सम्पत्ति शुद्धीकरण निवारणमा सिटिजन लाइफको जोड, अभिमुखीकरण कार्यक्रम आयोजना

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका आधारभूत सेयरधनी, सञ्चालक समिति तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको सहभागितामा उक्त कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने र उपनिर्देशक पदम प्रसाद सोडारीले सहजीकरण गर्दै वित्तीय अपराध नियन्त्रण, सम्पत्ति शुद्धीकरण तथा आतंककारी गतिविधिमा हुने वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड, नियामकीय अपेक्षा तथा बीमा क्षेत्रको भूमिकाबारे प्रस्तुतीकरण गरेका थिए । अभिमुखीकरणमा सञ्चालक समिति तथा व्यवस्थापनको भूमिका र जिम्मेवारी, सम्पत्ति शुद्धीकरण तथा आतंककारी वित्तीय लगानी निवारण नीति तथा कार्यविधिको स्वीकृति र कार्यान्वयन, जोखिममा आधारित दृष्टिकोणको अवलम्बन, संस्थागत जोखिम मूल्याङ्कन, सुशासन तथा प्रभावकारी निगरानी प्रणालीजस्ता विषयमा विस्तृत छलफल भएको कम्पनीले जनाएको छ । त्यसैगरी सीमा पार वित्तीय कारोबारको निगरानी, बीमा तथा पुनर्बीमा कोषको प्रभावकारी नियन्त्रण, अन्तर्राष्ट्रिय मापदण्ड तथा बीमा मूल सिद्धान्त–२२ को पालना, लाभग्राही स्वामित्व सम्बन्धी पारदर्शिता, स्वार्थको द्वन्द्व न्यूनीकरण, शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन प्रणालीको प्रभावकारी कार्यान्वयनलगायत विषयहरूलाई समेत समेटिएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले वित्तीय प्रणालीको पारदर्शिता, सुशासन तथा नियामकीय अनुपालनलाई संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए । समापन सत्रमा अध्यक्ष प्रदीपजंग पाण्डेले सम्पत्ति शुद्धीकरण तथा आतंककारी वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय प्रतिबद्धता सफल बनाउन बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै कम्पनीले नियामकीय व्यवस्थाहरूको पूर्ण पालना गर्दै वित्तीय प्रणालीलाई थप पारदर्शी, उत्तरदायी र विश्वसनीय बनाउन योगदान दिने प्रतिबद्धता व्यक्त गरे । कम्पनीले भविष्यमा पनि यस्ता अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार सेयर नेप्सेमा सूचीकृत, आजबाट कारोबार सुरु

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडद्वारा जारी गरिएको '८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर' नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता सेयर जेठ २० गते नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयरको कुल निष्कासन मूल्य ३ अर्ब रुपैयाँ रहेको छ । सूचीकृत भएको यो अग्राधिकार सेयर जेठ २० गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि उपलब्ध भएको बैंकले जनाएको छ । यससँगै माछापुच्छ्रे बैंकको पूँजी बजारमा उपस्थिति थप सुदृढ हुने विश्वास गरिएको छ ।

विश्व वातावरण दिवसमा ‘सांग्रिला साइकल र्याली’ आयोजना हुने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको आयोजनामा ‘चौथो सांग्रिला साइकल र्याली’ आगामी जेठ २३ गते शनिबार आयोजना हुने भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर हरेक वर्ष आयोजना हुँदै आएको साइकल र्याली यस वर्ष पनि सोही अवसरलाई लक्षित गर्दै सञ्चालन गर्न लागिएको बैंकले जनाएको छ । र्याली काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनबाट बिहान ७ बजे सुरु हुनेछ । र्याली दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपूल, जैन भवन हुँदै सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय बालुवाटार पुगेर पुनः एलिस रिसेप्सन गैरीधारामै समापन हुनेछ । सहभागिताका लागि इच्छुक व्यक्तिहरूले मोबाइल नम्बर ९८६३५८९००१ मा ‘रजिस्टेसन’ लेखी पठाएर वा अनलाइनमार्फत नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । साथै, क्यूआर कोड स्क्यान गरेर पनि दर्ता गर्न सकिने जनाइएको छ । र्यालीमा सहभागीमध्ये एक जनालाई गोलाप्रथाबाट आकर्षक साइकल प्रदान गरिनेछ भने अन्य सहभागीलाई पनि विभिन्न उपहारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । वातावरण संरक्षण तथा साइकल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले यसअघि पनि तीन संस्करणका साइकल र्याली सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यस वर्ष पनि वातावरणप्रति सचेत नागरिक तथा साइकलमैत्री शहरको पक्षमा रहेका सबैको सहभागिताको अपेक्षा गरिएको छ । हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउँदै आगामी दिनमा सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।