काठमाडौं । नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा दूरसञ्चार सेवा पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ । हालसम्म बाढी प्रभावित १२० साइटमध्ये ८० साइटमा सेवा पुनः सञ्चालन भइसकेको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमका अनुसार भदौ ११ गते हेलिकप्टरमार्फत प्राविधिक टोली परिचालन गरी गोसाईंकुण्ड गाउँपालिका–६ स्थित रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेशन सञ्चालनमा ल्याइएको हो ।
भदौ १२ गते बिहानैदेखि टेलिकमका प्राविधिक टोली रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा सेवा पुनः सञ्चालन गर्न बाँकी रहेका स्थानमा खटिएका छन् । सञ्चालनमा आइसकेका टावरलाई थप भरपर्दो बनाउने कामसमेत भइरहेको टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ स्थित गोल्जुङ (बाहुनडाँडा) मोबाइल टावर पुनः सञ्चालनमा आएपछि स्याफ्रुबेशी, पार्वतीकुण्ड गाउँपालिका–४ र ५, गोसाईंकुण्ड गाउँपालिका–३ र ५ तथा स्याफ्रुबेशी–टिमुरे सडकखण्डका केही भागमा मोबाइल सेवा सुचारु भएको छ ।
यस्तै, नुवाकोटको सूर्यगढी गाउँपालिका–३ स्थित गेर्खु मोबाइल टावर सञ्चालनमा आएपछि विदुर नगरपालिका–१० र ११ तथा सूर्यगढी गाउँपालिका–४ का केही क्षेत्रमा दूरसञ्चार सेवा पुनः सञ्चालन भएको छ ।
नेपाल टेलिकमले विदुर नगरपालिका–८ स्थित तुप्चे टावर र गोसाईंकुण्ड गाउँपालिका–२ अन्तर्गत टिमुरेमाथिको टेलिकम टावरमा हेलिकप्टरमार्फत जेनेरेटर, इन्धन र प्राविधिक टोली पुर्याएर सेवा सञ्चालनको काम जारी रहेको जनाएको छ ।
बाढी आएको दिनदेखि नै टेलिकमका प्राविधिक कर्मचारी न्यौपानेचौर, राम्चे, गोल्जुङ र धुन्चे स्टेशनमा निरन्तर खटिएर सेवा सञ्चालन तथा पुनःस्थापनाको काममा जुटिरहेको कम्पनीले जनाएको छ ।
विपद्को यस अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखिएको नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले बताएका छन् ।