हिमालयन क्यापिटलको १५ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको आठौँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सभा काठमाडौं महानगरपालिका–२८, कमलादीस्थित क्यापिटलको केन्द्रीय कार्यालय (आइटी प्लाजा) मा आयोजना गरिएको हो । सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वार्षिक वित्तीय विवरणमाथि छलफल गरी अनुमोदन गरेको छ । साथै, सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिएको छ । कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का उपलब्धिहरूको समीक्षा गर्दै संस्थाका अध्यक्ष सुनील प्रसाद गोर्खालीले संस्थाका भावी योजना प्रस्तुत गर्दै सेयरधनी, ग्राहक तथा सरोकारवालाहरूको निरन्तर साथ र सहयोगप्रति आभार व्यक्त ग रे। त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले प्रविधिको उच्चतम प्रयोगमार्फत आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत निक्षेप सदस्य, सेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री व्यवस्थापन, लगानी व्यवस्थापन, कोष व्यवस्थापक, डिपोजिटरी तथा संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
इसेवा र नेपाल लाइफको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवाले बीमा प्रदायक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग सहकार्य गर्दै ग्राहकका लागि ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ जीवन बीमा योजना सार्वजनिक गरेको छ । परिवारमा अप्रत्याशित जोखिम, मृत्यु वा अन्य अनपेक्षित घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक भार कम गर्ने उद्देश्यले यो योजना ल्याइएको इसेवाले जनाएको छ । योजनाबारे जानकारी दिँदै इसेवाका ओमकार पाण्डेले संकटको समयमा परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सुलभ प्रिमियममा उपलब्ध यस योजनाले जीवन बीमालाई सबैका लागि पहुँचयोग्य बनाउने बताए । पूर्ण रूपमा डिजिटल यस जीवन बीमा योजनाको खरिद प्रक्रिया सहज, छरितो र झन्झटमुक्त रहेको छ। वार्षिक प्रिमियम ७२५ रुपैयाँबाट सुरु हुने यस योजनाअन्तर्गत बीमितले ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन् । यो १ वर्षे टर्म लाइफ इन्स्योरेन्स योजना हो, जसमा १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकहरू सहभागी हुन सक्नेछन् । ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ अन्तर्गत बीमितको स्वाभाविक मृत्यु तथा दुर्घटनामा मृत्यु दुवै अवस्थामा बीमा सुरक्षा प्रदान गरिनेछ । अकस्मात् हुने जोखिमका बेला परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्दै दैनिक जीवनयापन, ऋणको भार तथा भविष्यका आवश्यकतामा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ । ग्राहकहरूले यो बीमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सक्नेछन् भने पोलिसी तुरुन्तै एसएमएस तथा इमेलमार्फत प्राप्त हुने जनाएको छ ।
इसेवाको ३० करोड ६० लाख नगद लाभांश पारित, आईपीओ जारी गर्ने तयारी
काठमाडौं । इसेवा लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मङ्‌सिर २४ गते काठमाडौं स्थित मेरियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीको अध्यक्षतामा कम्पनीका शत प्रतिशत सेयरधनीहरूको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले आ.व. २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गरेको छ । त्यसैगरी, आ.व. २०८१/८२ को लेखापरीक्षक प्रतिवेदनका आधारमा कम्पनीको खुद नाफा तथा जगेडा कोषबाट हालको चुक्ता पूँजीको ८०.५३ प्रतिशतले हुन आउने ३० करोड ६० लाख रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । साथै, चुक्ता पूँजीको ३१.५८ प्रतिशत बराबरको १२ करोड रुपैयाँको बोनस सेयर जारी गर्ने निर्णयसमेत सभाले स्वीकृत गरेको छ । साधारण सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरू सुबास शर्मा र सौगात केसीलाई पुनः निर्वाचित गरेको छ । साथै, आ.व. २०८२/८३ का लागि पीकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनीलाई लेखापरीक्षकका रूपमा नियुक्त गर्ने निर्णय पनि पारित गरिएको छ । वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीले कम्पनीको वित्तीय अवस्था तथा अन्य सूचकहरू उत्साहजनक रहेको उल्लेख गर्दै आगामी दिनमा थप सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले नियामकीय अनुपालनप्रति कम्पनीले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताउँदै प्रयोगकर्ता, आधिकारिक प्रतिनिधि, मर्चेन्ट, नियामक निकाय तथा कर्मचारीहरूप्रति धन्यवाद व्यक्त गरे । त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले लगानीकर्ताहरूको विश्वास, सञ्चालक समितिको मार्गदर्शन तथा व्यवस्थापन टोलीको निरन्तर मिहिनेतका कारण कम्पनीलाई सुदृढ अवस्थामा पुर्याउन सफल भएको बताए । उनले दीर्घकालीन दृष्टि र रणनीतिक रोडम्याप तयार गर्दै जोखिम न्यूनीकरणमा कम्पनी केन्द्रित रहेको जानकारी पनि दिए । साधारण सभामा कम्पनीका सेयरधनीहरूले कम्पनीको उत्कृष्ट वित्तीय अवस्था, बढ्दो ब्राण्ड मूल्य र देश तथा विदेशमा इसेवाको सेवा तथा प्रभाव विस्तारबारे खुसी व्यक्त गरेका थिए । त्यस्तै, व्यवसाय विस्तारसँगै जोखिम र नियमनसम्बन्धी चुनौतीहरू बढ्दै गएकाले नवप्रवर्तन, लगानी, नाफा वितरण योजना, जोखिम न्यूनीकरण तथा दिगोपनमा ध्यान दिन सुझाव दिए । त्यस्तै, साधारण सभामा कम्पनीले निकट भविष्यमा आईपीओ जारी गरी सर्वसाधारण जनतासम्म पुग्ने योजना रहेको जानकारी दिइएको थियो ।