विकासन्युज

रुस सबैभन्दा ठूलो खतरा, एआई र इरानबाट पनि सतर्क रहनुपर्छ : बेलायती गुप्तचर निकाय

काठमाडौं । बेलायतको गुप्तचर निकाय एमआई–५ का प्रमुख केन म्याककलमले रुस अहिले बेलायत र उसका सहयोगी देशका लागि सबैभन्दा ठूलो सुरक्षा खतरा बनेको बताएका छन् । रुसलाई ‘आक्रामकताको मामिलामा नम्बर एक’ भन्दै उनले रुसबाट उत्पन्न खतरासँग जुध्न एमआई–५ ले शीतयुद्धको समयमा भन्दा पनि बढी स्रोतसाधन परिचालन गरिरहेको बताए । लन्डनस्थित एमआई–५ को मुख्यालयमा आफ्नो वार्षिक सम्बोधन गर्दै म्याककलमले पछिल्लो १० वर्षमा विदेशसँग सम्बन्धित सुरक्षा खतराहरू चार गुणाले बढेको बताए । उनका अनुसार अहिले आतंकवाद र विदेशबाट उत्पन्न हुने सुरक्षा खतरासँग जुध्न गरिने कामको भार लगभग समान स्तरमा पुगेको छ । एमआई–५ प्रमुखले इरान र दक्षिणपन्थी अतिवादबाट बढ्दै गएको खतराप्रति पनि चेतावनी दिए । उनले आफ्नो निकायले कृत्रिम बौद्धिकता (एआई) प्रयोग गर्ने प्रयासमा रहेका आतंकवादीहरूलाई पक्राउ गरेको बताए । केही घटनामा एआईलाई ड्रोनसँग जोडेर प्रयोग गर्ने प्रयाससमेत गरिएको उनले जानकारी दिए । म्याककलमका अनुसार, रुसले नेटो सदस्य राष्ट्रहरूविरुद्ध प्रत्यक्ष युद्ध गर्नुको सट्टा ‘हाइब्रिड युद्ध’ अर्थात् अप्रत्यक्ष माध्यमबाट दबाब सिर्जना गर्ने रणनीति अपनाइरहेको छ । यद्यपि, रुसले अहिलेसम्म नेटोसँग प्रत्यक्ष सैन्य द्वन्द्व हुने सीमासम्म पुग्नबाट जोगिँदै आएको उनले बताए । युक्रेनमाथि आक्रमण गरेपछि बेलायत र अन्य देशबाट ठूलो संख्यामा रुसी जासुसहरू निष्कासित गरिएकाले रुसी राष्ट्रपति कार्यालय क्रेमलिनको परम्परागत गोप्य सञ्जाल निकै कमजोर बनेको पनि उनले दाबी गरे । उनका अनुसार अहिले रुसले आफ्ना उद्देश्य पूरा गर्न अपराधीहरूलाई पैसा दिएर उनीहरूलाई प्रयोग गर्ने प्रयास गरिरहेको छ ।

खगेन्द्र प्रकरण : धम्की दिएर लाभ लिन खोजेको पुष्टि भए सात वर्षसम्म कैद हुनसक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादास्पद अडियो प्रकरणमा धम्की दिएर अनुचित लाभ लिन खोजिएको पुष्टि भए फौजदारी कानुन आकर्षित हुन सक्ने देखिएको छ ।  मुलुकी अपराध संहिता, २०७४ को दफा २५३ अनुसार डरत्रास देखाएर बेइमानीपूर्वक लाभ लिने वा लाभ लिने उद्देश्यले कुनै काम गर्न बाध्य पार्ने कार्य आपराधिक कसुर मानिन्छ । यस्तो कसुरको प्रकृतिअनुसार सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुन सक्ने कानुनी व्यवस्था छ । बागमती प्रदेशकी एक पूर्वराज्यमन्त्रीसँग आपत्तिजनक भाषा प्रयोग गरी धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि सुनार विवादमा तानिएका हुन् । रास्वपाको अनुशासन आयोगले उनीसँग स्पष्टीकरणसमेत मागेको छ । यद्यपि, यो प्रकरण पार्टीको आन्तरिक अनुशासनमा मात्रै सीमित रहने वा फौजदारी अनुसन्धानसम्म पुग्ने भन्ने विषय अडियोको सत्यता, धम्कीको प्रकृति र त्यसको उद्देश्य पुष्टि गर्ने प्रमाणमा निर्भर रहने कानुन व्यवसायीहरू बताउँछन् । सुनारले भने आफूसँग जोडेर सार्वजनिक गरिएको अडियो कृत्रिम बौद्धिकता (एआई) लगायतका प्रविधि प्रयोग गरी तयार पारिएको हुन सक्ने दाबी गर्दै आरोप अस्वीकार गरेका छन् । ् प्रहरीले भने अडियोको प्रामाणिकता र घटनाको वास्तविकता पुष्टि नगरी उनलाई कुनै कसुरमा दोषी ठहर गर्न नमिल्ने बताएको छ । प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार आपराधिक लाभको कसुर स्थापित हुन धम्कीपूर्ण अभिव्यक्ति मात्रै पर्याप्त हुँदैन । त्यस्तो धम्कीबाट बेइमानीपूर्वक लाभ लिने उद्देश्य रहेको समेत पुष्टि हुनुपर्छ । मुलुकी अपराध संहिताको दफा २५३ ले कुनै व्यक्तिलाई आफू वा अरू कसैलाई क्षति पु‍र्याउने डरत्रासमा पारी बेइमानीपूर्वक लाभ उठाउने, त्यस्तो लाभ लिने नियतले कुनै काम गराउने वा कुनै काम गर्नबाट रोक्ने कार्यलाई आपराधिक लाभको दायरामा राखेको छ । अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार यो कसुर स्थापित गर्न धम्की र त्यसबाट प्राप्त गर्न खोजिएको लाभबीच सम्बन्ध देखिनु आवश्यक हुन्छ । कसैले रिसको आवेगमा गालीगलौज गर्नु वा धम्कीपूर्ण भाषा प्रयोग गर्नु मात्रै आपराधिक लाभको कसुर पुष्टि गर्ने पर्याप्त आधार हुँदैन । कसैलाई रकम दिन बाध्य पारिएको, कुनै काम गर्न दबाब दिइएको वा कुनै काम गर्नबाट रोकिएको प्रमाण भेटिएमा घटनाको प्रकृतिअनुसार दफा २५३ आकर्षित हुन सक्ने कुँवर बताउँछन् । उनका अनुसार लाभ वास्तवमै प्राप्त भएको थियो वा लाभ लिने उद्देश्यले कुनै काम गराउन खोजिएको थियो भन्ने विषयसमेत अनुसन्धानबाट स्पष्ट हुनुपर्छ । मुलुकी अपराध संहिताको दफा २५३ मा आपराधिक लाभको प्रकृतिअनुसार तीन तहको सजाय व्यवस्था गरिएको छ । अधिवक्ता कुँवरका अनुसार कसैको ज्यान लिने, अङ्गभङ्ग गर्ने वा गम्भीर चोट पुर्‍याउने डर देखाएर आपराधिक लाभ लिएको पुष्टि भए सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुन सक्छ । त्यस्तै, कसैको व्यवसायमा गैरकानुनी क्षति पुर्‍याउने वा चरित्रमा झुटो दोष लगाउने डर देखाएर आपराधिक लाभ लिएको अवस्थामा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था छ । यी दुई अवस्थाबाहेक अन्य प्रकृतिको आपराधिक लाभसम्बन्धी कसुरमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने कुँवरले जानकारी दिए । यद्यपि, सुनार प्रकरणमा कुन कानुनी व्यवस्था आकर्षित हुन्छ भन्ने निष्कर्षमा पुग्न अडियोमा प्रयोग भएको भाषा, धम्कीको उद्देश्य र त्यसबाट कुनै लाभ लिन खोजिएको थियो वा थिएन भन्ने तथ्य परीक्षण गर्नुपर्ने प्रहरी प्रवक्ता काफ्ले बताउँछन् । उनका अनुसार सार्वजनिक आरोपकै आधारमा कुनै व्यक्तिलाई निश्चित कसुर वा सजायसँग जोडेर निष्कर्ष निकाल्न मिल्दैन । उनले सुनारविरुद्ध उजुरी नपरेको जानकारी दिए । प्रहरी प्रवक्ता काफ्लेले कसैले आफूमाथि अन्याय भएको भन्दै उजुरी दिएमा कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने बताए । अर्का अधिवक्ता प्रकाश रेग्मीका अनुसार सुनार प्रकरणमा आपराधिक लाभको प्रश्न उठेमा कथित धम्की र आर्थिक वा अन्य कुनै लाभबीच सम्बन्ध थियो कि थिएन भन्ने विषय अनुसन्धानको महत्त्वपूर्ण आधार बन्न सक्छ । त्यसका लागि अडियोको मूल फाइल, सम्बन्धित व्यक्तिबीच आदानप्रदान भएका सन्देश, टेलिफोन सम्पर्क विवरण, उनीहरूको बयान तथा आवश्यकताअनुसार बैंकिङ कारोबारका अभिलेखसमेत परीक्षण गर्न सकिने रेग्मी बताउँछन् । उनका अनुसार बैंकिङ कारोबारमा रकम लेनदेन भएको देखिँदैमा आपराधिक लाभको कसुर पुष्टि हुँदैन । रकम किन, कसलाई र कस्तो परिस्थितिमा दिइएको थियो भन्ने तथ्यसमेत खुल्नुपर्छ । निजी वा अन्तरङ्ग सामग्री सार्वजनिक गरिदिने डर देखाएर रकम मागिएको वा कसैलाई कुनै काम गर्न बाध्य पारिएको प्रमाण भेटिएमा आपराधिक लाभसम्बन्धी कानुन आकर्षित हुन सक्ने रेग्मीको भनाइ छ । त्यस्तो अवस्थामा निजी सामग्रीको अनधिकृत प्रयोग वा प्रसारणसँग सम्बन्धित अन्य कानुनी व्यवस्था पनि आकर्षित हुन सक्ने उनी बताउँछन् । रास्वपाको अनुशासन आयोगले सुनारसँग स्पष्टीकरण मागे पनि पार्टीको आन्तरिक छानबिन र राज्यका निकायले गर्ने फौजदारी अनुसन्धान फरक प्रक्रिया हुन् । पार्टीले आफ्नो विधान र आचारसंहिताअनुसार सांसदको व्यवहारमाथि छानबिन गरी अनुशासनात्मक कारबाही गर्न सक्छ । तर, कुनै फौजदारी कसुर भएको हो वा होइन भन्ने विषयको अनुसन्धान र कानुनी निरूपण सम्बन्धित राज्य निकायबाट मात्रै हुन्छ । नाम सार्वजनिक गर्न नचाहने एक प्रहरी अधिकारीका अनुसार प्रहरीमा जाहेरी परेमा वा कानुनअनुसार अनुसन्धान अघि बढाउने आधार देखिएमा उपलब्ध प्रमाण र घटनाको प्रकृतिका आधारमा अनुसन्धान गर्न सकिन्छ । अनुसन्धानबाट संकलित प्रमाणको मूल्याङ्कनपछि सरकारी वकिलले अभियोजनसम्बन्धी निर्णय गर्ने ती अधिकारीले बताए । सुनारले सार्वजनिक अडियो एआईलगायत प्रविधिको प्रयोगबाट तयार पारिएको हुन सक्ने दाबी गरेकाले यसको प्रामाणिकता परीक्षण अनुसन्धानको पहिलो महत्त्वपूर्ण पक्ष हुने देखिएको छ । अडियोको मूल फाइल, आवाजको पहिचान, सम्भावित सम्पादन तथा अन्य डिजिटल प्रमाणको प्राविधिक परीक्षणबाट यसको सत्यता जाँच्न सकिन्छ । नाम नखुलाउने सर्तमा ती प्रहरी अधिकारीले अडियो वास्तविक भए पनि त्यसमा सुनिएका कुरालाई कानुनी रूपमा अपराध मान्न मिल्छ कि मिल्दैन भन्ने विषय छुट्टै जाँच गर्नुपर्ने बताए । उनका अनुसार अडियो नक्कली भएको पुष्टि भएमा त्यसलाई बनाउने र नक्कली भएको थाहा हुँदाहुँदै सार्वजनिक गर्ने व्यक्तिमाथि पनि अनुसन्धान हुनसक्छ । यसरी सुनार प्रकरणको कानुनी भविष्य अडियो वास्तविक हो वा होइन भन्ने प्रश्नमा मात्रै सीमित छैन । अडियो वास्तविक भएको अवस्थामा त्यसमा व्यक्त धम्कीको उद्देश्य के थियो र त्यसबाट अनुचित लाभ लिन खोजिएको थियो वा थिएन भन्ने प्रमाणसमेत निर्णायक हुनेछ । त्यस्तो प्रमाणबाट आपराधिक लाभसम्बन्धी कसुरका आवश्यक तत्व पुष्टि भएमा प्रकरण पार्टीको अनुशासनात्मक कारबाहीमा मात्रै सीमित नरही फौजदारी अनुसन्धान र अभियोजनको प्रक्रियासम्म पुग्न सक्नेछ ।

शिक्षक सरुवा अब एक वर्षमै, तीनवर्षे बाध्यता हट्दै

काठमाडौं । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक विद्यालयका शिक्षकहरूको सरुवा प्रक्रियामा  फेरबदल गरिएको छ । ‘शिक्षा (एघारौं संशोधन) नियमावली, २०८३’ ले मूल नियमावलीको नियम ९९ मा संशोधन गर्दै शिक्षक सरुवाका नियमहरूलाई फेरबदल गर्न लागिएको हो ।  प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि ‘एक वर्ष पूरा भएका’ र अनिवार्य अवकाश हुन ‘एक वर्षभन्दा बढी समय बाँकी रहेका’ शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरुवाका लागि निवेदन दिन सक्नेछन् । विशेष अवस्थाबाहेकका साधारण स्थायी शिक्षकहरूको हकमा यसअघि राखिएको तीनवर्षे अवधि घटाएर अब एक वर्ष सेवा अवधि पूरा भएपछि नै सरुवा गर्न बाधा नपर्ने व्यवस्था गरिएको छ ।  यसको अर्थ अब कुनै पनि स्थायी शिक्षकले नयाँ विद्यालयमा हाजिर भएको वा नियुक्ति पाएको एक वर्षमै सामान्य रूपमा सरुवा पाउन सक्ने छैनन् । यसअघि यो तीन वर्ष पुगेपछि मात्र हुने व्यवस्था थियो । सरुवाका लागि आएका निवेदनहरूमाथि विचार गर्दा मानवीय र विशेष अवस्थालाई पहिलो प्राथमिकतामा राखिनेछ ।  संशोधित नियमअनुसार ‘ख’ र ‘ग’ वर्गका अपाङ्गता भएका शिक्षक, अरूको सहारा बिना हिँडडुल गर्न नसक्ने फरक क्षमताका व्यक्ति, गर्भवती महिला र दुई वर्षभन्दा कम उमेरका बच्चा भएका महिला शिक्षकलाई सरुवामा ‘पहिलो प्राथमिकता’ दिइनेछ । अन्य सामान्य शिक्षकहरूको हकमा भने विद्यालयले नै प्राथमिकताक्रम तय गर्नेछ । यसैगरी, दुई विद्यालय वा शिक्षकहरूबीच हुने पारस्परिक सरुवाको हकमा पनि निवेदन दिने शिक्षकहरूको कम्तीमा एक वर्ष सेवा अवधि अनिवार्य रूपमा बाँकी हुनुपर्ने सर्त राखिएको छ । यसमा पनि यसअघि राखिएको तीन वर्षे बाध्यकारी अवधिलाई घटाएर एक वर्षमा झार्न प्रस्ताव गरिएको हो । नियमावलीले ‘विशेष अवस्था’लाई पनि थप प्रस्ट्याएको छ । यसअन्तर्गत स्थायी विपद्मा परेका शिक्षक, आकस्मिक वा आपतकालीन अवस्थाका कारण ज्यान जोगाउनुपर्ने स्थिति, वा शिक्षकको पतिरपत्नी, छोराछोरी वा आमाबुवालाई गम्भीर बिरामी भई निरन्तर हेरचाह गर्नुपर्ने अवस्थालाई समेटिएको छ । यस्तो अवस्था विशेषज्ञ डाक्टर वा मानसिक स्वास्थ्य विशेषज्ञबाट प्रमाणित भएको हुनुपर्नेछ ।  यसैगरी, सरकारले तोकेको कडा रोग लागेको वा मेडिकल बोर्डले सिफारिस गरेको फरक क्षमता भएका शिक्षकले पनि यो सुविधा पाउनेछन् । नयाँ संशोधन लागू भएपछि साविकको नियमावलीमा रहेको उपनियम (१५) लाई भने पूर्ण रूपमा हटाउन प्रस्ताव गरिएको छ ।

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।  निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापाले सर्वाधिक ५ हजार १९३ मत प्राप्त गरिन् ।  महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो स्थानमा रहँदा निमा गिरी ३ हजार ९०६ मत प्राप्त गरी तेस्रो भइन् । यस्तै, कुसुमदेवी थापा ३ हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित पाँचौं स्थानमा रहेर निर्वाचित भइन् । निर्वाचित हुने अन्य उम्मेदवारमा विनिता खड्का पनि भए पनि उनीमाथि मुद्दा रहेकाले उनलाई निर्वाचन समितिले तत्काल निर्वाचित गरेकाे छैन । समितिका अनुसार उनी आरोपमुक्त भएपछिमात्र उनलाई निर्वाचित घोषित गरिनेछ । अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापा मगर, गंगा दाहाल र उमा दाहाल छन् । प्राप्त मतपरिणामअनुसार विनिता खड्काले २ हजार ८६६, अनिता देवकोटाले २ हजार ८५३, रीता सेन ओलीले २ हजार ७००, सृजना अधिकारीले २ हजार ६५८ र मुना भुसालले २ हजार ५१४ मत प्राप्त गरेकी छिन् ।  त्यस्तै, गीता सत्यालले २ हजार ४२०, कल्पना तिवारीले २ हजार ३६३, रीता थापा मगरले २ हजार ३०८, गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । महिला खुलातर्फको १५ सदस्यीय समूहमा निर्वाचित हुनका लागि ३६ उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएको थियो । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने क्रममा पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुलातर्फका केन्द्रीय सदस्यहरूको मतगणना गरिएको हो ।

यात्रुसँग १४ हजार असुलेको उजुरीपछि हिमालय एयरलाइन्सका कर्मचारीमाथि अनुसन्धान

काठमाडौं । वैदेशिक रोजगारीमा जान लागेका यात्रुसँग पुनः श्रम स्वीकृति गराइदिने नाममा अतिरिक्त रकम असुलेको आरोपमा हिमालय एयरलाइन्सका एक कर्मचारीलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले .हिमालय एयरलाइन्सका कर्मचारी हंशराज जैशीलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाएको हो । कार्यालयका अनुसार असोज २६ गते वैदेशिक रोजगारीमा जान लागेका मीनबहादुर रावतको श्रम स्वीकृतिको म्याद समाप्त भएको थियो ।  सोही क्रममा पुनः श्रम स्वीकृति गराइदिने भन्दै उनीसँग अतिरिक्त रकम असुल गरिएको उजुरी कार्यालयमा फोनमार्फत प्राप्त भएको थियो । उजुरीपछि कार्यालयले गरेको प्रारम्भिक छानबिनमा जैशीको मोबाइल नम्बरमा रहेको ई–सेवा खातामा १४ हजार रुपैयाँ कारोबार भएको पाइएको छ ।  उक्त रकम ई–सेवा कारोबार सन्दर्भ नम्बर ३२४४८४०४४ मार्फत पठाइएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ई–सेवाको कारोबार विवरणसँगै विमानस्थलको सीसीटीभी फुटेजसमेत अध्ययन गर्दा जैशीले यात्रुलाई सहजीकरण गर्ने बहानामा शंकास्पद गतिविधि गरेको देखिएको हो । प्रारम्भिक छानबिनबाट शंकास्पद गतिविधि देखिएपछि उनीमाथि थप अनुसन्धान गरी आवश्यक कानुनी कारबाही अघि बढाउन विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाइएको अध्यागमन कार्यालयले स्पष्ट पारेको छ । अध्यागमन क्षेत्रमा हुने अनियमितताविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै नीतिगत, व्यवहारगत, प्रणालीगत, प्रविधिगत तथा कार्यान्वयन तहसम्म सुधारका काम अघि बढाइएको कार्यालयको भनाइ छ । त्यस्तै, अध्यागमनसम्बन्धी प्राप्त हुने उजुरी तथा गुनासाको तत्काल छानबिन गरी आवश्यक कारबाही गर्ने कार्यलाई निरन्तरता दिइएको पनि कार्यालयले जनाएको छ ।

सिटिजन्स बैंकका सहयात्री

काठमाडौं । दुई दशकअघि स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारणसभासम्म आइपुग्दा वित्तीय कारोबार, सेवा सञ्जाल र संस्थागत क्षमताको विस्तार गरेको छ । बैंकले बुधबार, असोज २८ गते २०औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ । स्थापना कालदेखि नै बैंकिङ सेवा विस्तारमा केन्द्रित रहेको बैंकले पछिल्लो समय ग्राहकको बदलिँदो आवश्यकता र प्रविधिको विकासअनुसार सेवाको स्वरूपलाई समेत परिवर्तन गर्दै आएको छ । परम्परागत शाखा केन्द्रित बैंकिङबाट डिजिटल सेवातर्फ अघि बढिरहेको बैंकले आगामी रणनीतिमा प्रविधि, जोखिम व्यवस्थापन, ग्राहक सेवा र दिगो वित्तलाई प्राथमिकतामा राखेको छ । दुई दशकको व्यावसायिक यात्रामा शाखा विस्तार, वित्तीय संस्थाको प्राप्ति, विभिन्न बैंकिङ सेवाको विकास तथा अनुभवी नेतृत्वको परिचालनमार्फत आफ्नो संस्थागत उपस्थिति बलियो बनाउने प्रयास बैंकले गरेको छ । हाल बैंकको देशभर २०० शाखा र १६९ एटीएम सञ्चालनमा छन् । यसका अतिरिक्त तीनवटा एक्सटेन्सन काउन्टर र ४२ वटा शाखारहित बैंकिङ सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । शाखा, एटीएम, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवाको सञ्जालले बैंकलाई विभिन्न स्थानका ग्राहकसम्म वित्तीय सेवा पुर्याउन सहयोग गरेको छ । बैंकको २०औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्नेछ । प्रस्तावअनुसार बैंकले चुक्ता पुँजीको ३.८० प्रतिशतका दरले ५८ करोड ९२ लाख ८३ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशतका दरले ३ करोड १० लाख १४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । यसअनुसार बैंकले कुल चार प्रतिशत अर्थात् ६२ करोड दुई लाख ९८ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार रुपैयाँ रहेको छ । बैंकमा संस्थापक सेयरधनीको ५१.०८ प्रतिशत र सर्वसाधारण सेयरधनीको ४८.९२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।  स्थापना भएको दोस्रो आर्थिक वर्षदेखि नै सेयरधनीलाई निरन्तर प्रतिफल प्रदान गर्दै आएको बैंक २०६३ असोज २७ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट २०६४ वैशाख ५ गते ‘क’ वर्गको वित्तीय संस्थाका रूपमा बैंकिङ कारोबार गर्न इजाजतपत्र प्राप्त गरेपछि बैंकले २०६४ वैशाख ७ गतेदेखि कारोबार सञ्चालन गरेको थियो । बैंकले आफ्नो व्यावसायिक विस्तारका क्रममा नेपाल राष्ट्र बैंकको स्वीकृतिमा विभिन्न वित्तीय संस्थालाई प्राप्ति गरेको छ । बैंकमा गाभिएका संस्थामा नेपाल हाउजिङ मर्चेन्ट फाइनान्स लिमिटेड, पिपल्स फाइनान्स लिमिटेड, प्रिमियर फाइनान्स लिमिटेड, सहयोगी विकास बैंक लिमिटेड, तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड र सर्जना फाइनान्स लिमिटेड छन् । विभिन्न वित्तीय संस्थाको प्राप्तिले बैंकको संस्थागत संरचना र व्यावसायिक यात्रामा भूमिका खेलेको छ । बैंकका संस्थापक तथा सञ्चालकमा बैंकिङ, उद्योग, व्यापार, व्यवस्थापन, सामाजिक क्षेत्र र इन्जिनियरिङलगायत पृष्ठभूमिका व्यक्तिहरू छन् । विविध क्षेत्रको अनुभवलाई बैंकको संस्थागत सञ्चालन र व्यावसायिक विकासमा उपयोग गर्ने प्रयास बैंकको नेतृत्व संरचनामा देखिन्छ । यस्ताे छ बैंककाे सञ्चालक समिति  प्रबलजंग पाण्डे सिटिजन्स बैंकका अध्यक्ष प्रबलजंग पाण्डे उद्योग, व्यापार तथा बैंकिङ क्षेत्रमा सक्रिय व्यवसायी हुन् । इन्जिनियरिङमा स्नातक गरेका ५१ वर्षीय पाण्डेसँग उत्पादनमूलक उद्योग र व्यापार क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव छ । उनी औषधि तथा सिमेन्ट उद्योगमा आबद्ध छन् । यी क्षेत्रमा उनको संलग्नता स्वास्थ्य सेवा, निर्माण तथा पूर्वाधारसँग सम्बन्धित व्यावसायिक गतिविधिसम्म फैलिएको छ । व्यावसायिक क्षेत्रसँगै पाण्डे निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा एसोसिएट उपाध्यक्षको भूमिकामा छन् । नेपाल लिजिङ एन्ड फाइनान्स लिमिटेडमा संचालक भई ५ वर्ष काम गरेका उनीसँग नेपाल टेलिकममा इन्जिनियर र बरिष्ठ इन्जिनियर पदमा १२ वर्ष काम गरेको अनुभव छ ।  प्रकाशचन्द्र मैनाली प्रकाशचन्द्र मैनाली बैंकका सञ्चालक हुन् । उनी   सेवा उद्योग, पोल्ट्री तथा अन्य औद्योगिक क्षेत्रमा संलग्न व्यवसायी हुन् । ६० वर्षीय मैनालीले आफ्नै व्यवसाय सुरु गर्नुअघि ज्वाइन्ट भेन्चर बैंकमा ९ वर्ष काम गरेका थिए । उनले बैंकिङ क्षेत्रको ११ वर्षको अनुभवपछि विभिन्न व्यावसायिक क्षेत्रमा आफ्नो संलग्नता विस्तार गरेका छन् ।  दिग्विजय बिष्ट बैंकका सञ्चालक दिग्विजय बिष्ट पुँजी बजार, वित्तीय तथा अन्य व्यावसायिक क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव भएका व्यवसायी हुन् । ५२ वर्षीय बिष्टले अमेरिकाको ओहायोस्थित मियामी विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन् । व्यवस्थापनसम्बन्धी शैक्षिक पृष्ठभूमि र व्यावसायिक अनुभवका आधारमा उनी विभिन्न सामाजिक तथा व्यावसायिक संस्थामा समेत आबद्ध छन् ।  अनिल ज्ञवाली  बैंकका अर्का सञ्चालक अनिल ज्ञवाली नेपाली बैंकिङ क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव भएका बैंकर हुन् । ६४ वर्षीय ज्ञवालीले बैंक शाखा सञ्चालन, जोखिम व्यवस्थापन तथा संस्थागत नेतृत्वका विभिन्न जिम्मेवारी सम्हालेका छन् । उनले फिलिपिन्सको मनिलास्थित फिलिपिन क्रिस्चियन युनिभर्सिटीबाट स्नातकोत्तर गरेका थिए । ज्ञवालीले नेपालका विभिन्न वाणिज्य बैंकमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुका साथै विदेशी बैंकमा वरिष्ठ पदमा रहेर काम गरेका छन् । नबिल बैंक, ग्लोबल आइएमइ बैंकमा काम गरेका उनले नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए । त्यसअघि सिटीबैंक एनएको उपाध्यक्ष तथा नेपाल र भुटानको व्यवसाय प्रमुख थिए । बैंकिङ सञ्चालन, जोखिम व्यवस्थापन र अन्तर्राष्ट्रिय बैंकिङमा प्राप्त अनुभव उनको व्यावसायिक यात्राका प्रमुख पक्ष हुन् ।  डा. विनोद आत्रेय डा. विनोद आत्रेय केन्द्रीय बैंकिङ, वित्तीय व्यवस्थापन, संस्थागत सुधार तथा शैक्षिक क्षेत्रमा चार दशकभन्दा लामो अनुभव भएका विज्ञ हुन् । उनी पनि बैंककाे सञ्चालक हुन् ।  तालिम तथा क्षमता विकास, रणनीतिक योजना, मानव संसाधन व्यवस्थापन, प्रशासन र लघुवित्त सञ्चालनमा उनको विशेषज्ञता छ । उनले एक बैंकमा तीन वर्षभन्दा बढी प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दै संस्थागत सुधारका कार्यक्रम सञ्चालन गरेका थिए । आत्रेयले ७ वर्षसम्म संयुक्त राष्ट्रसंघका परियोजनासँग आबद्ध भएर काम गरेका थिए । सरकारी मन्त्रालयहरूको संस्थागत सुधार र पुनर्संरचनासम्बन्धी कार्ययोजना निर्माणमा योगदान दिएका उनले पूर्वाधार बैंक स्थापना तथा बीएफआईएन, इमर्जिङ नेपाल लिमिटेड र केयर रेटिङ नेपाल लिमिटेडजस्ता संस्थामा संलग्न भएर काम गरेका थिए । उनले अस्ट्रेलियाबाट विद्यावारिधि, भारतबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर र नेपालबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । आत्रेयका तीन दर्जनभन्दा बढी लेख जर्नल तथा पत्रपत्रिकामा प्रकाशित छन् । उनले सन् २०२३ मा भिक्टोरिया विश्वविद्यालयबाट लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका थिए ।  डा. राजेन्द्र पण्डित बैंकका अर्का सञ्चालक डा. राजेन्द्र पण्डित अर्थशास्त्र, सार्वजनिक नीति तथा बैंकिङ क्षेत्रका विज्ञ हुन् । नेपाल राष्ट्र बैंकमा दुई दशकभन्दा बढी समय काम गरेका पण्डित हाल नेपाल विश्वविद्यालयमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन् । केन्द्रीय बैंकमा रहँदा उनले समष्टिगत आर्थिक नीति, मौद्रिक नीति, विदेशी विनिमय नीति तथा बैंकिङ नियमन र सुपरिवेक्षणसम्बन्धी काम गरेका थिए । पण्डितले अर्थ मन्त्रालयमा बजेट विज्ञका रूपमा पनि काम गरेका थिए । राष्ट्रिय बजेट तयारी तथा आर्थिक सर्वेक्षणको सहलेखनमा उनको योगदान रहेको छ । उनले अमेरिकाको भर्जिनिया कमनवेल्थ विश्वविद्यालयबाट सार्वजनिक नीतिमा विद्यावारिधि र बेलायतको बर्मिङ्घम विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनका अनुसन्धानमूलक लेख तथा शैक्षिक सामग्री राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । उनले प्रबल जनसेवाश्री पदकसमेत प्राप्त गरेका छन् ।  हेमा देवी खड्का केसी बैंककी सञ्चालक हेमा देवी खड्का केसी अन्तर्राष्ट्रिय विकास, कार्यक्रम व्यवस्थापन तथा संस्थागत नेतृत्वमा दुई दशकभन्दा बढी अनुभवी छिन् । उनले एसिया, अफ्रिका र मध्यपूर्वका विभिन्न देशमा काम गरेकी छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), अक्सफाम, जर्मन विकास सहयोग संस्था (जीआईजेड) र बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी) लगायतका संस्थासँग आबद्ध भएर उनले काम गरेकी छन् । हरित आर्थिक विकास, लघु, साना तथा मझौला उद्यम, उद्यमशीलता, वित्तीय पहुँच, रोजगारी, प्राविधिक तथा व्यावसायिक शिक्षा र विपद् सामना गर्ने क्षमता विकास उनका कार्यअनुभवका प्रमुख क्षेत्र हुन् । उनले सहायक आवासीय प्रतिनिधि, वरिष्ठ कार्यक्रम व्यवस्थापक, उपक्षेत्रीय निर्देशक तथा कार्यक्रम प्रमुखजस्ता जिम्मेवारी सम्हालेकी छन् । नेपालसहित ताजिकिस्तान, लाओस, यमन, तान्जानिया, नाइजेरिया, जिम्बाब्वे र अफगानिस्तानमा काम गरेको अनुभव भएकी खड्का केसी हाल सिटिजन्स बैंकको सार्वजनिक सञ्चालकका रूपमा कार्यरत छिन् । बैंककाे उच्च व्यवस्थापन  गणेशराज पोखरेल बैंकको व्यवस्थापन नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले सम्हालिरहेका छन् । बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका पोखरेल सिटिजन्स बैंकका संस्थापक सदस्यमध्ये एक हुन् । सीईओको जिम्मेवारीमा पुग्नुअघि उनले बैंकका विभिन्न विभागमा काम गर्दै व्यवसाय विस्तार र सञ्चालनमा भूमिका निर्वाह गरेका थिए । काठमाडौं विश्वविद्यालयबाट वित्त विषयमा स्नातकोत्तर, त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङमा एमबीए र बैंकिङ कानुनमा स्नातक गरेका उनले नेपाल व्यवस्थापन संघमा सीईओको भूमिका समेत निर्वाह गरेका थिए ।  राजेन्द्रलाल श्रेष्ठ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) राजेन्द्रलाल श्रेष्ठ बैंकिङ क्षेत्रमा करिब २४ वर्षको अनुभव भएका बैंकर हुन् । भारतको पुणेस्थित एसआईबीएमबाट एमबीए गरेका श्रेष्ठको विशेष दक्षता जोखिम व्यवस्थापनमा छ । स्थापनाकालदेखि नै सिटिजन्स बैंकसँग आबद्ध उनले शाखा सञ्चालन, व्यापार वित्त, कर्जा तथा बजारीकरण, कर्जा प्रशासन, कर्जा असुली, जोखिम व्यवस्थापन, अनुपालन, सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण, कानुनी सेवा र सेयरसम्बन्धी विभागमा काम गरेका छन् । श्रेष्ठले सिटिजन्स बैंकको न्युरोड शाखामा पाँच वर्ष शाखा प्रबन्धकका रूपमा जिम्मेवारी सम्हालेका थिए । हाल उनको कार्यक्षेत्रमा कानुन तथा सेयर, कर्जा तथा बजारीकरण, वित्त र अनुसन्धान तथा विकास विभाग रहेको बैंकले जनाएको छ ।  राजेन्द्रलाल श्रेष्ठ प्रमुख कर्जा अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) सुमन मुलेपती बैंकिङ क्षेत्रमा करिब १८ वर्षको अनुभव भएका बैंकर हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका मुलेपती बैंक स्थापनाकालदेखि नै सिटिजन्स बैंकसँग आबद्ध छन् । उनले वित्त विभागबाट आफ्नो जिम्मेवारी सुरु गरेका थिए । त्यसपछि कुमारीपाटी शाखाको प्रबन्धकका रूपमा काम गरेका उनले उपभोक्ता बैंकिङ तथा साना तथा मझौला उद्यम इकाइको प्रमुख भएर करिब ९ वर्ष जिम्मेवारी सम्हालेका थिए । कर्पोरेट तथा कमर्सियल बैंकिङ इकाइको प्रमुखका रूपमा पनि उनले पाँच वर्ष काम गरेका थिए । कर्जा व्यवस्थापन, उपभोक्ता बैंकिङ, एसएमई तथा संस्थागत बैंकिङमा प्राप्त अनुभवका आधारमा उनी अहिले बैंकको कर्जा व्यवस्थापनको नेतृत्वमा छन् । सञ्जीवकुमार श्रेष्ठ सिटिजन्स बैंकको सूचना प्रविधिसम्बन्धी कार्यको नेतृत्व प्रमुख सूचना प्रविधि अधिकृत तथा एसीईओ सञ्जीवकुमार श्रेष्ठले गरिरहेका छन् । बैंकिङ क्षेत्रमा सूचना प्रविधिसम्बन्धी काममा दुई दशकभन्दा बढी अनुभव भएका श्रेष्ठले युक्रेनबाट कम्प्युटर इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । बैंकिङ प्रणालीको प्रविधिगत सञ्चालनसँगै शाखारहित बैंकिङ, कार्ड सेवा र रेमिट्यान्स क्षेत्रमा समेत उनको अनुभव छ । सूचना प्रविधिमा आधारित बैंकिङ सेवा र डिजिटल कारोबार प्रणालीको विकासमा उनले काम गर्दै आएका छन् । नारायणराज अधिकारी प्रमुख प्रशासन अधिकृत, प्रवक्ता, सूचना अधिकारी तथा एसीईओ नारायणराज अधिकारी बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका बैंकर हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका अधिकारी २०६४ देखि सिटिजन्स बैंकसँग आबद्ध छन् । यसअघि उनले अर्को वाणिज्य बैंकमा रिलेसनसिप म्यानेजर तथा शाखा प्रबन्धकका रूपमा काम गरेका थिए । सिटिजन्स बैंकमा उनले पोखरा शाखाको प्रबन्धकका रूपमा जिम्मेवारी सम्हालेपछि कर्जा जोखिमसम्बन्धी कामको नेतृत्व गरेका थिए । कन्सोर्टियम, पूर्वाधार, कर्पोरेट तथा एसएमई इकाइसँग सम्बन्धित कामको अनुभव भएका अधिकारी हाल प्रशासन, मानव संसाधन, सामान्य सेवा, कर्जा असुली तथा संस्थागत सञ्चार विभागको जिम्मेवारीमा छन् । प्रवक्ता तथा सूचना अधिकारीका रूपमा पनि कार्यरत अधिकारीको अनुभव प्रशासनिक व्यवस्थापनदेखि संस्थागत सञ्चारसम्म फैलिएको छ । अमित खनाल प्रमुख जोखिम अधिकृत तथा एसीईओ अमित खनाल बैंकिङ क्षेत्रमा १८ वर्षभन्दा बढी अनुभव भएका बैंकर हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका खनाल पछिल्लो १५ वर्षदेखि सिटिजन्स बैंकसँग आबद्ध छन् । कर्जा तथा बजारीकरण क्षेत्रमा १२ वर्षभन्दा बढी अनुभव भएका उनले कर्पोरेट, एसएमई र व्यक्तिगत कर्जासम्बन्धी जिम्मेवारी सम्हालेका छन् । खनालले बैंकको कर्पोरेट तथा एसएमई कर्जा जोखिम विभागको नेतृत्व गर्दै करिब सात वर्ष काम गरेका थिए । हाल उनको जिम्मेवारीमा कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा सूचना प्रविधि जोखिम व्यवस्थापनका साथै नियामकीय अनुपालन र सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी काम समेटिएका छन् । रोशन मल्ल पूर्वाधार, कन्सोर्टियम तथा कर्पोरेट बैंकिङ प्रमुख (सीबीओ) रोशन मल्लसँग बैंकिङ क्षेत्रमा १८ वर्षभन्दा बढी अनुभव छ । कर्पोरेट बैंकिङ, परियोजना वित्त र पूर्वाधार बैंकिङमा विशेष अनुभव भएका मल्लले वित्त विषयमा व्यवस्थापनमा स्नातकोत्तर, वित्तीय व्यवस्थापनमा एमबीए तथा एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) उपाधि हासिल गरेका छन् । मल्लले पूर्वाधार तथा जलविद्युत् आयोजनामा केन्द्रित कर्जा पोर्टफोलियो व्यवस्थापन गर्दै आएका छन् । उनको नेतृत्वमा जलविद्युत्, स्टिल, सिमेन्ट, होटल, रियल इस्टेट तथा व्यापारलगायत क्षेत्रका ठूला परियोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी काम अघि बढाइएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै कन्सोर्टियम वित्तपोषणमा समेत उनले काम गरेका छन् । रोशन मानन्धर बैंकका प्रमुख सञ्चालन अधिकृत (सीओओ) तथा गुनासो व्यवस्थापन अधिकारी रोशन मानन्धर शाखा सञ्चालन र खुद्रा बैंकिङमा अनुभव भएका बैंकर हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका मानन्धर २०६३ पुस १ गतेदेखि सिटिजन्स बैंकसँग आबद्ध छन् । उनले दरबारमार्ग, नयाँ बानेश्वर र कुपण्डोल शाखामा विभिन्न जिम्मेवारी सम्हालेका थिए । २०७५ कात्तिक १८ गतेदेखि खुद्रा बैंकिङ इकाइको प्रमुखका रूपमा काम गरेका मानन्धर हाल केन्द्रीय सञ्चालन, व्यापार प्रशासन, प्रदेश कार्यालयहरू तथा दरबारमार्ग शाखाको जिम्मेवारीमा छन् । परेशराज कायस्थ बैंकका प्रमुख वित्त अधिकृत (सीएफओ) तथा कम्पनी सचिव परेशराज कायस्थ चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले भारतको इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका छन् । सिटिजन्स बैंकमा आबद्ध हुनुअघि उनले अर्को वाणिज्य बैंकमा तीन वर्षभन्दा बढी समय वित्त प्रमुखका रूपमा काम गरेका थिए । त्यसपछि कार्यकारी वित्त अधिकृतका रूपमा सिटिजन्स बैंकमा आबद्ध भएका कायस्थ हाल बैंकको वित्तीय व्यवस्थापन तथा कम्पनी सचिवसम्बन्धी जिम्मेवारीमा छन् ।

महिला सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला) पदमा प्रतिमा गौतम निर्वाचित भएकी छिन् । महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानु बास्तोलाले १ हजार ५५४ मत प्राप्त गरिन् । गौतमले बास्तोलालाई ३ हजार ५६२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् ।  नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा निर्वाचन भएको हो । 

ओमानमाथि नेपालको शानदार जित

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानमाथि शानदार जित निकालेको छ ।  मंगलबार (आज) ओमानको अल अमिरातमा भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रन बनाउँदै अलआउट भयो । यससँगै नेपालले विश्वकप लिग–२ को १३४औं खेलमा महत्त्वपूर्ण जित हात पारेको हो । यसअघि टसको विवरण प्राप्त नभए पनि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए ।  उनले ६७ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरे । त्यस्तै, करण केसीले विस्फोटक ब्याटिङ गर्दै १६ बलमै ४० रन जोडे । उनले आफ्नो आक्रामक इनिङ्समा चार छक्का र एक चौका प्रहार गरे । ओपनर अर्जुन कुमालले ५९ बलमा चार चौकासहित ४० रन बनाए । ईशान पाण्डेले ५५ बलमा ३७ रन जोड्दा बसिर अहमदले ५० बलमा ३७ रनको योगदान दिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले १७ बलमा २२ रन बनाए । सन्दीप जोराले १० रन जोड्दा आसिफ शेख चार रनमै आउट भए । ओमानका लागि शकिल अहमद, शाह फैसल र सोनावलेले नेपाली ब्याटरलाई आउट गरेका थिए । यद्यपि, नेपालले मध्यक्रम र तल्लोक्रमको उपयोगी योगदानमा प्रतिस्पर्धात्मक योगफल खडा गर्न सफल भयो । २६४ रनको लक्ष्य पछ्याएको ओमानले नेपाली बलिङसामु अपेक्षित प्रदर्शन गर्न सकेन । घरेलु टोली ४० ओभरमै समेटिएपछि नेपालले ११३ रनको प्रभावशाली जित दर्ता गरेको हो ।