मुग्लिन-पोखरा सडक: पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो

काठमाडौं । मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीओडारमा कालोपत्र गर्न थालिएको छ । मुग्लिन पोखरा सडकको पश्चिम खण्ड अन्तर्गत मौरीओडारमा लामो समयपछि कालोपत्र गर्न थालिएको हो । यो खण्डमा पहिरोको उच्च जोखिम भएकाले कालोपत्र गरिएको थिएन । सडक छेउमा निर्माण गरिएको पर्खाल पहिरोले भत्काएको थियो । पश्चिम खण्ड अन्तर्गत तनहुँको भागमध्ये मौरीओडारमा दुईतर्फी नै कालोपत्र गर्न बाँकी रहेकामा यहाँ कालोपत्रको काम सुरु गरिएको सडक योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए ।  हाल २ लेनमा कालोपत्रको काम भइरहेको छ भने २ लेन सकिएपछि अर्को २ लेनमा कालोपत्र हुनेछ । पश्चिम खण्डमा हालसम्म ५९.७६ प्रतिशत भौतिक र ४७.८० प्रतिशत वित्तीय प्रगति भएको छ । ३८.८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७.४ किलोमिटरमा एकतर्फी पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९.६१ किलोमिटर खण्डमा ४ लेन र ७.७९ किलोमिटर खण्डमा २ लेन कालोपत्र सम्पन्न भएको छ । उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेको छ भने सेती नदीमा पुल निर्माणाधीन रहेको छ । पश्चिम खण्डमा गत आर्थिक वर्षमा २५ किलोमिटर चार लेन सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३.०६ किलोमिटर कालोपत्र भएको छ । ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्य बमोजिम ११ वटै पुल बनेका छन् ।  ६६ कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा ६५ र ५१.५ किलोमिटर नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५.२ किलोमिटर नाला निर्माण सम्पन्न भएको कुँवरले जानकारी दिए ।  विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद विसं २०८२ पुस १६ गतेसम्म रहेको छ । यो खण्डको ठेक्का एनहुई केयुएन हाइवे एन्ड ब्रिजले ७ अर्ब ४० करोड रुपैयाँमा पाएको थियो । 

एमालेको महाधिवेशनलाई ख्याल गर्दै नागढुङ्गा-मलेखु सडक २ दिन बन्द नहुने

काठमाडौं । दैनिक ५ घण्टा आंशिक बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुङ्गा मलेखु सडक खण्ड आज र भोलि (शुक्रबार र शनिबार) का लागि खुला गरिएको छ । नेकपा (एमाले) को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सो सडकमा आवतजावत नरोकिएको हो । नागढुङ्गा-मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेबाट आंशिक बन्द गरेर काम गरिरहेको छ । २ दिनका लागि सडक बन्द नगरिने आयोजनाले जनाएको छ । त्यसपछि भने कार्यतालिका अनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने नागढुङ्गा-मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जानकारी दिए । उनले भने, ‘स्तरोन्नतिलाई तीव्रता दिन धादिङ र काठमाडौंको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मङ्सिर २४ गतेबाट पुस १ गतेसम्म बिहान १०:३० देखि दिउँसो ३:३० सम्म दैनिक ५ घन्टा बन्द गरेर काम गरिरहेका थियौँ, एमालेको महाधिवेशनलाई ख्याल गर्दै सवारी चाप र सम्भावित सडक जामलाई मध्यनजर गरी सडक बन्द नगर्ने निर्णय लिएका छौँ ।’ युवा सङ्घको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनका लागि २ दिन सडक खुला गरिदिन आग्रह गरेका थिए । सडक विभागले काठमाडौं जिल्लाभित्र पर्ने नागढुङ्गा-पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ भने धादिङ जिल्लाभित्र पर्ने नौबिसे-मलेखु खण्डको बाङ्गेभीरमा सडक चौडा गर्ने कामलाई महत्व दिएर काम अघि बढाएको छ ।

नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम सकियो

काठमाडौं । नारायणगढ-बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम सकिएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने ३३ वटा पुल निर्माणको काम सकिएको नारायणगढ-बुटवल सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।  गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब एउटा पुल निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालले बताए । यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा एउटा पुलमात्र निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालले जानकारी दिए । सूचना अधिकारी खनालका अनुसार लामा पुलमा पनि २ सय मिटरभन्दा लामा गिरुवारी खोला, अरुण खोला र विनयी खोलाको पुलमध्ये अरुण खोलाको पुलमात्र निर्माणको काम बाँकी छ । अरुण खोला पुलको काम अन्तिम चरणमा रहेको छ । निर्माण गरिएका पुलमध्ये कावासोतीको केरुङ्गे खोला र चोरमाराको गिरुबारी खोलामा ‘एप्रोच’ सडकको काम भइरहेको छ । केही दिनमा यी पुलबाट सवारी सञ्चालन हुने छ । ‘पुलहरू बनाउने काम लगभग अन्तिम चरणमा पुगेको छ, एउटा अरुण खोलाको पुलमा केही काम बाँकी छ, त्यो पनि चाँडै सकिन्छ,’ सूचना अधिकारी खनालले भने ।  दाउन्ने खण्डमा केही कल्भर्टको काम बाँकी रहेकाले ती कल्भर्ट निर्माणसमेत अन्तिम चरणमा चलिरहेको छ । नारायणगढ-बुटवल सडक विस्तार आयोजनाको हालसम्म भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । पूर्वी खण्डमा दाउन्ने बाहेकका क्षेत्रमा कालोपत्रको धेरैजसो काम भएकाले यात्रा सहज बनेको छ । दाउन्ने क्षेत्रमा भने अझै सडक ढलानको काम बाँकी रहेकाले यात्रा सहज हुनसकेको छैन ।  नारायणगढ-बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । नारायणगढ-बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।  निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत  साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक २०८३ असारसम्म म्याद थप गरिएको छ ।  एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ लागत रहेको छ । ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर ४ लेन, २९ किलोमिटरमा ४ लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेको १४ किलोमिटर क्षेत्रमा ३ लेनको सडक निर्माण हुनेछ ।