डिएभी अन्तरकलेज फुटसल सम्पन्न, समृद्धि स्कुलले जित्यो ३ लाख रुपैयाँ
काठमाडौं । खेलकुदमार्फत विद्यार्थीमा अनुशासनको विकास गर्दै प्रतिभाशाली फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले डिएभी कलेजले आयोजना गरेको सातौँ डिएभी अन्तरकलेज फुटसल प्रतियोगिता सम्पन्न भएको छ । माघ १६ गते डिएभी कलेज परिसरमा रहेको आफ्नै फुटसल मैदानमा सुरु भएको प्रतियोगितामा ४० वटा कलेजहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, हिसान केन्द्रका वरिष्ठ उपाध्यक्ष डा. स्वागत श्रेष्ठ तथा डिएभी (नेब) कलेजका प्रिन्सिपल एवं हिसान केन्द्रीय सदस्य सुमन बस्नेतले संयुक्त रूपमा गरेका थिए । उद्घाटन कार्यक्रममा शिव शक्ति एडु मार्ट प्रालिका संस्थापक महेश गिरहिया तथा सुमेरु सिटी हस्पिटलका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिता +२ तहको सबैभन्दा ठूलो पुरस्कार राशिको फुटसल प्रतियोगिता भएको दाबी कलेजका प्रिन्सिपल सुमन बस्नेतले गरे । प्रतियोगितामा समृद्धि स्कुल विजेता बन्दै ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो भने हेराल्ड कलेज उपविजेता बन्दै २ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी, उत्कृष्ट खेलाडीको उपाधि समृद्धि स्कुलका कप्तान बोगटीले जितेका छन् । उत्कृष्ट गोलरक्षकको उपाधि हेराल्ड कलेजका निराजन मगरले प्राप्त गरे भने सर्वाधिक गोलकर्ताको उपाधि एआइटीएम कलेजका सुशन बलामीले जितेका छन् । उत्कृष्ट खेलाडीहरूलाई जनही १५ हजार रुपैयाँ नगद, व्यक्तिगत ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । विजेता तथा उपविजेता टोली र उत्कृष्ट खेलाडीहरूलाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, डिएभी कलेजका प्रिन्सिपल सुमन बस्नेत तथा शिव शक्ति एडु मार्ट प्रालिका संस्थापक महेश गिरहियाले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।
खल्तीको ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियान सार्वजनिक, प्रत्यक्ष विश्वकप हेर्ने अवसर
काठमाडौं । नेपाली क्रिकेट टोलीले टी–२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशभर क्रिकेटप्रतिको उत्साह चुलिएको छ । यही उत्साहलाई थप उचाइमा पुर्याउने उद्देश्यसहित नेपालको अग्रणी डिजिटल वालेट खल्तीले ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियान सार्वजनिक गरेको छ, जसअन्तर्गत एक भाग्यशाली जोडीले सबै खर्च व्यहोरेर प्रत्यक्ष रङ्गशालामा बसेर विश्वकप हेर्ने अवसर पाउनेछ । क्रिकेट प्रशंसकहरूको सपना वास्तविकतामा बदल्ने लक्ष्यसहित ल्याइएको यो अभियानलाई खल्तीले गेमिफाइड अनुभवका रूपमा प्रस्तुत गरेको छ । खल्ती एपमार्फत मान्य कारोबार गर्दा प्रयोगकर्ताले डिजिटल स्क्र्याच कार्ड प्राप्त गर्नेछन्, जसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ११ खेलाडीमध्ये कुनै एकको कार्ड रहनेछ । बम्पर पुरस्कारको लक्की ड्रमा सहभागी हुन प्रयोगकर्ताले ११ वटै फरक–फरक खेलाडीका कार्ड संकलन गरी सेट पूरा गर्नुपर्नेछ । अभियानमा अन्तिम विजेतामात्र होइन, कार्ड संकलनको प्रत्येक चरणमा आकर्षक पुरस्कारहरू पनि समावेश छन् । २, ५, ७ र ११ वटा युनिक प्लेयर कार्ड संकलन गर्ने प्रयोगकर्ताले प्रोमोकोड प्राप्त गर्नेछन् । यस्तै, ५ वटा युनिक कार्ड संकलन गर्ने प्रयोगकर्तामध्येबाट प्रत्येक १५ दिनमा एक जना भाग्यशाली विजेताले ब्रान्ड न्यू जेडटिई स्मार्टफोन जित्ने अवसर पाउनेछन् । ११ वटै कार्ड पूरा गर्ने प्रयोगकर्ताहरू अन्तिम लक्की ड्रमा सहभागी हुनेछन्, जहाँ एक भाग्यशाली जोडीले पूर्ण प्रायोजित विश्वकप यात्रा जित्नेछ । खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले टी–२० विश्वकपमा नेपालको छनोट सम्पूर्ण नेपालीका लागि गर्वको क्षण भएको उल्लेख गर्दै ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियान सामान्य अफरभन्दा बढी रहेको बताए । प्रयोगकर्तालाई यो ऐतिहासिक यात्राको हिस्सा बनाउने उद्देश्यसहित उनीहरूलाई प्रत्यक्ष रङ्गशालासम्म पुर्याउन पाउँदा खल्ती उत्साहित रहेको उनले बताए । यो अभियान २०८२ साल असोज १३ गतेदेखि कार्तिक ११ गतेसम्म लागू हुनेछ । खल्ती प्रयोगकर्ताले युटिलिटी बिल भुक्तानी, टप–अप तथा अन्य दैनिक कारोबारहरू खल्ती एपमार्फत गरी यस योजनामा सहभागी हुन सक्नेछन् ।
टी–२० विश्वकपमा डेभिल्सको नयाँ अभियान 'डेभिल्स खाऔँ, मुम्बई जाऔँ’
काठमाडौं । डेभिल्सले नेपाली क्रिकेट इतिहासकै महत्वपूर्ण क्षणलाई प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ । ‘डेभिल्स खाऔँ, मुम्बई जाऔँ’ नामक यस अभियानमार्फत क्रिकेटप्रेमीहरूलाई टी–२० विश्वकपमा नेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षी बन्ने दुर्लभ अवसर प्रदान गरिएको छ । अभियानअन्तर्गत एक जना भाग्यशाली विजेताले मुम्बईको वानखेड़े स्टेडियममा फेब्रुअरी १५ गते बिहान ११ः१५ बजे हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेल प्रत्यक्ष हेर्न सबै खर्च समेटिएको भ्रमण जित्नेछन् । विश्व क्रिकेटका प्रतिष्ठित रंगशालामध्ये एक वानखेड़े स्टेडियममा बसेर नेपालको विश्वकप डेब्यु हेर्ने अवसर प्रदान गर्दै डेभिल्सले समर्थकहरूलाई खेलको केन्द्रमा ल्याउने लक्ष्य लिएको छ । ‘डेभिल्स खाऔँ, मुम्बई जाऔँ’ अभियान डेभिल्सका आधिकारिक सामाजिक सञ्जालमार्फत सञ्चालन हुनेछ । सहभागी हुन इच्छुकले डेभिल्सको आधिकारिक पेज फलो गर्नुपर्नेछ, अभियान पोस्टमा सोधिएको प्रश्नको सही उत्तर कमेन्ट गर्नुपर्नेछ र तीन जना साथीलाई ट्याग गर्नुपर्नेछ । पोस्ट सेयर गर्न भने प्रोत्साहन गरिएको छ । पुरस्कार प्याकेजमा मुम्बई आवत–जावतका हवाई टिकट, खेल प्रवेश टिकट, तीनतारे होटलमा चार दिनको बसाइ (ब्रेकफास्टसहित), एयरपोर्ट ट्रान्सफर, सिटी टुर, प्रमुख दर्शनीय स्थल भ्रमण, पर्यटन कर तथा वानखेड़े स्टेडियम आवत–जावतको सम्पूर्ण यातायात व्यवस्था समावेश गरिएको छ । अभियानबारे टिप्पणी गर्दै एसियन थाई फुडका निर्देशक आशिष जाजुले टी–२० विश्वकपका लागि नेपालको छनोट राष्ट्रका लागि गर्व र ऐतिहासिक क्षण भएको बताए । उनले भने, 'डेभिल्स खाऔँ, मुम्बई जाऔँ अभियानमार्फत हामी यस उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै समर्थकहरूलाई स्टेडियममै बसेर इतिहासको साक्षी बन्ने अवसर दिन चाहन्थ्यौँ । क्रिकेटले लाखौँ मानिसलाई जोड्छ, र यो अभियान विश्वमञ्चमा नेपाली टोलीलाई समर्थन गर्ने हाम्रो प्रयास हो ।' यस अभियानमार्फत डेभिल्सले नेपाली क्रिकेटको गर्विलो क्षणलाई समर्थकहरूसँग साझा गर्दै खेलकुदले जोड्ने भावना र उत्साहलाई अझ सशक्त बनाएको छ ।