काठमाडौं । नेपालको सेयर बजारमा लामो समयदेखि लगानीकर्ता र बजार सरोकारवालाले उठाउँदै आएको विषय हो- मार्जिन ट्रेडिङ । आफ्नो स्वपुँजीसँगै ब्रोकरमार्फत कर्जा लिएर सेयर खरिद गर्न पाउने यो व्यवस्थाले बजारमा कारोबार बढाउने, लगानीकर्ताको क्रयशक्ति विस्तार गर्ने र बजारलाई थप चलायमान बनाउने अपेक्षा गरिएको थियो ।
तर, मार्जिन ट्रेडिङसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको केही समय बितिसक्दा पनि यसको प्रभाव बजारमा अपेक्षाअनुसार देखिएको छैन । बरु ब्रोकर कम्पनीहरूले सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाबाट ठूलो रकम कर्जा लिएर स्रोत व्यवस्थापन गरिसकेका छन् । तथ्यांकअनुसार १९ वटा धितोपत्र दलाल कम्पनीले मार्जिन कारोबारका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २५ अर्ब ५५ करोड रुपैयाँ बराबरको कर्जा लिएका छन् ।
यति ठूलो रकमको स्रोत व्यवस्थापन भए पनि बजारमा मार्जिन कारोबारको गतिविधि भने सुस्त छ । आखिर बजारमा लामो समयदेखि माग हुँदै आएको मार्जिन ट्रेडिङ किन प्रभावकारी हुन सकेन ? लगानीकर्ता र ब्रोकर व्यवसायीका अनुभव हेर्दा यसको कारण ब्याजदरदेखि बजारको कमजोर मनोविज्ञान र मार्जिन कारोबारका लागि योग्य सेयरको सीमिततासम्म देखिन्छ ।
लगानीकर्ता तारा फुलेलका अनुसार मार्जिन ट्रेडिङ सुरु भएपछि बजारमा सुधार आउने र लगानीकर्ताले आफ्नो क्षमताअनुसार ठूलो कारोबार गर्न सक्ने अपेक्षा गरिएको थियो । तर, व्यवहारमा त्यो अपेक्षाअनुसार परिणाम आउन सकेन । उनका अनुसार कतिपय ब्रोकरले मार्जिन कर्जामा ८ देखि ९ प्रतिशतसम्म ब्याज लिइरहेका छन् ।
बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो कर्जा लिँदा आधार दरमा निश्चित प्रिमियम थपेर कर्जा पाइने अवस्थामा ब्रोकरमार्फत लिइने मार्जिन कर्जाको ब्याजदर तुलनात्मक रूपमा महँगो हुँदा लगानीकर्ता आकर्षित हुन नसकेको उनको भनाइ छ । त्यसमाथि प्रतिबद्धता रकमको समेत पूर्ण ब्याज तिर्नुपर्ने अवस्था रहेको गुनासो लगानीकर्ताबाट आउने गरेको उनले बताए । ‘मार्जिन ट्रेडिङ आउँदा बजारलाई ठूलो सहयोग पुग्छ भन्ने अपेक्षा थियो । तर, ब्याजदर महँगो हुँदा प्रभावकारी हुन सकेन,’ लगानीकर्ता फुलेलले भने ।
उनका अनुसार बजारको समग्र अवस्था पनि लगानीकर्ताका लागि उत्साहजनक नरहेकाले मार्जिन कर्जाको माग बढ्न सकेको छैन । ब्रोकरमार्फत उपलब्ध हुने मार्जिन कर्जाको ब्याजदर बैंकको सेयर कर्जासँग प्रतिस्पर्धी हुने गरी घटाउनुपर्ने उनको सुझाव छ । ‘बैंक र ब्रोकरको ब्याजदरमा एकदेखि डेढ प्रतिशतभन्दा बढी अन्तर हुनु हुँदैन । लगानीकर्ताले ढुक्क भएर मार्जिन कारोबार गर्न सक्ने वातावरण बन्नुपर्छ,’ उनले भने ।
एक ब्रोकर व्यवसायीका अनुसार मार्जिन ट्रेडिङको माग बजारमा रहे पनि त्यसका लागि आवश्यक आधार भने अझै बलियो बन्न सकेको छैन । पछिल्ला चार-पाँच वर्षदेखि बजारमा आधारभूत रूपमा बलिया कम्पनीका सेयर अपेक्षित रूपमा चल्न नसकेको उनले बताए । बजारमा केही कारोबारमुखी अर्थात् छोटो अवधिमा मूल्य उतारचढाव हुने सेयर मात्र सक्रिय रहेकाले मार्जिन कारोबारको प्रभाव विस्तार हुन नसकेको उनको भनाइ छ ।
‘मार्जिन ट्रेडिङ मुख्यतः फण्डामेन्टल्ली बलिया कम्पनीका सेयर खरिदका लागि उपयोग हुने हो । तर, अहिले बजारमा त्यस्ता सेयर पर्याप्त रूपमा चलेका छैनन्,’ ती ब्रोकर व्यवसायीले भने ।
नेपाल स्टक एक्सचेन्जले मार्जिन कारोबारका लागि निश्चित मापदण्ड तोकेको छ । त्यसअनुसार सबै कम्पनीका सेयरमा मार्जिन कर्जा उपलब्ध हुँदैन । कारोबार भइरहेका कतिपय सेयर मार्जिन कारोबारका लागि योग्य नहुने भएकाले सक्रिय लगानीकर्ताले पनि अपेक्षित सुविधा पाउन नसकेको उनको भनाइ छ ।
मार्जिन कारोबारका लागि योग्य कम्पनीका सेयरमा भने कारोबारको परिमाण ठूलो हुने भएकाले त्यस्ता सेयरमा ठूलो रकम परिचालन गर्नसमेत कठिन हुने अवस्था रहेको उनले बताए ।
अर्का एक ब्रोकर व्यवसायीले बजारको वर्तमान मनोविज्ञान नै मार्जिन ट्रेडिङको विस्तारका लागि मुख्य चुनौती बनेको बताए । उनका अनुसार केही लगानीकर्ताले मार्जिन कारोबार सुरु गरिसके पनि बजारमा सकारात्मक समाचारले समेत अपेक्षित प्रभाव पार्न नसकेको अवस्था छ । लगानीकर्ताको मनोविज्ञान कमजोर हुँदा सानो नकारात्मक घटनाले समेत बजारमा त्रास सिर्जना गर्ने गरेको उनको भनाइ छ ।
‘बजारमा राम्रो समाचार आउँदा पनि त्यसको प्रभाव देखिन सकेको छैन । लगानीकर्ताको मनोविज्ञान कमजोर छ । यस्तो अवस्थामा कर्जा लिएर सेयर खरिद गर्न लगानीकर्ता हिच्किचाउनु स्वाभाविक हो,’ उनले भने ।
दसैँ-तिहारको समय, त्रैमासिक अन्त्य तथा अन्य मौसमी कारणले समेत बजारमा दबाब सिर्जना गरेको हुन सक्ने उनको भनाइ छ । तर, बजारमा सुधारको संकेत देखिएसँगै मार्जिन कारोबारले गति लिन सक्ने उनको विश्वास छ । उनका अनुसार अहिले धेरै लगानीकर्ता बजारमा केही सुधार आएपछि मात्रै मार्जिन कर्जा लिएर लगानी गर्ने मनस्थितिमा छन् । ‘माग छैन भन्ने होइन । बजार अलिकति सुधार भयो भने मार्जिन ट्रेडिङमा ठूलो छलाङ आउन सक्छ,’ उनले भने ।
केबिएल सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मी बजारमा फण्डामेन्टल्ली बलिया कम्पनीका सेयरको मूल्य बढ्न थालेसँगै मार्जिन ट्रेडिङ पनि बढ्ने बताउँछन् । ब्रोकर कम्पनीहरूले पूर्ण रूपमा मार्जिन ट्रेडिङ सञ्चालन गर्न थालेपछि फण्डामेन्टल्ली बलिया कम्पनीका सेयर सस्तो मूल्यमा पाउन कठिन हुने उनले बताए ।
त्यस्ता कम्पनीका सेयर संस्थागत तथा मार्जिन लगानीकर्ताले समेत खरिद गरिसकेकाले अहिलेको मूल्यमा नयाँ लगानीकर्ताले अवसर पाउन कठिन हुने उनको भनाइ छ । ‘अहिले आधारभूत रूपमा बलिया कम्पनीको पालो आउँदैछ । तर, कारोबारमुखी सेयरमा सक्रिय रहँदा कतिपय ट्रेडरको पुँजी सकिइसकेको अवस्था छ । अब मार्जिन हालेर लगानी गर्नका लागि पनि उनीहरूसँग पर्याप्त रकम छैन,’ सीईओ रेग्मीले भने ।
कलश स्टक मार्केटका प्रबन्ध निर्देशक शालिकराम अधिकारी मार्जिन ट्रेडिङ प्रभावकारी हुने चरणमै रहेको बताउँछन् । बजार लामो समयसम्म सञ्चयको अवस्थामा रहेपछि पछिल्लो समय नीतिगत वातावरण सहज बन्दै गएको उनको भनाइ छ । बजारमा सकारात्मक वातावरण निर्माण हुँदै गएमा मार्जिन कर्जाले लगानीकर्तालाई बैंकको सेयर कर्जाभन्दा सहज र छिटो विकल्प उपलब्ध गराउन सक्ने उनको भनाइ छ ।

‘यो सुरुवाती अवस्था भएकाले प्रभावकारी नदेखिएको हो । जब लगानीकर्तामा ब्रोकरको मार्जिन कर्जा सहज र छिटो हुन्छ भन्ने मानसिकता विकास हुन्छ, त्यसपछि यसको प्रभाव देखिन्छ,’ उनले भने ।
उनका अनुसार बजार माथितर्फ फर्किन थालेमा मार्जिन ट्रेडिङले पनि तीव्र गति लिन सक्छ । ब्रोकरमार्फत उपलब्ध हुने यस्तो कर्जा लगानीकर्ताका लागि उपयोगी वित्तीय साधन बन्न सक्ने उनको विश्वास छ ।
२५ अर्ब ५५ करोड कर्जा परिचालन
मार्जिन कारोबारका लागि ब्रोकर कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाबाट ठूलो रकम परिचालन गरिसकेका छन् । प्राप्त तथ्यांकअनुसार १९ वटा ब्रोकर कम्पनीले कुल २५ अर्ब ५५ करोड रुपैयाँ बराबरको कर्जा लिएका छन् ।
सबैभन्दा धेरै नासा सेक्युरिटिजले ३ अर्ब रुपैयाँ बराबरको कर्जा लिएको छ । कोहिनूर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज, आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज, दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज र अनलाइन सेक्युरिटिजले २-२ अर्ब रुपैयाँ कर्जा लिएका छन् ।
त्यस्तै, भिजन सेक्युरिटिज, डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिजले १ अर्ब ५० करोड रुपैयाँका दरले कर्जा लिएका छन् ।
जेएफ सेक्युरिटिज, नेपाल स्टक हाउस, सिक्योर्ड सेक्युरिटिज, सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज कम्पनी, क्यापिटल म्याक्स सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज र कलश स्टक मार्केटले १-१ अर्ब रुपैयाँका दरले कर्जा लिएका छन् ।
दिपशिखा धितोपत्र कारोबार कम्पनीले ५५ करोड रुपैयाँ र केबिएल सेक्युरिटिजले ५० करोड रुपैयाँ कर्जा लिएको तथ्यांकमा उल्लेख छ ।