रसुवा बाढी प्रभावित क्षेत्रका लागि पौने ७ करोड निकासा
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पौने ७ करोड रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीबाट प्रभावित १५ स्थानीय तहका लागि शुक्रबारसम्म ६ करोड ७५ लाख रुपैयाँ निकासा गरेको हो । प्राधिकरणका अनुसार उक्त रकम प्रभावित स्थानीय तहलाई आवश्यकता र क्षतिको आधारमा वितरण गरिनेछ । प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको ३५औँ बैठकले प्राधिकरणको कोषमा रहेको रकम निकासा गर्ने निर्णय गरेको थियो । अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहका रूपमा वर्गीकरण गरी सोहीअनुसार अनुदान सहायता उपलब्ध गराइने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङ्मोङ गाउँपालिका, नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा तारकेश्वर र किस्पाङ गाउँपालिका, धादिङका बेनिघाट रोराङ, गजुरी, गल्छी र सिद्धलेक गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकामा भएको क्षतिको आधारमा अनुदान वितरण गरिनेछ । प्राधिकरणको बैठकले केन्द्रीय विपद् व्यवस्थापन कोषबाट उल्लेखित स्थानीय तहलाई ‘विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९’ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहतस्वरूप रकम उपलब्ध गराउने निर्णय गरेको थियो । सो बराबरको रकम अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा शोधभर्ना उपलब्ध गराउने निर्णयसमेत बैठकले गरेको प्राधिकरणले जनाएको छ ।
रसुवा बाढीपीडितका लागि ललितपुर महानगरपालिकाले १ करोड दिने
काठमाडौं । ललितपुर महानगरपालिकाले रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । महानगरपालिकाले भदौ १० गते रसुवाको रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । महानगरपालिकाले बाढीमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि महानगरपालिकाको तर्फबाट १ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रवक्ता राजु महर्जनले जानकारी दिएका छन् । महानगरपालिकाले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप प्राविधिक तथा मानवीय सहयोग उपलब्ध गराउन आफू तत्पर रहेको जनाएको छ । विपद्को कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै तहका सरकार, सुरक्षा निकाय, गैरसरकारी तथा निजी क्षेत्र, सामाजिक संघ–संस्था, सञ्चारमाध्यम र आम नागरिकबीच थप एकता, सहकार्य र समन्वय आवश्यक रहेको महानगरपालिकाले जनाएको छ । विपद्सम्बन्धी समन्वय तथा सहयोगका लागि महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख लव कार्कीलाई ९८६०२०५१२० मा सम्पर्क गर्न सकिने महानगरपालिकाले जनाएको छ ।
गोदावरी नगरपालिकाले बाढी पीडितलाई ५० लाख आर्थिक सहयोग गर्ने
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले हालै रसुवा र नुवाकोट जिल्लामा गएको विनाशकारी बाढी तथा पहिरोका कारण प्रभावित भएका नागरिकहरूका लागि ५० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको बिहीबार आयोजित कार्यपालिका बैठकले विपद्को यो कठिन घडीमा मानवीय सहायता स्वरूप उक्त रकम राहत तथा उद्धार कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको हो । विपदमा परेका जिल्लाहरूमा परेको ठूलो प्राकृतिक विपत्तिमा मलम लगाउन र आपत्कालीन उद्धार कार्यलाई थप प्रभावकारी बनाउन यो सहयोग रकम प्रदान गर्न लागिएको हो । गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले कार्यपालिका बैठकपछि जानकारी दिँदै भने, ‘रसुवा र नुवाकोटमा गएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ । यस्तो संवेदनशील र दुःखद समयमा एक स्थानीय सरकारले अर्को जिल्लाका नागरिकलाई सहयोग गर्नु हाम्रो नैतिक तथा मानवीय दायित्व हो ।’ प्रमुख महर्जनका अनुसार घोषित ५० लाख रुपैयाँ रकममध्ये दुवै जिल्लाका अति प्रभावित क्षेत्र र पीडित परिवारको पुनरोत्थान तथा राहत कार्यका लागि आवश्यकता अनुसार समन्वय गरी वितरण गरिनेछ । पछिल्लो समय परेको अविरल वर्षाका कारण रसुवा र नुवाकोटका धेरै बस्तीहरू जोखिममा पर्नुका साथै ठूलो संख्यामा नागरिक विस्थापित भएका छन् । गोदावरी नगरपालिकाले अन्य स्थानीय तह तथा संघसंस्थालाई पनि यस विपद्को समयमा आफ्नो तर्फबाट सहयोगको हात बढाउन अपिल गरेको छ ।