माथिल्लो अरुण आयोजना निर्माणका लागि २ हजार बढी रुख काटियो

सङ्खुवासभा ।  भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ । भोटखोला गाउँपालिका– २ र ४ का राष्ट्रिय वन र सामुदायिक वनका रुख काटिएका हुन् । माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि दुई हजार १६८ बोट रुख काटिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी चन्द्रलाल राईले बताए  । माथिल्लो अरुण आयोजना र पहुँच मार्ग निर्माणका लागि भोटखोला–४ मा राष्ट्रिय वन र भोटखोला– २ मा पारीपाखा सामुदायिक वन र माक्पालुङ सामुदायिक वन क्षेत्रको करिब २१ दशमलव ०८ हेक्टर क्षेत्रफलको रुख कटान गरिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी राईले जानकारी दिए  । उक्त आयोजनाले २५ बर्षसम्म वन क्षेत्र प्रयोगका लागि अनुमति पाएको छ । यो सँगै माथिल्लो अरुण आयोजनाका लागि पहुँच मार्गको काम द्रूत गतमिा अघि बढेको छ । प्राधिकरणले २ दशमलव ०३ किलोमिटर सुरुङमार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माणका लागि भारतको गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरेर काम सुरु गरेको छ । पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ । पहुँच मार्ग भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्मको निर्माण गरिनेछ । सात अर्ब ९१ करोड ३९ लाखमा उक्त सडक निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ । त्यसैगरी जिल्लामा विभिन्न जलविद्युत आयोजना निर्माणका लागि हालसम्म लागि १४ हजारभन्दा बढी रुख काटिसकिएको छ । अरुण तेस्रो जलविद्युत् आयोजना र कोसी करिडोर प्रसारण लाइनका लागि १८ सामुदायिक वनका १४ हजार ६२७ रुख कटान गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार ११ वटा जलविद्युत् आयोजनाले जिल्लाका ६ स्थानीय तहका वन क्षेत्र प्रयोग गरेका छन् । विद्युत् विस्तार गर्न मात्र सरकारी वन क्षेत्रका पाँच हजार ४०० रूख काटिएका छन् । रासस

नेपाल-कोरिया ऊर्जा सहकार्य विस्तारमा जोड, कोरियाली लगानी र प्रविधि आवश्यक

काठमाडौं । ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार २०२५’ काठमाडौंमा सम्पन्न भएको छ । नेपालमा ऊर्जा क्षेत्रमा कोरियाली लगानी र प्रविधिको सहभागिता विस्तार गर्ने उद्देश्यका साथ नेपालस्थित कोरिया दूतावास र स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपाल (इप्पान) को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । सेमिनारमा इप्पानका अध्यक्ष गणेश कार्कीले यसलाई नेपाल–कोरिया सम्बन्धको ऐतिहासिक निरन्तरताको प्रतिबिम्ब भएको बताए । उनका अनुसार नेपालको ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको छ । भारत र बंगलादेशसँग भएका ऊर्जा व्यापार सम्झौताले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् निर्यातको सम्भावना खोलेको र उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्र प्रमुख साझेदार हुने उनले उल्लेख गरे । अध्यक्ष कार्कीले नेपालमा जलविद्युत्को महत्व दिनदिनै बढ्दै गएको भन्दै २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् । जसमध्ये १५ हजार मेगावाट भारतमा निर्यात र १३ हजार ५ सय मेगावाट नेपालमै खपत गर्ने योजना रहेको उनले जानकारी दिए । कार्कीका अनुसार कोरियाले नेपालमा २१६ मेगावाट क्षमताको परियोजना सुरु गरी सम्पन्न गर्ने अवस्थामा पुगेको छ भने अन्य परियोजनामा पनि चासो देखाएको छ । उनले नेपालको ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्न कोरियाली दूतावास र इप्पानले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेको बताए । इप्पान अध्यक्ष कार्कीले भने, 'नेपाल र कोरिया मिलेर ऊर्जा क्षेत्रमा के–कस्ता सहकार्य गर्न सकिन्छ भन्ने उद्देश्यले कोरियाली दूतावास र इप्पानले संयुक्त रूपमा यो कार्यक्रम आयोजना गरेका हौँ । नेपालमा थुप्रै अवसर छन् र सरकारले नीतिगत रूपमा सहजीकरण गरिदिएको खण्डमा ठूलो मात्रामा लगानी भित्र्याउन सकिन्छ । हरित हाइड्रोजनजस्ता क्षेत्रमा पनि लगानी ल्याउन सकिने सम्भावना छ ।' अध्यक्ष कार्कीले जलविद्युत् आयोजनाले विद्युत् उत्पादनसँगै रोजगारी सिर्जना, पूर्वाधार विकास तथा शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता क्षेत्रमा सामाजिक–आर्थिक योगदान पुर्‍याउँदै आएको बताए । भविष्यमा व्यवसाय–व्यवसाय (बी–टु–बी) तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत सहकार्य विस्तार, स्मार्ट ग्रिड, ऊर्जा भण्डारण, हरित वित्त र नवप्रवर्तनमा ठूलो सम्भावना रहेको उनको भनाइ थियो । कार्यक्रममा नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते–यङले कोरिया नेपालमा लगानी गर्न इच्छुक रहेको बताए । उनका अनुसार केही परियोजना अघि बढिसकेकाले थप लगानीका लागि सरकारले आवश्यक बाटो खोलिदिनुपर्छ । कोरिया वित्तीय सहयोगसँगै प्राविधिक सहयोगमार्फत पनि नेपालसँग सहकार्य गर्न तयार रहेको उनले बताए । प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न सहज नीति आवश्यक रहेकोमा उनले जोड दिए । सेमिनारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा) चिरञ्जीवी चटौतले नेपाल–कोरिया सहकार्य आवश्यक रहेको बताए । उनले रणनीतिक लगानी, प्रविधि हस्तान्तरण र निजी क्षेत्रको नेतृत्वमा आधारित साझेदारीतर्फ नेपाल–कोरिया अघि बढिसकेको बताए । चटौतका अनुसार नेपालको ऊर्जा रूपान्तरणका लागि कोरिया महत्वपूर्ण साझेदार हो । उनका अनुसार २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना कोरियाली लगानी र प्रविधिको उदाहरण भएकाले आगामी दिनमा ठूला जलविद्युत् आयोजना, प्रसारण पूर्वाधार, ग्रिड आधुनिकीकरण तथा हरित हाइड्रोजन र भविष्यका ऊर्जा समाधानमा पनि कोरियाली सहभागिता आवश्यक छ ।

दोस्रो किस्ता नतिर्ने उद्योगको लाइन जुनसुकै बेला काटिन सक्ने, प्राधिकरणले फेरि पठायो पत्र

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवाद फेरि सतहमा आएको छ । प्राधिकरणले बक्यौता रकमको दोस्रो किस्ता नबुझाउने उद्योगी–व्यवसायीहरूलाई पत्र काट्दै बक्यौता नतिरे जुनसुकै बेला लाइन काटिन सक्ने चेतावनी दिएको छ ।  लाइन काटिएपछि पहिलो किस्ता बुझाएर विद्युत् उपभोग गरिरहेका उद्योगहरूले नियमित किस्ता नतिरेपछि प्राधिकरणले पुनः ताकेता गरेको हो । प्राधिकरणका अनुसार बक्यौता तिर्न २८ किस्ताको सुविधा दिइएको छ । तर, पहिलो किस्ता तिरेर लाइन जोडाएका उद्योगहरूले दोस्रो किस्ता बुझाउन आनाकानी गरेपछि प्राधिकरणले एक्सन लिने तयारी गरेको हो । प्राधिकरणका अनुसार गत मंसिरको पहिलो साता नै विद्युत् वितरण केन्द्रहरूमार्फत उद्योगहरूलाई दोस्रो किस्ता बुझाउन पत्राचार गरिएको थियो । तर, तोकिएको समयमा केही उद्योगले मात्र रकम बुझाए ।  आइतबार पुनः बाँकी रहेका सबै उद्योगलाई पत्र पठाउँदै तत्काल रकम बुझाउन ताकेता गरिएको हो । पटक–पटक ताकेता गर्दा पनि भुक्तानी नगर्ने र भुक्तानीको म्याद सकिएका उद्योगहरूलाई लक्षित गरी गत हप्तादेखि लाइन काट्ने अभियान सुरु गरिएको प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार यो कुनै नयाँ निर्णय नभई पुरानै नियम र प्रक्रियाअनुसार कार्यान्वयन गरिएको हो ।  ‘जस–जसको भुक्तानी गर्ने म्याद सकिँदै गयो, हामीले क्रमशः लाइन काट्दै गएका छौं,’ प्रवक्ता ढकालले भने, ‘यो गत हप्तादेखि नै सुरु भएको हो । हामीले विचार गरेरै म्याद सकिएकाहरूको लाइन काट्न थालेका हौं ।’ लाइन काट्न थालेपछि बक्यौता रकम उठ्न थालेको प्राधिकरणले जनाएको छ । प्रवक्ता ढकालका अनुसार केही उद्योगीहरू सम्पर्कमा आएका छन् भने धेरैले आफ्नो बाँकी बक्यौता तिर्न थालेका छन् ।  ‘लाइन काट्ने प्रक्रिया सुरु भएपछि धेरैले तिर्नुभएको छ । भुक्तानीको अपडेटहरू आइरहेको छ,’ उनले विकासन्युजसँग भने ।  प्राधिकरणले बक्यौता रकम असुलीलाई कडाइका साथ अघि बढाउने नीति लिएको देखिन्छ । म्याद सकिएका सबै उपभोक्तालाई क्रमशः कारबाहीको दायरामा ल्याइने र नियमअनुसार लाइन काटिने प्रक्रिया जारी रहने प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार बक्यौता विवादमा लाइन काटिएपछि पहिलो किस्ता बुझाएर लाइन जोडाउने उद्योगको संख्या २२ थियो । तीमध्ये रिलायन्स स्पिनिङ मिल्सले अदालतबाट अन्तरिम आदेश पाएकाले हाललाई उक्त उद्योग बाहेक अन्य २१ उद्योगलाई प्राधिकरणले ताकेता गरेको छ । मंसिर पहिलो हप्ता नै पत्र पठाए पनि हालसम्म ६ वटा उद्योगले मात्रै दोस्रो किस्ता बुझाएका छन् । बाँकी १५ उद्योगले अझै रकम बुझाएका छैनन् । यसअघि गत कात्तिक ४ गते प्राधिकरणले बक्यौता नतिर्ने २५ ठूला उद्योगको लाइन काटेको थियो ।  लाइन काटिएपछि करिब एक महिनाको अवधिमा उद्योगहरूले पहिलो किस्ता बुझाउँदै लाइन जोडाएका थिए ।