काठमाडौं । सरकारले पूर्व-पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नति कार्यलाई तीव्रता दिन ठूलो रकम विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्दै पूर्व-पश्चिम राजमार्गका विभिन्न खण्डहरूलाई चार लेनमा विस्तार गर्ने कार्यका लागि कुल ३७ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्ट्याएको जानकारी दिएका हुन् ।
विगत केही वर्षदेखि नारायणगढ-बुटवल, कमला-कञ्चनपुर लगायतका विभिन्न खण्डहरूमा राजमार्ग विस्तारको काम भइरहेको छ ।
सवारी चाप बढ्दै गएकाले दुई लेनको सडकलाई चारदेखि छ लेनसम्म बिस्तार गर्ने कार्यलाई सरकारले राष्ट्रिय गौरव र रणनीतिक महत्वको आयोजनाका रूपमा प्राथमिकतामा राखेको छ ।