इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
काठमाडौं । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दुर्घटना राहत कोषलाई बलियो बनाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर एक रुपैयाँ र विद्युत् चार्जिङ शुल्कमा प्रतियुनिट एक रुपैयाँ अतिरिक्त शुल्क उठाउन सुझाव दिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै महासङ्घले संशोधनको प्रक्रियामा रहेको सवारी ऐनमा सवारी दुर्घटनाका पीडितको तत्काल उद्धार, उपचार र क्षतिपूर्तिका लागि ‘दुर्घटना राहत कोष’ स्थापनाका लागि अतिरिक्त शुल्क उठाउन सुझाव दिएको हो । महासङ्घका महासचिव डेकनाथ गौतमले देशभर सञ्चालनमा रहेका निजी तथा सार्वजनिक सवारीसाधनले प्रयोग गर्ने पेट्रोल र डिजेलमा प्रति लिटर एक रुपैयाँ थप गर्ने, विद्युतीय सवारी साधनले खपत गर्ने प्रतियुनिट बिजुलीमा एक रुपैयाँ थप गर्ने सुझाव सरकारलाई दिइएको जानकारी दिए । यसबाहेक, बिमा कम्पनीले सङ्कलन गर्ने तेस्रो पक्ष बिमा प्रिमियमको एक प्रतिशत रकम कोषमा जम्मा गर्ने, सङ्घ, प्रदेश र स्थानीय सरकारले वार्षिक रूपमा एकमुष्ट रकम कोषमा जम्मा गर्ने प्रस्ताव पेस गरिएको उनले बताए । महासचिव गौतमले दुर्घटनापछि घाइतेको तत्काल उद्धार र उपचारका लागि कतिपय अवस्थामा बीमा रकमले मात्र नपुग्ने भएकाले यस्तो अवस्थामा पीडितलाई तत्काल राहत दिन र उपचार खर्चको व्यवस्थापन गर्न उक्त कोषले सहयोग पुग्ने उल्लेख गरे । कुनै दुर्घटनामा हकदार फेला नपरेका गम्भीर घाइतेको उपचार गराउनुपर्ने भएमा वा सवारी धनीले क्षतिपूर्ति दिन नसक्ने अवस्था भएमा सोही कोषबाट खर्च गरिनेछ । महासङ्घले आफूहरूले दिएको सुझावलाई हाल तयार भइरहेको सवारी ऐन, २०८३ को परिच्छेद १० मा समावेश गर्न आग्रहसमेत गरेको छ ।
दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ सञ्चालन गरिने
काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित चुरियामाई सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको छ । पालिकाले स्थानीय समुदायको अपनत्व कायम गराउँदै यसलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि जिम्मेवारी हस्तान्तरण गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । स्थानीय समुदायको सहभागितामार्फत ऐतिहासिक सम्पदाको दिगो संरक्षण, पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास लिइएको उनले बताए । जिम्मेवारी हस्तान्तरणका लागि उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा र समितिका अध्यक्ष प्रेमबहादुर भोम्जनले संयुक्त रूपमा हस्ताक्षर गरिसकेको उनको भनाइ छ । उनका अनुसार सम्झौतासँगै समितिले सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनसँगै नियमित रेखदेख, सरसफाइ, मर्मत सम्भार, पर्यटक व्यवस्थापन तथा आवश्यक पूर्वाधार सञ्चालनको जिम्मेवारी वहन गर्नेछ । सुरुङ अवलोकनका लागि आउने पर्यटकबाट उपमहानगरपालिकाले निर्धारण गरेको शुल्क सङ्कलन गर्न सकिने व्यवस्था गरिएको छ भने सङ्कलित रकम सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनमै खर्च गर्नुपर्ने सम्झौतापत्रमा भनिएको छ । सम्झौतामा सुरुङको मौलिक तथा ऐतिहासिक संरचनामा कुनै परिवर्तन नगर्ने, यसको ऐतिहासिक स्वरूप सुरक्षित राख्ने तथा वार्षिक प्रगति विवरण र आय-व्ययको प्रतिवेदन उपमहानगरपालिकामा पेश गर्नुपर्ने व्यवस्था गरिएको उल्लेख गर्दै सम्झौतापत्रमा उपमहानगरपालिकाले आवश्यक अनुगमन, निर्देशन तथा समन्वय गर्ने भनिएको छ । दक्षिण एसियाकै पहिलो सुरुङका रूपमा रहेको यो मार्ग वि.सं १८७२ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण सुरु भई वि.सं १८७४ सम्पन्न भएको थियो । तत्कालीन हेटौंडा-अमलेखगञ्ज रेलमार्ग अन्तर्गत निर्माण गरिएको ऐतिहासिक सम्पदाको निर्माणकार्यको प्राविधिक नेतृत्व तत्कालीन सडक विभागका मुख्य इन्जिनियर डिल्लीजंग थापाले गरेका थिए । लामो समयसम्म प्रयोग विहीन रहेको उक्त सुरुङको संरक्षण तथा मर्मत बागमती प्रदेश सरकारले सम्पन्न गरी हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । राम्रो प्रवर्द्धन गर्न सकेमा यो सुरुङ मकवानपुर जिल्लाकै महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुने विश्वास लिइएको छ ।
कर्णालीका सडक बुझ्न मन्त्री लम्साल फिल्डमा, हिल्सा पुगेर निरीक्षण गर्ने
काठमाडौं । कर्णालीको सडक पूर्वाधारको अवस्था अनुगमन तथा निरीक्षण गर्न पूर्वाधार विकास मन्त्री सुनिल लम्साल कालीकोट पुगेका छन् । सडकको अवस्थाबारे सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख सहित कर्मचारीसँग संक्षिप्त जानकारी लिए लगत्तै मन्त्री लम्साल कर्णाली राजमार्ग दैलेख हुँदै कालिकोट पुगेका प्रतिनिधिसभा सांसद रमेशकुमार सापकोटाले जानकारी दिए । उनका अनुसार मन्त्री लम्सालले आज शनिबार कालिकोट-नाग्म-गमगढी सडक र आइतबार खुलालु-कोल्टी-सिमकोट सडक हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सडक अनुगमन तथा निरीक्षण गर्ने कार्यतालिका रहेको छ । ती सडकको निरीक्षण सकेलगत्तै उनी नेपाल-चीन सीमानाका हिल्सा र हुम्लाको सिमकोटसम्मको सडक सञ्जालको निरीक्षणमा पुग्ने सांसद सापकोटाले बताए ।