काठमाडौं । बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण तथा वितरण संरचना निर्माण गरी ढोरपाटनसम्म राष्ट्रिय ग्रिडको विद्युत् विस्तार गरेको हो ।
कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास र पौंदीअमराई हुँदै बागलुङको बुर्तिवाङसम्म १३२ केभी प्रसारण लाइन निर्माण गरिएको छ । बुर्तिवाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसनमार्फत ढोरपाटन क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरिएको हो ।
बुर्तिवाङ सबस्टेसनबाट ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी बुर्तिवाङ फिडर बिहीबारदेखि सञ्चालनमा आएको छ । फिडर सञ्चालनमा आएसँगै वोवाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा वितरण ट्रान्सफर्मर चार्ज भएका छन् ।
यससँगै उक्त क्षेत्रका उपभोक्ताले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् उपभोग गर्न पाउने भएका छन् । यसअघि स्थानीय बासिन्दाले लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रयोग गर्दै आएका थिए ।
राष्ट्रिय ग्रिडको विद्युत् पुगेपछि ढोरपाटन उपत्यका र आसपासका क्षेत्रमा देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान हुने अपेक्षा गरिएको छ । विद्युत् आपूर्ति नियमित र भरपर्दो हुनुका साथै पर्यटन व्यवसाय तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने प्राधिकरणको विश्वास छ ।
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीका अनुसार अब उक्त क्षेत्रका उपभोक्ताले विद्युत् जडानका लागि जुनसुकै समयमा बुर्तिवाङ नो लाइटमार्फत आवेदन दिन सक्नेछन् ।
बागलुङ जिल्लामा अब निसीखोला गाउँपालिका–५ स्थित निसिलढोरमा मात्र राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुग्न बाँकी छ । चालु आर्थिक वर्षभित्र उक्त क्षेत्रमा विद्युतीकरण गर्न आवश्यक बजेटको व्यवस्था भइसकेको मरासेनीले बताए ।
उनका अनुसार अब ठेक्का प्रक्रिया अघि बढाएर विद्युतीकरणको काम सुरु गरिनेछ । निसिलढोरमा समेत राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् विस्तार भएपछि बागलुङ जिल्लाका सबै क्षेत्रमा राष्ट्रिय ग्रिडको पहुँच पुग्नेछ ।