ठूलो मात्रामा लेदो थुप्रिएपछि पृथ्वी राजमार्ग बन्द, दिउँसोसम्म सञ्चालनमा आउने
काठमाडौं । रसुवामा आएको बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको छ । सडक विभागका अनुसार राजमार्गमा बाढीले थुपारेको लेदो हटाउने काम तीव्र गतिमा भइरहेको छ । विशेष अवस्था नआए आज दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको विभागले जनाएको छ । विभागका अनुसार मुग्लिनदेखि गल्छीसम्म र काठमाडौंदेखि बैरेनीसम्मको सडक सञ्चालनयोग्य छ । बैरेनीदेखि गल्छीसम्मको करिब १३ किलोमिटर सडकका विभिन्न स्थानमा बाढीले ठूलो मात्रामा लेदो थुपारेको छ । सडकमा थुप्रिएको लेदो हटाउन गएरातिदेखि १५ वटा उपकरण परिचालन गरिएको छ । गएराति १० बजेपछि वर्षा भएपछि केही समय काम रोकिएको थियो । आज बिहानैदेखि ती उपकरणमार्फत सडकमा थुप्रिएको लेदो हटाउने काम पुनः तीव्र पारिएको छ । बुधबार भोटेकोशी नदीमा आएको बाढीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुर्याएपछि सडक अवरुद्ध भएको हो ।
भोटेकोशी बाढीले उत्पादन र प्रसारण ध्वस्त, मन्त्री श्रेष्ठ भन्छन्- 'आगामी दिन थप चुनौतीपूर्ण छ'
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ । बाढीबाट विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेपछि विद्युत् आपूर्तिमा हुन सक्ने असन्तुलनलाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बताए । मन्त्री श्रेष्ठकाअनुसार हालसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न प्राधिकरण सफल भए पनि बाढीबाट भएको ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई तीव्र बनाइएको छ । प्रारम्भिक विवरणअनुसार बाढीका कारण ४३१.१ मेगावाट क्षमताका १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द भई विद्युत् प्रणालीबाट बाहिरिएका छन् । त्यस्तै, निर्माणाधीन १५ वटा जलविद्युत् आयोजनामा कुल ४७० मेगावाट क्षमतामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्री श्रेष्ठले जानकारी दिए । प्रसारणतर्फ त्रिशूली २२० केभी ३ बी हब सबस्टेशन पूर्णरूपमा क्षतिग्रस्त भएको छ । विभिन्न १३२, ६६ तथा २२० केभी प्रसारण लाइन र टावरमा समेत क्षति पुगेको छ । भीषण बाढीका कारण रसुवामा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ भने नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा आंशिक रूपमा विद्युत् सेवा प्रभावित भएको छ । मन्त्री श्रेष्ठका अनुसार विभिन्न विद्युत् आयोजना तथा संरचनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा मजदूर सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ । उद्धार तथा विद्युत् सेवा पुनःस्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणका १५ वटाभन्दा बढी सवारीसाधन प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । थप उद्धार तथा प्राविधिक टोलीसमेत प्रभावित क्षेत्रमा खटाइएको मन्त्री श्रेष्ठले बताए । वैकल्पिक व्यवस्थामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने, क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापना गर्ने र सम्पर्कविहीन कर्मचारी तथा मजदूरको खोजी तथा उद्धार गर्ने काम स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँगको समन्वयमा भइरहेको छ । मन्त्री श्रेष्ठले अहिले मानवीय सुरक्षा, खोज तथा उद्धार र अत्यावश्यक विद्युत् सेवा पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । क्षतिको विस्तृत विवरण संकलन तथा प्राविधिक मूल्यांकनको कामसमेत भइरहेको उनले जानकारी दिए । ‘अहिलेसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न सफल भएका छौं । तर, यति ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ,’ मन्त्री श्रेष्ठले भने ।
बाढीले ४० किलोमिटर सडक र १९ पुलमा क्षति, यातायात पूर्ण ठप्प
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले सडक पूर्वाधारमा ठूलो भौतिक क्षति पुर्याएको छ । बुधबार बिहान आएको बाढीका कारण नदी कोरिडोर तथा आसपासका क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको छ । सडक विभागको प्रारम्भिक विवरण अनुसार बाढीले नदी तटीय क्षेत्रमा रहेका कम्तीमा ४० किलोमिटर सडक र १९ वटा पुलहरूमा क्षति पुर्याएको छ । विशेष गरी गल्छी-मैलुङ-रसुवागढी सडक खण्डका विभिन्न ठाउँमा कटान गर्नुका साथै कयौं किलोमिटर सडक पूर्ण रूपमा बगाएको छ । यस्तै, भोटेकोशी र त्रिशूली नदी माथि निर्माण गरिएका दर्जनभन्दा बढी पुलहरू बाढीले बगाएको छ भने अन्य कैयौं पुलहरूमा आंशिक क्षति पुगेको छ । क्षतिको अन्तिम र पूर्ण विवरण सङ्कलन भइरहेको विभागले जनाएको छ । बाढीका कारण सडक र पुल तहसनहस भएपछि सो क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । अवरुद्ध सडक सञ्चालनमा ल्याउन र पहिरो पन्छाउनका लागि सडक विभागले प्रभावित क्षेत्रमा ठूला तथा हेभी मेसिनरी उपकरणहरू तीव्र रूपमा परिचालन गरेको छ । संवेदनशील मानिएका स्थानहरूमा प्राविधिक टोलीसहित आवश्यक जनशक्ति र उपकरण तैनाथ गरी मर्मत तथा बाटो खुलाउने काम द्रुत गतिमा सुरु गरिएको छ ।