एनआईसी एसियाको हकप्रद सेयरमा सहभागी हुन मंसिर १० सम्म सेयर किन्नुपर्ने

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि मंसिर ११ गते सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने भएको छ ।

बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।

यसअनुसार बैंकले विद्यमान प्रत्येक दुई कित्ता साधारण सेयर बराबर नयाँ एक कित्ता सेयरका दरले ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर जारी गर्नेछ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आधारमा बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद सेयरमा मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई सेयरधनी कायम भएका लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन् । त्यसैले हकप्रद सेयरका लागि योग्य हुन चाहने लगानीकर्ताले बुक क्लोज हुनुअघि नै सेयर खरिद गरी नामसारी गराइसक्नुपर्नेछ ।

बैंकको हाल कायम चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले कात्तिक १८ गते स्वीकृति दिएको थियो । 

Share News