फागुन १५ गतेसम्म रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध हुने

काठमाडौं । गुल्मीको रिडी‐रुद्रवेणी-वामीटक्सार-सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ । उक्त सडक खण्ड अन्तर्गत सत्यबती गाउँपालिकास्थित सिस्ने भिर क्षेत्रमा आजदेखि सडक स्तरोन्नतिको काम सुरु हुने भएको कारण केही समयका लागि सवारी आवागमन बन्द हुने भएको हो । सडक डिभिजन कार्यालय पाल्पाले राष्ट्रिय राजमार्ग अन्तर्गत अति संवेदनशील र साँघुरो स्थान सिस्ने भिरमा सडक चौडा गर्ने प्रयोजनका लागि कटिङ्ग गर्नुपर्ने जनाउँदै माघ २६ गतेदेखि फागुन १५ गतेसम्म उक्त सडक आंशिक रुपमा अवरुद्ध हुने भएको हो । उक्त काममा सहजीकरणका लागि सडक डिभिजन कार्यालयले जिल्ला प्रशासन कार्यालय गुल्मीलाई समन्वयका लागि पत्राचार अनुरोध गरेको छ । उक्त अवधिमा दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म, बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ । त्यसैगरी सवारी आवागमन खुला हुने समय प्रत्येक दिन बिहान ९ देखि १० बजे, दिउँसो २ देखि ३ बजे र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमन खुला रहने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । सवारी साधनका लागि वैकल्पिक मार्गका रूपमा बिहान र दिउँसोको समयमा सोता-तल्लोफाँट-रुपाकोट-दोकुवा-सलाघारी-चोरकाटे तथा साँझदेखि बिहानसम्म मजुवा-दम्का-रुपाकोट-म्यालपोखरी-चोरकाटे सडक प्रयोग गर्न सकिने जनाइएको छ । उक्त कार्यमा जिल्ला प्रशासन कार्यालय गुल्मीले मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकालाई आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गरिदिनसमेत अनुरोध गरेको छ । प्रशासनले सडक स्तरोन्नति कार्यलाई सफल बनाउन स्थानीय तह, सरोकारवाला निकाय र सर्वसाधारणको सहयोग अपेक्षा गरेको छ ।

म्याग्दीको घतानमा सडक पाँच महिना अघि नै सम्पन्न

म्याग्दी । जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडकको भुतादैला–तोरीपानी खण्ड स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ । म्याग्दीको रणनीतिक महत्वको यस सडकको स्तरोन्नति भएको क्षेत्र बेनी नगरपालिका–९ साविक घतान गाविसको भूगोलमा पर्छ । पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी–पाखापानी सडक योजनाअन्तर्गत बेनी नगरपालिका–९ भुतादैलादेखि नेप्टेचौर हुँदै तोरीपानी खण्ड स्तरोन्नतिको काम लक्ष्यभन्दा पाँच महिनाअघि नै सम्पन्न भएको हो । यो सडक योजना निर्माणका लागि २०८१ साल जेठ २० मा पूर्वाधार विकास कार्यालय र मङ्गलादेवी सुवास कन्स्ट्रक्सन प्रालि नुवाकोटले रु ११ करोड ७६ लाख १२ हजार ५४१ मा ठेक्का सम्झौता गरेको थियो । आगामी २०८३ जेठ २० गतेसम्मको म्याद रहेको योजना निर्माणकार्य माघको तेस्रो साता सकिएको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताए । उनले भने, 'कालोपत्र भएको सडकमा रङरोगन र सङ्केतचिह्न तथा साइडबार लगाउने काम पनि सकिएको छ, बजेट अभावको असहज अवस्थाका बाबजुद पनि पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना सम्पन्न गरिएको हो ।' निर्माण व्यवसायी कार्कीले काम सम्पन्न गरे पनि सरकारले विनियोजन गरेको बजेट सकिएकाले पूरै बिलको भुक्तानी नपाएको गुनासो गरे । कार्यालयका अनुसार यो योजनाका लागि रु एक करोड ५० लाख बजेट अपुग भएको छ । चार किलोमिटर दूरीमा स्तरोन्नति भुतादैलादेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्म एक किलोमिटर ९०० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र भएको छ । नेप्टेचौरदेखि तोरीपानीस्थित गलेश्वर मावि परिसरको थप दुई किलोमिटर दूरीमा सडक फराकिलो, ग्रेड, घुम्ती सुधार र अप्ठ्यारो ठाउँमा ढलान भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले बताए। पाँच सय ५० मिटर दूरीमा ढलान र दुई किलोमिटर ५०० मिटर दूरीमा ग्राभेल भएको छ । यसअघि ३.५ मिटर चौडा सडकलाई कम्तीमा सात मिटर फराकिलो बनाइएको छ । म्याग्दी १(१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले निर्माण व्यवसायीको इच्छाशक्ति, सम्बद्ध कार्यालयको समन्वय, जनप्रतिनिधि तहबाट सहजीकरण र समुदायस्तरमा साथ पाउने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश बेनी–पाखापानी योजनामा लक्ष्यअघि नै भएको कामले दिएको बताए । “धेरै आयोजना समयमै सम्पन्न नहुँदा अलपत्र पर्ने, लागत बढ्ने र जनताले लाभ लिन नसकेको अवस्थामा लक्ष्यअघि नै योजना सम्पन्न हुनु हाम्रा लागि सकारात्मक विषय हो”, उनले भने, “जिल्लामा भित्रिएका योजनालाई निर्धारित समयमा गुणस्तरीय रूपमा सम्पन्न हुने वातावरण बनाएका छौँ ।” बेनी नगरपालिकाको ९, १०, रघुगङ्गा गाउँपालिकाको ५, ६ र ८ नं वडालाई बेनीबजारसँग जोड्ने बेनी–पाखापानी सडकलाई म्याग्दीको प्राथमिकताप्राप्त आयोजना घोषणा गरिएको छ । विसं २०५६ मा तत्कालीन जिल्ला विकास समितिले मार्ग खोलेको यो सडक २७ वर्षपछि स्तरोन्नति हुँदा स्थानीयवासीमा खुसीयाली छाएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए । निर्माणकार्यको नागरिक तहबाट निगरानी र स्थानीय समस्यालाई समाधानका लागि सहजीकरण गर्न सरोकार समिति बनाइएको उनले बताए। सङ्घीयता कार्यान्वयन हुनुअघि तत्कालीन जिल्ला विकास समितिअन्तर्गतको ‘ड्रिलीप’ परियोजनामार्फत सञ्चालित योजनाले पूर्णता पाउन सकेको थिएन । यात्राअवधि छोटियो यात्राअवधि छोटिएको, झन्झट र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको नेप्टेचौरका बासिन्दा क्षेत्रबहादुर चोखालले बताए । सफा सडकमा सहज रूपमा यात्रा गर्न पाउँदा खुसी लागेको उनले अनुभव सुनाए । यसअघि तोरीपानीदेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकामा स्तरोन्नतिपछि २० मिनेटमै पुग्न सकिने भएको नेप्टेचौरका नरबहादुर चोखालले बताए । बेनीदेखि तोरीपानीसम्म अटोरिक्सा चल्न थालेको छ । सार्वजनिक यातायातको भाडादर समायोजन गर्न र तोरीपानीदेखि पात्लेखेत, झिँ, पाखापानीतर्फको सडक स्तरोन्नतिका लागि थप योजना र बजेटको व्यवस्था गर्न स्थानीयवासीले माग गरेका छन् । बेनीदेखि किराखोरसम्म करिब पाँच किलोमिटर सडक बेनी नगरपालिका र प्रदेश सरकारले यसअघि नै कालोपत्र र ढलान गरेका छन् । तोरीपानीदेखि पात्लेखेत र झिँ हुँदै पाखापानीतर्फ पनि स्तरोन्नतिका लागि थप बजेट व्यवस्थाका लागि प्रदेश सरकारमा पहल गरिएको प्रदेशसभा सदस्य भण्डारीले बताए । थप बजेट व्यवस्थापनका लागि कार्यालयमार्फत प्रदेश सरकारसँग पहल गरिएको उनले बताए। बेनी–पाखापानी–ठाडाखानी–मल्कवाङ–मराङ–बिम–दरवाङ–बेनी जोड्ने राहुघाट–म्याग्दी चक्रपथ सडक योजनाअनुसार यस वर्ष बिम–मराङ– मल्कवाङ खण्डमा स्तरोन्नतिका लागि प्रदेश सरकारबाट रु पाँच करोडको बहुवर्षीय ठेक्का आह्वानको तयारी भएको छ । रासस

सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन

काठमाडौं । खोटाङको दक्षिणी क्षेत्रका बराहपोखरी गाउँपालिका-५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका-१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोशी नदीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज शनिबार सञ्चालनमा ल्याइएको छ । गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालिले जडानको जिम्मा लिएको अस्थायी बेलिब्रिज आगामी २०८३ साल जेठ पहिलो सातासम्म सञ्चालन गर्ने सहमति गरिएको छ ।  कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको ५७ लाख रुपैयाँ लगानीमा जडान गरिएको बेलिब्रिजको लम्बाइ ५१.८१ मिटर लामो छ । बेलिब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले १ करोड ८७ लाख रुपैयाँमा खरिद गरेर पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरेपछि निर्माण कम्पनीलाई प्रदान गरिएको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिए । लामो समयदेखि झोलुङ्गे पुलमार्फत आवतजावत गर्दै आएका दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा ढिलै भए पनि बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडान भएपछि हर्षित भएका छन् । मोटरेबल पक्की पुलसमेत निर्माण भइरहेको बङ्शिलाघाटमा बेलिब्रिज जडानका लागि खोटाङका बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिले सङ्घीय सरकारसँग माग गरेका थिए । खोटाङ र उदयपुर जोड्ने गरी कच्ची सडक निर्माण गरेर यातायात सञ्चालन गरिँदै आएको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानका लागि सङ्घीय सरकारले बजेट उपलब्ध नगराएपछि प्रदेश सरकारको लगानीमा जडान गरेर सञ्चालन गरिएको बराहपोखरी गाउँपालिका प्रमुख सालिकराम बञ्जराले जानकारी दिए । दक्षिणी क्षेत्रमा पर्ने तीनवटा स्थानीय तहका नागरिकलाई पूर्वी तराईका विभिन्न जिल्लासँग सिधा यातायात सेवामा जोड्नका लागि सुनकोशीको धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले समेत पछिल्लो समय गति लिएको छ । ठेकेदारको लापरवाहीले लामो समयसम्म अलपत्र परेको धाप्लाङघाटको मोटरेबल पुल निर्माणको कामले केही समय अघिबाट गति लिएसँगै नागरिकमा आशा जगाएको छ ।  धाप्लाङघाट पुल निर्माण ४३ प्रतिशत सकिएको सडक विभाग पुल सेक्टर धरानका इन्जिनियर नवीन साहले जानकारी दिए । उनका अनुसार धाप्लाङघाटमा वेल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको थियो । त्यो सम्भव नभएपछि गत वर्ष डिजाइन परिवर्तन गरेर पाइल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको छ । स्ल्याब ढलानका लागि पानी सुकाउने काम भइरहेको छ । पानी चाँडै सुकाउन सके यो वर्ष थप दुइवटा स्ल्याब ढलान सकिन्छ । सङ्घीय सरकारको २१ करोड ६५ लाख रुपैयाँ लगानीमा धाप्लाङघाटमा २०० मिटर लामो मोटरेबल पक्की पुल निर्माणका लागि २०७३ साल असार ३० गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । करिब ९ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको धाप्लाङघाटको मोटरेबल पक्की पुल अलपत्र हुँदा दक्षिणी क्षेत्रका नागरिक निरास थिए । पछिल्लोपटक थपिएको म्यादअनुसार २०८४ साल जेठ १९ गतेसम्ममा धाप्लाङघाटको पुल निर्माण सम्पन्न गर्नुपर्छ । विसं २०८३ चैतभित्रमा धाप्लाङघाटबाट सवारीसाधन वार पार गराउने गरी निर्माणको कामलाई तीव्रता दिइएको निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सन प्रालिले जनाएको छ । सुनकोशीकै फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज यसअघि नै सञ्चालनमा ल्याइएको छ । खोटाङको खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५ आँपटार जोड्ने सुनकोशीको फोक्सिङटारमा मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याइएको हो । फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै घुर्मी-कटारी हुँदै घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने बाध्यता हटेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । निर्माण कम्पनी एमएएस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि कटारी-३ उदयपुरले मूल्य अभिवृद्धि करसहित ९६ लाख ७७ हजार ९३७ रुपैयाँमा ठेक्का सम्झौता गरेर बेलिब्रिज जडान गरेको हो ।  गत वर्ष असोज १२ गतेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको भीषण बाढीले फोक्सिन्टारको १२० मिटर लामो मोटरेबल पक्की पुल बगाएको थियो । फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि दिक्तेल–गाईघाट सिधा यातायात पूर्ण रूपमा विच्छेद भएको थियो । करिब १३ वर्ष लगाएर निर्माण भएको आर्क डिजाइनको पुल बाढीले बगाएपछि गत वर्षको पुसमा जडान गरिएको बेलिब्रिज वर्षा याम सुरु भएसँगै निकालिएको थियो । बेलिब्रिज निकालिएसँगै यातायात सेवा विच्छेद भएपछि पूर्वी तराई आवतजावत गर्ने यात्री झोलुङ्गे पुलमार्फत गन्तव्यमा पुग्ने गरेका थिए ।