काठमाडौं । पेप्सिकोका उत्पादन, विशेषगरी लेज चिप्सको कारोबार विस्तार भएपछि एसियन डिस्ट्रिब्युटर्स प्रालिको सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब १२ करोड ७० लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २१.५४ प्रतिशत अर्थात् ३७ करोड ७० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १ अर्ब ७५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
कम्पनीका अनुसार अघिल्लो वर्ष पेप्सिकोका उत्पादनको पूर्ण अवधिको कारोबार समेटिन सकेको थिएन । तर, गत आर्थिक वर्षमा वर्षभर नै यी उत्पादनको कारोबार भएकाले आम्दानी वृद्धिमा योगदान पुगेको हो । विशेषगरी लेज चिप्सको बिक्री विस्तारले कम्पनीको कारोबार बढाउन सहयोग गरेको छ ।
कम्पनीको आम्दानीमा पछिल्ला वर्षमा वृद्धि र उतारचढाव दुवै देखिएका छन् । आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ४१ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले आव २०७९/८० मा १ अर्ब २५ करोड रुपैयाँ कमाएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ४९ करोड, आव २०७७/७८ मा १ अर्ब २१ करोड ६९ लाख, आव २०७६/७७ मा १ अर्ब २ करोड ६७ लाख र आव २०७५/७६ मा १ अर्ब २१ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
पेप्सिकोको विश्वव्यापी ब्रान्ड पहिचान कम्पनीका लागि सकारात्मक भए पनि यसका उत्पादनको कारोबारमा नाफाको मार्जिन तुलनात्मक रूपमा कम छ । ठूलो परिमाणमा बिक्री हुने तर कम नाफा दिने उत्पादनको हिस्सा बढ्दा कम्पनीको समग्र सञ्चालन नाफामा दबाब परेको छ । कम्पनीको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०८१/८२ मा करिब ९ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष घटेर करिब ५ प्रतिशतमा झरेको छ ।
३० भन्दा बढी उत्पादनको कारोबार, देशभर २०० वितरक
सन् २०११ मा स्थापना भएको एसियन डिस्ट्रिब्युटर्सले तीव्र उपभोग्य वस्तु (एफएमसीजी) को आयात तथा व्यापार गर्दै आएको छ । कम्पनीले पेप्सिको, निविया, जायडस, म्याकभिटिज, विप्रो र लिन्ड्टजस्ता अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन नेपाली बजारमा बिक्री तथा वितरण गर्दै आएको छ ।
कम्पनीले नेपालमा निविया, जायडस, म्याकभिटिज, विप्रो र लिन्ड्टलगायतका ब्रान्डका उत्पादन आयात तथा वितरण गर्ने विशेष अधिकार पाएको छ । जायडसका ग्लुकोन–डी, न्यासिल, कम्प्लान, एभरीयुथ र सुगरफ्री गोल्ड तथा म्याकभिटिजका डाइजेस्टिभ बिस्कुट कम्पनीको वितरण सूचीमा छन् । त्यस्तै, विप्रोका एन्चान्टेयर र रोमानो तथा लिन्ड्टका चकलेटको पनि कारोबार गर्दै आएको छ ।
कम्पनीले देशभर २०० भन्दा बढी वितरक तथा व्यावसायिक साझेदारमार्फत आफ्ना उत्पादन बजारमा पु¥याउँदै आएको छ । स्थापित अन्तर्राष्ट्रिय ब्रान्ड, तिनको बजार पहिचान र देशव्यापी वितरण सञ्जाल कम्पनीको व्यावसायिक आधारका रूपमा रहेका छन् ।
एसियन डिस्ट्रिब्युटर्स विशाल ग्रुपअन्तर्गत सञ्चालनमा रहेको कम्पनी हो । कम्पनीमा अशिष कुमार अग्रवालको करिब २६ प्रतिशत सेयर स्वामित्व छ । त्यस्तै, कविता संघाईको करिब २२ प्रतिशत, विशाल अग्रवालको करिब ११ प्रतिशत, सञ्चिता अग्रवालको करिब ११ प्रतिशत र शिल्पा अग्रवालको करिब ११ प्रतिशत सेयर हिस्सा रहेको छ । बाँकी सेयर अन्य लगानीकर्ताको स्वामित्वमा रहेको जनाएको छ ।
१ अर्ब ६९ करोड ऋण
कारोबार विस्तारसँगै कम्पनीको कार्यशील पुँजी आवश्यकता पनि उच्च रहेको छ । मौज्दातमा सामान राख्नुपर्ने र ग्राहकलाई उधारोमा बिक्री गर्नुपर्ने भएकाले कम्पनीको ठूलो रकम मौज्दात तथा उठ्न बाँकी रकममा बाँधिने गरेको जनाएको छ । यसले तरलतामा दबाब सिर्जना गर्नुका साथै दैनिक कारोबार सञ्चालनका लागि बैंक कर्जामाथिको निर्भरता बढाएको कम्पनीको भनाइ छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये ९ करोड ७० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ६० करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।
कम्पनीको सञ्चालन आम्दानीको तुलनामा खुद कार्यशील पुँजीको अनुपात आर्थिक वर्ष २०८१/८२ मा करिब ६३ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष घटेर ५८ प्रतिशतमा झरेको छ । अनुपातमा सुधार देखिए पनि कारोबारको आकारसमेत बढेकाले कार्यशील पुँजी व्यवस्थापनमा परेको दबाब पूर्ण रूपमा कम हुन सकेको छैन ।
शीर्ष १० ग्राहकबाट ४० प्रतिशतभन्दा बढी आम्दानी
एसियन डिस्ट्रिब्युटर्सको आम्दानी केही ठूला ग्राहक तथा वितरकमा केन्द्रित रहेको छ । पछिल्ला दुई आर्थिक वर्षमा कम्पनीको कुल आम्दानीको करिब ४० देखि ४३ प्रतिशत हिस्सा शीर्ष १० ग्राहकबाट प्राप्त भएको छ ।
प्रमुख ग्राहकसँगको लामो व्यावसायिक सम्बन्ध र कम्पनीले बिक्री गर्ने ब्रान्डको बलियो बजार पहिचानले यस्तो निर्भरता जोखिमलाई केही हदसम्म कम गरे पनि कुनै ठूला ग्राहकले कारोबार घटाएमा वा सम्बन्ध तोडेमा आम्दानीमा उतारचढाव आउन सक्ने जनाएको छ ।