८० प्रतिशत ज्येष्ठ नागरिकमा उच्च रक्तचाप, दैनिक ५ देखि १५ औषधिमा निर्भर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकमा गरेको घरदैलो स्वास्थ्य सर्वेक्षणले राजधानीका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको देखाएको छ । सर्वेक्षणअनुसार अधिकांश ज्येष्ठ नागरिक दैनिक ५ देखि १५ प्रकारसम्मका औषधि सेवन गरिरहेका छन् भने करिब ७५ प्रतिशतलाई घरमै नियमित स्वास्थ्य निगरानी र हेरचाह आवश्यक पर्ने अवस्था रहेको छ । महानगरपालिकाले २०८२ माघ १८ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म सबै ३२ वडामा पुगेर प्रारम्भिक स्वास्थ्य परीक्षणसहित स्वास्थ्य सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा २ हजार ८४७ जना ज्येष्ठ नागरिक सहभागी भएका थिए । कार्यक्रमकी फोकल पर्सन कल्पना श्रेष्ठका अनुसार सर्वेक्षणले काठमाडौंका ज्येष्ठ नागरिकमा नसर्ने दीर्घरोगको उच्च भार रहेको देखाएको छ । अध्ययनमा सहभागीमध्ये ८० प्रतिशत अर्थात् २ हजार २८२ जनामा उच्च रक्तचाप भेटिएको छ । कतिपयको रक्तचाप २१०/११० सम्म पुगेको पाइएको छ, जसले पक्षघातको जोखिम बढाउने चिकित्सकहरूको भनाइ छ । मधुमेह पनि अर्को ठूलो समस्या बनेको छ । सर्वेक्षणमा सहभागी करिब ४० प्रतिशत महिला र ४२ प्रतिशत पुरुष मधुमेहबाट प्रभावित रहेको पाइएको छ । केही बिरामीको रगतमा चिनीको मात्रा ४९० सम्म पुगेको भेटिएको छ भने धेरैजसो इन्सुलिनको भरमा जीवनयापन गरिरहेका छन् । अध्ययनले महिला र पुरुषमा देखिने स्वास्थ्य समस्या फरक–फरक रहेको पनि देखाएको छ । महिलामध्ये ५५ प्रतिशत बाथ तथा हाडजोर्नीसम्बन्धी समस्याबाट पीडित छन् भने पुरुषमध्ये ४५ प्रतिशतमा प्रोस्टेटको समस्या देखिएको छ । स्वास्थ्य अवस्था र आवश्यक हेरचाहका आधारमा महानगरले ज्येष्ठ नागरिकलाई तीन समूहमा वर्गीकरण गरेको छ । करिब २ हजार १३५ जना 'यलो जोन'मा परेका छन्, जसलाई चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको नियमित निगरानी आवश्यक छ । २८५ जना 'रेड जोन'मा छन्, जसलाई तत्काल अस्पतालको सेवा आवश्यक पर्ने अवस्था रहेको छ । बाँकी ४२७ जना 'ग्रीन जोन'मा परेका छन्, जसको स्वास्थ्य अवस्था तुलनात्मक रूपमा स्थिर रहेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणले बहु–औषधि सेवन पनि अर्को चुनौतीका रूपमा औँल्याएको छ । एक जना ज्येष्ठ नागरिकले दैनिक अधिकतम २१ प्रकारका एलोप्याथिक र आयुर्वेदिक औषधि सेवन गरिरहेको भेटिएको छ । औषधि कुन समयमा र कति मात्रा सेवन गर्ने भन्ने जानकारी नहुँदा स्वास्थ्य जोखिम थप बढेको अध्ययनको निष्कर्ष छ । महिलामध्ये करिब ४० प्रतिशत निरक्षर रहेकाले औषधि व्यवस्थापनमा थप समस्या देखिएको छ । परिवारका सदस्य घरबाहिर हुँदा औषधि छुट्याउन नसक्ने र मात्रा मिलाउन कठिन हुने अवस्था रहेको सर्वेक्षणले देखाएको छ । अध्ययनअनुसार ८० प्रतिशत ज्येष्ठ नागरिक परिवारसँगै बस्ने गरे पनि आवश्यक हेरचाह पर्याप्त नभएको पाइएको छ । करिब ८ प्रतिशत भने एक्लै वा भुक्तानीमा राखिएका हेरचाहकर्ता र नर्सको सहारामा बसिरहेका छन् । यस्तै, १३ प्रतिशतमा डिमेन्सिया वा अल्जाइमर्सका लक्षण र १५ प्रतिशतमा डिप्रेसनको संकेत देखिएको छ । महानगरले सर्वेक्षणका क्रममा रक्तचाप, रक्तमा ग्लुकोज, अक्सिजनको मात्रा, ज्वरो, पिसाब परीक्षणलगायत आधारभूत स्वास्थ्य परीक्षण गरेको थियो । साथै, घरमै सामान्य उपचारका लागि आवश्यक औषधि र प्राथमिक उपचार सामग्रीसहित स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । सर्वेक्षणले काठमाडौंमा ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य सेवा विस्तारको आवश्यकता औँल्याएको महानगरको निष्कर्ष छ । वडा तहका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा 'ज्येष्ठ नागरिक नर्सिङ डेस्क' स्थापना, 'मोबाइल हेल्थ युनिट' मार्फत घरदैलो सेवा विस्तार तथा निरक्षर ज्येष्ठ नागरिकका लागि रङ–संकेत (कलर–कोडेड) आधारित औषधि व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने सुझाव अध्ययनले दिएको छ ।

गाभीले नेपालसँग ३ लाख ८ हजार डलर फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स (गाभी)ले नेपालसँग तीन लाख आठ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहलपछि उक्त रकम गाभी ६.० अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने सहयोगबाट समायोजन गरिने भएको हो ।        गाभीले नेपाललाई पठाएको पत्रमार्फत विश्वस्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता, त्यसपछिको पत्राचार तथा नेपालले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको जानकारी दिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।          गाभीले आफ्नो निर्णयलाई नेपालका लागि विशेष र एकपटकका लागि गरिएको व्यवस्था भएको स्पष्ट गरेको छ । साथै, भविष्यमा यस्ता विषयमा यही निर्णयलाई नजिरका रूपमा नलिइने पनि पत्रमा उल्लेख छ ।          गाभीले हालसम्म नेपाललाई ५५० मिलियन अमेरिकी डलरभन्दा बढी बराबरको सहयोग उपलब्ध गराइसकेको छ । उक्त सहयोगबाट नेपालमा नियमित खोप कार्यक्रम सञ्चालन, नयाँ खोपको सुरुआत तथा विस्तार, कोल्ड चेन (खोप भण्डारण तथा ढुवानी प्रणाली) सुदृढीकरण, खोप खरिद, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, खोप आपूर्ति व्यवस्थापन तथा कोभिड–१९ विरुद्धको खोप अभियानलगायतका कार्यक्रम सञ्चालनमा सहयोग पुगेको छ ।       नेपाल र गाभीबीच सन् २०१४ मा साझेदारी ढाँचामा हस्ताक्षर भएपछि गाभी सहयोगमा सञ्चालित कार्यक्रमको व्यवस्थापन तथा वित्तीय प्रणालीको समीक्षा गर्ने क्रममा सन् २०२२ मा विशेष लेखापरीक्षण गरिएको थियो ।  उक्त लेखापरीक्षणले आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको अवधिलाई समेटेको थियो । लेखापरीक्षण टोलीले स्वास्थ्य सेवा विभागसहित २२ वटा कार्यान्वयन निकायको स्थलगत अध्ययन तथा परीक्षण गरेको थियो ।      प्रारम्भिक लेखापरीक्षणपछि आवश्यक वित्तीय कागजात तथा अभिलेख सङ्कलन गरी पुनःपरीक्षणको अनुरोध गरिएको थियो । त्यसअनुसार गाभीको लेखापरीक्षण टोली सन् २०२४ अप्रिल २२ देखि मे १ सम्म पुनःनेपाल आएर ‘फलोअप’ लेखापरीक्षण सम्पन्न गरेको थियो । पुनःपरीक्षणपछि गाभीले १३ नोभेम्बर २०२४ मा तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गर्दै तीन लाख आठ हजार २७१ अमेरिकी डलर सम्बन्धमा नेपालको प्रतिबद्धता तथा भुक्तानी योजना माग गरेको थियो ।    यस विषयलाई समाधान गर्न स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विश्व स्वास्थ्य सभाका क्रममा गाभीका प्रमुखहरूसँग प्रत्यक्ष छलफल गरेका थिए । यसपछि ४ जुन २०२६ मा समाधानको प्रस्तावसहित औपचारिक पत्राचार गरिएको थियो ।         सोही छलफल र निरन्तर समन्वयपछि गाभीले नेपालले प्रस्तुत गरेको प्रस्ताव स्वीकार गर्दै उक्त रकम फिर्ता नमाग्ने तथा गाभी ६.० अन्तर्गत नेपालले प्राप्त गर्ने आगामी नगद सहयोगबाट समायोजन गर्ने निर्णय गरेको हो ।      गाभीले आफ्नो पत्रमा राष्ट्रिय खोप कार्यक्रमप्रतिको प्रतिबद्धता, खोप सेवाको विस्तार, वित्तीय व्यवस्थापन, लेखापरीक्षणका सुझावको समयमै कार्यान्वयन तथा कार्यक्रम सञ्चालनमा सुधारका लागि चालिएका प्रयासको प्रशंसा गरेको छ । साथै, नेपालसँगको दीर्घकालीन सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।      सम्बन्धित निकायका अनुसार उक्त निर्णयले नेपाल–गाभी साझेदारीलाई थप सुदृढ बनाउनुका साथै राष्ट्रिय खोप कार्यक्रमको दिगोपन र आगामी स्वास्थ्य कार्यक्रम सञ्चालनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।   

ह्याम्स अस्पतालले सेयरधनीलाई नगद लाभांश दिने, आईपीओ जारी गर्ने

काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने निर्णय गरेको हो ।  लाभांश प्रस्ताव पारित गर्न ह्याम्स अस्पतालले साउन २४ गते दिउँसो २ बजे काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले आईपीओ निष्कासनबाट प्राप्त हुने पुँजीको उपयोग सम्बन्धी प्रस्तावमा छलफल हुने जनाएको छ ।  साथै सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा आईपीओ निष्कासनका क्रममा नियामक निकायबाट आवश्यक निर्देशन आएमा सोअनुसार संशोधन, परिमार्जन वा सच्याउने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्तावसमेत सभामा प्रस्तुत गरिनेछ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गरिनेछ । साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र गत आर्थिक वर्षमा सञ्चालक समितिले गरेका निर्णय अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ ।