बाढी प्रभावितलाई थप तीन दिन निःशुल्क २ जीबी डाटा, भ्वाइस कल र ५० एसएमएस

काठमाडौं । नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस कल, डाटा र एसएमएस सुविधा थप तीन दिनका लागि विस्तार गरेको छ । कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार अब उक्त सुविधा भदौ १२, १३ र १४ गतेसम्म उपलब्ध हुनेछ । यसअघि नेपाल टेलिकमले रसुवा र आसपासका प्रभावित क्षेत्रका सेवाग्राहीका लागि दुई दिन निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस उपलब्ध गराउने निर्णय गरेको थियो । टेलिकमले भोटेकोशी र त्रिशूली नदीको बहाव तीव्र रूपमा बढिरहेका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरेको जनाएको छ । प्रभावित क्षेत्रका सेवाग्राहीलाई एसएमएसमार्फत पनि सचेतनामूलक सूचना पठाइएको कम्पनीले जनाएको छ । विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकले आफ्ना आफन्त, उद्धार तथा राहतकर्मी र सम्बन्धित निकायसँग सहज रूपमा सम्पर्क गर्न सकून् भन्ने उद्देश्यले निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको टेलिकमले जनाएको छ । बाढीका कारण कम्पनीका विभिन्न दूरसञ्चार संरचनामा क्षति पुगे पनि सेवा यथासम्भव नियमित राख्न र प्रभावित संरचनाको मर्मत–सम्भार गर्न प्राविधिक टोली निरन्तर परिचालित रहेको कम्पनीले जनाएको छ । नेपाल टेलिकमले विपद्को समयमा सेवा निरन्तरता, पूर्वसूचना, सचेतना र आवश्यक प्राविधिक सहयोगलाई उच्च प्राथमिकतामा राख्दै प्रभावित नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउने प्रयास जारी रहेको जनाएको छ ।

बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि एनसेल फाउन्डेसनले दियो १ करोड

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनसेल फाउन्डेसनले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । एनसेलले बुधबार जारी गरेको विज्ञप्तिअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको र प्रभावित समुदायलाई तत्काल राहत तथा पुनर्स्थापनाको आवश्यकता रहेकाले सरकारको आह्वानमा उक्त सहयोग गर्ने निर्णय गरिएको हो । कम्पनीले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना जनाएको छ । साथै बेपत्ता भएका तथा प्रभावित नागरिकको शीघ्र उद्धार, राहत र पुनर्स्थापनाको कामना गरेको छ । आर्थिक सहयोगसँगै एनसेलले बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना ग्राहकका लागि सञ्चार सेवामा पनि विशेष सहुलियत उपलब्ध गराएको छ । हिजोदेखि लागू हुने गरी प्रभावित क्षेत्रमा रहेका ग्राहकलाई तीन दिनका लागि निःशुल्क भ्वाइस सेवा, डेटा सेवा र १०० वटा एसएमएस उपलब्ध गराइएको कम्पनीले जनाएको छ । एनसेलका अनुसार यस सुविधाले प्रभावित नागरिकलाई आफ्ना परिवार, आफन्त तथा उद्धार र राहतमा खटिएका टोलीसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग पुग्नेछ । एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले विपद्को कठिन घडीमा प्रभावित समुदायको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताइन् । उनले सरकार र सम्बन्धित निकायको उद्धार, राहत तथा पुनर्स्थापनाको प्रयासमा साथ दिन १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको भन्दै प्रभावित परिवार र समुदायसँग एनसेल सधैं साथमा रहेको उल्लेख गरिन् । एनसेलले विगतदेखि नै प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनर्स्थापनाका अभियानमा सहयोग गर्दै आएको जनाउँदै आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता अनुसार सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

बाढी प्रभावित जिल्लामा ३ दिन एनसेलको डेटा र भ्वाइस कल निःशुल्क

काठमाडौं । रसुवामा बुधबार आएको विनाशकारी बाढीबाट प्रभावित जिल्लाका एनसेल ग्राहकले तीन दिनसम्म निःशुल्क डेटा र भ्वाइस कल सेवा पाउने भएका छन् । एनसेलले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आपत्कालीन समन्वयमा सहजता पु‍र्याउन डेटा, भ्वाइस र एसएमएस सेवामा छुट दिने जनाएको हो । कम्पनीका अनुसार प्रभावित जिल्लाका ग्राहकले तीन दिनसम्म डेटा र भ्वाइस कलका लागि कुनै शुल्क तिर्नुपर्ने छैन । त्यसैगरी, ग्राहकले १०० वटा एसएमएससमेत निःशुल्क पठाउन सक्नेछन् । बाढीका कारण प्रभावित नागरिकलाई आफन्त, सुरक्षाकर्मी तथा उद्धार टोलीसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराइएको एनसेलले जनाएको छ ।