प्रधानमन्त्री उद्धार कोषमा देव ग्रुप, युनाइटेड मेवा र युनाइटेड मोदीको ५० लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि देव ग्रुप, युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड र युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ५० लाख रुपैयाँ सहयोग गरेका छन् । देव ग्रुपका अध्यक्ष नरेन्द्र बल्लभ पन्त र प्रबन्ध निर्देशक अजय बल्लभ पन्तले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । युनाइटेड मोदी हाइड्रोपावरका अध्यक्ष नवीन सिलवालले बाढीपीडित नागरिकलाई राहत उपलब्ध गराउन र पुनर्स्थापनामा सहयोग पुग्ने विश्वासका साथ रकम प्रदान गरिएको बताए । यस्तै, युनाइटेड मेवा खोला हाइड्रोपावरका अध्यक्ष आशिष थापाले विपद्को कठिन समयमा मानवीय सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । देव ग्रुपले आगामी दिनमा पनि विपद् प्रभावित नागरिक र समुदायको हितमा आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । 

पृथ्वी राजमार्ग सञ्चालन र दीर्घकालीन समाधानका लागि पूर्वाधार मन्त्रालयको पाँचबुँदे निर्णय

काठमाडौं । पृथ्वी राजमार्गको सहज सञ्चालन तथा कृष्णभीर क्षेत्रको तत्कालीन र दीर्घकालीन समाधानका लागि पूर्वाधार विकास मन्त्रालयले विभिन्न निर्णय गरेको छ ।  मंगलबार मन्त्रालयमा बसेको बैठकले विपद् प्रभावित क्षेत्र र राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापना गर्नका लागि तत्काल र दीर्घकालीन योजना बनाएर काम अघि बढाउने निर्णय गरेको हो ।  बैठकले तत्काल विपद्को सामना गर्न कृष्णभीरको हिलसाइडमा ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य तुरुन्त अघि बढाउने निर्णय गरेको छ ।  यसका साथै, नयाँ ट्र्याक खोल्ने कार्यसँगसँगै सेक्रिफिसियल ग्याबियन बक्स तथा बोल्डरहरू हिलसाइडबाट तल खसाल्ने कार्यलाई पनि निरन्तरता दिइनेछ । कृष्णभीरको पहिरो समस्याको दीर्घकालीन समाधानका लागि सडक विभागले टनेल (सुरङमार्ग), सोइल नेलिङ, तथा सिट पाइललगायतका प्राविधिक विकल्पहरूबारे आवश्यक अध्ययन अघि बढाउने भएको छ ।  मन्त्रालयले कृष्णभीरको स्थायी विकल्पका रूपमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्ममा वैकल्पिक सडकको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ । यी उल्लिखित विकल्पहरूको अध्ययन तथा प्राविधिक परामर्शका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने भएको छ ।  सो कार्यका लागि आवश्यकताअनुसार सडक विभाग र सोसाइटीबीच चाँडै समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

बाढीपीडितका लागि ऊर्जा उद्यमीको राहत, इप्पानद्वारा १३ करोडको चेक हस्तान्तरण

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आबद्ध ऊर्जा उद्यमीहरूले भोटेकोशी नदीमा आएको बाढी प्रभावितहरूको उद्धार, राहत र पुनःर्निर्माणको लागि १३ करोड एक रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । इप्पानमा आबद्ध ऊर्जा उद्यमीहरूको तर्फबाट संस्थाका अध्यक्ष मोहनकुमार डाँगीले सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे । ऊर्जा उद्यमीहरूले आआफ्नो तर्फबाट पनि सो रकम हस्तान्तरण गरेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनको कारणले जलविद्युत् परियोजना भौगोलिक तथा विपद्का समस्या भोग्नुपरेकाले आगामी दिनमा जलवायु परिवर्तनमैत्री संरचना निर्माणमा ध्यान दिनुपर्ने बताए ।  उनले विपद्मा परेको बेला राज्यलाई आर्थिक सहयोग गरेर सङ्कटको घडीमा साथसाथै रहेको भावना विकास गर्न सकेको बताए ।​​​​​​​ इप्पानका अध्यक्ष डाँगीले ऊर्जा उद्यमीहरू सङ्कटको घडीमा राज्यको विपद् कोषमा आर्थिक सहयोग गरेको बताए । उनले भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट १३ वटा जलविद्युत् आयोजना प्रभावित भएको बताउँदै पीडितको घाउमा मलम लगाउने प्रयास गरेको बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले ऊर्जा उद्यमीहरू आफै सङ्कटमा परेको बेला आर्थिक सहयोग गरेर सह्रानीय काम गरेको बताए । इप्पानका निर्वतमान अध्यक्ष तथा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीका सल्लाहकार गणेश कार्कीले बाढीले प्रभावित जलविद्युत् आयोजनाको उद्धारको लागि इप्पानको तर्फबाट प्राविधिक सहयोग गर्दै आइरहेको स्मरण गराए । राहत कोषमा उक्त रकम जम्मा गर्नेहरूमध्ये मोहनविक्रम कार्की समूहले एक करोड ६५ लाख र हिमप्रसाद पाठक तथा समूहले एक करोड ५१ लाख, पुष्पज्योति ढुङ्गाना तथा समूहले एक करोड सात लाख ७७ हजार ७७५ रकम हस्तान्तरण गरेका छन् । बटु लामिछाने तथा गणेश कार्की समूहले ८७ लाख ७७ हजार ७७७, इशा श्रेष्ठ समूहले ६५ लाख, बुटवल पावर कम्पनी समूह र कम्पनीहरूले ५१ लाख ४१ हजार ९८६, उत्तमब्लोन लामा तथा समूहले ५१ लाख, माउन्टेन इनर्जी नेपालले ५१ लाख, सुमन कर्माचार्य तथा समूहले ५० लाख र अजयबल्लभ पन्त तथा समूहले ५० लाख आर्थिक सहयोग गरेका छन् । त्यसैगरी, टिएन आचार्य तथा समूहले २६ लाख, सन्तोषराज नेपाल तथा समूहले २५ लाख २५ हजार, मोहनकुमार डाँगी तथा समूहले २५ लाख, दिनेश गुरुङ तथा समूहले २५ लाख, अनुप आचार्य तथा समूहले २५ लाख, साङग्रिला ऊर्जा लिमिटेड र घलेम्द्री हाइड्रो लिमिटेडले २५ लाख रकम आर्थिक सहयोग गरेका छन् । रघुनाथ पुरी तथा समूह (गोरक्ष हाइड्रो) ले २५ लाख सहयोग गरेका छन् । त्यसैगरी उमेश श्रेष्ठ तथा समूहले (कालङ्गा गु्रप) ले २० लाख ७० हजार, कदम केसी तथा समूहले २० लाख १० हजार, अभिज्ञा मल्ल तथा समूहले २० लाख १० हजार, भुषण गुरागाँई तथा समूहले (न्यादी ग्रुप)ले २० लाख, बिजी ग्रुप तथा हाइड्रो सोलुसनले १५ लाख आर्थिक सहयोग गरेका छन् । बलराम खतिवडा तथा समूहले १५ लाख, गोपाल न्यूरे तथा समूह (संयुक्त ऊर्जा र चितवन इनर्जी) ले ११ लाख ११ हजार ११०, सुभास साङ्घाई र श्रीधर न्यौपाने (ग्रिन भेञ्चरर्स) ले ११ लाख, विक्रम विष्ट तथा समूह (इसुवा इनर्जी प्राली) ले १० लाख ५५५, बाबुराम थापा (अभियान समूह) ले सात लाख ५१ हजार, नारायण कँडेल तथा समूहले पाँच लाख ५५ हजार ५५५ ले आर्थिक सहयोग गरेका छन् । केशवबहादुर रायमाझी तथा समूहले पाँच लाख ५५ हजार ५५५, आत्माराम घिमिरे तथा समूह (लिबर्टी इनर्जी) पाँच लाख ५५ हजार ५५५, अर्जुन गौतम (अपरहेवा) ले पाँच लाख ५५ हजार ५५५, सोमनाथ कँडेल तथा समूहले पाँच लाख नौ हजार ९९९ रकम आर्थिक सहयोग गरेका छन् । कृष्णप्रसाद घिमिरे तथा समूह (विकास हाइड्रो) ले पाँच लाख पाँच हजार ५५५, प्रकाश दुलाल तथा समूहले पाँच लाख पाँच हजार, सुमन जोशी तथा समूहले पाँच लाख, जगदिश शिवाकोटी तथा समूहले पाँच लाख, मकरीगाड हाइड्रोपावर लिमिटेडले पाँच लाख, दीपक पौडेल (सानीभेरी हाइड्रो) ले पाँच लाख, रिडी पावर तथा समूहले पाँच लाख, नर्थ समिट हाइड्रो लिमिटेडले पाँच लाख र सुपरहेवा पावर कम्पनी लिमिटेडले पाँच लाख आर्थिक सहयोग गरेका छन् । अपोलो हाइड्रोपावर लिमिटेडले तीन लाख, भिजन टेस्ला पावर प्रालीले दुई लाख, प्रतिमा ज्ञवाली तथा समूहले एक लाख, भरतखत्री तथा समूहले एक लाख, चिर्खवा हाइड्रोपावर तथा निको इनर्जीले एक लाख र चम्पावती हाइड्रोपावर लिमिटेडले ५० हजार सहयोग गरेका छन् । इप्पान दैवीप्रकोप उद्धार कोषले छ लाख ३२ हजार २३ रकम प्रधानमन्त्री दैविप्रकोप तथा उद्धार कोषमा सहयोग गरेका हुन् ।