काठमाडौं । विभिन्न वित्तीय संस्थासँगको मर्जर तथा प्राप्तिमार्फत व्यवसाय विस्तार गर्दै आएको कुमारी बैंक लिमिटेडको सम्पत्ति आधार ४ खर्ब ९१ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । तर, व्यवसायको आकार र सेवा सञ्जाल विस्तार हुँदै गर्दा बैंकको कर्जा गुणस्तरमा भने दबाब बढ्दै गएको छ ।
विशेषगरी ठूला ऋणीमा कर्जाको उच्च एकाग्रता, निष्क्रिय कर्जामा वृद्धि र कर्जा असुलीमा देखिएको चुनौतीले बैंकको वित्तीय जोखिम बढाएको छ ।
रेटिङ कम्पनी इक्रा नेपालले बैंकको जारीकर्ता रेटिङ बीबी प्लस (डबल बी प्लस) बाट बढाएर बीबीबी माइनस (त्रीपल बी माइनस) कायम गरेको छ । त्यस्तै, बैंकले जारी गरेको ६ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको रेटिङ पनि एलबीबी प्लसबाट बढाएर एलबीबीबी माइनस पुर्याएको छ । बैंकको समग्र वित्तीय अवस्था, नाफा र पुँजीकरणमा आएको सुधारका कारण रेटिङ बढाइएको इक्रा नेपालले जनाएको छ ।
ठूला ऋणीमा कर्जाको एकाग्रता बढ्दै
कुमारी बैंकको कर्जा पोर्टफोलियोमा केही ठूला ऋणी तथा व्यावसायिक समूहको हिस्सा उल्लेख्य रहेको छ । गत आर्थिक वर्ष २०८२/८३ को असारसम्म बैंकका शीर्ष २० ऋणीले कुल कर्जाको २५ प्रतिशत हिस्सा ओगटेका छन् । यो बैंकको प्राथमिक पुँजी (टियर-१) को तुलनामा २०४ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षमा शीर्ष २० ऋणीको हिस्सा कुल कर्जाको २२ प्रतिशत र प्राथमिक पुँजीको तुलनामा १९४ प्रतिशत थियो ।
गत असारसम्म बैंकले २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । उक्त रकम असोज मसान्तसम्म आइपुग्दा २ खर्ब ९३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
कर्जाको ठूलो हिस्सा सीमित ऋणी तथा व्यावसायिक समूहमा केन्द्रित हुँदा बैंकको कर्जा जोखिम पनि त्यस्ता ऋणीको वित्तीय अवस्थासँग जोडिने गर्छ । कुनै ठूला ऋणी वा व्यावसायिक समूह आर्थिक तथा वित्तीय संकटमा परेमा त्यसको असर बैंकको कर्जा गुणस्तर, नाफा र पुँजी पर्याप्ततामा पर्न सक्छ । विशेषगरी ठूला ऋणीले कर्जा भुक्तानी गर्न नसकेमा निष्क्रिय कर्जा बढ्नुका साथै थप कर्जा नोक्सानी व्यवस्थाका कारण पुँजीमा दबाब पर्न सक्ने जोखिम रहन्छ ।
निक्षेपतर्फ भने बैंकको अवस्था तुलनात्मक रूपमा सहज देखिएको छ । गत असार मसान्तसम्म बैंकका शीर्ष २० निक्षेपकर्ताको हिस्सा कुल निक्षेपको २४ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो हिस्सा २६ प्रतिशत थियो । यसले प्रमुख निक्षेपकर्तामाथिको निर्भरता केही घटेको देखाउँछ । गत असारसम्म बैंकले ४ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकल गरेको थियो भने असोज मसान्तसम्म उक्त रकम बढेर ४ खर्ब २८ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
निष्क्रिय कर्जा ८.८३ प्रतिशत
बैंकका लागि सबैभन्दा ठूलो चुनौतीमध्ये एक कर्जा गुणस्तर देखिएको छ । असार मसान्तसम्म बैंकको कुल निष्क्रिय कर्जा अनुपात ८.८३ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६.४२ प्रतिशत थियो । एक वर्षमै निष्क्रिय कर्जाको अनुपात उल्लेख्य बढ्नुले बैंकको कर्जा पोर्टफोलियोमा दबाब थपिएको देखाउँछ ।
यस अवधिमा बैंकले सुरुवाती निष्क्रिय कर्जाको ५ प्रतिशत रकम अपलेखन गरे पनि निष्क्रिय कर्जाको अनुपात बढेको हो । यसले कर्जा असुली तथा खराब कर्जा व्यवस्थापनमा बैंकले थप प्रयास गर्नुपर्ने अवस्था देखाउँछ । साथै, आगामी दिनमा थप कर्जा निष्क्रिय कर्जामा वर्गीकृत हुन सक्ने जोखिम पनि कायम छ ।
बैंकका अनुसार कर्जा भुक्तानीमा ढिलाइ हुने प्रवृत्तिसमेत बढेको छ । कम्तीमा एक दिन भुक्तानी अवधि नाघेका कर्जाको अनुपात अघिल्लो वर्षको १९ प्रतिशतबाट बढेर गत वर्ष २२ प्रतिशत पुगेको छ । यसले बैंकको कर्जा असुलीमा चुनौती थपिँदै गएको देखाउँछ ।
त्यस्तै, निष्क्रिय कर्जामध्ये तुलनात्मक रूपमा कम कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने वर्गमा पर्ने कर्जाको हिस्सा अघिल्लो वर्षको ५ प्रतिशतबाट बढेर गत वर्ष १३ प्रतिशत पुगेको छ । यसले कर्जा नोक्सानी व्यवस्थापन तथा सम्भावित जोखिमको आकलनमा थप ध्यान दिनुपर्ने देखाउँछ ।
पुँजी पर्याप्ततामा सुधार र तरलतामा सहज
कर्जा गुणस्तरमा दबाब देखिए पनि बैंकको पुँजी पर्याप्तता र तरलता अवस्थामा सुधार आएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको जोखिम भारित सम्पत्तिको तुलनामा कुल पुँजी पर्याप्तता अनुपात १३.५० प्रतिशत पुगेको छ । प्राथमिक पुँजी (टियर-१) अनुपात ९.७ प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष बैंकको कुल पुँजी पर्याप्तता अनुपात १२.९ प्रतिशत र प्राथमिक पुँजी अनुपात ८.९४ प्रतिशत थियो । यसरी दुवै अनुपातमा सुधार देखिएको छ । बैंकको प्राथमिक पुँजी अनुपात अघिल्लो वर्षदेखि नै नियामकीय न्यूनतम सीमा ८.५ प्रतिशतभन्दा माथि रहँदै आएको छ ।
असोजमा पुँजी पर्याप्तता अनुपात १२.६७ प्रतिशत र टायर-१ क्यापिटल रेसियो ९.१५ प्रतिशत रहेको छ ।
तरलता सूचक पनि नियामकीय सीमाभित्र सहज अवस्थामा रहेको देखिन्छ । गत असारसम्म कुल निक्षेपको तुलनामा खुद तरल सम्पत्तिको अनुपात ४० प्रतिशत र कर्जा-निक्षेप अनुपात ७७ प्रतिशत रहेको छ । जबकि खुद तरल सम्पत्तिको अनुपातको नियामकीय न्यूनतम सीमा २० प्रतिशत र कर्जा-निक्षेप अनुपातको अधिकतम सीमा ९० प्रतिशत छ ।
चुक्ता पुँजी २६ अर्ब २३ करोड रुपैयाँ रहेको बैंकले गत आर्थिक वर्षमा ७ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सन् २००१ अप्रिल ३ अर्थात् २०५७ चैत २१ देखि बैंकिङ सेवा सुरु गरेको कुमारी बैंक नेपालको १५औँ वाणिज्य बैंकका रूपमा स्थापित भएको हो । बैंकको सञ्चालक समितिको अध्यक्ष अमिर प्रताप जेबी राणा रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनाल रहेका छन् ।
हाल बैंकले ६५५ सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकको सेवा सञ्जालमा २७९ शाखा, ४१ विस्तारित काउन्टर, २९५ एटीएम र ४० शाखारहित बैंकिङ एकाइ रहेका छन् । यसका अतिरिक्त १ हजार २३३ पीओएस टर्मिनलमार्फत पनि सेवा उपलब्ध गराउँदै आएको छ ।