बजेटलाई लगानीकर्ताको इग्नोर, नेप्से २७ अंकले घट्दा साढे ५ अर्बको कारोबार
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएपछि खुलेको पहिलो कारोबार दिन सेयर बजार घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.७२ अंकले घटेर २ हजार ७५५.०५ विन्दुमा झरेको छ । बजेटमार्फत सेयर कारोबारबाट हुने पुँजीगत लाभकर बढाइएपछि त्यसको असर बजारमा परेको लगानीकर्ताहरू बताउँछन् । बजेटमा एक वर्षभन्दा कम अवधिको सेयर किनबेचबाट प्राप्त नाफामा लाग्ने कर ७.५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याइएको छ । त्यस्तै, एक वर्षभन्दा बढी अवधि सेयर होल्ड गरेर नाफा कमाउने लगानीकर्ताले तिर्नुपर्ने कर ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत कायम गरिएको छ । यद्यपि केही लगानीकर्ताहरूले भने बजार घट्नुको प्रमुख कारण कर वृद्धि मात्र नभएको बताउँछन् । ‘बजार घट्नुको कुनै ठोस कारण छैन । क्यापिटल गेन ट्याक्स बढे पनि त्यसले ठूलो असर पार्नुपर्ने अवस्था होइन । पुँजीगत लाभकरलाई अन्तिम कर मानिएको छ, जुन आफैंमा सकारात्मक विषय हो,’ एक लगानीकर्ताले भने । ‘कर सामान्य बढ्दैमा बजार घट्नु हुँदैन । सम्पत्ति शुद्धीकरण र सम्पत्ति छानबिनसम्बन्धी विषयले लगानीकर्ता केही सशंकित भएका हुन् । बजेटबाट तर्सिनुपर्ने अवस्था छैन,’ उनले भने । नेप्सेका अनुसार सोमबार ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ । यस दिन ३४९ कम्पनीका १ करोड कित्ता सेयर किनबेच हुँदा कुल ५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार आँखुखोला जलविद्युत कम्पनीको भएको छ । उक्त कम्पनीको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपछि नेपाल रिइन्स्योरेन्स कम्पनीको ३७ करोड, हिमालयन रिइन्स्योरेन्सको २५ करोड र रिडी पावर कम्पनीको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेपाल रिइन्स्योरेन्स कम्पनी र कालिन्चोक हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। दुवै कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले वृद्धि भएको छ । १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ। नन–लाइफ इन्स्योरेन्स उपसमूह १.३७ प्रतिशत र अन्य उपसमूह ३.३६ प्रतिशतले बढेका छन् ।
हिमालयन बैंक र यूनियनपेको सहकार्यमा नेपालमै पहिलो पटक आरएमबी कार्ड सेवा सुरु
काठमाडौं । हिमालयन बैंक लिमिटेड र यूनियनपे इन्टरनेसनलबीचको सहकार्यमा नेपालमै पहिलो पटक आरएमबी कार्ड सेवा सञ्चालनमा आएको छ । बैंकका अनुसार चीन भ्रमण गर्ने नेपाली ग्राहकहरुलाई लक्षित गर्दै यो सेवा सुरु गरिएको हो, जसले गर्दा चीनमा हुने कारोबारलाई अझ सहज र सुलभ बनाउने अपेक्षा गरिएको छ । उक्त कार्ड प्रयोग गरी ग्राहकहरुले चीनमा एटीएम, पीओएस, क्यूआर कोड तथा ई–कमर्स प्लेटफर्ममार्फत हुने भुक्तानी सीधै चिनियाँ मुद्रा (सीएनवाई) मा गर्न सक्नेछन् । यसले अन्य भुक्तानी माध्यमको तुलनामा बढी मितव्ययी र सर्वस्वीकार्य हुने बैंकले जनाएको छ । विद्यार्थी, व्यवसायी तथा पर्यटकहरूले नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले स्वीकृत गरेको सीमाभित्रको रकम कार्डमा लोड गरी युनियनपे नेटवर्कअन्तर्गत रहेका अलीपे प्लस, वीच्याट पे, निहाओ चाइना जस्ता क्यूआर प्रणालीमार्फत सहज भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ । नक्सालस्थित काठमाडौं मेरियट होटलमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा तथा यूनियनपे इन्टरनेसनलका उपाध्यक्ष ज्वाङ बेइ ले संयुक्त रूपमा उक्त कार्ड सेवाको शुभारम्भ गरेका थिए । बैंकले यस सेवाले चीन भ्रमण गर्ने नेपालीहरूलाई अन्तर्राष्ट्रिय भुक्तानीमा सहजता ल्याउनुका साथै डिजिटल कारोबार विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
फोनपे नेटवर्कमा अब युनियनपे इन्टरनेशनल लाइभ
काठमाडौं । फोनपेले क्यूआर स्किममा युनियनपे इन्टरनेशनललाई एकीकृत गरेको घोषणा गरेको छ । यससँगै अब विश्वभरका युनियनपे प्रयोगकर्ताले नेपालमा सिधै क्यूआरमार्फत भुक्तानी गर्न सक्ने भएका छन् । फोनपेका अनुसार चीनको मुख्यभूमि, हङकङ, मकाउ, सिंगापुर लगायतका बजारका प्रयोगकर्ताले नेपालभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टमा सहज रूपमा भुक्तानी गर्न सक्नेछन् । यससम्बन्धी घोषणा काठमाडौंमा आयोजित एक कार्यक्रममा गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंक, युनियनपे इन्टरनेशनल, नेपाल पर्यटन बोर्ड, बैंक तथा वित्तीय संस्था र व्यवसायिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो । फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले यसलाई महत्वपूर्ण उपलब्धि भन्दै नेपाललाई विश्वस्तरीय डिजिटल भुक्तानी गन्तव्य बनाउने दिशामा ठूलो कदम भएको बताए । ‘यो केवल सहकार्य मात्र होइन, नेपालको डिजिटल कनेक्टिभिटी विश्वस्तरमा विस्तार भएको सन्देश पनि हो,’ उनले भने । यस्तै, युनियनपे इन्टरनेशनलका उपाध्यक्षले नेपाललाई आफ्नो नेटवर्कका लागि महत्वपूर्ण बजारको रूपमा व्याख्या गरेका छन् । ‘फोनपेसँगको सहकार्यले अब हाम्रा प्रयोगकर्ताले नेपालमा आफ्नै देशजस्तै सहज डिजिटल भुक्तानी अनुभव गर्न सक्नेछन्,’ उनले भने । सन् २०२५ मा नेपालले ११.५ लाखभन्दा बढी पर्यटक भित्र्याएको थियो । तीमध्ये युनियनपे प्रयोग हुने बजारबाट आउने पर्यटकको हिस्सा उल्लेख्य छ । यसअघि डिजिटल भुक्तानीको सीमित पहुँचका कारण ती पर्यटकहरू नगदमा निर्भर रहनुपर्थ्यो । अब भने यो समस्या समाधान हुने अपेक्षा गरिएको छ । फोनपे क्यूआर प्रयोग गर्ने व्यवसायीहरूले अन्तर्राष्ट्रिय ग्राहकबाट सिधै भुक्तानी लिन सक्ने भएकाले आम्दानी बढ्ने र कारोबार सहज हुने विश्वास गरिएको छ । फोनपेले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय नेटवर्कसँग सहकार्य गर्दै १३ भन्दा बढी देशका पेमेन्ट प्रणालीसँग आफ्नो पहुँच विस्तार गरिसकेको जनाएको छ ।