काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको दुई वर्ष पूरा हुन लाग्दा महत्त्वपूर्ण मध्यावधि निर्वाचन भइरहेको छ । यो निर्वाचनलाई ट्रम्प प्रशासनको कामको मूल्यांकनका रूपमा हेरिएको छ । निर्वाचनबाट अमेरिकी संसद्का दुवै सदनमा कुन पार्टीको बहुमत कायम हुन्छ भन्ने टुंगो लाग्नेछ ।
निर्वाचनमा मुख्य प्रतिस्पर्धा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टी र विपक्षी डेमोक्र्याटिक पार्टीबीच छ । अहिले संसद्का दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत छ । तर यसपटक डेमोक्र्याटहरू दुवै सदनमा बहुमत ल्याएर ट्रम्प प्रशासनलाई संसदबाटै चुनौती दिने रणनीतिमा छन् ।
अमेरिकामा यसलाई मिडटर्म इलेक्सन अर्थात् मध्यावधि निर्वाचन भनिन्छ । तर यो राष्ट्रपति निर्वाचन होइन । अमेरिकी राष्ट्रपतिको चारवर्षे कार्यकालको बीचमा हुने निर्वाचन भएकाले यसलाई मध्यावधि निर्वाचन भनिएको हो ।
राष्ट्रपतिको कार्यकालको दुई वर्ष बितेपछि हुने यो निर्वाचनले बाँकी दुई वर्ष सरकारलाई संसदमा कति सहज हुन्छ भन्ने निर्धारण गर्छ ।
निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिट र माथिल्लो सदन सिनेटका १०० मध्ये ३५ सिटका लागि मतदान भइरहेको छ ।
त्यस्तै, देशका ३६ राज्यमा गभर्नर अर्थात् राज्य सरकार प्रमुख चयन गर्न पनि निर्वाचन हुँदैछ । यसबाहेक विभिन्न राज्यमा स्थानीय पद र अन्य विषयमा पनि मतदान भइरहेको छ ।
कसले मार्ला बाजी ?
निर्वाचनअघि सार्वजनिक भएका सर्वेक्षण र चुनावी अनुमानले डेमोक्र्याटिक पार्टीलाई प्रतिनिधिसभामा बहुमत ल्याउने सम्भावना बढी देखाएका छन् । सिनेटमा भने प्रतिस्पर्धा निकै कडा हुने अनुमान छ ।
अमेरिकी समाचार संस्था रोयटर्सका अनुसार प्रतिनिधिसभामा डेमोक्र्याटहरूले बहुमत ल्याउने पक्षमा सर्वेक्षणहरू देखिएका छन् । तर सिनेटको नतिजा भने अझै अनिश्चित छ ।
सिनेटमा रिपब्लिकनको पकड कायम रहने वा डेमोक्र्याटले बहुमत खोस्ने भन्ने विषय केही प्रतिस्पर्धात्मक राज्यको नतिजामा निर्भर हुनेछ ।
यसअघि सिनेटमा रिपब्लिकन पार्टीका ५३ र डेमोक्र्याटिक पक्षका ४७ सदस्य थिए । डेमोक्र्याटिक पक्षमा दुई स्वतन्त्र सांसद पनि छन्, जसले डेमोक्र्याटसँग मिलेर काम गर्छन् ।
सिनेटमा बहुमतका लागि ५१ सिट आवश्यक हुन्छ । त्यसैले डेमोक्र्याटहरूले बहुमत ल्याउन आफ्नो पक्षमा कम्तीमा चार सिट थप्नुपर्नेछ ।
प्रतिनिधिसभामा भने कुल ४३५ सिट छन् । बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्र्याटसँग २१४ सिट छन् । एक स्वतन्त्र सांसद र दुई रिक्त सिट पनि छन् । त्यसैले प्रतिनिधिसभामा बहुमत उल्ट्याउनका लागि डेमोक्र्याटहरूलाई केही सिटमात्रै पर्याप्त हुन सक्छ ।
यस निर्वाचनमा विशेषगरी टेक्सास, अलास्का, मेन, नर्थ क्यारोलाइना, आयोवा, ओहायो र मिचिगनजस्ता राज्यका सिनेट निर्वाचनलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । यी राज्यमा हुने प्रतिस्पर्धाले सिनेटको बहुमत कसको हातमा जाने भन्ने निर्धारण गर्न सक्छ ।
प्रतिनिधिसभाको निर्वाचनमा पनि धेरै क्षेत्रमा कडा प्रतिस्पर्धा छ । रोयटर्सका अनुसार करिब ४७ निर्वाचन क्षेत्रलाई प्रतिस्पर्धात्मक मानिएको छ । त्यसैले डेमोक्र्याटले प्रतिनिधिसभामा अग्रता कायम गर्ने अनुमान भए पनि अन्तिम नतिजाका लागि मतगणना कुर्नुपर्नेछ ।
ट्रम्पलाई किन चुनौती ?
यो निर्वाचनलाई ट्रम्पको लोकप्रियताको परीक्षाका रूपमा पनि हेरिएको छ । सन् २०२४ को राष्ट्रपतीय निर्वाचन जितेर दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेका ट्रम्पले आफ्नो कार्यकालमा लिएका विभिन्न निर्णयको प्रभाव यस निर्वाचनमा देखिने अनुमान गरिएको छ ।
विशेषगरी महँगी, इन्धनको मूल्य, भन्सार शुल्क, आप्रवासन नीति र इरानसँगको युद्धलाई लिएर अमेरिकी मतदातामा असन्तुष्टि देखिएको छ । यी विषयले ट्रम्पको पार्टीलाई निर्वाचनमा असर पार्न सक्ने विश्लेषण गरिएको छ ।
ट्रम्प प्रशासनले लिएका आर्थिक तथा विदेश नीतिसम्बन्धी निर्णय पनि निर्वाचनका प्रमुख मुद्दा बनेका छन् । विपक्षी डेमोक्र्याटहरूले महँगी नियन्त्रण गर्न नसकेको, सर्वसाधारणको जीवनयापन महँगो बनाएको र विदेश नीतिमा अनिश्चितता सिर्जना गरेको भन्दै सरकारको आलोचना गरिरहेका छन् ।
अर्कोतर्फ, रिपब्लिकनहरूले ट्रम्प प्रशासनका नीतिले अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउने, देशको सुरक्षा र राष्ट्रिय हितलाई प्राथमिकता दिने दाबी गर्दै मत मागिरहेका छन् ।
अमेरिकाको राजनीतिक इतिहास हेर्दा पनि राष्ट्रपतिको पार्टीले मध्यावधि निर्वाचनमा संसद्का सिट गुमाउने प्रवृत्ति देखिन्छ । त्यसैले यसपटक पनि रिपब्लिकन पार्टीलाई चुनौती थपिएको विश्लेषण गरिएको छ ।
मतदान कस्तो भइरहेको छ ?
अमेरिकामा मंगलबार मतदान भइरहेको छ । यसअघि नै लाखौं मतदाताले अग्रिम मतदान र हुलाकमार्फत मतदान गरिसकेका छन् । अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजका अनुसार निर्वाचनको मुख्य दिन सुरु हुनुअघि नै ५ करोड ७० लाखभन्दा बढी मत खसिसकेको थियो ।
अमेरिकामा सबै राज्यमा एउटै समयमा मतदान हुँदैन । प्रत्येक राज्यले आफ्नै समयअनुसार मतदान केन्द्र खोल्ने र बन्द गर्ने व्यवस्था गरेका छन् । त्यसैले पूर्वी तटीय क्षेत्रका केही स्थानमा मतदान सकिएपछि मतगणना सुरु हुँदा पश्चिमी क्षेत्रका कतिपय स्थानमा मतदान जारी रहन सक्छ ।
मतदान सकिएपछि प्रारम्भिक नतिजा आउन थाल्नेछ । तर सबै क्षेत्रको नतिजा एकै दिन सार्वजनिक नहुन सक्छ ।
विशेषगरी हुलाकमार्फत आएका मत धेरै भएका राज्यमा मतगणना गर्न केही दिन लाग्न सक्छ । त्यसैले प्रारम्भिक मतगणनामा कुनै पार्टी अगाडि देखिँदैमा उसैले चुनाव जितेको निष्कर्ष निकाल्न मिल्दैन ।
मध्यावधि निर्वाचनले राष्ट्रपतिलाई कसरी असर गर्छ ?
अमेरिकी राजनीतिक व्यवस्थामा राष्ट्रपतिले सरकार सञ्चालन गरे पनि संसद्को भूमिका निकै महत्त्वपूर्ण हुन्छ । संसद्का दुवै सदनले कानुन निर्माण, बजेट पारित र सरकारका विभिन्न निर्णयमाथि निगरानी गर्ने काम गर्छन् ।
यदि यस निर्वाचनमा डेमोक्र्याटहरूले प्रतिनिधिसभा वा सिनेटमध्ये कुनै एक सदनमा बहुमत ल्याए भने ट्रम्प प्रशासनलाई आफ्ना योजना अघि बढाउन कठिन हुन सक्छ । संसदमा बहुमत पाउने पार्टीले विभिन्न सरकारी नीतिमाथि छलफल गराउने, प्रशासनका कामको छानबिन गर्ने र विधेयक पारित गर्ने प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।
विशेषगरी प्रतिनिधिसभामा डेमोक्र्याटहरूले बहुमत ल्याएमा ट्रम्प प्रशासनका निर्णयमाथि छानबिन र निगरानी बढाउन सक्छन् । सिनेटमा पनि बहुमत गुमाएमा राष्ट्रपतिले नियुक्त गर्ने महत्वपूर्ण सरकारी पदाधिकारी तथा न्यायाधीशको अनुमोदन प्रक्रियामा समस्या आउन सक्छ ।
तर डेमोक्र्याटहरूले दुवै सदनमा बहुमत ल्याउँदैमा ट्रम्प राष्ट्रपति पदबाट हट्ने भने होइनन् । उनको चारवर्षे कार्यकाल सन् २०२९ सम्म रहनेछ । मध्यावधि निर्वाचनले राष्ट्रपतिको पद परिवर्तन गर्दैन, बरु संसदमा उनको पार्टीको शक्ति कति रहन्छ भन्ने निर्धारण गर्छ ।
नतिजाले आगामी अमेरिकी राजनीतिलाई दिशा दिने
यस निर्वाचनको परिणामले ट्रम्प प्रशासनको बाँकी दुई वर्षको राजनीतिक दिशा निर्धारण गर्नेछ । रिपब्लिकनहरूले दुवै सदनमा बहुमत कायम राख्न सके ट्रम्पलाई आफ्ना नीति तथा कार्यक्रम अघि बढाउन सहज हुनेछ ।
तर डेमोक्र्याटहरूले बहुमत खोसेमा ट्रम्प प्रशासनले संसद्मा बलियो विपक्षको सामना गर्नुपर्नेछ । यसले आगामी दिनमा अमेरिकी अर्थतन्त्र, आप्रवासन, व्यापार, विदेश नीति र अन्य महत्त्वपूर्ण विषयमा सरकारका निर्णयलाई प्रभाव पार्न सक्छ ।
यस निर्वाचनलाई सन् २०२८ मा हुने अर्को राष्ट्रपतीय निर्वाचनको तयारीका रूपमा पनि हेरिएको छ ।
बाइनान्स ह्याकमा उत्तर कोरियाको संलग्नता अस्वीकार
इजरायलको चुनावी नतिजा र अबका चुनौती
चिनियाँ अर्बपतिहरूमा नागरिकता त्याग्नेको संख्या बढ्दै
एम्बाप्पेको अभिव्यक्तिले ला–लिगाको ४० करोड युरोको कारोबार जोखिममा
ब्राजिलमा लुलाको ऐतिहासिक जित, चौथो कार्यकाल अहिलेसम्मकै कठिन