पाइलट बन्ने सपना, विदेशको सुविधा त्यागेर स्वदेशमा सेवा
काठमाडौं । अस्पतालका करिडोरदेखि एयरपोर्टका गेटसम्म ‘ब्रेन ड्रेन’को चर्चा अहिले सामान्य बनेको छ । तर यही प्रवृत्तिको ठीक उल्टो बाटो हिँड्ने केही पात्र पनि हाम्रो समाजमा छन् । जसले सुविधा भएको देश छाडेर चुनौतीपूर्ण नेपाल रोजेका छन् । त्यस्तैमध्येको एक नाम हो, डा. अविनाश चन्द्र । करिब १० वर्षअघि अमेरिका छाडेर नेपाल फर्किएका डा. अविनाश नसासम्बन्धी रोगका विशेषज्ञ (न्यूरोलोजिष्ट) हुन् । चीनबाट एमबीबीएस र एमडी पूरा गरेका उनले सिंगापुर, अमेरिका र भारतलगायत विभिन्न देशमा काम गरेका छन् । उनी न्यूरोलोजी क्षेत्रमा विभिन्न अध्ययन र अनुसन्धानमा समेत सक्रिय छन् । हाल उनी वीर अस्पतालमा न्यूरोलोजिष्ट रूपमा कार्यरत छन् । विदेशमा सुरक्षित भविष्य छाडेर स्वदेश फर्किने निर्णय सजिलो थिएन । कतिपयले उनको निर्णयलाई पागलपन नै भने । साथीभाइ मात्र होइन, उनलाई पढाउने प्राध्यापकहरूले समेत ‘यति राम्रो अवसर किन गुमाउने’ भन्दै रोक्न खोजे । तर डा. अविनाशको मनले त्यो बाटो स्वीकारेन । ‘मलाई आफ्नै देशमा चुनौतीसँग जुध्दै काम गर्न मन थियो,’ उनी भन्छन्, ‘यो सोच कहिले र कसरी आयो थाहा छैन, तर परिवारसँगै बसेर आफ्नै ठाउँमा काम गर्नुपर्छ भन्ने मनसाय मेरो थियो अनि म स्वदेश फर्किएँ ।’ अन्नपूर्ण अस्पतालबाट नेपालमा चिकित्सा सेवा सुरु गरेका अविनाश अहिले सरकारी सेवामा प्रवेश गरेका छन् । घडीसँग नबाँधिने चिकित्सा क्षेत्र वीर अस्पताल जहाँ बिरामीको सबैभन्दा बढी भीड हुन्छ । अहिले पनि दिनहुँ सयौं बिरामी उपचारका लागि पुग्छन् । चिकित्सकको काम घडीसँग बाँधिदैन । बिरामीको अवस्था हेरेर बिहान, दिउँसो वा मध्यरात जुनसुकै समयमा पनि अस्पताल पुग्नुपर्छ । विशेषगरी नसासम्बन्धी रोगका बिरामी बढ्दै गएका बेला न्यूरोलोजिष्टको जिम्मेवारी झन् संवेदनशील र चुनौतीपूर्ण हुन्छ । अविनाशको पनि काम गर्ने समय निश्चित छैन । अस्पतालमा बिरामीको चाप बढेसँगै उनको खटाइ पनि उत्तिकै बढ्छ । डा. अविनाश चन्द्र दिनभरि गम्भीर बिरामी, चिन्तित परिवार र कठिन निर्णयसँग जुधेपछि साँझ उनी घर फर्किन्छन् । त्यतिबेला अस्पतालको तनाव ढोकामै छुट्छ । ‘घर पुगेर आमाबुवा, श्रीमती र छोरीलाई देख्दा दिनभरको पीर आफै हराउँछ,’ उनी भन्छन्, ‘परिवारबाट टाढा रहेर पाएको खुसी मेरो लागि होइन । परिवारसँगै हुँदा जस्तोसुकै चुनौती पनि सहज लाग्छ ।’ नसासम्बन्धी रोगका बिरामीको संख्या बढ्दो छ । वार्डमा कुन बिरामीको अवस्था कस्तो छ, कसलाई नयाँ समस्या देखिएको छ, औषधी समयमै खाएको नखाएको विवरण राख्नु यी सबै हरेक स्वास्थ्यकर्मीको दैनिकी हुन् । यही दैनिकीभित्र डा. अविनाशले आफ्नो पेशागत जिम्मेवारी मात्र होइन, देशमै केही गर्न सकिन्छ भन्ने विश्वास पनि जोगाइरहेका छन् । पाइलट बन्ने रहर बाल्यकालमा अविनाशका आँखा आकाशतिर हुन्थे । ककपिटभित्र बसेर जहाज उडाउनु उनको सपना थियो, तर समयले उनलाई आकाश होइन, मान्छेको मष्तिस्कभित्रको जटिल संसारतिर डोर्यायो । पाइलट बन्ने सपना बोकेका उनी आज वीर अस्पतालमा नसासम्बन्धी रोगको उपचार गरिरहेका छन् । अविनाशको घर धनुषाको जनकपुर हो । कक्षा एकदेखि १२ सम्म उनले जनकपुरमै पढे । उनको घर नजिकै विमानस्थल थियो । जहाज अवतरण गर्दा होस् या उड्दा उनी भ्याएसम्म हेर्न जान्थे । उनका आँखा जहाजबाट झर्ने यात्रुमा भन्दा क्याप्टेन र कर्मचारीतिर हुन्थे । हेर्दै आकर्षक लाग्ने पोसाक, त्यसैमाथि टोपी । सबैले सलुट हान्ने आहा । उनको मानसपटलमा त्यही चित्र घुम्न थाल्यो । पाइलट कसरी भइन्छ त ? उनको मनभित्र अनेकौं जिज्ञासा उठ्न थाले । उनले आफ्ना दाइलाई सोध्थे, पाइलट बन्न के गर्नुपर्छ ? दाइ भन्थे, यसका लागि त राम्रोसँग पढ्नुपर्छ ।’ उनलाई अझ पढाइमा मिहिनेत गर्न मन लाग्थ्यो । सिंगापुर एयरलाइन्सलाई चिठी मनभित्र पाइलट बन्ने रहर पलाएपछि अविनाश चुप लागेर बस्न सकेनन् । आकाशमा उड्ने सपना मनभित्र यति बलियो थियो कि त्यसले उनलाई दिन–रात बेचैन बनाइरह्यो । तर कसैलाई भन्न सकेका थिएनन् । भाइको छटपटी बुझ्ने उनका दाइमात्र थिए, हाल उनी केमिकल इन्जिनियर छन् । एकदिन दाइले अनौठो तर साहसी सल्लाह दिए ‘एयरलाइन्सलाई चिठी लेख्न’ त्यो बेला सिंगापुर एयरलाइन्सको चर्चा धेरै थियो । अविनाशले एउटा म्यागजिनमा काठमाडौं र सिंगापुर दुवैको ठेगाना भेटे । यही ठेगानामा उनले चिठी लेखेर हुलाकमार्फत पठाए । चिठीमा उनले लेखेका थिए, ‘म धनुषामा पढिरहेको एक विद्यार्थी हुँ । मलाई पाइलट बन्न मन छ । यसका लागि के गर्नुपर्छ ?’ ‘९ कक्षामा पढ्दै गरेको केटो, जसले पाइलट देखेको मात्रै थियो, बन्न के गर्नुपर्छ थाहा थिएन,’ उनी हाँस्दै सम्झिन्छन्, ‘त्यो चिठीमा के–के लेखेको थिएँ आफैलाई थाहा छैन, मनमा लागेका सबै कुरा लेखेको थिएँ होला ।’ हुलाकमा चिठी पठाउँदा १० रुपैयाँको टिकट टाँसेर पठाउनुपर्थ्यो । उनले ३५ रुपैयाँ तिरेर ‘द्रुत’ सेवामार्फत पठाए । पैसा दाइले नै दिन्थे । दुई दिदी र एक दाइपछि कान्छो छोरा थिए अविनाश । दाइभाइ मिलेर यस्तो ‘उपद्रो’ गरिरहेको घरका अरू सदस्यलाई थाहा थिएन । तीन–चार महिनापछि हुलाकबाट जवाफ आयो । त्यो चिठी अविनाशका लागि सपना जिउँदो भएको प्रमाणजस्तै थियो । चिठीमा पाइलट बन्ने प्रक्रियाबारे जानकारी, सम्पर्क गर्ने ठेगाना र आवश्यक गाइडलाइनहरू उल्लेख थिए। त्यसपछि उनले फिलिपिन्सको अर्को ठेगानामा पनि चिठी पठाए । सपनाले झन् उचाइ लियो । उनी सपनामा समेत प्लेन उडाउन थाले, तर त्यो चिठीको जवाफ भने एक वर्षसम्म आएन । एसएलसी पास गरेपछि अविनाशले आफ्नो चाहना परिवारलाई सुनाए । बुबा तयार थिए । तर आमाको मन्जुरी भएन त्यसपछि उनको जीवनको दिशा बदलियो । उनको पाइलट बन्ने सपना अधुरै रह्यो । त्यो अधुरो सपना नै उनलाई अर्को यात्रातिर डोर्याउने बीउ बन्यो । अनि बने चिकित्सक पाइलट बन्ने सपना अधुरै रहेपछि अविनाशले इन्जिनियर पढ्ने योजना बनाए । त्यसका लागि तयारी गरे । तर पछि आमाले डाक्टरी पढ्न सल्लाह दिएपछि उनी चिकित्सा क्षेत्रमा लागे । डा. अविनाशले चीन गएर एमबीबीएस र एमडी गरे । त्यसपछि पढाइ र कामका सिलसिलामा विभिन्न देश पुगेपछि अन्ततः चिकित्सकको रूपमा काम गर्न नेपालमै फर्किए । उनकी श्रीमती पनि चिकित्सक हुन् । अन्नपूर्ण अस्पतालमा काम गर्दा दुवैबीच चिनजान भएको थियो । जनकपुरका अविनाशले बर्दियाकी केटीसँग प्रेम गरेर उनैसँग बिहे गरे । अहिले उनकी दुई वर्षको छोरी छिन् । स्वदेश र विदेशमा कामको अनुभव फरक अविनाशका अनुसार नेपाल र विदेशका स्वास्थ्य सेवा दिने तरिका फरक छ । काउन्सिलिङकै पाटोमा पनि धेरै फरक रहेको उनी बताउँछन् । नेपालमा एकजना बिरामी हुँदा पुरै गाउँका नागरिकलाई काउन्सिलिङ गर्नुपर्ने अवस्था आउँछ भने विदेशमा यस्तो हुँदैन । त्यहाँ उपचारको एउटा मापदण्ड हुन्छ, त्यो मापदण्डभन्दा बाहिर जान पाइँदैन । नेपालमा काम गर्दा लाग्ने सबैभन्दा राम्रो भनेको कम लागतमा बढी नतिजा दिन सकिन्छ । उनी नेपालमा सबै कुरा गर्न सम्भव रहेको बताउँछन् । ‘गर्न सक्नु पर्यो यहाँ ठाउँ धेरै छ, यहाँ कम लागतमा बढी नतिजा दिन सकिन्छ,’ उनले भने । नसाका समस्याहरू नसासम्बन्धी रोगहरू शरीरमा सबैभन्दा अन्तिम अवस्थामा देखिन्छन् । संक्रमण कुनै अंगमा पुग्छ भने पहिले छाती, पेट वा रगतमा असर गर्छ अनि मात्र नसामा पुग्छ । त्यसैले नसासम्बन्धी समस्या प्रायः ढिला देखिन्छन् । शरीरका विभिन्न अंग पेट, छाती, मुटुको अध्ययन पहिले सुरु भएको थियो, तर न्यूरोलोजीको क्षेत्रमा अनुसन्धान पछि मात्र सुरु भयो । नेपालमा भने यो क्षेत्र अझ ढिलोगरी चिनिन थालेको हो । तर अध्ययनको हिसाबले हेर्दा अन्य अंगको तुलनामा नसासम्बन्धी अध्ययन धेरै सक्रिय रहेको पाइन्छ । आज पनि न्यूरोलोजीका विशेषज्ञहरू बिरामीको जटिल समस्या बुझ्न, उपचार र अनुसन्धानमा निरन्तर प्रयासरत छन् । लक्षण कस्तो देखिन्छ ? नसाको समस्याले हुने रोग भनेको पक्षघात, स्ट्रोक, मस्तिष्कघात लगायत हुन् । यी रोगको संक्रमण हुँदा व्यक्तिको शरीरलाई थाहा हुन्छ । तपाईंको एक्कासि ब्यालेन्स बिग्रन थाल्यो, उठ्दा रिंगटा लाग्छ, आँखाले हेर्दा एउटै कुरा दुईवटा जस्तो देखिन्छ, धमिलो हुन्छ, अनुहार बाङ्गिन्छ, हातखुट्टाको एकभाग कमजोर हुन्छ, बोली पनि लडबडाउँछ भने सिधै अस्पताल जानुपर्छ । सबै नसाको रोगको उपचार सक्दोचाँडो अस्पताल पुग्यो त्यति नै चाँडो उपचार सम्भव हुन्छ । ढिला भयो भने समस्या हुन्छ । बिरामीहरू ढिला गरी अस्पताल पुग्छन् जसले गर्दा उपचारमा समस्या हुन्छ । यो विषयमा धेरै नागरिकलाई थाहा नै हुँदैन । लक्षण देखा पर्दाबित्तिकै अस्पताल पुग्नुपर्ने अविनाश बताउँछन् । कुनैपनि रोग लाग्नै नदिनु राम्रो हुन्छ । स्वस्थ जीवनशैली कायम राख्नुपर्छ । यसका लागि सबैभन्दा पहिला मानसिक स्वास्थ्य ठीक राख्नुपर्छ । मानसिक स्वास्थ्य ठीक राख्न तनाव निकै कम गर्नुपर्छ । अविनाशका अनुसार मान्छे अहिले फास्टट्र्याकको जिन्दगीे जिउन थालेका छन् । आत्मशुद्धि पनि अहिले निकै आवश्यक छ । उनी भन्छन्, ‘म भनेको म हो, मान्छे कार, जीप होइन कि सबै एकै किसिमको एकै मोडेलको हुनुपर्छ । हाम्रो मोडल त फरक छ । यति कुरामा ध्यान दियौं भने धेरै रोगबाट हामी बच्न सक्छौं ।’ अहिले तनाव बढी अहिले खानपानमात्र होइन, मान्छेको हुकाई बढाइमा पनि फरक पर्दै गएको छ । जसरी पहिलेका बालबालिका विना तनाब लडिबुडी गर्दै हुर्किन्थे तर अहिलेको बच्चाहरूमा त्यस्तो छैन । बच्चा बेलादेखि नै तनाव बढ्दै गएको छ । यसले पनि हाम्रो स्वास्थ्य कतातिर जाँदैछ भन्ने कुरा देखाइरहेको छ । मानसिक स्वास्थ्यले पनि यस्ता रोगलाई बढावा दिइरहेको अविनाश बताउँछन् । पहिले उपचारमा मानसिक स्वास्थ्यका कुरा आउँदैनथियो तर अहिले शारीरिक उपचारसँगै मानसिक उपचारको पनि कुरा आउन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि शारीरिक स्वास्थ्य जाँच गर्दा मानसिक स्वास्थ्यको कुरा गर्न भनेको छ । अहिले डब्ल्यूएचओले स्ट्याण्डर्ड डेफिनेसन नै परिवर्तन गरिसकेको छ । पहिले स्वास्थ्यको परिभाषामा मानसिक स्वास्थ्य थिएन । अहिले मानसिक स्वास्थ्य पनि स्वस्थ हुनुपर्छ भन्ने कुरा आइसकेको छ । शारीरिक स्वास्थ्य बिग्रनासाथ मानसिक स्वास्थ्यमा असर पर्छ । चिकित्सक भगवान होइनन् नेपालमा सबैभन्दा बढी सुनिने, सेवाग्राहीले भोग्ने समस्या भनेको चिकित्सक तथा स्वास्थ्यकर्मीले गर्ने व्यवहार हो । उनीहरू झर्केर बोल्ने, कुरा बुझाइदिएन भन्ने गुनासो आउँछ । अविनाशका अनुसार चिकित्सकले बिरामीलाई सामान्य तरिकाले बुझाउँदा बिरामीले नबुझ्न सक्छन् । किनभने अस्पतालमा आइसकेपछि बिरामीले धेरै सोंच्न थाल्छन्, उनीहरू अस्पताल आउनासाथ धेरै तनाव लिन्छन् । यसैगरी, अर्को कारण हो, सामाजिक सम्बन्ध, जुन निकै गाढा हुँदा पनि यस्तो समस्या आउँछ । कुनै बेला बिरामीले अनावश्यक ढिपी गर्दा डाक्टर तथा नर्सहरूले बोलेको कुरालाई झर्केर बोलेको भन्ने गुनासो पनि हुन्छ । अविनाश चिकित्सकलाई भगवान मान्ने मान्यताले पनि यो समस्या आएको बताउँछन् । भन्छन्,‘ चिकित्सक भगवान होइनन् भन्ने विषयमा बहस गर्नु आवश्यक छ ।’ चिकित्सकले अध्ययनअनुसार सकेजतिको मिहिनेतले उपचार गर्छन् । बिरामीको ज्यान जोगाउन हदैसम्म प्रयास गर्छन् तर संधै सफल भइँदैन । भगवानको सोचमा आउनेबित्तिकै नसक्ने कुरा पनि पनि सक्छन् भन्ने मान्यता गलत भएको उनको भनाइ छ । चिकित्सक पनि आम मानिस नै भएको र उसलाई भगवानको नजरले हेर्न छाडिदिनुपर्नेमा अविनाश जोड दिन्छन्।
गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य : बेवास्ताले बढ्दै जोखिम
काठमाडौं । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्राथमिकता दिइँदा यससँग जोडिएको मानसिक स्वास्थ्य भने ओझेलमा पर्दै आएको छ । सामाजिक धारणा, स्रोतसाधनको अभाव र जानकारीको कमीका कारण गर्भवती तथा सुत्केरीले भोग्ने तनाव, एन्जाइटी र डिप्रेसन जस्ता समस्या समयमै पहिचान हुन सकेका छैनन् । यसको असर आमा मात्र होइन, बच्चा र समग्र परिवारमा समेत पर्न थालेको छ । एक ३४ वर्षीया महिलाको दुई पटक गर्भपतन भइसकेको थियो । यही कारण यसपटकको गर्भावस्थामा उहाँ अत्यन्तै मानसिक दबाबमा थिइन् । ‘अहिले त जसरी पनि बच्चा हुनै पर्छ’ भन्ने सोचले उनलाई निरन्तर सताइरहेको थियो । उमेर ढल्किँदै गएको, करिअरमा ढिलाइ हुने डर र गर्भावस्थापछि जागिर के हुन्छ भन्ने चिन्ताले उनमा एन्जाइटी बढायो । अहिले उनी परामर्शपश्चात् सामान्य अवस्थामा फर्किएकी छिन् । साथै अर्की २९ वर्षे महिलाको समस्या पनि उस्तै छ । उनले बच्चा जन्माइसकेपछि डिप्रेसनको सामना गरिन् । आर्थिक अभाव, श्रीमान्को अस्थिर व्यवहार, घरमा पहिले नै अन्य बच्चाको जिम्मेवारी र अन्तरजातीय विवाहका कारण परिवारबाट अस्वीकृतिले उनको मानसिक अवस्था झन् कमजोर बनायो । पोस्टपार्टम अवधिमा उनलाई पटकपटक आत्महत्याका विचार आउन थाले । उपचार नपाएको भए अवस्था अझ खतरनाक हुन सक्थ्यो । अन्ततः उनमा एन्टी–डिप्रेसनको समस्या देखियो । २३ वर्षीया सुत्केरीमा भने फरक केही समस्या देखियो । बच्चाको हेरचाह गर्न मन नलाग्ने, कहिलेकाहीँ बच्चालाई क्षति पुर्याउने सोचसमेत आउने गरेको थियो । श्रीमान्ले ‘बच्चा नहेरेको’ भन्दै कुटपिटसमेत गर्थे । वैवाहिक सम्बन्ध नै धरमराउँदै गएको थियो । पोस्टपार्टम डिप्रेसनको अवस्थालाई श्रीमान्ले नबुझ्दा हिंसा थपिएको थियो । अहिले भने उनलाई औषधि र परामर्शले क्रमशः सुधार भइरहेको छ । एक कामकाजी महिलाले त बच्चा जन्मिएपछि जागिर नै छाड्नुपर्यो । बच्चा जन्मिएपछि उनी माइतीमै बसिनन् । घर फर्किएपछि सबै काम आफैँ गर्नुपर्ने, त्यसमाथि काम छोड्दाको नयाँ दैनिकीले उनलाई तनाव दिइरहेको थियो । त्यसकै कारण मानसिक अवस्था बिग्रिँदै गइरहेको थियो । उनी पोस्टपार्टम डिप्रेसन मात्र होइन, व्यक्तिगत तथा पारिवारिक डिस्फ्याक्टरबाट पनि गुज्रिराखेकी थिइन् । माथिका चार घटना प्रतिनिधि मात्रै हुन् । यी घटनाले गर्भावस्था तथा सुत्केरी अवस्थामा महिलाले भोग्नुपरेका मानसिक स्वास्थ्यको अवस्था देखाउँछन् । उदाहरणले गर्भावस्था र प्रसूति शारीरिक मात्र विषय होइन यो मातृत्वसँग जोडिएको मानसिक स्वास्थ्यको अनिवार्य हिस्सा हो भन्ने देखाउँछ । आमामा मानसिक स्वास्थ्य समस्या पछिल्लो समय मानसिक स्वास्थ्यसम्बन्धी बहस र पैरवी बढ्दै गए पनि गर्भावस्था र सुत्केरी अवस्थासँग जोडिएको मानसिक स्वास्थ्यबारे भने कमै मात्र चर्चा हुने गरेको छ । यस्तो अवस्थाको मानसिक स्वास्थ्य समस्याले गर्भमा रहेको भ्रूणको वृद्धि–विकासमा असर पार्न सक्छ । बच्चाको शारीरिक, बौद्धिक र भावनात्मक विकासमा समेत नकारात्मक प्रभाव पर्न सक्छ । समयमै पहिचान र उपचार नहुँदा यस्ता समस्याले साइकोसिस, आत्महानि, आत्महत्या तथा अन्य जटिल स्वास्थ्य समस्याको रूप लिन सक्ने विज्ञहरू बताउँछन् । यसले बच्चाको स्याहार–सुसारमा नकारात्मक असर पार्नुका साथै आमा–बच्चाबिचको आत्मीय सम्बन्ध विकासमा कठिनाइ सिर्जना गर्न सक्छ । दाम्पत्य जीवन र पारिवारिक सम्बन्धमा समेत समस्या देखिन सक्छ । धेरैमा गर्भावस्था र सुत्केरी अवस्थाका विभिन्न शारीरिक तथा सामाजिक परिवर्तनका कारण तनाव देखिन सक्छ, जुन केही हदसम्म सामान्य मानिन्छ । यदि यस्तो तनाव लामो समयसम्म निरन्तर रहन्छ र यसले शारीरिक स्वास्थ्य, दैनिक क्रियाकलाप, पारिवारिक तथा दाम्पत्य सम्बन्ध र कार्यस्थलमा समेत नकारात्मक असर पार्न थाल्छ भने त्यो गर्भवती वा सुत्केरी अवस्थासँग सम्बन्धित मानसिक स्वास्थ्य समस्याको संकेत हुनसक्छ । श्रीमान् तथा परिवारबाट आवश्यक साथ–सहयोग नपाउनु, सानै उमेरमा वा किशोरावस्थामै गर्भवती हुनु, अनियोजित वा अनिच्छित गर्भधारण, हाल वा विगतमा हिंसाबाट प्रभावित हुनु, आर्थिक अभाव, व्यक्तिगत वा पारिवारिक दुःखद घटना भोग्नु, गर्भवती हुनुअघि नै मानसिक स्वास्थ्य समस्या हुनु, तथा अघिल्लो गर्भावस्थाको दुःखद वा डरलाग्दो अनुभव (गर्भपतन, नवजात शिशुको स्वास्थ्य समस्या, बच्चाको मृत्यु वा अन्य जटिलता) जस्ता कारणले गर्भवती तथा सुत्केरी अवस्थामा मानसिक समस्या निम्त्याउन सक्छन् । परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको मानसिक स्वास्थ्य ओपिडीमा कार्यरत मनोचिकित्सक डा प्रतिष्ठा घिमिरेका अनुसार गर्भवती तथा सुत्केरी धेरै महिलामा एन्जाइटी र डिप्रेसनको समस्या देखिने गरेको छ । अस्पतालले २०८१ साल असोज २० गतेदेखि गर्भवती तथा सुत्केरीका लागि मानसिक स्वास्थ्य सेवाको ओपिडी सेवा सुरु गरेको छ । यो सेवा सरकारीस्तरमा यो अस्पतालमा मात्र उपलब्ध छ । ओपिडीमा दैनिक ६ देखि ७ जना परामर्शका लागि आउने गरेका छन् भने हरेक दिन १५ देखि २० जना सुत्केरी भइसकेका आमालाई मनोसामाजिक परामर्श दिने गरिएको छ । सेवाग्राहीसँग दैनिक कुरा गर्ने नर्स, मिडवाइफलाई यस्ता लक्षणबारे तालिम दिने, तनाव व्यवस्थापनका तालिम, रेफरल केशलाई काउन्सिलिङ र उपचार गर्ने, सघन कक्षमा बच्चा भएका आमाहरूको स्क्रिनिङ गर्ने काम अस्पतालले गर्दै आएको छ । गर्भावस्थामा तनाव र एन्जाइटीका केस देखिन्छन् भने डेलिभरीपछि एन्जाइटी र डिप्रेसनका केस ओपिडीमा बढी आउने गरेका छन् । डर लाग्ने, मन आत्तिने, छटपटी हुने, भविष्यप्रति नकारात्मक सोच आउने, बच्चालाई पेटमा केही पो भएको छ भन्ने डर लाग्ने, निद्रा नलाग्ने, जिउ भारी भएजस्तो हुने लक्षण लिएर आउने धेरै हुने डा घिमिरेका बताउँछिन् । मनोविद्हरूका अनुसार ‘सो–कल्ड बेस्ट आमा’ बन्नै पर्छ भन्ने सामाजिक दबाब पनि महिलाले थेग्न नसक्दा मानसिक समस्या बढिरहेको छ । कतिपय अवस्थामा आत्महत्या गर्ने सोचसमेत आउने गरेको पाइएको छ । “धेरै महिलाले सहयोग माग्नै चाहँदैनन् । गाह्रो भए पनि भन्न सक्दैनन् । मानसिक समस्या व्यक्त गर्दा आफू खराब आमा ठहरिने हो कि, कर्तव्य पूरा गर्न नसकेको दोष लाग्ने हो कि भन्ने डरले उनीहरू अझ बढी तनावमा पर्ने गरेका छन्”, डा घिमिरे बताउँछिन् । एन्जाइटीदेखि आत्महत्यासम्म विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वभर करिब १० प्रतिशत गर्भवती र सुत्केरी भइसकेका १३ प्रतिशत महिला कुनै न कुनै मानसिक समस्याबाट प्रभावित हुन्छन् । विकासोन्मुख देशहरूमा यो अवस्था अझ गम्भीर छ । त्यहाँ गर्भावस्थामा १५.६ प्रतिशत र सुत्केरीपछिको अवधिमा १९.८ प्रतिशत महिलामा मानसिक समस्या देखिन्छ । गम्भीर अवस्थामा आमाको पीडा अत्यन्तै बढ्न सक्ने भएकाले आत्महत्यासम्म गर्ने अवस्था पनि आउन सक्छ । यसका साथै, प्रभावित आमाले आफ्नो दैनिक भूमिका र जिम्मेवारी ठिकसँग निर्वाह गर्न सक्दैनन् । परिणामस्वरूप, बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पर्न सक्छ । तर गर्भावस्था तथा मातृत्वको अवस्थामा देखिने मानसिक समस्याको उपचार सम्भव छ । नेपालमा गर्भवती तथा सुत्केरी अवस्थामा हुने मानसिक समस्याबाट पीडित हुने दर उच्च देखिन्छ । डब्लुएचओकै तथ्याङ्कअनुसार गर्भावस्थामा १५.६ प्रतिशत र सुत्केरीपछिको अवधिमा १९.८ प्रतिशत जसका कारण प्रजनन उमेरका महिलामध्ये आमाको आत्महत्या मृत्युको प्रमुख कारणमध्ये एक बनेको छ । यसै गरी जानीजानी आत्म–हानि (इन्टेन्सनल सेल्फ हार्म) आमासम्बन्धी कुल मृत्युको करिब ६ प्रतिशत हिस्सा ओगटेको छ । समस्या कसरी थाहा पाउने ? यस विषयमा चर्चा र बहस पनि कम हुने गरेकाले नै जटिलता थपिएपछि मात्र महिलाहरू अस्पतालसम्म आइपुग्छन् । सुत्केरीपछि ३ महिनादेखि एक वर्षसम्म महिलाहरूमा मानसिक समस्या देखिन सक्छन् । लगनखेलस्थित मानसिक अस्पतालकी मानसिक रोग विशेषज्ञ डा तृष्णा विष्ट ९९ प्रतिशत महिला ‘पोस्टपार्टम ब्लुज’ सँग गुज्रिने बताउँछिन् । त्यो भनेको कहिले खुसी त कहिले दुःखी महसुस हुने, बिसन्चो, चिडचिडापन, ‘मुड स्वीङ’ भइराख्ने लक्षण हुन् । पोस्टपार्टम डिप्रेसन देखिन भने मध्यमदेखि जटिलताको अवस्थाबाट गुज्रनुपर्ने उनको भनाइ छ । 'बच्चा र आफूलाई हानी पुर्याउन मन लाग्ने, अनौठो स्वभाव देखाउने, मनमा कुरा खेलाएर बस्ने, अनौठो खालको आभास हुने जटिल खालको लक्षण हुन सक्छन्,' डा विष्ट भन्छिन् । दुई हप्ताभन्दा बढी समयदेखि लक्षण महसुस भइरहेको छ भने सकेसम्म छिटो स्वास्थ्यकर्मीसँग भेट्नुपर्छ । धेरै चिन्तित हुने र सोचिरहने, पहिले रमाइलो लाग्ने कुरामा चाख नलाग्ने, निराशा, बेसहारा र मूल्यहीन महसुस हुने, डर लाग्ने, आत्तिने र छटपटी हुने यसका लक्षण हुन् । निद्रामा गडबडी आउने, खान मन नलाग्ने, जीवनमा आउने सामान्य तनावको पनि सामना गर्न नसक्ने, कुनै पनि प्रतिकुल अवस्थाका लागि आफैँलाई दोषी देख्ने, रुन मन लाग्ने वा रोइरहने, निरन्तर थकित महसुस हुने, बच्चालाई वा आफैँलाई हानि गर्ने सोच आउने, घरका र कार्यस्थलका नियमित क्रियाकलाप गर्न गाह्रो हुने भएमा स्वास्थ्यकर्मीलाई भेटिहाल्नुपर्ने उनको सुझाव छ । उदासीनता तथा एन्जाइटीको समस्या गर्भवती तथा सुत्केरी अवस्थामा धेरै महिलामा देखिन्छ । समयमै पहिचान भएमा यस्ता समस्याको व्यवस्थापन र उपचार गर्न सकिन्छ । समयमै व्यवस्थापन गरिएमा यी समस्याले आमा र बच्चाको दुवैको स्वास्थ्य र वृद्धि विकासमा हानि पुर्याउन सक्छन् । मानसिक तथा शारीरिक परिवर्तनले स्वाभाविक रूपमै महिलालाई पहिलेभन्दा गाह्रो बनाइराखेको हुन्छ । बच्चापछि मानसिक समस्या देखिनुमा त्यसअघि उसको स्वभाव कस्तो थियो भन्नेमा पनि भर पर्ने बताउँछिन् डा विष्ट । उनी भन्छिन् “आत्तिइराख्ने, तनाव लिइराख्ने, समाधान गर्न नसक्ने खालको स्वभाव थियो कि ? उसको आचरण र स्वभाव कस्तो थियो भन्नेमा पनि भर पर्छ ।” सामाजिक, आर्थिक अवस्थासँगै श्रीमान्–श्रीमतीको सम्बन्धले पनि मानसिक स्वास्थ्यमा देखिन सक्ने सम्भावनालाई बढवा दिन्छ । श्रीमान् र परिवारको साथ महिलालाई गर्भावस्थाका साथै सुत्केरीमा श्रीमान् मात्र होइन घरका सबै सदस्यको सहयोग चाहिन्छ । शारीरिक रूपमा महिलाले नै सबै जिम्मेवारी लिनुपर्ने भए पनि अरू कुरामा परिवारका सदस्यले सहयोग गर्नुपर्ने जानकार बताउँछन् । डा. घिमिरे भन्छिन्, 'अप्ठ्यारो भएको बेला कुरा बुझिदिने र सुनिदिनुपर्छ । नयाँ जिम्मेवारी थपिँदा आमाको दैनिकी फेरिएको हुन्छ । आमालाई सुत्न र आराम गर्न दिनुपर्छ । बच्चासँगै आमाको पनि ख्याल राख्नुपर्छ । साथै गर्भवती तथा सुत्केरी महिलाले पनि सहयोग माग्न सिक्नुपर्छ ।' नियमित तालिकामा बाँधिनुपर्दा सकस महसुस हुनसक्ने भएकाले आफूलाई अरू क्रियाकलापमा पनि लगाउनुपर्ने उनी बताउँछिन् । 'बाहिर हिँडडुल गर्ने, पोसिला खानेकुरा खाने, ध्यान र योग गर्ने गर्नुपर्छ । हर्मोन परिवर्तन भइराखेको हुन्छ । कति कुरा सामान्य लक्षण हुन सक्छन् त्यो म आफैले सामना गर्न सक्छु भनेर अठोट लिनुपर्छ । आफूमा आएको परिवर्तनलाई कसरी आत्मसाथ गर्न सक्नुपर्छ भनेर बुझ्नुपर्ने हुन्छ,' उनको भनाइ छ । विज्ञका अनुसार परिवारका सदस्य र विशेष गरी श्रीमान्को साथ भएमा महिलालाई त्यस्ता समस्याबाट जुध्न सजिलो हुन्छ । कामकाजी महिलाले विशेष गरी धेरै कुरामा सम्झौता गर्नुपरेको हुन्छ । पहिले संयुक्त परिवारमा बस्दा बा/आमाले बच्चा हेरिदिन्थे, जसले गर्दा दम्पतीलाई सहज बनाउँथ्यो । डा विष्ट भन्छिन्, 'हामीले महिलामा मात्र बच्चापछि मानसिक समस्याबाट गुज्रिनुपरेको भन्छौँ तर पुरुषहरूले पनि भोगिरहेका हुन्छन् । दुवैको निद्रा डिस्टर्ब हुन्छ, अनि खानपिन र सम्पूर्ण दैनिकीमा नै परिवर्तन आएको हुन्छ ।' अभिभावकीय भूमिकामा महिलाले मात्र सम्झौता गरेका हुँदैनन्, पुरुषले पनि त्यो जिम्मेवारी निभाइरहेका हुन्छन् । महिलाले साथ नदिएको खण्डमा त्यहाँ पुरुष पनि समस्यामा पर्न सक्छन् । यो अवस्थामा दुवैले एकअर्कालाई साथ दिनुपर्छ । 'यथार्थपरक लक्ष्य राख्नुस्,' डा तृष्णा विष्ट सुझाउँछिन्, 'जीवनमा सबै कुरा प्राप्त हुन्छ भन्ने पनि हुँदैन । केही न केही सम्झौता गर्नुपर्ने हुन्छ । आफूलाई पनि समय दिने प्रयास गर्नुस् । जुन क्षण छ त्यसमा रमाउन सिक्नुस् । मलाई यो समस्या भयो भनेर भन्न सिक्नुस् ।' पहिला त गर्भावस्थामा मुख्य आकर्षण महिला हुन्छिन् । सबैको सोधीखोजीको विषय हुन्छ । बच्चा भएपछि सबै ध्यान बच्चामै जान्छ, जसले गर्दा आमालाई एक्लो महसुस हुन सक्छ । यस्तो समस्या पनि धेरै महिलामा देखिएको छ । डा विष्ट भन्छिन्, 'तपाईँ मानसिक रूपमा तयार नहुँदासम्म बच्चा नजन्माउनुस् । समाजको प्रभाव र दबाबमा नआउनुस् ।' डा घिमिरेका अनुसार गर्भावस्था र त्यसपछिका दिनमा मानसिक स्वास्थ्य समस्या देखिन सक्छ भन्ने विषयमा अझै पर्याप्त जनचेतना छैन । 'मानसिक स्वास्थ्य आफैँमा प्राथमिकतामा पर्दैन, त्यसमाथि गर्भावस्था र सुत्केरी अवस्थाको मानसिक स्वास्थ्यको त झनै बेवास्ता हुन्छ । यसलाई सामान्य ठानेर गम्भीर रूपमा नलिँदा दुर्घटना हुनसक्छ,' उनी भन्छिन् । डा घिमिरे तनाव व्यवस्थापनका तरिका, खानपानमा ध्यान दिने, सन्तुलित भोजन र पोसिलो खाने, शारीरिक रूपमा सक्रिय हुने, आफ्ना कुरा विश्वासिलो व्यक्तिलाई सेयर गर्ने, सोसलाइज हुने, एकोहोरो नहुने, आइसोलेटेड नहुने गर्दा यी समस्या नआउन सक्ने बताउँछिन् । स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई बढी प्राथमिकता दिने परिपाटी छ । मानसिक स्वास्थ्यप्रति समाजमा रहेको नकारात्मक धारणा तथा मानवीय र भौतिक स्रोतसाधनको अभावका कारण गर्भवती तथा सुत्केरी महिलामा देखिने मानसिक स्वास्थ्य समस्या लामो समयदेखि ओझेलमा पर्दै आएको देखिन्छ । कसरी समाधान गर्न सकिन्छ ? बच्चा हेर्न र घरका कामकाजमा श्रीमान् तथा परिवारका सदस्यको सहयोग लिनुहोस् । पर्याप्त आराम र निन्द्रा सुनिश्चित गर्नुहोस् । नियमित रूपमा आफ्नो सरसफाइ गर्नुहोस्, पोसिलो र सन्तुलित खानुहोस् । मिल्ने व्यक्ति र अरू गर्भवती, सुत्केरीसँग आफ्ना भावना व्यक्त गर्नुहोस् । आशावादी रहनुहोस् । विगतका खुसीका क्षणका सम्झना गर्दै हौसला लिनुहोस् । मोबाइल, टिभी, कम्प्युटरलगायत, सामाजिक सञ्जालमा धेरै समय नबिताउनुहोस् । गलत सूचनामा विश्वास नगर्नुहोस् र आफूलाई चाहिने जानकारी आधिकारिक स्रोतबाट लिनुहोस् । रासस
१०० शय्याको धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी, ७० लाख बजेट विनियोजन
काठमाडौं । बागलुङको धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइको तयारी थालिएको छ । अस्पतालमा पढाइका लागि छुट्टै प्रयोगशाला बनाइने छ । गण्डकी प्रदेश सरकारले धौलागिरि अस्पतालमा चालु आर्थिक वर्षबाट नर्सिङ पढाई गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख गरेको थियो । चालु आवमा नर्सिङ पढाइका लागि आवश्यक प्रयोगशालासहितको पूर्वाधार निर्माण गर्नका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन भएको गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस वर्ष नर्सिङको भर्ना प्रक्रिया सकिएकाले पूर्वाधार तयार गरेर आगामी वर्ष विद्यार्थी भर्ना गर्ने तयारीका लागि बजेट पठाइएको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए । कक्षाकोठा र प्रयोगशाला लगायतको व्यवस्थापन भने चालु आर्थिक वर्षमै सकिने उनको भनाइ छ । प्रदेश मातहतका अस्पताल तथा वर्थिङ सेन्टरमा तालिम प्राप्त मिडवाइफमार्फत सेवा प्रवाहको सुनिश्चतताका लागि आगामी आवदेखि प्रवीणता प्रमाणपत्र तहको ‘मिडवाईफरी शैक्षिक कार्यक्रम’ धौलागिरि अस्पतालमा अध्यापन सुरु गरिने धौलागिरि अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा किरण तिवारीले जानकारी दिए । ‘यो एसइईपछि पढ्न पाइने तीन वर्षे नर्सिङ कोर्स हो, यसमा गर्भवती, सुत्केरी र शिशुको स्याहारसम्बन्धी मात्रै अध्ययन हुन्छ । चालु आर्थिक वर्षमै भर्ना अघि बढाउने भनिएपनि जेनजी आन्दोलनलगायतका कारण समस्या भएको थियो, यो वर्ष पूर्वाधार तयारी गर्छौँ, अर्को वर्ष भर्ना खोलिन्छ,’ उनले भने । नर्सिङ विषय अध्यापनका लागि १०० शय्याको अस्पताल र वार्षिक १ हजार २०० सुत्केरी अस्पतालमा हुनुपर्ने मापदण्ड पुगेकाले नर्सिङको पढाइको तयारी थालिएको हो । स्वास्थ्यमन्त्री पाठकले बागलुङका तीन अस्पतालको स्तरोन्नति एकसाथ भएको बताए । धौलागिरि अस्पताल १०० शय्याको नहुँदा नर्सिङ पढाउन समस्या भएकाले स्तरोन्नतिपछि नर्सिङ पढाइको बाटो गत वर्षदेखि खुलेको थियो । ५० शय्याको धौलागिरि प्रादेशिक अस्पताललाई प्रदेश मातहतको १०० शय्या, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको बुर्तिबाङ प्रदेश अस्पताल, धौलागिरि आयुर्वेद अस्पताल बागलुङलाई २५ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको मन्त्री पाठकले बताए ।