काठमाडौं । सार्वजनिक भएको छोटो अवधिमै नामी भिगो ई-२ प्रति ग्राहकको आकर्षक देखिएको छ । नेपालका लागि डोङफेङ गाडीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शोलाई लक्षित गर्दै गत भदौ ३ गते नेपाली बजारमा सार्वजनिक गरेको यो गाडीमा ग्राहकको आकर्षण देखिएको छ ।
कम्पनीका अनुसार चालु आर्थिक वर्षको असोज महिनामा मात्रै ८२९ युनिट नामी भिगो ई २ नेपाल आयात भएको छ । कात्तिक १५ गतेसम्म थप ५५० युनिट आयात भएका छन् । सार्वजनिक भएयता १ हजार ८ सयभन्दा बढी गाडी नेपाली सडकमा गुडिरहेको कम्पनीको दाबी छ ।
नामी भिगोले मूल्य, आकार, रेन्ज र आधुनिक फिचरलाई आफ्नो मुख्य प्रतिस्पर्धी आधार बनाएको छ । ४० लाख रुपैयाँभन्दा कम मूल्यमा ठूलो आकारको एसयूभी उपलब्ध गराउन सक्नु यसको बलियो पक्ष भएको कम्पनीको भनाइ छ ।

एमएडब्लू वृद्धि मोटर्सका मार्केटिङ हेड विराज श्रेष्ठका अनुसार भिगोको मूल्य र यसले उपलब्ध गराउने सुविधाकै कारण यसमा ग्राहकको आकर्षण बढेको हो । उनका अनुसार यो मूल्य समूहमा भिगोले दिने आकार, सुविधा र फिचर अन्य प्रतिस्पर्धी गाडीको तुलनामा आकर्षक छन् ।
‘यो प्राइस सेग्मेन्टमा भिगो आइसकेपछि यससँग बराबरी गर्ने गाडी छैन । ग्राहकले ४० लाख रुपैयाँभन्दा कम मूल्यमा फुल साइज एसयूभी पाइरहेका छन् । त्यसैले यो भ्यालु फर मनी कार बनेको छ,’ श्रेष्ठले विकासन्युजसँगको कुराकानीमा भने ।
उनका अनुसार नामी भिगो नेपाली बजारका लागि बिल्कुलै नयाँ अवधारणाको गाडी भने होइन । यसअघि पनि नेपाली बजारमा आइसकेको र ग्राहकबाट रुचाइएको मोडल भएकाले यसको बजार विस्तारमा सहजता भएको हो ।
नेपाली ईभी बजारमा मूल्य र सुविधाबीच सन्तुलन खोज्ने ग्राहकको संख्या बढ्दै गएको छ । सीमित बजेटमा आकर्षक डिजाइन, ठूलो क्याबिन, पर्याप्त रेन्ज र आधुनिक प्रविधि खोज्ने ग्राहकलाई लक्षित गरेर नामी भिगो बजारमा आएको कम्पनीको भनाइ छ । यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, नाडा अटो शोको सुरुवाती अफरअन्तर्गत ३५ लाख ९९ हजार रुपैयाँमै बुकिङ खुला गरिएको थियो ।
मूल्यका हिसाबले भिगोले नेपाली बजारमा बीवाईडी एटो २ लगायतका ईभीसँग प्रतिस्पर्धा गरिरहेको कम्पनीको दाबी छ । श्रेष्ठका अनुसार भिगोको लोकप्रियतामा मूल्य मात्रै कारण होइन । गाडीको पर्फर्मेन्स, ब्याट्री क्षमता, रेन्ज र नयाँ प्रविधिका सुविधाले पनि ग्राहकको रोजाइमा पर्न सहयोग गरेका छन् ।
एकपटक चार्ज गर्दा ४३० किलोमिटरसम्म रेन्ज
नामी भिगोको प्रमुख आकर्षणमध्ये यसको ब्याट्री क्षमता र रेन्ज पनि हो । यसमा ५१.८७ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा यसले ४३० किलोमिटरसम्म रेन्ज दिन्छ । यद्यपि वास्तविक रेन्ज सडकको अवस्था, मौसम, ड्राइभिङ शैली र एयर कन्डिसनलगायतका सुविधाको प्रयोगअनुसार फरक पर्न सक्छ ।

गाडीमा ९९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ । यसले १६० न्युटन मिटर टर्क उत्पादन गर्छ । यसले सहरी आवागमनसँगै लामो दूरीको यात्राका लागि पनि पर्याप्त शक्ति उपलब्ध गराउने कम्पनीको दाबी छ । यसमा थ्रीसी फास्ट चार्जिङ प्रविधि उपलब्ध छ । १६७ किलोवाट क्षमताको डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न १८ मिनेट मात्रै लाग्ने कम्पनीको दाबी छ । फास्ट चार्जिङ सुविधाले लामो यात्रामा चार्जिङका लागि लाग्ने समय घटाउन सहयोग गर्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।
१९० एमएम ग्राउण्ड क्लियरेन्स
नामी भिगोको अर्को विशेषता यसको बाहिरी बनावट र आकार हो । कम्पनीका अनुसार यसको लम्बाइ ४ हजार ३०६ एमएम, चौडाइ १ हजार ८६८ एमएम र उचाइ १ हजार ६५४ एमएम छ । यसमा २ हजार ७१५ एमएम लामो ह्वीलबेस उपलब्ध छ । ठूलो ह्वीलबेसले गाडीको भित्री भागलाई फराकिलो बनाउन सहयोग गरेको छ । यसले यात्रुका लागि पर्याप्त स्पेस उपलब्ध गराउने कम्पनीको भनाइ छ । यसको ग्राउण्ड क्लियरेन्स १९० एमएम छ । नेपाली सडकको अवस्थालाई ध्यानमा राख्दा यो विशेषता पनि उपयोगी हुन सक्छ । विशेषगरी सामान्य कच्ची सडक, उबडखाबड बाटो तथा अग्ला स्पिड ब्रेकरमा गाडी चलाउँदा पर्याप्त ग्राउण्ड क्लियरेन्सले सहजता प्रदान गर्न सक्छ ।
नामी भिगोले बाहिरी आकार र रेन्जसँगै इन्टेरियर तथा प्रविधिमा पनि ध्यान दिएको छ । यसको क्याबिनमा १२.८ इन्चको इन्फोटेनमेन्ट सिस्टम र ८.८ इन्चको इन्फर्मेसन डिस्प्ले उपलब्ध छ । त्यस्तै, चालकलाई गाडी वरिपरिको अवस्था बुझ्न सहज बनाउने ३६० डिग्री क्यामेरा पनि यसमा छ । भ्वाइस कन्ट्रोलमार्फत गाडीका विभिन्न फङ्सन र मोबाइललाई कमाण्ड दिन सकिने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यसमा ५० वाटको वायरलेस चार्जर, वाइफाइ कनेक्टिभिटी तथा म्युजिकसँग कनेक्ट हुने एम्बियन्ट लाइटिङ सिस्टम पनि छ । चालकको सिटमा हिटेड र भेन्टिलेटेड सुविधा उपलब्ध छ । वेलकम तथा मेमोरी सिट, वान टच रियर सिट फोल्डिङजस्ता सुविधाले यसको क्याबिनलाई थप सुविधासम्पन्न बनाएका छन् ।
यसको विशेष फिचरमध्ये हेभन एन्ड अर्थ टेलगेट र एक्सटेरियर स्पिकर पनि पर्छन् । यी सुविधाले सामान्य गाडीभन्दा फरक अनुभव दिने कम्पनीको दाबी छ । विशेषगरी हेभन एन्ड अर्थ टेलगेटलाई कम्पनीले भिगोको आकर्षक र फरक पहिचानका रूपमा प्रस्तुत गरेको छ । यस्ता फिचरले गाडीलाई केवल यात्राका लागि प्रयोग हुने साधनभन्दा पनि सुविधासम्पन्न जीवनशैलीसँग जोड्ने कम्पनीको अपेक्षा छ ।
ईभी खरिद गर्दा ग्राहकले ब्याट्री र रेन्जसँगै सुरक्षालाई पनि प्राथमिकता दिन थालेका छन् । यही पक्षलाई ध्यानमा राखेर नामी भिगोमा विभिन्न सुरक्षा प्रणाली उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, अटोहोल्ड, हिल होल्ड, डिसेन्ट कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोलजस्ता सुविधा छन् । त्यस्तै, एडास (उन्नत चालक सहायता प्रणाली) प्रविधिसमेत उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

३६० डिग्री क्यामेराले पार्किङ तथा साँघुरो स्थानमा गाडी चलाउन सहज बनाउने अपेक्षा गरिएको छ । हिल होल्ड र डिसेन्ट कन्ट्रोलले उकालो तथा ओरालो बाटोमा गाडी नियन्त्रण गर्न सहयोग गर्छन् । यी सुविधाले भिगोलाई मूल्यअनुसार सुविधासम्पन्न ईभीका रूपमा स्थापित गर्न सहयोग पुग्ने कम्पनीको दाबी छ ।
नामी भिगो उत्पादन गर्ने डोङफेङ मोटर कर्पोरेसन लिमिटेड चीनको स्थापित अटोमोबाइल उत्पादक कम्पनी हो । सन् १९६९ मा स्थापना भएको यो कम्पनीले पाँच दशकभन्दा लामो समयदेखि अटोमोबाइल उद्योगमा काम गर्दै आएको छ ।
कम्पनीको मुख्य उत्पादन केन्द्र चीनको हुबेई प्रान्तस्थित वुहानमा रहेको छ । डोङफेङले यात्रुवाहक सवारीसाधन, व्यावसायिक सवारीसाधन, नयाँ ऊर्जाबाट चल्ने सवारीसाधन, सवारीका पार्टपुर्जा तथा विभिन्न अटोमोबाइलसम्बन्धी उपकरण उत्पादन गर्दै आएको छ ।
कम्पनीको कुल सम्पत्ति ४९९.३ अर्ब युआन पुगेको र करिब १ लाख २७ हजार कर्मचारी कार्यरत रहेको उपलब्ध विवरणमा उल्लेख छ । विश्वका शीर्ष ५०० कम्पनीको सूचीमा १८८औं स्थानमा रहेको डोङफेङले अनुसन्धान तथा विकास, उत्पादन र बजारीकरणमा लगानी गर्दै आएको छ ।
कम्पनीका सवारीसाधन विश्वका १०० भन्दा बढी देशमा उपलब्ध छन् । अन्तर्राष्ट्रिय बजारमा यसको विस्तारले पनि नामी भिगोजस्ता नयाँ मोडललाई विश्व बजारमा प्रतिस्पर्धा गर्न आधार प्रदान गरेको छ ।
नेपालमा ईभीको बजार विस्तारसँगै ग्राहकको रोजाइ पनि बदलिँदै गएको छ । सुरुमा साना तथा सहरी प्रयोगका लागि उपयुक्त गाडीप्रति आकर्षण देखिए पनि पछिल्लो समय ठूलो आकार, लामो रेन्ज, आधुनिक प्रविधि र सुरक्षा सुविधा भएका एसयूभीतर्फ ग्राहकको रुचि बढिरहेको छ । यही बदलिँदो बजारलाई लक्षित गर्दै नामी भिगोले ४० लाख रुपैयाँभन्दा कम मूल्यमा ठूलो आकारको एसयूभी उपलब्ध गराउने रणनीति लिएको देखिन्छ ।
असोज र कात्तिकमा भएको आयात तथा सार्वजनिक भएको छोटो समयमै १ हजार ८ सयभन्दा बढी गाडी सडकमा पुग्नुले यसको प्रारम्भिक बजार उपस्थिति बलियो देखिएको छ । यद्यपि दीर्घकालीन सफलता भने वास्तविक रेन्ज, ब्याट्रीको टिकाउपन, बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको उपलब्धता र ग्राहक सन्तुष्टिमा निर्भर हुनेछ ।
मूल्य, आकार र फिचरलाई मुख्य प्रतिस्पर्धी आधार बनाएको नामी भिगोले नेपाली ईभी बजारमा कस्तो स्थान बनाउँछ भन्ने आगामी दिनमा स्पष्ट हुँदै जानेछ । तर, सुरुवाती बजार प्रतिक्रियाले भने ४० लाख रुपैयाँभन्दा कम मूल्यको एसयूभी सेग्मेन्टमा नयाँ प्रतिस्पर्धा थपिएको संकेत गरेको छ ।