काठमाडौं । अल्टिच्युड एयर प्रालिले गत आर्थिक वर्ष २०८२/८३ मा ५२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७.२४ प्रतिशत अर्थात् ४ करोड १० लाख रुपैयाँ कम हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ५६ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
गत वर्ष पर्यटन क्षेत्रमा आएको अवरोधका कारण कम्पनीको व्यवसाय प्रभावित भएको हो । गत वर्ष भदौमा भएको आन्दोलनका कारण नेपालमा पर्यटन गतिविधिमा असर परेको थियो । त्यसको प्रत्यक्ष प्रभाव कम्पनीका लक्षित ग्राहक तथा हेलिकोप्टर सेवाको मागमा परेको जनाइएको छ ।
अल्टिच्युड एयरले दुईवटा एच१२५ एयरबस हेलिकोप्टरमार्फत विभिन्न प्रकारका हवाई सेवा प्रदान गर्दै आएको छ । सन् २०१५ अगस्टमा स्थापना भएको कम्पनीले सन् २०१६ अक्टोबरदेखि व्यावसायिक सञ्चालन सुरु गरेको हो । कम्पनीले चार्टर उडान, पर्वतीय उडान, उद्धार उडान, आकस्मिक स्वास्थ्य उद्धार तथा तीर्थयात्रा उडानलगायत सेवा प्रदान गर्दै आएको छ ।
त्यस्तै, कम्पनीले चलचित्र तथा भिडियो छायांकन, पछ्याउने उडान तथा स्लिङ उडानजस्ता विशेष हवाई सेवा पनि सञ्चालन गर्दै आएको छ । कम्पनीको दर्ता कार्यालय काठमाडौंको सिनामंगलमा रहेको छ भने इन्जिनियरिङ तथा सञ्चालनसम्बन्धी कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेलिप्याडमा रहेको छ ।
तेस्रो हेलिकोप्टर थप्दै
कम्पनीले आफ्नो सञ्चालन क्षमता विस्तार गर्न तेस्रो हेलिकोप्टर खरिद प्रक्रिया अघि बढाएको छ । प्रस्तावित हेलिकोप्टर खरिदमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी गर्ने योजना रहेको छ । खरिदका लागि आवश्यक ऋणको व्यवस्था भइसकेको कम्पनीले जनाएको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ८६ करोड ८० लाख रुपैयाँ कर्जा लिएको छ । यसमध्ये ८२ करोड ७६ लाख रुपैयाँ दीर्घकालीन र करिब ४ करोड रुपैयाँ अल्पकालीन कर्जा रहेको छ । नयाँ हेलिकोप्टर सन् २०२७ देखि सञ्चालनमा ल्याउने कम्पनीको योजना छ ।
तेस्रो हेलिकोप्टर थपिएपछि सञ्चालनको आकार बढ्ने भएकाले त्यसलाई समयमै सञ्चालनमा ल्याउने र व्यवसायलाई स्थिर बनाउने चुनौती कम्पनीसामु रहनेछ । नयाँ हेलिकोप्टरबाट अपेक्षित आम्दानी तथा नगद प्रवाह हासिल गर्न नसके कम्पनीको वित्तीय जोखिम बढ्न सक्ने देखिएको छ ।
चार्टर उडानमा बढी निर्भर
अल्टिच्युड एयरले विभिन्न प्रकारका हेलिकोप्टर सेवा सञ्चालन गरे पनि कम्पनीको अधिकांश आम्दानी चार्टर उडानबाट हुने गरेको छ । कम्पनीका प्रमुख गन्तव्यमा सगरमाथा आधार शिविर, लुक्ला, मुक्तिनाथ र पोखरा रहेका छन् । यी गन्तव्यमा हुने पर्यटकीय तथा चार्टर उडान कम्पनीको व्यवसायका लागि महत्वपूर्ण आम्दानीको स्रोत हुन् । कम्पनीको आम्दानी पनि पर्यटकीय मौसममा बढी हुने गरेको छ । सेप्टेम्बरदेखि नोभेम्बरसम्म तथा फेब्रुअरीदेखि मेसम्म पर्यटकको आवागमन बढ्ने भएकाले उक्त अवधिमा उडान तथा आम्दानी बढ्ने गरेको छ ।
यसले कम्पनीको आम्दानीलाई पर्यटन क्षेत्रको मौसमी अवस्था र पर्यटक आगमनसँग प्रत्यक्ष जोडेको छ । पर्यटक आवागमनमा अवरोध आएमा कम्पनीको आम्दानी तथा नगद प्रवाहमा समेत असर पर्न सक्ने देखिन्छ ।
अल्टिच्युड एयरको समग्र नेतृत्व कार्यकारी अध्यक्ष निमा नुरु शेर्पाले गर्दै आएका छन् । शेर्पासँग पर्यटन तथा साहसिक पर्यटन व्यवसायमा तीन दशकभन्दा बढीको अनुभव रहेको छ । उनले नेपाल पर्वतारोहण संघ तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् ।
कम्पनीले हेलिकोप्टर सञ्चालनलाई व्यवस्थित बनाउन सफ्रान हेलिकोप्टर इन्जिन्ससँग ‘सपोर्ट बाई द आवर’ सम्झौता गरेको छ । सम्झौताले हेलिकोप्टर इन्जिनको सञ्चालन सहयोग, मर्मत तथा पुनःस्थापना सेवासमेत समेट्ने जनाइएको छ । यसबाट नियमित तथा आकस्मिक मर्मतका कारण हुने सञ्चालन अवरोध र सेवा बन्द रहने समय घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
भूराजनीतिक द्वन्द्वका कारण हवाई इन्धनको मूल्य उच्च रहँदा कम्पनीको सञ्चालन नाफामा दबाब परेको छ । फलस्वरूप ब्याज, कर, मूल्यह्रास तथा परिशोधनअघिको नाफा मार्जिन अघिल्लो आर्थिक वर्षको ३२ प्रतिशतबाट घटेर गत आर्थिक वर्ष २२ प्रतिशतमा सीमित भएको छ ।
तर, दुर्घटनामा परेको हेलिकोप्टरलगायत सम्पत्ति बिक्रीबाट कम्पनीले एकपटकको ठूलो आम्दानी गरेको छ । सन् २०२५ अक्टोबर २९ मा दुर्घटनामा परेको ९एन–एएमएस हेलिकोप्टर तथा ढुवानीका क्रममा क्षति भएको अर्को हेलिकोप्टर इन्जिनसँग सम्बन्धित सम्पत्तिबाट कम्पनीले २५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको हो ।
कम्पनीले दुर्घटनासँग सम्बन्धित बीमा रकमसमेत प्राप्त गरेको छ । सम्पत्ति बिक्रीबाट भएको उक्त गैरआवर्ती आम्दानीका कारण कम्पनीको खुद नाफा मार्जिन अघिल्लो आर्थिक वर्षको १२ प्रतिशतबाट बढेर गत आर्थिक वर्ष ३३ प्रतिशत पुगेको छ ।
त्यस्तै, कम्पनीको कुल नगद आर्जन क्षमता पनि बढेको छ । अघिल्लो आर्थिक वर्ष १२ करोड ८० लाख रुपैयाँ रहेको कुल नगद आर्जन क्षमता गत आर्थिक वर्ष २२ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
यद्यपि, नाफा मार्जिन र नगद आर्जन क्षमतामा देखिएको सुधार कम्पनीको मूल सञ्चालन व्यवसायमा आएको सुधारका कारण भने होइन । दुर्घटनामा परेको हेलिकोप्टर तथा अन्य सम्पत्तिबाट भएको २५ करोड २० लाख रुपैयाँको गैरआवर्ती आम्दानीले नाफा र नगद प्रवाहमा ठूलो योगदान गरेकाले यसलाई कम्पनीको नियमित सञ्चालन प्रदर्शनको सूचकका रूपमा लिन नसकिने देखिन्छ ।