काठमाडौं । ग्रान्ड सेन्ट्रल होटल लिमिटेडले सञ्चालनमा आएको पहिलो आर्थिक वर्ष २०८२/८३ मा ४ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सुनसरीको इटहरीमा ८० कोठाको पाँचतारे होटल सञ्चालन गरिरहेको छ ।
कम्पनीले ‘रमाडा बाई विन्डह्याम इटहरी पशुपति मार्ग’ नाममा होटल सञ्चालन गरिरहेको हो । होटल सञ्चालनका लागि कम्पनीले विन्डह्याम होटल एसिया प्यासिफिक कम्पनी लिमिटेडसँग ब्रान्ड सञ्चालनसम्बन्धी सम्झौता गरेको छ । सम्झौताअनुसार होटल अन्तर्राष्ट्रिय ब्रान्ड ‘रमाडा बाई विन्डह्याम’ अन्तर्गत सञ्चालनमा रहेको छ ।
कम्पनीले सन् २०२६ फेब्रुअरीदेखि होटलको व्यावसायिक सञ्चालन सुरु गरेको हो । कम्पनीमा देशबन्धु बस्नेतको ९९ प्रतिशतभन्दा बढी स्वामित्व रहेको छ । विन्डह्याम विश्वका ठूला होटल फ्रेन्चाइज समूहहरूमध्ये एक हो । समूहअन्तर्गत ९० भन्दा बढी देशमा ९ हजारभन्दा बढी होटल रहेको कम्पनीले जनाएको छ ।
ग्रान्ड सेन्ट्रलको प्रमुख सकारात्मक पक्ष यसको रणनीतिक स्थानलाई मानिएको छ । भारत-नेपाल सीमाबाट करिब ३० किलोमिटरको दूरीमा रहेकाले भारतीय पर्यटकलाई लक्षित गरी व्यवसाय विस्तार गर्न सक्ने सम्भावना रहेको छ । विशेषगरी मनोरञ्जन, घुमफिर तथा विवाहसम्बन्धी कार्यक्रमका लागि भारतीय ग्राहक आकर्षित गर्न सकिने अपेक्षा गरिएको छ ।
त्यस्तै, होटल आसपास विभिन्न कर्पोरेट तथा व्यावसायिक प्रतिष्ठान रहेकाले सम्मेलन, बैठक, गोष्ठी तथा अन्य कार्यक्रमबाट समेत व्यवसायिक अवसर सिर्जना गर्न सक्ने देखिएको छ । भारतीय पर्यटक र स्थानीय कर्पोरेट क्षेत्रबाट आउने मागलाई लक्षित गर्न सकेमा होटलले आम्दानीका स्रोत विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ ।
तर, होटल सञ्चालनमा आएको करिब ८ महिना मात्रै भएकाले यसको सञ्चालन तथा वित्तीय प्रदर्शन अझै प्रारम्भिक चरणमा रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा होटलको कोठा उपयोग दर १४ प्रतिशत मात्रै रहेको थियो । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा समेत उपयोग दर १३ प्रतिशतमा सीमित रहेको छ ।
न्यून उपयोग दरका कारण पर्याप्त आम्दानी तथा आन्तरिक नगद प्रवाह सिर्जना गर्न कम्पनीलाई चुनौती देखिएको छ । आगामी दिनमा ऋण तथा सञ्चालन खर्च धान्न कोठा उपयोग दरसँगै औसत कोठा दरमा सुधार ल्याउनुपर्ने देखिएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ३७ करोड रुपैयाँ ऋण लिएको छ ।
डेढ अर्बभन्दा बढीमा अर्को होटल थप्दै बस्नेत
ग्रान्ड सेन्ट्रल होटल सञ्चालनमा ल्याएको केही समयमै देशबन्धु बस्नेतको लगानीको एबी हस्पिटालिटी प्रालिले इटहरीमै १ अर्ब ६६ करोड ४० लाख रुपैयाँ लागतमा विलासी रिसोर्ट तथा ठूलो क्षमताको सम्मेलन केन्द्र निर्माण गरिरहेको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका-१६ मा निर्माण हुने परियोजनामा ३० वटा विलासी कोठा तथा भिल्ला, ३ हजार जनासम्म अट्ने सम्मेलन तथा भोज हल, रेस्टुरेन्ट तथा बार, स्पा, पौडी पोखरी र बाहिरी कार्यक्रमका लागि खुला क्षेत्र रहनेछ ।
पुरानो दरबारको शैली झल्किने विलासी संरचनामा निर्माण गर्न लागिएको परियोजनाले उच्च आय भएका नेपाली तथा भारतीय ग्राहक, गन्तव्य विवाह, कर्पोरेट तथा सरकारी कार्यक्रम, सम्मेलन, प्रदर्शनी तथा ठूला जमघटलाई लक्षित गरेको छ । कम्पनीले परियोजना सन् २०२८ को अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
एबी हस्पिटालिटी प्रालि सन् २०२२ नोभेम्बर १० मा स्थापना भएको हो । कम्पनीमा बस्नेतको ७४.४७ प्रतिशत र एबी इन्भेस्टमेन्ट होल्डिङ प्रालिको २५.५३ प्रतिशत स्वामित्व रहेको छ । सन् २०२६ सेप्टेम्बर मध्यसम्म कम्पनीको चुक्ता पुँजी १५ करोड ७० लाख रुपैयाँ रहेको छ ।
परियोजना पूर्व-पश्चिम राजमार्ग र कोशी राजमार्गको प्रमुख जंक्शनमा अवस्थित छ । विराटनगर, धरान तथा नेपाल-भारत सीमाका प्रमुख नाकासँगै विराटनगर विमानस्थलबाट समेत परियोजनामा सहज पहुँच रहनेछ । भारततर्फ बागडोगरा र पूर्णियाजस्ता विमानस्थलसँगको पहुँचलाई समेत लक्षित ग्राहक आकर्षित गर्ने आधारका रूपमा लिइएको छ ।
तर, १ अर्ब ६६ करोड ४० लाख रुपैयाँ लागतको परियोजनाको निर्माण प्रगति भने प्रारम्भिक चरणमै छ । सन् २०२६ सेप्टेम्बर मध्यसम्म परियोजनाको वित्तीय प्रगति करिब १६ प्रतिशत मात्रै भएको छ । कुल लागतमध्ये हालसम्म २६ करोड १० लाख रुपैयाँ खर्च भएको छ ।
परियोजनाका लागि आवश्यक जग्गा तथा जग्गा विकासको काम करिब ९८ प्रतिशत सम्पन्न भइसकेको भए पनि मुख्य भौतिक निर्माणको काम अझै सुरु भएको छैन । हाल परियोजनास्थलमा सीमाना पर्खाल निर्माण भइरहेको कम्पनीले जनाएको छ ।
परियोजनामा ४२ करोड २० लाख रुपैयाँ स्वपुँजी र १ अर्ब २४ करोड १९ लाख रुपैयाँ ऋण लगानी हुने योजना छ । प्रवद्र्धकले हालसम्म करिब १५ करोड ७० लाख रुपैयाँ लगानी गरिसकेका छन् । परियोजनाको ऋण व्यवस्थापन एभरेष्ट बैंकको नेतृत्वमा हुनेछ भने मुक्तिनाथ विकास बैंकको समेत सहकार्य रहनेछ ।
कुल परियोजना लागतको करिब ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीबाट वित्तीय व्यवस्थापन गर्ने योजना रहेकाले परियोजना सम्पन्न गर्न निर्माण प्रगति, थप स्वपुँजी परिचालन र ऋणको प्रभावकारी व्यवस्थापन महत्वपूर्ण हुने देखिएको छ ।