मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको विशेष लाइसेन्स (स्पेसल एक्जामिनेसन) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  काउन्सिलले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागीमध्ये ९३.४८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । काउन्सिलका अनुसार विभिन्न विशेषज्ञता (स्पेसालिटी) तर्फ सञ्चालन गरिएको परीक्षामा १ हजार १३ जना सहभागी भएका थिए । तीमध्ये ९४७ जना उत्तीर्ण, ६५ जना अनुत्तीर्ण भएका छन् भने एक जनाको नतिजा रोक्का भएको छ । त्यसैगरी, नेपालका मेडिकल तथा डेन्टल कलेजका स्नातकको विशेष परीक्षामा ९ सय १९ जना सहभागी भएकामध्ये ९ सय ४ जना उत्तीर्ण र १५ जना अनुत्तीर्ण भएका छन् । यस समूहको उत्तीर्ण प्रतिशत ९८.३७ रहेको छ। कलेजगत नतिजाअनुसार काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, किस्ट मेडिकल कलेज, पाटन एकेडेमी अफ हेल्थ साइन्सेज, नेपाल मेडिकल कलेज, नेसनल एकेडेमी अफ मेडिकल साइन्सेज (वीर अस्पताल), पोखरा एकेडेमी अफ हेल्थ साइन्सेज, मणिपाल कलेज अफ मेडिकल साइन्सेज, लुम्बिनी मेडिकल कलेज, नेपाली आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, नेपालगञ्ज मेडिकल कलेज, पिपुल्स डेन्टल कलेज, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र कान्तिपुर डेन्टल कलेजले शतप्रतिशत नतिजा हासिल गरेका छन् । यस्तै, विशेषज्ञता तहको नतिजामा अधिकांश विषयमा शतप्रतिशत सफलता देखिएको छ । रेडियो डायग्नोसिस/रेडियोलोजीमा भने सबैभन्दा कम ७३.५३ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । उक्त विषयमा ६८ जनामध्ये १८ जना अनुत्तीर्ण भएका छन्, जुन सबैभन्दा धेरै अनुत्तीर्ण हुने विषय बनेको छ । त्यसैगरी, प्रोस्थोडोन्टिक्समा १५ जनामध्ये एक जना तथा पेडियाट्रिक्स मा ६१ जनामध्ये दुईजना अनुत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले गत साउन ७ र ८ गते सञ्चालन गरेको विशेष लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।  काउन्सिलका अनुसार उक्त परीक्षा नेपालका मेडिकल तथा डेन्टल कलेज तथा प्रतिष्ठानमा अध्ययन पूरा गरेका चिकित्सकका लागि सञ्चालन गरिएको थियो ।

गोकर्णेश्वरका बासिन्दाले ह्याम्स अस्पतालमा सहुलियतमा विशेषज्ञ स्वास्थ्य सेवा पाउने

काठमाडौं । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स अस्पताल) र गोकर्णेश्वर नगरपालिकाबीच नगरवासीलाई सहुलियतपूर्ण विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारी र गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसालले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा दुवै संस्थाका पदाधिकारी, स्वास्थ्यकर्मी र सम्बन्धित अधिकारीको उपस्थिति रहेको थियो । सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा ह्याम्स अस्पतालमा उपचार, शल्यक्रिया तथा अन्य स्वास्थ्य सेवा लिन आउने गोकर्णेश्वरका स्थायी बासिन्दाले विभिन्न विशेषज्ञ स्वास्थ्य सेवामा विशेष छुट र सहुलियत पाउनेछन् । दुवै पक्षका अनुसार सहकार्यले आर्थिक रूपमा उपचार गर्न कठिनाइ भएका नागरिकलाई राहत पुग्नुका साथै गुणस्तरीय विशेषज्ञ उपचारमा पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ । सम्झौताको उद्देश्य स्थानीय तहमा स्वास्थ्य सेवाको सुदृढीकरण, नियमित स्वास्थ्य परीक्षणको प्रवर्द्धन, स्वास्थ्य सचेतना अभिवृद्धि तथा दीर्घरोगको समयमै पहिचान र उपचारमा सहयोग गर्नु रहेको जनाइएको छ । कार्यक्रममा ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीले स्थानीय सरकारसँगको सहकार्यबाट नागरिकसम्म गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा अझ प्रभावकारी रूपमा पुर्‍याउन सकिने बताए । समुदायमा नियमित स्वास्थ्य परीक्षण, रोगको समयमै पहिचान र उपचारको पहुँच विस्तारमा अस्पताल प्रतिबद्ध रहेको उनको भनाइ थियो । नगरप्रमुख रिसालले पनि सम्झौताले गोकर्णेश्वरका नागरिकलाई सहुलियत दरमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । यसबाट उपचारको आर्थिक भार कम हुनुका साथै जनस्वास्थ्य प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनले बताए । ह्याम्स अस्पतालले मुटु तथा रक्तनली रोग, न्युरो साइन्स, क्यान्सर, अर्थोपेडिक्स, युरोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी र क्रिटिकल केयरलगायत विभिन्न विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।

चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुल्यो

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमका लागि सञ्चालन हुने एकीकृत प्रवेश परीक्षा (२०८३) का लागि अनलाइन आवेदन खुलाएको छ । साउन पहिलो साता नै खुलाइसक्नुपर्ने एकीकृत प्रवेश परीक्षाको आवदेन खुलाउन नसकेको गुनासोपछि आयोगले आवेदन खुलाएको हो । आयोगको परीक्षा निर्देशनालयले एक सूचना जारी गर्दै योग्य उम्मेदवारबाट साउन २५ गते बिहान १० बजेदेखि भदौ १५ गते अपराह्न ५ बजेसम्म अनलाइन आवेदन आह्वान गरेको छ । निर्धारित अवधिमा आवेदन दिन छुटेका उम्मेदवारले दोब्बर दस्तुर तिरी भदौ २२ गते अपराह्न ५ बजेसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ । आयोगले यसअघि शैक्षिक कार्यतालिकाअनुसार आवेदन प्रक्रिया सुरु हुन नसकेपछि एमबीबीएस, बीडीएस, बीएससी नर्सिङलगायत स्वास्थ्य विज्ञानका स्नातक तहका कार्यक्रममा अध्ययन गर्न इच्छुक हजारौं विद्यार्थी अन्योलमा परेका थिए।  पछिल्लो सूचनासँगै प्रवेश परीक्षा प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । आयोगले आवेदन दिनुअघि सम्बन्धित कार्यक्रमको योग्यता, आवश्यक कागजात र परीक्षा सम्बन्धी विवरण आयोगले प्रकाशन गरेको सूचना र निर्देशिकाबाट अध्ययन गर्न पनि उम्मेदवारलाई आग्रह गरेको छ ।