काठमाडौं । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका सामुदायिक कुकुरको संख्या नियन्त्रण र व्यवस्थापन गर्ने उद्देश्यले बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले करिब २ हजार वा सोभन्दा बढी सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने तयारी गरेको हो ।
महानगरपालिकाले पशु कल्याणका क्षेत्रमा काम गरिरहेका संघसंस्था तथा भेटेरिनरी क्लिनिकलाई कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको हो । प्रस्तावअनुसार प्रतिकुकुर बन्ध्याकरणका लागि अधिकतम २ हजार ५०० रुपैयाँसम्म खर्च गर्न सकिने महानगरपालिकाले जनाएको छ ।
इच्छुक संघसंस्था तथा भेटेरिनरी क्लिनिकले तोकिएको रकमको सीमाभित्र रहेर कार्यक्रम सञ्चालनसम्बन्धी प्रस्ताव पेस गर्नुपर्नेछ ।
महानगरपालिकाका अनुसार प्रस्ताव पेस गर्न इच्छुक संस्थाले मंसिर ११ गतेभित्र कार्यालयअन्तर्गतको जिन्सी व्यवस्थापन केन्द्रमा आवश्यक कागजातसहित प्रस्ताव बुझाउनुपर्नेछ ।
प्रस्तावसँगै पेस गर्नुपर्ने कागजातबारे जानकारी लिन पनि महानगरपालिकाले सम्बन्धित संघसंस्था तथा क्लिनिकलाई जिन्सी व्यवस्थापन केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ ।