नेपाल टेलिकम बन्यो एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर

काठमाडौं । नेपाल टेलिकम नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को अफिसियल टेलिकम पार्टनर बनेको छ। आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा नेपाल टेलिकमले साझेदारी गर्ने भएको हो।

यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक उत्सव ढुंगानाले हस्ताक्षर गरेका छन्। सम्झौतामा नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा हस्ताक्षर गरिएको हो।

सम्झौतापछि नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरका क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको बताए। उनले यस सहकार्यले कम्पनीको ब्रान्ड पहिचान बढाउनुका साथै नेपालमा क्रिकेट खेलको संस्थागत विकास र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनका अनुसार यस सहकार्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्न र नेपाल टेलिकम तथा नेपाल क्रिकेट संघबीचको सम्बन्ध थप बलियो बनाउनसमेत भूमिका खेल्नेछ।

नेपाल क्रिकेट संघका महाप्रबन्धक ढुंगानाले नेपाल टेलिकमजस्तो प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसबाट नेपाली क्रिकेटलाई थप अघि बढाउन योगदान पुग्ने बताए। उनले सहकार्यले खेलको विकाससँगै खेलाडीको जीवनस्तरमा समेत सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे।

नेपाल टेलिकमले नेपाली खेलकुद क्षेत्रको विकास तथा प्रवर्द्धन गर्ने सरकारको नीतिलाई यस सहकार्यले थप टेवा पुर्याउने विश्वास लिएको जनाएको छ। साथै, एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता पाएकोमा कम्पनीले नेपाल क्रिकेट संघलाई बधाईसमेत दिएको छ।

Share News