साढे २ अर्बमा बुढानीलकण्ठमा २० वटा घर बनाउँदै कालु गुरुङ

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा व्यवस्थित आवासीय बस्ती विकास गर्ने उद्देश्यसहित रोडशो रियल इस्टेट प्रालिले २० वटा आवासीय घर निर्माण गर्ने भएको छ । कम्पनीले बुढानीलकण्ठ रेसिडेन्सी परियोजनाअन्तर्गत छुट्टाछुट्टै २० वटा स्वतन्त्र आवासीय एकाइ विकास गर्न लागेको हो ।

परियोजनाको विकास तथा सञ्चालनका लागि रोडशो रियल इस्टेटले आरकेएच डेभलपर्स प्रालि स्थापना गरेको छ । उक्त कम्पनी यस परियोजनाको विकास र सञ्चालन गर्ने उद्देश्यले स्थापना गरिएको विशेष प्रयोजन कम्पनी हो ।

करिब २ अर्ब ४५ करोड ५० लाख रुपैयाँ अनुमानित लागत रहेको परियोजनामा साढे तीन तलाका २० वटा स्वतन्त्र आवासीय घर निर्माण गर्ने योजना छ । साथै आवश्यक सेवा तथा सुविधासहितका आवासीय संरचना विकास गरिनेछ । हाल विकास तथा निर्माणको चरणमा रहेको परियोजना सम्पन्न भएपछि बुढानीलकण्ठ क्षेत्रमा व्यवस्थित आवासीय विकल्प थपिने अपेक्षा गरिएको छ ।

परियोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत ऋण, प्रवर्द्धकको स्वपुँजी र ग्राहकबाट प्राप्त हुने अग्रिम बुकिङ रकममार्फत जुटाउने योजना बनाइएको छ । परियोजनाको कुल लागतको करिब ६४ प्रतिशत रकम ऋणबाट व्यवस्थापन गर्ने प्रस्ताव छ । बाँकी रकम प्रवर्द्धकको लगानी तथा ग्राहकबाट प्राप्त हुने अग्रिम भुक्तानीमार्फत जुटाइनेछ ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल २ अर्ब २४ करोड २५ लाख रुपैयाँ ऋण लिने तयारी गरेको छ । प्रस्तावित ऋणमध्ये २ अर्ब २० करोड ९० लाख रुपैयाँ दीर्घकालीन र ३ करोड ३५ लाख रुपैयाँ अल्पकालीन प्रकृतिको रहेको छ ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका क्षेत्रमा अवस्थित परियोजनाले स्थापित आवासीय वातावरण र सहरी सुविधाको उपलब्धताबाट लाभ लिन सक्ने देखिन्छ । महाराजगञ्ज-बुढानीलकण्ठ सडकमार्ग हुँदै काठमाडौंका प्रमुख व्यापारिक तथा प्रशासनिक केन्द्रसम्म पहुँच सहज छ ।

यसका अतिरिक्त शैक्षिक संस्था, स्वास्थ्य सेवा तथा मनोरञ्जनका सुविधाको निकटताले यस क्षेत्रलाई आवासीय प्रयोजनका लागि आकर्षक बनाएको छ । बुढानीलकण्ठ क्षेत्रमा यसअघि नै विभिन्न व्यवस्थित आवासीय परियोजना विकास भइसकेका छन् । यस्ता परियोजनाको उपस्थितिले क्षेत्रको आवासीय पहिचान स्थापित गर्न सहयोग पुर्याएको छ ।

मध्यम उच्च तथा उच्च आय भएका घर खरिदकर्तालाई लक्षित गरी विकास गर्न लागिएको यस परियोजनाले क्षेत्रको स्थापित आवासीय वातावरण, उपलब्ध पूर्वाधार र सुविधाबाट लाभ लिन सक्ने कम्पनीले अपेक्षा गरेको छ ।

आरकेएच डेभलपर्सलाई घरजग्गा क्षेत्रमा करिब तीन दशकको व्यावसायिक अनुभव भएको रोडशो रियल इस्टेट प्रालिको प्रवद्र्धन रहेको छ । सन् १९९७ जुलाईमा स्थापना भएको रोडशो रियल इस्टेटले नेपाली घरजग्गा क्षेत्रमा आवासीय घर तथा अपार्टमेन्ट विकास र बिक्री, जग्गा प्लटिङ तथा जग्गा बिक्रीसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको छ । कम्पनीका प्रवर्द्धक कालु गुरुङसँग घरजग्गा व्यवस्थापन, लगानी तथा विकास, आवासीय परियोजना, जग्गा प्लटिङ र निर्माणसम्बन्धी क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव रहेको छ ।

कम्पनीका अनुसार नेपालको घरजग्गा क्षेत्रमा मध्यम अवधिमा माग स्थिर रहने अपेक्षा गरिएको छ । तीव्र सहरीकरण, प्रमुख सहरमा जनसङ्ख्याको बढ्दो चाप तथा पूर्वाधारसहितको आवासीय जग्गाको सीमित उपलब्धताले यस क्षेत्रको मागलाई निरन्तरता दिइरहेको छ ।

पछिल्लो समय व्यवस्थित आवासीय परियोजना, सुरक्षित आवासीय बस्ती तथा तत्काल बसोबास गर्न सकिने घरप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । उपभोक्ताको बदलिँदो प्राथमिकता, सहज आवासको आवश्यकता र जीवनस्तरमा आएको सुधारले यस्ता परियोजनाको माग बढाउन सहयोग पुर्याएको कम्पनीले जनाएको छ ।

निर्धारित समय र बजेटभित्र निर्माण सम्पन्न गर्न नसके परियोजनाको कुल लागत बढ्नुका साथै वित्तीय अवस्था प्रभावित हुन सक्ने कम्पनीले जनाएको छ । विशेषगरी परियोजनाको ठूलो हिस्सा ऋणबाट वित्तीय व्यवस्थापन गर्ने योजना रहेकाले निर्माणको प्रगति, बिक्रीको गति र नगद प्रवाह व्यवस्थापन महत्त्वपूर्ण हुने देखिन्छ । 

Share News