चार तारे हेरिटेज होटल २ बैंकको लिलामीमा

काठमाडौं । पोखराको लेकसाइडमा सञ्चालित चारतारे बुटिक होटल ‘हेरिटेज होटल सुइट्स एन्ड स्पा’ बैंकको कर्जा चुक्ता नभएपछि लिलामी प्रक्रियामा परेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र हिमालयन बैंकको सहवित्तीयकरणअन्तर्गत लिएको कर्जा चुक्ता नभएपछि दुवै बैंकले होटलको धितोमा रहेको घरजग्गा लिलाम बिक्री गर्न लागेका हुन् ।

बैंकले होटल सञ्चालकलाई कर्जाको सम्पूर्ण साँवा, ब्याज, हर्जाना तथा अन्य दस्तुर चुक्ता गर्न सात दिनको समय दिएको छ । तोकिएको अवधिभित्र कर्जा चुक्ता नभए धितोमा राखिएको सम्पत्ति गोप्य शिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गर्ने बैंकले जनाएको छ ।

हेरिटेज होटल एन्ड स्वीट्स प्रालिको नाममा कास्कीको पोखरा महानगरपालिका–६ मा दर्ता रहेको कित्ता नम्बर १२६ को १ हजार १०८.८५ वर्गमिटर र कित्ता नम्बर २८ को १ हजार १०४.४० वर्गमिटर क्षेत्रफलको घरजग्गा बैंकमा धितो राखिएको छ ।

लिलामीका लागि भदौ २४ गतेसम्म बोलपत्र पेश गर्न सकिने र प्राप्त बोलपत्र भदौ २६ गते दिउँसो २ बजे हिमालयन बैंकको न्युरोड शाखा, काठमाडौंमा खोलिने जनाएको छ ।

होटल सञ्चालक रविचन्द्र हमाल ठकुरी र संगीता हमाल ठकुरी हुन् ।

बैंकको करिब १ अर्ब रुपैयाँ कर्जासहित होटलमा २ अर्ब रुपैयाँ बढी लगानी भइसकेको छ । तर, कोभिड–१९ महामारीका कारण पर्यटन व्यवसाय प्रभावित भएपछि होटलको आम्दानीमा असर परेको र कर्जा तथा ब्याजको भार बढ्दै गएपछि आर्थिक समस्या देखिएको हो ।

पोखराको लेकसाइडमा पाँच रोपनी क्षेत्रफलमा फैलिएको हेरिटेज होटललाई सञ्चालक पक्षले नेपाली मौलिक कला, वास्तुकला र आतिथ्यको संयोजन भएको बुटिक होटलका रूपमा अघि सारेको छ ।

होटलमा भक्तपुरको इँटा तथा बुङमती र पाटनका करिब १५० जना कालिगढको सीप प्रयोग गरिएको छ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका केही पुराना घरका काष्ठकला, झ्याल तथा ढोकासमेत संकलन गरेर होटलमा प्रयोग गरिएको सञ्चालक पक्षले जनाएको छ ।

नेपालका मौलिक कला, संस्कृति, परम्परा तथा वास्तुकलालाई पर्यटनमार्फत संरक्षण र जीवन्त राख्ने उद्देश्यले होटल निर्माण गरिएको बताइएको छ । होटल परिसरमा पुराना कलाकृति, हस्तकला तथा वास्तुकलाका सामग्रीलाई आधुनिक आतिथ्य सेवासँग जोडेर प्रस्तुत गरिएको छ ।

होटलमा अन्नपूर्ण, लाङटाङ र एभरेस्ट नामका तीन भवन छन् । कुल ६० कोठा रहेको होटलमा १८ वटा सुइट तथा सेमी–सुइट र ४२ वटा स्ट्यान्डर्ड रुम छन् । हेल्थ क्लब, स्टिम, साउना, ज्याकुजी, स्पा, स्विमिङ पुल, रेस्टुरेन्ट तथा बारलगायतका सुविधा पनि होटलमा छन् ।

होटलको निर्माण २०६७ सालमा सुरु भएको थियो । करिब आठ वर्ष लगाएर निर्माण सम्पन्न भएको होटल २०७५ असोजदेखि आंशिक रूपमा सञ्चालनमा आएको थियो । पूर्णरूपमा सञ्चालनमा आएर व्यवसायले गति लिन नपाउँदै कोरोना महामारीका कारण होटलको व्यवसाय प्रभावित भएको थियो ।

फेवातालबाट करिब १२३ मिटरको दूरीमा रहेको होटलले नेपाली आतिथ्य संस्कार ‘अतिथि देवो भवः’लाई आफ्नो सेवा दर्शनका रूपमा अघि सारेको जनाएको छ । पोखराको प्राकृतिक सौन्दर्य, हिमाल, ताल तथा साहसिक पर्यटनसँग होटलको पहिचान जोड्दै नेपाली कला र संस्कृतिको अनुभव दिने उद्देश्य राखिएको होटलको भनाइ छ ।

Share News