सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि समन्वय गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

पर्वत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पर्वतको सुनछाप पहिरोको स्थलगत अवलोकन गरेका छन् ।

उनले मोदी गाउँपालिका–२ स्थित पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन् । मन्त्री श्रेष्ठले स्थानीयवासीसँग भेटेर उनीहरूका समस्या र क्षतिबारे जानकारी लिएका छन् ।

सुनछाप पहिरोले लामो समयदेखि स्थानीयलाई समस्या दिँदै आएको छ । गत असोजमा पहिरोले थप क्षति पुर्याएको थियो । त्यसपछि स्थानीय आवागमन, सडक यातायात र सिँचाइ सेवा प्रभावित बनेका छन् ।

अवलोकनपछि मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि र प्रशासनका प्रतिनिधिसँग छलफल गरेका थिए । छलफलमा पहिरोको तत्काल मर्मत र दीर्घकालीन नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने विषय उठेको थियो ।

पहिरो नियन्त्रणका लागि विभिन्न निकायबीच समन्वय गरिने मन्त्री श्रेष्ठले बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहसँग मिलेर एकीकृत योजना अघि बढाउने उनको भनाइ छ ।

कार्यक्रममा पर्वतका प्रतिनिधिसभा सदस्य सागर भूसालले पहिरो नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका थिए । उनले यसको दिगो समाधान आवश्यक रहेको बताए ।

मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि र समुदायसँग सहकार्य गरेर पहिरो नियन्त्रण तथा प्रभावित पूर्वाधारको संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

Share News