नेपाल बैंकको मोबाइल एपबाटै २ लाखसम्म कर्जा पाइने, सुरु भयो फोनलोन सेवा

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा ‘एनबीएल फोनलोन’ नामक डिजिटल कर्जा सेवा सुरु गरेको छ । बैंकले एनबीएल बैंकस्मार्ट एक्सपी मोबाइल बैंकिङ एपमार्फत यो सेवा उपलब्ध गराएको हो ।

फोनलोन प्रालिद्वारा सञ्चालित यस सेवामार्फत बैंकका योग्य ग्राहकले बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन् । ग्राहकले कुनै कागजी प्रक्रिया पूरा गर्न वा बैंकको शाखा पुग्नुपर्ने छैन । मोबाइल एपबाटै कर्जाका लागि आवेदन दिन र कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

कर्जाको सीमा र योग्यता बैंकले निर्धारण गरेका मापदण्डका आधारमा तय हुनेछ । यसमा ग्राहकको तलब जम्मा हुने नियमितता, हालसालैका कर्जा दायित्व तथा कर्जा चुक्ता गर्ने व्यवहारलाई आधार बनाइनेछ ।

ग्राहकले कर्जा एक महिनाभित्र वा १२ महिनासम्म किस्ताबन्दी (ईएमआई) मार्फत चुक्ता गर्न सक्नेछन् । यस सेवामा समयअगावै कर्जा चुक्ता गर्ने सुविधा पनि उपलब्ध रहेको छ ।

बैंकबाट मोबाइल बैंकिङ सेवा लिइरहेका ग्राहकले बैंकको योग्यता मापदण्ड तथा दर्ता प्रक्रिया पूरा गरी एनबीएल बैंकस्मार्ट एक्सपी एपमार्फत फोनलोन सेवा उपयोग गर्न सक्नेछन् । योग्य ग्राहकले एपबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ९०औँ वार्षिकोत्सव समारोहका अवसरमा सेवा शुभारम्भ गरिएको हो । यसबारे बैंकका रिटेल क्रेडिट विभागका प्रमुख प्रबन्धक अर्जुनबहादुर कँडेलले ग्राहकलाई सुरक्षित, सहज र पूर्ण रूपमा डिजिटल कर्जा सुविधा उपलब्ध गराउनु बैंकको उद्देश्य रहेको बताए ।

उनले प्रविधिको उपयोग गर्दै वित्तीय सेवामा पहुँच विस्तार गर्नु र ग्राहकलाई सरल तथा सुविधाजनक बैंकिङ सेवा प्रदान गर्नु बैंकको प्राथमिकता रहेको उल्लेख गरे ।

एनबीएल फोनलोन सेवाको सुरुवातले बैंकको डिजिटल बैंकिङ सेवा विस्तार गर्नुका साथै ग्राहकलाई सहज रूपमा औपचारिक कर्जामा पहुँच उपलब्ध गराउने बैंकको विश्वास छ । 

Share News