प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा क्यानले दियो ३० लाख रुपैयाँ
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै क्यानले बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै प्रभावित परिवार र समुदायप्रति समवेदना प्रकट गर्दै उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा आवश्यक सहयोग र सहकार्यका लागि सधैं प्रतिबद्ध रहने जनाएको छ । क्यानका अनुसार अस्ट्रेलियामा जारी टप इन्ड टी–२० प्रतियोगिताअन्तर्गत शनिबार नेपाल ‘ए’ र हैदराबाद किंग्समेन एकेडेमीबीचको खेल सुरु हुनुअघि दुवै टोलीका खेलाडीले नेपालमा प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै एक मिनेट मौनधारण गरेका थिए । प्रतियोगिताका क्रममा बाढीपीडितको सहयोगका लागि ‘फन्ड राइजिङ’ अभियान पनि सञ्चालन भइरहेको क्यानले जनाएको छ ।
‘रोड टु यूएफसी’को फाइनलमा रविन्द्र ढाँट
काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी सिजन–५’ को फाइनलमा पुगेका छन् । चीनको सांघाईमा भएको प्रतिस्पर्धामा न्युजिल्यान्डका कासिब मर्डोकलाई पराजित गर्दै उनी फाइनल प्रवेश गरेका हुन् । तीन राउण्डको खेलमा स्प्लिट डिसिजनको आधारमा ढाँट विजयी भएका हुन् । उनले अब फाइनलमा र्यो ताजिमासँग खेल्नेछन् । ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै ढाँटसँगकाे भेट पक्का गरेका हुन् । फाइनल जितेमा ढाँट युएफसीका लागि छनोट हुनेछन् । ढाँटले मकाउमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै टीकेओ (टेक्निकल नकआउट) मार्फत पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।
शुभमन गिलले टेस्ट क्रिकेटमा पूरा गरे ३ हजार रन
काठमाडौं । भारतीय टेस्ट टोलीका कप्तान शुभमन गिलले श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा ठूलो उपलब्धि हासिल गर्दै टेस्ट क्रिकेटमा ३ हजार रन पूरा गरेका छन् । यो खेलअघि गिलको नाममा २ हजार ९ सय ९३ रन थियो । उक्त उपलब्धि हासिल गर्न उनलाई केवल ७ रन आवश्यक थियो । उनले आफ्नो ४३औं टेस्ट खेलमा ३ हजार रनको आँकडा पार गरेका हुन् । २६ वर्षीय गिलले टेस्ट करियरमा हालसम्म ११ शतक र ८ अर्धशतक प्रहार गरेका छन् । टेस्टमा उनको सर्वाधिक व्यक्तिगत स्कोर २६९ रन रहेको छ । भारत दुई खेलको टेस्ट सिरिजमा १-० ले अगाडि छ । अब भारतीय टोलीको लक्ष्य श्रीलंकाविरुद्ध सिरिज क्लिन स्वीप गर्ने रहेको छ । पहिलो टेस्टमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकालाई १६५ रनले पराजित गरेको थियो ।