अनसनरत नर्सका प्रतिनिधिसँग मन्त्रालयमा वार्ता सुरु
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको छ । सरकारले नर्सहरूको सेवासुविधावारे पटक पटक सहमति जनाए पनि कार्यान्वयन हुन नसकेको भन्दै नर्स रानाभाट अनसन बसेपछि मन्त्रालयले वार्ता सुरु गरेको हो । अनशनको पाँचौं दिन मन्त्रालयमा भएको वार्तामा रानाभाटको तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी छन् भने मन्त्रालयको तर्फबाट स्वास्थ्य सचिव डा. विकास देवकोटा, अतिरिक्त सचिव डा. संगीता मिश्र, मन्त्रीका प्रमुख सल्लाहकार डा. मनोहर प्रधान तथा कानुन शाखाका प्रतिनिधिहरू सहभागी भएका छन् । रानाभाटले लामो समयदेखि उठाउँदै आएका मागहरूबारे सहमतिमार्फत समाधान खोज्ने विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । जारी बैठकमा दुवै पक्षबीच सहमति जुटाउने प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ ।
महँगो स्किन केयर होइन, आँपले पनि ल्याउन सक्छ प्राकृतिक ग्लो
काठमाडौं । आँप स्वादिलो फल मात्र होइन, छालाको स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । विज्ञहरूका अनुसार सन्तुलित मात्रामा आँप खानुका साथै छालामा प्रयोग गर्दा प्राकृतिक चमक र निखार बढाउन मद्दत मिल्न सक्छ । आयुर्वेद विशेषज्ञ डा. राजेश बयारीका अनुसार आँपमा भिटामिन सी, ए, ई, बी–६, कपर र फोलेटलगायत महत्त्वपूर्ण पोषक तत्व पाइन्छ । यी तत्वले छालाको रगत सुधार्न, कोलाजेन उत्पादन बढाउन र छालालाई स्वस्थ राख्न सहयोग गर्छन् । उनका अनुसार आँपको गुदी मात्र होइन, बोक्रा, खोया र त्यसबाट बन्ने म्याङ्गो बटर तथा म्याङ्गो आयल पनि छाला हेरचाहका लागि उपयोगी हुन सक्छ । आँपबाट दैनिक आवश्यक भिटामिन सीको करिब ६७ प्रतिशत प्राप्त गर्न सकिन्छ । साथै कपर, फोलेट, भिटामिन बी–६, भिटामिन ए र भिटामिन ई पनि पर्याप्त मात्रामा पाइन्छ । भिटामिन सीले कोलाजेन उत्पादन बढाएर छालालाई कसिलो बनाउन मद्दत गर्छ । कपरले पनि यसमा सहयोग पुर्याउँछ । यसका साथै आँपमा रहेका एन्टिअक्सिडेन्टले कालो दाग कम गर्न र छालामा प्राकृतिक चमक ल्याउन सहयोग गर्न सक्छन् । भिटामिन ए (बिटा–क्यारोटिन) ले नयाँ छाला कोष बन्ने प्रक्रिया तीव्र बनाउँछ । यसले चाउरीपन, रेखा र पिम्पल कम गर्न सहयोग गर्न सक्छ । भिटामिन ईले छालामा आवश्यक चिस्यान कायम राख्छ । यसले छालालाई सुख्खा हुनबाट जोगाउन मद्दत गर्छ । आँपमा पाइने पोलिफेनोल र अन्य एन्टिअक्सिडेन्टले सूजन र जलन कम गर्न पनि सहयोग पुर्याउन सक्छन् । यसरी प्रयोग गर्न सकिन्छ आँप आँपको गुदीमा मह वा दही मिसाएर फेस मास्क बनाउन सकिन्छ । यसलाई अनुहारमा करिब १५ मिनेट राख्दा छालालाई पोषण मिल्ने विज्ञहरू बताउँछन् । आँपको गुदी, ओट्स वा सुजी र काँचो दूध मिसाएर स्क्रब बनाउन सकिन्छ । यसले मृत छाला हटाउन सहयोग गर्न सक्छ । आँपको गुदीमा मुल्तानी माटो मिसाएर एन्टी–एजिङ फेस प्याक बनाउन सकिन्छ । बेसन र कागतीको रससँग मिसाएर ट्यान हटाउने फेस प्याकका रूपमा पनि प्रयोग गर्न सकिन्छ । आँपको गुठलीबाट तयार गरिने म्याङ्गो बटर छालामा सिधै लगाउन सकिन्छ । यसले छालालाई नरम र चिस्यानयुक्त बनाउन सहयोग गर्न सक्छ । त्यसैगरी, म्याङ्गो आयलका केही थोपा राति अनुहार सफा गरेपछि लगाउन वा मोइस्चराइजरसँग मिसाएर प्रयोग गर्न सकिन्छ । सावधानी पनि आवश्यक विशेषज्ञका अनुसार अत्यधिक आँप सेवन गर्दा केही व्यक्तिमा पिम्पलको समस्या बढ्न सक्छ । आँपमा प्राकृतिक चिनीको मात्रा बढी हुने भएकाले धेरै सेवन गर्दा इन्सुलिनको स्तर बढ्न सक्छ । यसले छालामा बढी तेल उत्पादन भई रोमछिद्र बन्द हुँदा पिम्पल देखिन सक्ने सम्भावना रहन्छ । तेलीय छाला भएका, पिम्पलको समस्या भएका, पीसीओएस, इन्सुलिन रेजिस्टेन्स वा हार्मोन परिवर्तनको अवस्थामा रहेका व्यक्तिले आँप सीमित मात्रामा सेवन गर्नुपर्ने सुझाव विज्ञहरू दिन्छन् । यदि आँप खाएपछि अनुहारमा रातो दाग, चिलाउने, जलन, र्यास, पिम्पल वा अपचजस्ता समस्या देखिएमा चिकित्सकको परामर्श लिन पनि विशेषज्ञहरूले सुझाव दिएका छन् । (नवभारत टाइम्सबाट अनुदित तथा सम्पादित)
एक महिना लगातार एलोभेरा जुस पिउँदा शरीरमा के–के परिवर्तन आउँछ ?
काठमाडौं । एलोभेरा (घ्युकुमारी) आयुर्वेदमा शताब्दीयौँदेखि प्रयोग हुँदै आएको औषधीय वनस्पति हो । पछिल्लो समय तौल घटाउने, पाचन सुधार्ने, छालाको चमक बढाउने र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने उद्देश्यले धेरैले एलोभेरा जुस सेवन गर्न थालेका छन् । आयुर्वेद विशेषज्ञ डा. राजेश बयारीका अनुसार आयुर्वेदमा एलोभेरालाई ‘कुमारी’ भनिन्छ । यसले शरीरको समग्र स्वास्थ्य सुधार गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ । एलोभेरामा भिटामिन ए, सी, ई, बी–कम्प्लेक्स, फोलिक एसिड, क्याल्सियम, म्याग्नेसियम र जिंकजस्ता पोषक तत्त्व पाइन्छन् । शरीरमा कस्तो असर पर्न सक्छ ? विशेषज्ञका अनुसार ३० दिनसम्म सीमित मात्रामा एलोभेरा जुस सेवन गर्दा केही व्यक्तिमा पाचन सुधार हुन सक्छ । शरीरमा पानीको मात्रा सन्तुलित राख्न र एन्टिअक्सिडेन्टको लाभ प्राप्त गर्न पनि सहयोग पुग्न सक्छ । कतिपयमा कब्जियत कम हुने, पेट हल्का महसुस हुने र ऊर्जा बढेको अनुभव हुन सक्छ । तर यसको प्रभाव सबै व्यक्तिमा समान नहुन सक्छ । पाचन प्रणालीमा फाइदा एलोभेरा जुसले पाचन प्रणालीलाई सहयोग गर्ने विश्वास गरिन्छ । यसले केही व्यक्तिमा कब्जियत तथा इरिटेबल बाउल सिन्ड्रोम (आईबीएस) का केही लक्षण कम गर्न मद्दत गर्न सक्छ । साथै ग्यास र अम्लपित्तको समस्या कम गर्न पनि सहयोगी हुन सक्ने चिकित्सकको भनाइ छ । छाला र रोग प्रतिरोधात्मक क्षमतामा प्रभाव एलोभेरामा रहेका एन्टिअक्सिडेन्ट र अन्य सक्रिय तत्त्वले शरीरमा हुने अक्सिडेटिभ तनाव कम गर्न मद्दत गर्न सक्छन् । पर्याप्त पानी र सन्तुलित आहारसँगै यसको सेवनले छालाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने बताइएको छ । विशेषज्ञका अनुसार पाचन प्रणाली स्वस्थ हुँदा रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन पनि सहयोग पुग्न सक्छ । तौल घटाउन कत्तिको उपयोगी ? एलोभेरा जुसले मात्रै तौल घटाउँछ भन्ने पर्याप्त वैज्ञानिक प्रमाण छैन। तर सन्तुलित आहार, नियमित व्यायाम र क्यालोरी नियन्त्रणसँगै यसको सेवन गर्दा तौल व्यवस्थापनमा केही सहयोग पुग्न सक्ने चिकित्सकको भनाइ छ। कहिले र कसरी पिउने ? आयुर्वेद चिकित्सकका अनुसार एलोभेरा जुस बिहान खाली पेट पिउनु उपयुक्त मानिन्छ । १५ देखि २० मिलिलिटर जुसलाई बराबर मात्रामा मनतातो पानीमा मिसाएर सेवन गर्न सकिन्छ । यी व्यक्तिले अपनाउनुपर्छ सावधानी एलोभेराको प्रकृति चिसो हुने भएकाले गर्भवती महिला, स्तनपान गराइरहेका आमा तथा विशेष स्वास्थ्य समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहबिना यसको नियमित सेवन गर्नु हुँदैन । विशेषज्ञहरूले एलोभेरा जुसलाई स्वस्थ जीवनशैलीको पूरकका रूपमा लिन सुझाव दिएका छन् । यसलाई कुनै रोगको उपचारको विकल्पका रूपमा भने प्रयोग गर्न नहुने उनीहरूको भनाइ छ । एजेन्सीको सहयोगमा