काठमाडौं । टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘टाटा बीएस–६ तालिम प्रशिक्षण कार्यक्रम’ सुरु भएको छ ।
नेपालका लागि टाटा कमर्सियल गाडीको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा आइतबारदेखि तालिम सुरु भएको हो ।
कात्तिक १५ देखि २० गतेसम्म सञ्चालन हुने ६ दिने प्रशिक्षण कार्यक्रम देशका विभिन्न १४ स्थानमा आयोजना भइरहेको छ । तालिम हेटौंडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, पर्सारटाँडी, इटहरी, नारायणघाट, मिर्चैया, पोखरा, भैरहवा, ढल्केवर, दाङ/घोराही र वीरगञ्जमा सञ्चालन हुनेछ ।
कार्यक्रममा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक तथा इलेक्ट्रिसियन अर्थात् टाटा गुरुहरूलाई आधुनिक सवारी प्रविधि तथा बीएस–६ (भारत स्टेज–६) सम्बन्धी प्राविधिक ज्ञान र सीप प्रदान गरिनेछ ।
प्रशिक्षणमा विद्युतीय प्रणालीको आधारभूत ज्ञान, ब्याट्रीको संरचना तथा कार्यप्रणाली, भोल्टेज, करेन्ट, रेसिस्टेन्स, विद्युतीय सर्किट, मल्टिमिटरको प्रयोग तथा सवारीसाधनको स्टार्टिङ र चार्जिङ प्रणालीबारे जानकारी दिइनेछ ।
त्यस्तै, बीएस–६ इन्जिन म्यानेजमेन्ट सिस्टमअन्तर्गत सेन्सर, ईसीयू र एक्टुएटरको कार्यप्रणालीबारे पनि प्रशिक्षण दिइनेछ ।
सवारीसाधनको उत्सर्जन नियन्त्रण प्रणालीअन्तर्गत डीपीएफ तथा एससीआर सिस्टम, तिनका विभिन्न पार्टपुर्जाको पहिचान र कार्यप्रणाली, सर्किट विश्लेषण, रिजेनेरेसन प्रक्रिया तथा डायग्नोस्टिक टुल्सको प्रयोगबाट प्राविधिक समस्या पहिचान र समाधान गर्ने विषयसमेत तालिममा समेटिएका छन् ।
यस प्रशिक्षणले टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको दक्षता, समस्या समाधान गर्ने क्षमता र व्यावसायिक सीप अभिवृद्धि गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
आधुनिक सवारी प्रविधिबारे प्राविधिक जनशक्तिलाई दक्ष बनाउँदै गुणस्तरीय सर्भिसिङ सेवा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।