको २०८२ माघ र फागुन महिनाको सेवाबापत स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरिएको हो ।  भुक्तानी पाउनेमा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पताल तथा निजी तथा शिक्षण अस्पतालसमेत छन् । भुक्तानी विवरणमा ठूला अस्पतालसँगै दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र,आधारभूत अस्पताल र जिल्ला अस्पतालहरू लगायत सबै सेवा प्रदायक समेटिएका छन् ।  स्वास्थ्य बीमाअन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाले गरेको दाबीहरुको रुजु तथा मूल्यांकनका गरी स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरिएको मन्त्रालयको सचिवालयले जनाएको छ ।

मधुमेहमा उपयोगी हुनसक्छ प्याज, यसरी गर्छ काम

काठमाडौं । पछिल्लो समय मधुमेह अर्थात् डायबिटिजको समस्या बढ्दै गएको छ । अस्वस्थ खानपान र बदलिँदो जीवनशैलीका कारण यसको जोखिम बढिरहेको चिकित्सकहरू बताउँछन् ।मधुमेह नियन्त्रणका लागि खानपान र जीवनशैलीमा सुधार गर्नु महत्त्वपूर्ण हुन्छ । मधुमेह भएका मानिसका लागि प्याज पनि उपयोगी खाद्य पदार्थका रूपमा लिइने विशेषज्ञहरू बताउँछन् । केही अध्ययनले प्याजमा पाइने विभिन्न पोषक तत्वले शरीरमा ग्लुकोजको मेटाबाेलिज्म र इन्सुलिनको कार्यक्षमतामा प्रभाव पार्न सक्ने देखाएका छन् । प्याजमा क्वेरसेटिन, सल्फरयुक्त यौगिक, क्रोमियम, आहारीय रेसा तथा प्रतिअक्सिडेन्ट जस्ता तत्व पाइन्छन् । यी तत्वले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोगी भूमिका खेल्न सक्ने अनुसन्धानले देखाएको छ ।  प्याजमा पाइने क्वेरसेटिनले शरीरका कोषिकाले ग्लुकोज ग्रहण गर्ने प्रक्रियालाई सहयोग गर्न सक्ने बताइएको छ । यसले उच्च रक्तचिनीको स्तर घटाउन भूमिका खेल्न सक्ने अध्ययनहरूमा उल्लेख छ । त्यस्तै, प्याजमा पाइने सल्फरयुक्त यौगिकले पनि रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग गर्न सक्ने देखिएको छ । क्रोमियमले शरीरमा इन्सुलिनप्रतिको संवेदनशीलता सुधार गर्न सहयोग गर्ने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रणमा यसको भूमिका हुन सक्ने बताइएको छ । प्याजमा पाइने रेसाले खानाबाट ग्लुकोज शरीरमा साेस्ने गति केही सुस्त बनाउन सक्छ । तर प्याजको रस निकाल्दा यसको अधिकांश रेसा कम हुने भएकाले प्याजलाई सिँगै वा खानासँगै प्रयोग गर्नु बढी उपयोगी हुन सक्ने विश्लेषकहरू बताउँछन् । त्यसैगरी, प्याजमा पाइने प्रतिअक्सिडेन्टले शरीरमा हुने सूजन कम गर्न र रक्तनलीलाई स्वस्थ राख्न सहयोग गर्न सक्छ । यसले मधुमेहसँग सम्बन्धित जटिलताको जोखिम कम गर्न भूमिका खेल्न सक्ने अध्ययनहरूले संकेत गरेका छन् ।  प्याज मधुमेह नियन्त्रण गर्ने कुनै चमत्कारी उपाय भने होइन । केवल प्याजको रस पिएर मधुमेह नियन्त्रण हुन्छ भन्ने निष्कर्ष निकाल्न सकिँदैन । मधुमेह भएका व्यक्तिले चिकित्सकले सिफारिस गरेको औषधि नियमित सेवन गर्नुका साथै सन्तुलित आहार, नियमित व्यायाम, तौल नियन्त्रण, पर्याप्त निद्रा र तनाव व्यवस्थापनमा ध्यान दिनुपर्छ । रगतमा चिनीको मात्रा नियमित जाँच गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । प्याजलाई मधुमेहको औषधिको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन । प्याजलाई सन्तुलित भोजनको हिस्सा बनाएर खान सकिन्छ । तर मधुमेहको उपचार गराइरहेका व्यक्तिले आफ्नो खानपानमा ठूलो परिवर्तन गर्नुअघि चिकित्सक वा पोषणविद्सँग परामर्श गर्नु उचित हुन्छ । यो सामग्री सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो । मधुमेहको उपचार वा औषधि परिवर्तनका लागि चिकित्सकको सल्लाह लिनुपर्छ ।

आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा डा. सिद्धार्थ कुमार ठाकुर नियुक्त

काठमाडौं । आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा डा. सिद्धार्थ कुमार ठाकुर नियुक्त भएका छन् । उनलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा पदमा नियुक्त गरेकी हुन् । ठाकुरले मेहतासमक्ष पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । शपथ ग्रहणसँगै ठाकुरले अब परिषद्को नेतृत्व सम्हाल्नेछन् ।