नेपालमा साढे ३ अर्बको शाओमी मोबाइल बिक्री, वत्सल इम्पेक्सको १.८० अर्ब ऋण
काठमाडौं । शाओमी ब्रान्डको काठमाडौं क्षेत्रका लागि आधिकारिक वितरक वत्सल इम्पेक्स प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा ३ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १५ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ८७ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ५.५८ प्रतिशत अर्थात् २२ करोड ९० लाख रुपैयाँले कम हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको आम्दानी ४ अर्ब १० करोड रुपैयाँ रहेको थियो । कम्पनीका अनुसार आव २०७९/८० मा ३ अर्ब ३३ करोड ४० लाख रुपैयाँ, आव २०७८/७९ मा ५ अर्ब ५ करोड ५० लाख रुपैयाँ, आव २०७७/७८ मा ५ अर्ब ४४ करोड ३० लाख रुपैयाँ, आव २०७६/७८ मा २ अर्ब १३ करोड रुपैयाँ, आव २०७५/७६ मा १ अर्ब १६ करोड ५० लाख रुपैयाँ, आव २०७४/७५ मा १ अर्ब ७ करोड ३० लाख रुपैयाँ र आव २०७३/७४ मा ७१ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको कुल आम्दानीमध्ये ८० प्रतिशतभन्दा बढी हिस्सा अझै पनि शाओमी ब्रान्डका मोबाइल फोन तथा सहायक सामग्रीको बिक्रीबाट आउने गरेको छ । यसले कम्पनीको आम्दानी संरचना शाओमी उत्पादनमै बढी निर्भर रहेको देखाउँछ । सन् २०१२ मा स्थापना भएको वत्सल इम्पेक्स काठमाडौं क्षेत्रका लागि शाओमी स्मार्टफोनको आधिकारिक वितरक हो । नेपालमा स्मार्टफोनमा शाओमीको बलियो उपस्थिति रहेको छ भने सबैभन्दा धेरै आयात हुने स्मार्टफोन ब्रान्डमध्ये एक मानिन्छ । कम्पनीले इजभिजका सुरक्षा क्यामेरा तथा सम्बन्धित उत्पादनहरू पनि नेपालभर वितरण गर्दै आएको छ । कम्पनीको दर्ता कार्यालय काठमाडौंको थापाथलीमा रहेको छ । सन् २०२६ को अप्रिल मध्यसम्म कम्पनीको बिक्री सञ्जालअन्तर्गत १४ डिलर र करिब ५०० खुद्रा विक्रेता रहेका छन् । वत्सल इम्पेक्स शारदा समूहअन्तर्गत सञ्चालनमा रहेको कम्पनी हो । शारदा समूहले नेपालमा उत्पादन, व्यापार, बैंकिङ तथा आवासलगायत विभिन्न क्षेत्रमा व्यवसाय विस्तार गरेको छ । हाल कम्पनीको सेयर स्वामित्व ६ जना व्यक्तिमा रहेको छ, जसमध्ये ५ जना शारदा परिवारसँग सम्बन्धित छन् । कम्पनीका अध्यक्ष बिनित कुमार शारदा हुन् भने नितेश कुमार मुन्द्रा प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन् । कम्पनी सन् २०१२ देखि स्मार्टफोन वितरण व्यवसायमा सक्रिय छ । सुरुआती चरणमा यसले भिडियोकोन र पर्पल ब्रान्डका मोबाइल फोन वितरण गर्दै आएको थियो । पछि शाओमीसँग नयाँ वितरण सम्झौता भएपछि ती ब्रान्डको वितरण बन्द गरिएको थियो । यद्यपि, कम्पनीका लागि केही चुनौती पनि देखिएका छन्। भारतसँगको खुला सीमाका कारण नेपाली बजारमा अनियन्त्रित ‘ग्रे मार्केट’ मार्फत मोबाइल फोन बिक्री हुने अवस्था अझै कायम छ । यस्तो अनौपचारिक बजारले आधिकारिक वितरकको व्यापार, मूल्य प्रतिस्पर्धा र बजार हिस्सामा असर पार्न सक्ने भएकाले यसलाई कम्पनीका लागि जोखिमपूर्ण पक्षका रूपमा हेरिएको छ । यसैबीच, कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ८० करोड रुपैयाँ ऋण लिएको जनाएको छ ।
चितवनमा टेलिकमका १० नयाँ मोबाइल टावर थपिने, फोन नलाग्ने समस्या हटाउँदै
काठमाडौं । नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न नेटवर्क विस्तार तथा पूर्वाधार स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख उप प्रबन्धक राकेश चौधरीका अनुसार भरतपुर महानगरपालिका-२९ को लमाहल, इच्छाकामनाको हात्तिवाङ, माडीको अमरौली र बगौडा, भरतपुर अस्पताल क्षेत्र, रामनगर-पटिहानी सडकखण्ड, टिकौली-रत्ननगर सडक, चौबीसकोठी तथा सिएमसी अस्पताल आसपासका क्षेत्रमा मोबाइल सेवाको क्षमता विस्तार तथा स्तरोन्नति गरिएको छ । उनका अनुसार सेवा कमजोर रहेका क्षेत्रमा नयाँ मोबाइल टावर निर्माण गर्नुका साथै सञ्चालनमा रहेका टावरको क्षमता पनि वृद्धि गरिएको छ । पूर्व-पश्चिम राजमार्गका केही स्थानमा फोन नलाग्ने गुनासो आएपछि टिकौली क्षेत्रमा सेक्टर विस्तार गरिएको छ भने रामनगर सडक मोडमा अतिरिक्त उपकरण जडान गरेर सेवाको गुणस्तर सुधार गरिएको छ । प्रमुख चौधरीले भने, ‘भिडभाड हुने अन्य स्थानमा पनि आवश्यकताअनुसार क्षमता विस्तार गर्दै गएका छौं ।' माडी जाने चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा विद्युत् आपूर्तिको समस्या रहने भएकाले नेटवर्क विस्तारमा चुनौती रहेको उनले बताए । चालु आर्थिक वर्षमा सिमलढाप, तिरुवा डाँडा (कालिका-१), पन्याडाँडा, चौकीडाँडा, मोहना, खैरहनी र मङ्गलपुर लगायतका क्षेत्रमा सेवा विस्तार गरिएको छ । तीमध्ये केही स्थानमा नयाँ टावर निर्माण गरिएको छ भने विद्युत् सुविधा नपुगेका क्षेत्रमा सौर्य ऊर्जामार्फत सञ्चालन हुने टावर जडान गरिएको उनले जानकारी दिए । हाल जिल्लाभर १३२ मोबाइल टावर बेस ट्रान्ससिभर स्टेसन (बीटीएस) सञ्चालनमा रहेका छन् । भौगोलिक विकटता, अग्ला रुख तथा घरका संरचनाका कारण केही स्थानमा अझै नेटवर्क समस्या देखिने गरेको प्रमुख चौधरीले बताए । जनघनत्व वृद्धि, विशेष कार्यक्रम तथा भिडभाडका समयमा मोबाइल तथा इन्टरनेट प्रयोगकर्ता बढ्ने भएकाले आवश्यकताअनुसार अतिरिक्त उपकरण जडान गर्दै सेवा क्षमता विस्तार गरिएको उनको भनाइ छ । आगामी आर्थिक वर्षमा तत्काल १० वटा नयाँ मोबाइल टावर निर्माण गरिने र आवश्यकता तथा मागका आधारमा जिल्लाका अन्य स्थानमा पनि थप टावर निर्माण तथा क्षमता विस्तार गरिने प्रमुख चौधरीले जानकारी दिए । विद्युत् आपूर्ति अवरुद्ध हुँदा मोबाइल सेवा प्रभावित हुने समस्यालाई समाधान गर्न पश्चिम चितवन, दिव्यनगर लगायतका क्षेत्रमा वैकल्पिक ऊर्जा तथा ब्याकअप प्रणाली विस्तारको कामसमेत अघि बढाइएको उनले बताए । ‘विद्युत् अवरोध हुँदा सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले ब्याट्री ब्याकअप र वैकल्पिक ऊर्जा प्रणाली थप सुदृढ बनाउँदै गएका छौं,' प्रमुख चौधरीले भने ।
भायानेटको आम्दानी साढे २ अर्ब, बजार हिस्सा १०.२९ प्रतिशत
काठमाडौं । भायानेट कम्युनिकेशन लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ४० करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ४.२४ प्रतिशत अर्थात् ९ करोड ८० लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २ अर्ब ३० करोड ६० लाख रुपैयाँ बराबर आम्दानी गरेको थियो । कम्पनीका अनुसार आव २०७९/८० मा २ अर्ब १७ करोड ९० लाख रुपैयाँ र आव २०७८/७९ मा २ अर्ब २३ करोड १० लाख रुपैयाँ आम्दानी भएको थियो । सन् १९९९ अक्टोबरमा स्थापना भएको भायानेट कम्युनिकेशनले नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायक (आईएसपी) का रूपमा सञ्चालन अनुमति सन् २००० नोभेम्बर १७ मा प्राप्त गरेको थियो । २५ वर्षदेखि नेपालमा इन्टरनेट सेवा व्यवसाय सञ्चालन गर्दै आएको भायानेटले इन्टरनेट कनेक्टिभिटी र आईपीटीभी सेवा उपलब्ध गराउँदै आएको छ । यसका अतिरिक्त कम्पनीले डाटा कनेक्टिभिटी, नेटवर्कलगायतका विभिन्न सूचना प्रविधि (आईटी) सम्बन्धी सेवासमेत प्रदान गर्दै आएको छ । सन् २०२६ को मध्य अप्रिलसम्मको तथ्यांकअनुसार ग्राहक संख्याका आधारमा भायानेट नेपालको चौथो ठूलो इन्टरनेट सेवा प्रदायकका रूपमा रहेको दाबी गरेको छ । कम्पनीको बजार हिस्सा १०.२९ प्रतिशत रहेको छ भने यसको सेवा ७ वटै प्रदेशका ५८ जिल्लामा फैलिएको छ । भायानेट कम्युनिकेशनको अध्यक्ष तथा प्रबन्ध निर्देशक विनय बोहरा रहेका छन् । कम्पनीमा ८५ प्रतिशत सेयर स्वामित्व रहेका बोहरा स्थापनाकालदेखि नै नेतृत्वदायी भूमिकामा छन् । कम्पनीले स्वतन्त्र सञ्चालकका रूपमा पूर्वबैंकर पार्शुराम कुँवर क्षेत्रीलाई पनि नियुक्त गरेको छ । त्यस्तै, कम्पनीको दैनिक सञ्चालन प्रमुख कार्यकारी अधिकृत (सीईओ) सेवा पाठकको नेतृत्वमा भइरहेको छ । चार्टर्ड एकाउन्टेन्ट (सीए) रहेकी पाठकसँग वित्त, लेखापरीक्षण तथा कर्पोरेट सुशासन क्षेत्रमा १८ वर्षभन्दा बढी अनुभव रहेको जनाइएको छ । कम्पनीको सञ्चालन नाफा (ब्याज, लिज, ह्रासकट्टी र कर अघिको नाफा) मार्जिन २७ प्रतिशतदेखि ३४ प्रतिशतको दायरामा स्थिर रहेको छ, जुन प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा तुलनात्मक रूपमा राम्रो रहेको कम्पनीले दाबी गरेको छ । यद्यपि, कुल सञ्चालन आम्दानी बढे पनि गत वर्ष ब्याज, लिज, ह्रासकट्टी र कर अघिको नाफा घटेर ७४ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष ७७ करोड ४० लाख रुपैयाँ थियो । यो गिरावट मुख्यतः अघिल्ला वर्षका रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) सम्बन्धी दायित्व चालु वर्षमा समायोजन गरिएका कारण भएको कम्पनीले जनाएको छ । गत वर्ष कर्मचारी खर्च घटेर १७ करोड ४० लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्ष २२ करोड ४० लाख रुपैयाँ थियो । कम्पनीको करपछिको नाफा मार्जिन भने करिब ३ प्रतिशतमा सीमित छ । यद्यपि, नगद आम्दानी सन्तोषजनक देखिएको कम्पनीको भनाइ छ । गत वर्ष भायानेटको नगद सञ्चिति ५४ करोड १० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ५१ करोड ९० लाख रुपैयाँ थियो । गत आर्थि वर्ष कम्पनीको करिब ६४ प्रतिशत आम्दानी खुद्रा इन्टरनेट र आईपीटीभी सेवाबाट आएको जनाएको छ । जुन अघिल्लो वर्ष यो हिस्सा करिब ७७ प्रतिशत थियो । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनासम्म बढेर करिब ७७ प्रतिशत पुगेको छ । यस्तै, सानो कार्यालय तथा होम अफिस ग्राहकबाट करिब १० देखि ११ प्रतिशत आम्दानी आएको देखिन्छ । त्यस्तै, संस्थागत वा कर्पोरेट ग्राहकबाट करिब ३ प्रतिशत आम्दानी भएको छ । कम्पनीमाथि अघिल्ला वर्षहरूको संचित रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) अन्तर्गत मर्मतसम्भार शुल्कमा लाग्ने करिब ४३ करोड ३० लाख दायित्व थपिएपछि ऋणभार बढेको जनाएको छ । उक्त दायित्वको अधिकांश हिस्सा ऋणमार्फत व्यवस्थापन गरिएको कम्पनीको भनाइ छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब १८ करोड रुपैयाँ ऋण लिएको छ । जसमा २ अर्ब ९० करोड ५० लाख रुपैयाँ अल्पकालीन र २७ करोड ५० लाख रुपैयाँ दीर्घकालीन ऋण रहेको छ । गत वर्ष कम्पनीको सञ्चालन चक्र ७१ दिन रहेको छ, जुन अघिल्लो वर्ष ९८ दिन थियो । कम्पनीसँग रहेका एसेसरीज, केबल, नेटवर्क उपकरण तथा वायरलेस सामग्रीजस्ता वस्तुको मौज्दात अवधि १६७ दिन पुगेको छ, जुन अघिल्लो वर्ष १७७ दिन थियो । यद्यपि, ग्राहकबाट रकम असुलीको औसत अवधि भने तुलनात्मक रूपमा स्थिर रहेको छ । आव २०७९/८० देखि गत वर्षसम्म कम्पनीको औसत असुली अवधि करिब ३८ दिनको हाराहारीमा कायम रहेको छ । यसले ग्राहकबाट भुक्तानी संकलनको अवस्था धेरै बिग्रिएको छैन भन्ने देखाउँछ । बढ्दो प्रतिस्पर्धाले बजार हिस्सा जोगाउन चुनौती नेपालमा इन्टरनेट सेवा प्रदायक (आईएसपी) उद्योग तीव्र गतिमा विस्तार भइरहेको भए पनि बढ्दो प्रतिस्पर्धाले भायानेट कम्युनिकेशन जस्ता कम्पनीहरूलाई थप दबाबमा पारेको छ । बजारमा ६० भन्दा बढी आईएसपी सक्रिय रहे पनि स्थिर ब्रोडब्यान्ड इन्टरनेट ग्राहकको वितरण भने सीमित ठूला कम्पनीहरूमा केन्द्रित देखिन्छ । सन् २०२६ को मध्य अप्रिलसम्म शीर्ष २० आईएसपीले संयुक्त रूपमा कुल बजारको ९९.११ प्रतिशत हिस्सा ओगटेका छन् । त्यसमध्ये शीर्ष ५ आईएसपीको संयुक्त बजार हिस्सा करिब ७१ प्रतिशत रहेको छ भने भायानेटको हिस्सा करिब १० प्रतिशत रहेको जनाइएको छ । सबैभन्दा ठूलो एकल आईएसपीले मात्रै करिब ३१ प्रतिशत बजार नियन्त्रणमा राखेको जनाएको छ । यस अवस्थाले बजारमा केही ठूला कम्पनीहरूको वर्चस्व स्पष्ट देखाएको छ । ठूला कम्पनीहरूले आफ्नो आकार र लागत लाभका कारण शुल्क घटाउन, ग्राहकलाई आकर्षक भुक्तानी सुविधा दिन तथा आवश्यक परे मूल्ययुद्ध सुरु गर्न सक्ने अवस्था रहेको बताइएको छ । यस्तो प्रतिस्पर्धाले भायानेटले पनि मूल्य घटाएर प्रतिस्पर्धा गर्नुपरे नाफाको मार्जिन खुम्चिन सक्ने र मूल्य प्रतिस्पर्धामा नउत्रिए ग्राहक आधार गुम्ने तथा ग्राहक टिकाइराख्न अझ कठिन हुने जोखिम रहेको कम्पनीको भनाइ छ ।